ससी रिमाल
“सन् २०१२ को कुरा हो । म काठमाडौँको सानो कोठामा बस्थेँ, भर्खर कलेज जीवन सुरु भएको थियो । मेरो गर्लफ्रेन्ड, सायना, अमेरिकामा मास्टर्स पढ्न गएकी थिई । हामीले फोन र म्यासेजमा कुरा त गर्थ्यौँ, तर उनको मुस्कान नदेखेको महिनौँ भइसकेको थियो । टाढाको सम्बन्धले मनमा अनेक डर—कतै यो माया कमजोर हुन्छ कि ! सायनाले एक दिन भनिन्, “स्काइपमा डेट गरौँ न!” मलाई स्काइप चलाउन खासै आउँदैनथ्यो, तर उनको जोश देखेर ल्यापटपमा स्काइप डाउनलोड गरेँ । इन्टरनेटको हालत बेकार—जोडियो, काटियो । बल्लतल्ल खाता बनाएर उनलाई कनेक्ट गरेँ । स्क्रिनमा सायनाको अनुहार देख्दा मन ढक्क भयो । रातो टप, खुला कपाल, र उनको कोठाको झ्यालबाट अमेरिकाको सडक देखिन्थ्यो ।
हामीले “भर्चुअल डेट” सेट गर्यौँ । मैले कोठामा मैनबत्ती बालेर सजाएँ, उनले टेबलमा कफी र केक राखिन् । हाँस्दै जिस्कियौँ—मैले भनेँ, “तेरो कफीले मेरो चिया जित्दैन !” उनले हाँस्दै भनिन्, “तेरो चियाले मेरो स्टारबक्सलाई छुन्न !” कुरा गहिरो हुँदै गयो । उनले अमेरिकाको एक्लोपन सुनाइन्, मैले यहाँको रमझम सुनाएँ । इन्टरनेट काटिँदा रिस उठ्थ्यो, तर फेरि जोडिएपछि हाँसोले कोठा रंगिन्थ्यो।
त्यो डेटको रमाइलो पल तब आयो, जब उनले सरप्राइज दिइन् । स्क्रिनमा कागज देखाउँदै लेखिन्, “म तिमीलाई माया गर्छु, फर्केर आउँदा बौलाहा नबन्नू है !” म लजाएँ । हतार-हतार कागजमा “म पनि माया गर्छु, चाँडै आऊ” लेखेर देखाएँ । त्यो रात हामी घन्टौँ कुरा गर्यौँ, हाँस्यौँ, र स्क्रिनमा हात जोडेर “गुडनाइट” भन्यौँ। तर, त्यो डेटपछि कुरा बिस्तारै फेरियो । सायनाको पढाइ र जागिरको व्यस्तता, मेरो यहाँको नयाँ जीवन—हाम्रो कुराकानी पातलियो। स्काइपमा कुरा गर्दा पहिलेजस्तो रमाइलो हुन छोड्यो। एक दिन, स्काइपमै उनले भनिन्, “हाम्रो बाटो फरक भइसक्यो । मलाई लाग्छ, अब हामीले आ-आफ्नो बाटो हिँड्नुपर्छ।” मेरो मन भत्भतियो, तर उनको आँखामा पनि आँसु देखेँ । हामीले अन्तिम पटक स्क्रिनमा हात हल्लायौँ, र स्काइप बन्द भयो। त्यो हाम्रो अन्तिम कुरा थियो ।
स्काइपले हामीलाई जोड्यो, तर समय र परिस्थितिले हामीलाई छुट्यायो। अब स्काइप बन्द हुँदैछ भन्ने सुन्दा ती मैनबत्तीको उज्यालो र “म तिमीलाई माया गर्छु” लेखिएको कागज सम्झेर मन बिझाउँछ । “

सामाग्री श्रोत :
टेक पाना
