काठमाडौँ । आईफोन १७ सिरिजका डमी युनिटहरूको नयाँ भिडिओ सार्वजनिक भएको छ । यसअघि केही तस्बिर र मोडल देखाइएकोमा हालै सार्वजनिक भिडिओमा सबै कोणबाट नयाँ मोडेलहरू प्रस्तुत गरिएको छ ।

सबैभन्दा बढी ध्यान तानेको मोडल भनेको ‘आईफोन १७ एयर’ हो । यो फोन निकै पातलो अर्थात् करिब ५.६५ मिलिमिटर मोटाइ मात्र रहने बताइएको छ । खबर अनुसार यो मोडेल यूएसबी–सी पोर्टभन्दा थोरै मात्र मोटो देखिन्छ ।
यो मोडलले ‘आईफोन १६ प्लस’लाई रिप्लेस गर्ने चर्चा छ । ‘आईफोन १६ प्लस’ केही वर्षदेखि सबैभन्दा कम बिक्री हुने मोडल भएको भन्दै नयाँ प्रयोगको तयारी गरिएको हो ।
भिडिओमा ‘आईफोन १७ प्रो’ र ‘प्रो म्याक्स’ का डमी मोडलहरू पनि छन् । यी मोडलहरूको क्यामेरा डिजाइन नयाँ देखिन्छ, जुन केही समयअघि सार्वजनिक पोको ब्रान्डका फोनहरूसँग मेल खाने खालका छन् ।

यसअघि एल्मुनियम फ्रेम, एकै टुक्राको मेटल डिजाइन र रिभर्स वायरलेस चार्जिङ सपोर्ट गर्ने म्यागसेफ कटआउट हुने भनिएको थियो । तर, अहिले देखिएका डमी युनिटहरूमा ती फिचरहरू देखिँदैनन् । त्यसैले, यी डमीहरू अझै अन्तिम नमुना होइनन् वा केही फिचरहरू परिवर्तन हुन सक्छ भन्ने स्पष्ट छैन ।
आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने !
आईफोन १७ का सबै मोडेलमा १२ जीबी र्याम हुने हल्ला चलेको छ । चिनियाँ सामाजिक सञ्जाल विबोमा मङ्गलबार एक पोस्ट राख्दै चर्चित लिक्स्टर ‘डिजिटल च्याट स्टेसन’ यस्तो खुलासा गरेको हो ।
बाहिरिएको जानकारी अनुसार एप्पलको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर ‘एप्पल इन्टेलिजेन्स’लाई उत्कृष्ट ढङ्गले सञ्चालन गर्न स्तरोन्नति गर्न लागिएको हो । यसअघि चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले यस्तै विश्लेषण गरेका थिए । त्यसको केही दिनमै एप्पलको आपूर्ति शृङ्खलामा पहुँच भएको दाबी गर्ने ती चिनियाँ लिकस्टरले सबै आईफोन १७ मोडेलमा १२ जीबी र्याम हुने दाबी गरेका हुन् ।
कुओले पनि आईफोन १७ एयर, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्समा १२ जीबी र्याम हुने बताएका थिए ।
कुओले बेस मोडेल आईफोन १७ मा पनि १२ जीबी र्याम हुनसक्ने तर त्यो आपूर्ति शृङ्खलामा आउनसक्ने अभावलाई समाधान गर्न सकिनेमा निर्भर रहने उल्लेख गरेका थिए । उनका अनुसार एप्पलले साधारण आईफोन १७ मोडेलमा रहने र्यामको क्षमता बारे अन्तिम निर्णय आगामी मे महिनासम्ममा लिनेछ ।
यदि बेस मोडेल आईफोन १७ मा ८ जीबी र्याम नै कायम रहे पनि कुओले अर्को वर्ष (२०२६ मा) आउने आईफोन १८ का सबै मोडेलहरूमा भने १२ जीबी र्याम हुने अपेक्षा राखेका छन् । हाल बजारमा उपलब्ध आईफोन १६ का सबै मोडेलहरूमा ८ जीबी र्याम रहेको छ । त्यसैले १२ जीबीमा स्तरोन्नति गर्नु कम्पनीका लागि एक महत्त्वपूर्ण कदम मानिएको छ ।
एप्पलले आईफोन १७ सिरिज आफ्नो नियमित समय तालिका अनुसार यसै वर्षको सेप्टेम्बर महिनातिर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
यो पनि पढ्नुहोस्: आईफोन किन्दै हुनुहुन्छ ? १६ रोज्ने कि १७ पर्खिने ?
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ २३:५
सामाग्री श्रोत :
टेक पाना