साधारण शारीरिक क्रियाक्लाप र तनावरहित अवस्थामा पनि शरिरका विभिन्न प्रणालीमा रक्तसञ्चार गर्ने धमनीहरुमा १४० एमएमएचजी सिस्टोलिक र ९० एमएमएचजी डायस्टोलिक भन्दा बढी रक्तचाप हुनलाई उच्छ रक्तचाप भनिन्छ। मुटु तथा रक्तसन्चार प्रणालीजन्य रोगहरु बिश्वका मुख्य प्राणघातक कारक हुन्। उच्च रक्तचाप नसर्ने किसिमको रोग भएता पनि केही देशहरुमा करिब आधा जनसङ्ख्या यस रोगबाट ग्रसित छन्। उच्च रक्तचापबाट विश्वभरीमा बार्षिक करिब ७५ लाख मानिसहरुले ज्यान गुमाउने गर्दछन्।
कारणहरु
आधारभूत उच्च रक्तचापका मुख्य कारकतत्वहरु वंशाणु, वातावरणीय प्रभाव, जात, उमेर, लिङ्ग, खानपान र जीवनशैली आदि हुन्। यस किसिमको उच्च रक्तचापमा कारकतत्वहरुले प्रत्यक्ष रक्तसञ्चार प्रणालीमा असर गर्छ भने अप्रधान वा द्वितीय उच्च रक्तचाप शरिरका अन्य अङ्ग तथा प्रणालीहरु, जस्तै: मिर्गौला, उत्सर्जन प्रणाली तथा इन्डोक्राइन ग्रन्थीका रोगहरु, रक्तनलीको संरचनागत खराबी, तनाब तथा मनोवैज्ञानिक असर, मादकपदार्थ सेवन, मोटोपना तथा गर्भावस्थाको कारणले हुने गर्दछ।
कसरी लाग्दछ ?
ग्रन्थीहरुले आवश्यक मात्रामा हर्मोन निस्कासन गरेर शरिरका विभिन्न अङ्गहरुको गतिविधी नियमित राख्छन्। रक्तसन्चार प्रणाली नियमित हुनको लागि मुटु र रक्तनली चुस्त र त्रुटिरहित हुन आवश्यक हुन्छ साथै रक्तसन्चार प्रणालीका सहायक अङ्गहरु पनि सन्तुलित अवस्थामा हुनु पर्दछ। मिर्गौला, कलेजो, फोक्सो, फियो, बोनम्यारो र लिम्फ्याटिक अङ्गहरु रक्तसन्चार प्रणालीका केही सहायक अङ्गहरु हुन्। सहायक अङ्गहरुले रगतमा अक्सिजन भर्ने, रगत बनाउने तथा नस्ट गर्ने, रक्तनलीलाइ चुस्त राख्ने, रगत छान्ने लगायत कार्य गर्छन्।
यदि मुटुले आफ्नो क्षमता भन्दा बढी रगत पम्प गरेमा वा धमनीहरुमा कोलेस्टेरोल जम्मा भएर रक्तसन्चारमा अवरोध बढेमा उच्च रक्तचाप हुन्छ।
साधारण अवस्थामा मिर्गौलाले रगतको आयतनलाई सन्तुलित राख्दछ। मिर्गौलामा विभिन्न किसिमका खराबि भए भने रेनिन, एन्जियोटेन्सिन, अल्डोस्टेरोन जस्ता हर्मोनहरुको मात्रा बढ्न गइ शरिरमा बढी भएको पानी र सोडियमलाई रक्तसञ्चार प्रणालीमै फर्काइ दिन्छ। निष्कासन हुनुपर्ने पानी र लवण रक्तसञ्चार प्रणालीमा फर्किनाले मुटुले आफ्नो क्षमता भन्दा बढी रगत पम्प गर्नुपर्दछ । साथै यी हर्मोनहरुले रक्तनलीको गोलाइ साघुरो बनाउँछन्। त्यसैकारण रक्तचापमा वृद्धि हुन्छ।
उच्च रक्तचापका असरहरु
उच्च रक्तचापले मुटु, रक्तनली, मिर्गौला, मस्तिष्क र स्नायु तथा आँखामा गम्भीर प्रकृतिका समस्या पैदा गर्छ । रक्तनलीहरु कमजोर भएपछि रगतमा भएका पदार्थ रक्तनलीको भित्तामा सजिलै छिर्न सक्छन्। रक्तनलीको भित्री भागमा संयोजी तन्तु, प्रोटिन, बोसो र मांसपेसीको तह थपिएर साँघुरो बन्छ। रक्तनली कडा हुन्छ र विभिन्न किसिमको असर पैदा हुन्छ। मुटुले यसको क्षमता भन्दा बढी रक्तसञ्चार गर्नुपर्ने भएकालेे भेन्ट्रिकलको भित्ता ठूलो बन्छ। मुटुको मांसपेसीमा भएका फाइबरहरु नस्ट भएर हृदयघातसम्म हुने गर्दछ।
रक्तचापलाई नियन्त्रण गर्ने प्रमुख सहायक अङ्ग मिर्गौला हो। उच्च रक्तचापले मृगौलाको क्षमतामा ह्रास हुन्छ। मिर्गौलाको सानो हुन्छ। मिर्गौलाको भित्री भागमा संयोजी तन्तु र फाइबरहरु जम्मा भएर बस्छन्। मिर्गौलाको क्षमता कमजोर भएर पिसाबमा प्रोटिनको मात्रा बढ्छ। मस्तिस्कमा रक्तस्राब, मस्तिस्कघात गराउँछ भने आखामा पनि विभिन्न किसिमका असरहरु गराउँछ।
कसरी नियन्त्रण गर्ने ?
उच्च रक्तचाप जोकोहीलाई हुन सक्दछ। त्यसैले नियमित रुपमा रगतको बायोकेमिकल जाँच गर्नुपर्छ। तनावरहित वातावरणमा बस्नुपर्छ। धुम्रपान र मधपान त्याग्नुपर्छ। जङ्क फुड, कोलेस्टोरेलयुक्त खानेकुरा र चिल्लो, बोसोयुक्त खानेकुरा सकेसम्म कम खानुपर्छ। साथै नियमित ब्यायाम, सन्तुलित भोजन र योग, साधना तथा ध्यानले पनि रक्तचापलाइ नियन्त्रण गराउँछ।
सामाग्री श्रोत :
swasthyakhabar

