२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

तीन महिनामा नेपालीका १४ लाख भिडिओ टिकटकबाट गायब, के होला कारण ?

काठमाडौँ । शर्ट भिडिओ प्लेटफर्म टिकटकले नीति उल्लङ्घन गरेको भन्दै तीन महिनामा नेपाली प्रयोगकर्ताका १४ लाखभन्दा बढी भिडिओ हटाएको छ । कम्पनीले टेकपानालाई उपलब्ध गराएको विवरणअनुसार सन् २०२४ को चौथो त्रैमासिक (अक्टोबरदेखि डिसेम्बर) सम्ममा कुल १४ लाख ७६ हजार ८६२ भिडिओ हटाइएका हुन् ।

टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन पालना गराउन कडाइ गरेको र त्यसविपरीत जाने भिडिओ हटाउने गरेको जानकारी दिएको छ । यसमा कम्पनीले कन्टेन्ट मोडेरेसन टुल र हजारौं ट्रस्ट एन्ड सेफ्टी प्रोफेसनलले मुख्य भूमिका खेल्ने कम्पनीले उल्लेख गरेको छ ।

सरकारको निर्देशनमा कम्पनीले सो अवधिमा कति भिडिओ हटायो भन्ने विवरण पनि माग गरिएको थियो । तर, कम्पनीले सो तथ्याङ्क उपलब्ध गराएको छैन ।

टिकटकले नेपालमा आफ्नो उपस्थितिलाई सुदृढ गर्दै स्थानीय आवश्यकताअनुसार सुरक्षा टोली (सेफ्टी टिम) विस्तार गरेको उल्लेख गरेको छ । “नेपालमा टिकटक कम्युनिटी बढ्दै जाँदा यसको सुरक्षा र हितलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धता पनि बढेको छ,” कम्पनीले भनेको छ, “हामीले नेपालमा समर्पित विश्वास तथा सुरक्षा टोलीसँग सक्रिय रूपमा काम गरिरहेका छौं ।”

विश्वास तथा सुरक्षा टोलीले देशका विभिन्न क्षेत्र र भूगोलमा अपमानजनक मानिने, धार्मिक तथा सांस्कृतिक रूपमा गम्भीर असर पर्ने, असान्दर्भिक भाषा प्रयोग गर्ने लगायतका सामग्री हटाउने गरेको जनाएको छ ।

टिकटकले नेपालमा आफ्नो प्लेटफर्मलाई थप सुरक्षित र रचनात्मक बनाउन विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गरिरहेको पनि जनाएको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग मिलेर डिजिटल सेफ्टी समिट आयोजना गरेको जनाएको छ । यस क्रममा अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धनका लागि वर्षभरि चल्ने नीति कार्यक्रमको घोषणा गरिएको उल्लेख छ । यसले विशेषगरी अभिभावक, शिक्षक र विद्यार्थीलाई तालिम दिने लक्ष्य राखेको छ ।

साना तथा मझौला व्यवसायलाई सहयोग गर्न टिकटकले #GrowWithTikTok मास्टरक्लास आयोजना गरेको थियो । सो कार्यक्रममा व्यवसायलाई टिकटक प्रयोग गर्ने तरिका सिकाइएको थियो । यसैगरी कम्पनीले अनलाइन दुर्व्यवहार, भ्रामक सूचना र ठगीविरुद्ध सचेतना फैलाउन नेपाली क्रियटर तथा सेलिब्रेटीसँग मिलेर सुरक्षा दूत (सेफ्टी एम्बेसडर) कार्यक्रम पनि सञ्चालन गरेको थियो । टिकटकले नेपाली क्रियटर र सेलिब्रेटीलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभालाई प्लेटफर्ममा प्रवर्द्धन गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १८:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट