काठमाडौँ । सामाजिक सञ्जालमा फोटो तथा भिडिओ बनाएर पोसाकको दुरुपयोग गरेको भन्दै १६६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । पछिल्लो दुई वर्षको समय अवधिमा सशस्त्र प्रहरी बलले यस्तो कारबाही गरेको सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

उनका अनुसार विशेषगरी टिकटकमा पोसाक लगाएर तथा पेस्तोल देखाएर भिडिओ बनाउने प्रहरीहरू विभागीय कारबाहीमा परेका छन् । त्यस बाहेक फेसबुक, मेसेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, विच्याट लगायतका सामाजिक सञ्जालमा त्यस्ता फोटो/भिडिओ अपलोड गर्ने प्रहरीहरू पनि कारबाहीमा परेका छन् ।
सशस्त्र प्रहरी बलमा कुनै पनि पोसाक प्रयोग गरेर सामाजिक सञ्जालमा फोटो भिडिओ राख्न नपाउने नियम रहेको उनले बताए । उक्त नियम विपरीतमा गतिविधि गर्ने कर्मचारीहरूलाई सशस्त्र प्रहरी बलले कारबाही गर्दै आएको छ।
सशस्त्र प्रहरीले सामाजिक सञ्जालमा गर्ने व्यवहारका बारेमा आन्तरिक अनुगमन गर्न सामाजिक सञ्जाल अनुगमन शाखा समेत खडा गरेको छ । उनले भने, “केन्द्रमा रहेको यो शाखाले सामाजिक सञ्जालहरूको अनुगमन गरिरहेको हुन्छ । टिकटकमा भिडिओ बनाउन पोसाक र हतियारको बढी दुरुपयोग भइरहेको पाइएको छ । सङ्गठनको पोसाक प्रयोग गरेर र कर्मचारीले त हतियारसहित नै टिकटक बनाएर अपलोड गरेको देखियो । यसरी नीति नियम विपरीत काम गर्नेलाई विभागीय कारबाही गरेका हौँ ।”

कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायब निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवलदार ९ जना, हवलदार ५ जना, सहायक हवलदार १० जना, जवान १२१ जना र परिचर ३ जना रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गरिएको छ । त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ ।
त्यस्तै प्रहरी सङ्गठनको बारेमा आएका समाचारमा नकारात्मक कमेन्ट गर्ने प्रहरीलाई समेत कारबाही गर्दै आइएको उनले बताए ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १९:३९
सामाग्री श्रोत :
टेक पाना