२०८२ बैशाख २४ बुधबार
LATEST NEWS
२०८२ बैशाख २४ बुधबार

हिमाली क्षेत्रमा अनुमतिबिनै एलन मस्कको स्टारलिंक इन्टरनेट चल्दै, सरकारसँग छैन भेट्ने क्षमता

काठमाडौँ । नेपालमा एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक कहिले आउँछ भन्ने प्रश्न उठिरहेको बेला देशको हिमाली क्षेत्रमा भने यो सेवा बिना अनुमति नै प्रयोग भइरहेको पाइएको छ । सगरमाथा आरोहणका लागि आएका आरोहीहरूको सुविधाका लागि हिमाल आरोहण सञ्चालन गर्ने (एक्सपिडिसन) कम्पनीहरूले स्टारलिंकको इन्टरनेट उपलब्ध गराइरहेको खुलासा भएको हो ।

हाल नेपालमा हिमाल आरोहणको मुख्य मौसम (स्प्रिङ सिजन) चलिरहेको छ । जानकारहरूका अनुसार यही सिजनदेखि स्टारलिंकको इन्टरनेट प्रयोगमा आएको हुन सक्छ । कन्स्टिलेसन प्रालिका प्रबन्धक सनातन गजुरेलले नेपालमा यसरी अनधिकृत रूपमा इन्टरनेट सेवा दिने काम पहिले पनि हुने गरेकोमा यस पटक स्टारलिंक थपिएको बताए ।

उनले भने, “यो पहिलो घटना होइन । पहिले पनि हामीले यस्ता अवैधानिक डिभाइस र सिमहरू धेरै फेला पारेका थियौं । आरोहीहरू आफ्नै देशबाट यस्ता डिभाइसहरू बोकेर आउने गरेका पनि छन् । यो पटक भने एलन मस्कको इन्टरनेट प्रयोगमा आएको भन्ने सुनिएको छ ।”

गजुरेलका अनुसार नेपालमा हाल प्रयोग भइरहेको स्याटलाइट फोन र डेटाको तुलनामा स्टारलिंक धेरै सस्तो भएका कारण यो प्रयोगमा आएको हुन सक्छ । तर, दर्ता नभई अन्य कम्पनीले सेवा दिँदा आफ्नो लगानी असुरक्षित हुने उनको भनाइ छ । हाल नेपालमा केही कम्पनीहरूले ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन्स बाइ स्याटलाइट (GMPCS) मार्फत सेवा दिइरहेका छन् । यसअन्तर्गत फोन कलको प्रति मिनेट शुल्क करिब १७० रुपैयाँ र १ एमबी डेटाको शुल्क ६०६ रुपैयाँ पर्छ । स्टारलिंकको सेवा भने यसको तुलनामा ५० प्रतिशतसम्म सस्तो हुन सक्ने अनुमान छ ।

उनले थपे, “हामीले यस्ता अनधिकृत सेवाका विषयमा नियामक (दूरसञ्चार प्राधिकरण) लाई जानकारी गराइरहेका हुन्छौं । सेवा दिने भए दर्ता भएर आएर सेवा दिनुपर्छ ।”

यता नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्टारलिंकलाई इन्टरनेट सेवाका लागि कुनै पनि प्रकारको अनुमति नदिएको पुष्टि गरेको छ । प्राधिकरण स्रोतका अनुसार अनुमति वा दर्ताका लागि कुनै प्रक्रिया नै अगाडि बढेको छैन ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै अग्ला हिमालको बेसक्याम्पहरूमा अनुमतिबिना स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराइरहेको जानकारी आएकोले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरेको छ ।

प्राधिकरण स्रोतले भन्यो, “हामीलाई प्राप्त जानकारी अनुसार आरोहणमा आएका विदेशी आरोहीहरूले उतै प्रयोग गरिरहेको डिभाइस नेपालमा पनि ल्याउने र प्रयोग गर्न गरेका छन् । दर्ता नभए पनि नेपालमा सेवा दिन स्टारलिंकलाई सहज छ । अन्तरिक्षबाट देखिने फुटप्रिन्टका आधारमा उनीहरूले सेवा सहजै उपलब्ध गराउन सक्छन् ।”

कन्स्टिलेसन प्रालिका प्रबन्धक गजुरेलका अनुसार विदेशी आरोहीहरूले नेपाल आउँदा प्रयोग भएकै डिभाइस र सिम लिएर आउने र फर्कने बेला फिर्ता नलाने गर्दा पनि यहाँ कम्पनीले सोही डिभाइस प्रयोग गरिरहने प्रवृत्ति देखिएको छ । अर्कोतर्फ, स्टारलिंकले नेपालका कम्पनीहरूलाई एजेन्टको रूपमा सेवा उपलब्ध गराइरहेको खुलेको छ । सब्सक्रिप्सन अर्को देशबाट गर्दा पनि यहाँ सेवा प्रयोग गर्न मिल्ने भएका कारण सेवाको दुरुपयोग पनि भएको उनको भनाइ छ ।

भुटान, भारत, पाकिस्तान लगायत छिमेकी देशहरूले स्टारलिंकलाई अनुमति दिइरहँदा नेपालमा पनि यो सेवा ल्याउने चर्चा भइरहेको छ । तर हालसम्म औपचारिक रूपमा कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १८:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट