काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालबाट चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति पौडेलले चिकित्सकको बढ्दो विदेशिने क्रम रोक्नलाई सम्बन्धित पक्षले उपयुक्त कदम चाल्नुपर्ने विषयमा जोड दिएका छन्।
‘स्वास्थ्य सेवाम सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरु विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो। यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपति पौडेलले कार्यक्रममा भने।
उनले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्न पनि सुझाब दिएका छन्।
‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको सुनिश्चित गरेको छ।संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्म अनुसार हो। संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरुले यो पेशालाई सेवा भावको दृष्टिले हेर्नुहुन्छ भन्ने विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले न्याम्सले हालसम्म गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा सेवा र चिकित्सा क्षेत्रमा थप सेवा विस्तार गर्न पनि सुझाब दिए। उनले नवप्रवर्दन र अनुसन्धानलाई प्रोत्साहन गर्न न्याम्सले निरन्तर सहयोग प्राप्त गरिरहन्छ भन्नेमा विश्वसत रहेको पनि बताए।
सामाग्री श्रोत :
swasthyakhabar

