काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा रामप्रसाद रिमाल नामका एक व्यक्तिले पक्की बाटो बिग्रिएर सडकमा खाल्डो परेपछि झापामा मानिसहरूले केराको बोटहरू सडकमा नै रोपेको दाबी गर्दै एक भिडिओ शेयर गरे । उक्त भिडिओलाई धेरैले वास्तविक ठानी प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता र सरकारलाई गाली गरिरहेका छन् । तर टेकपानाले तथ्यजाँच गर्ने क्रममा उक्त भिडिओ डिपफेक भएको पाइएको छ ।

दाबी
रामप्रसाद रिमाल नामको फेसबुक पेजबाट उक्त भिडिओ सोमबार दिउँसो ४:०३ बजे सार्वजनिक गरिएको हो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई १० लाखभन्दा बढी पटक हेरिएको छ भने १५ सयभन्दा धेरैले शेयर गरेका छन् । उक्त पोस्टमा लेखिएको छ- “झापामा बाटो बिग्रयो भनेर केला तथा फूल रोपेर विरोध गरेका छन् ।”
भिडिओमा एक पुरुषको आवाज पनि सुनिन्छ, जहाँ भनिएको छ- “हेर्नुहोस् त साथीहरू, विरोध गर्ने पनि नयाँ नयाँ तरिका हुन्छन् । केपी ओलीको जिल्ला झापामा बाटो बिग्रियो भनेर यसरी केरा, फूल रोपेर विरोध गरेका छन् साथीहरू । भिडिओलाई जति सक्दो शेयर गर्नु होला ।” हेर्नुहोस् भिडिओ र आर्काइभ लिङ्क ।

तथ्यजाँच
उक्त दाबीको तथ्यजाँचका लागि सबैभन्दा पहिला त भिडिओको विभिन्न किफ्रेम निकालेर गुगल रिभर्स इमेजमा गएर हेर्यौँ । जहाँ ३ अप्रिल, २०२५ मा ‘lucychen05’ नामको आईडीबाट इन्स्ट्राग्राममा पोस्ट गरेको सोही भिडिओ फेला पर्यो । हेर्नुहोस् उक्त भिडिओ । त्यहाँ फिलिपिनो भाषामा क्याप्सन लेखिएको छ,जसको आशय यस्तो हुन्छ: ‘बजेट त छैन । बरु केरा रोपियो भने केही उब्जनी त गर्न सकिन्छ ।’
उक्त भिडिओ भन्दा चार दिन अघि ‘skullshader’ नामको इन्स्ट्रागाम अकाउन्टबाट पनि सोही भिडिओ सार्वजनिक भएको पायौँ । जसमा फिलिपिनो भाषामै क्याप्सन लेखिएको छ, जसको आशय यस्तो छ: ‘एआई साँच्चै नै अद्भुत छ । हेर्दा वास्तविक नै जस्तो देखिन्छ ।’
त्यसैगरी, भिडिओमा देखिएको ठ्याक्कै लोकेसन भने गुगल रिभर्स इमेजमार्फत इन्टरनेटमा फेला परेन । भिडिओको फ्रेम अध्ययन गर्दा त्यहाँ देखिएका मानिसहरूको खुट्टाका औँला सामान्य मानिसहरूको जस्तो छैनन् ।
उक्त भिडिओको सुरुवातमा फ्रेममा आठ जना पुरुष देखिन्छन् । त्यहाँ उभिएका पुरुषमध्ये एक जना त्यहाँबाट हट्छन् भने बाँकी सात जना रहन्छन् । तर भिडिओमा मानिसहरू त्यहीँ थपिइरहेका छन् । १० सेकेन्ड लामो भिडिओमा आफैँ मानिसहरू उत्पत्ति भएर नौ जना भएका छन् ।
एक पुरुषले हातमा केही बोकेको जस्तो त देखिन्छ, तर त्यसमा माटो बोकेको जस्तो देखिँदैन । तर पछि आएर त्यही व्यक्तिले सडकको खाल्डोबाट सुक्खा माटो निकालेर केराको बोटमा राखेका छन् । जुन कुरा प्राकृतिक देखिँदैन । यस्तै भिडिओको सुरुमा एक वृद्ध छन्, जसको कपाल सेतै छ । तर ती व्यक्ति अगाडिको केराको बोट भएको ठाउँमा आइपुग्दा कपाल कालै हुन्छ र जवान पुरुष बन्छन् ।
यस्तै एआई जेनेरेटेट भिडिओ पत्ता लगाउन प्रयोग गरिने टुल ‘हाइभ मोडेरेसन’ले पनि उक्त भिडिओ ९६ प्रतिशतसम्म डिपफेक भएको पत्ता लगाएको छ । यद्यपि उक्त टुलले भिडिओमा प्रयोग भएको आवाज भने मानिसको वास्तविक नै रहेको निष्कर्ष निकालेको छ ।
दाबी
झापामा बाटो बिग्रियो भन्दै केरा रोपेर जनताले विरोध गरे ।
तथ्य
सडकमा केरा रोपिएको भिडिओ एआईका विभिन्न टुलहरू प्रयोग गरेर बनाइएको डिपफेक भिडिओ हो ।
निष्कर्ष
राम प्रसाद रिजाल नामक फेसबुक प्रयोगकर्ताले झापामा मानिसहरूले सडकमा केरा रोपेको भन्दै पोस्ट गरेको भिडिओ वास्तवमा डिपफेक भएको पुष्टि भएको छ । भिडिओ पहिल्यै फिलिपिन्सका प्रयोगकर्ताहरूले पोस्ट गरिसकेका थिए । टेकपानाको प्रविधिगत परीक्षण तथा तथ्यजाँचले यो एआई-जेनरेटेड सामग्री भएको देखाएको छ । रिजालले पुरानो डिपफेक भिडिओलाई झापाको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएका हुन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ २०:९
सामाग्री श्रोत :
टेक पाना