
काठमाडौँ । भारत कर्नाटक राज्यको उच्च अदालतले इन्ड-टु-इन्ड इन्क्रिप्टेड ईमेल सेवाप्रदायक प्रोटोनमेललाई देशभर ब्लक गर्न आदेश दिएको छ । एम मोसर डिजाइन एसोसिएटेड इन्डिया प्रालिले गत जनवरीमा दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मङ्गलबार अदालतले प्रोटोन मेल ब्लक गर्ने आदेश दिएको हो ।
कानुनसम्बन्धी जानकारी दिने भारतीय सञ्चारमाध्यम ‘लाइभ ल’का अनुसार उजुरीमा कम्पनीका कर्मचारीले आफूलाई अश्लीलजन्य सामग्री भएको ईमेल आएको दाबी गरेका थिए । खासगरी ईमेलमा अश्लील, अपमानजनक र अभद्र भाषा, एआई निर्मित डिपफेक तस्बिर र अन्य यौनजन्य आपत्तिजनक सामग्री समावेश भएका ईमेल उक्त प्रोटोनमेलमार्फत आएको उनीहरूको आरोप थियो ।
त्यसैको सुनुवाइमा न्यायाधीश एम नागप्रसन्नाले भारत सरकारलाई ‘सूचना प्रविधि ऐन, २००८ को धारा ६९ ए र सूचना प्रविधि नियम, २००९ को नियम १० बमोजिम प्रोटोनमेल ब्लक गर्न प्रक्रिया सुरु गर्न आदेश दिएका हुन् ।

“जबसम्म भारत सरकारले यस्तो कारबाही अघि बढाएर टुङ्ग्याउँदैन, तबसम्म आपत्तिजनक युनिफर्म रिसोर्स लोकेटर तुरुन्तै ब्लक गरिनुपर्छ,” आदेशमा थप भनिएको छ ।
यो समाचार तयार पार्दासम्म प्रोटोनमेल भारतमा पहुँचयोग्य नै छ । भारतमा यस प्लेटफर्ममाथि प्रतिबन्धको खतरा देखिएको यो दोस्रो पटक हो । गत वर्षको सुरुवातमा प्रोटोनमेल मार्फत बम विष्फोटका झुटो धम्की पठाइएको रिपोर्ट आएपछि कम्पनीले ‘स्विस कानुन विपरीत हुने उद्देश्यका लागि प्रोटोन सेवाको प्रयोगको कडा विरोध गर्ने’ बताएको थियो ।
प्रोटोनले स्विस कानुन अन्तर्गत विदेशी अधिकारीलाई कुनै पनि डेटा हस्तान्तरण गर्न अनुमति नभएको बताउँदै आएको छ । यद्यपि गैरकानुनी गतिविधिलाई सम्बोधन गर्न बाह्य एजेन्सीसँग सहकार्य गर्न सक्ने स्विस अधिकारीको आदेशको पालना गर्न भने कम्पनी बाध्य छ ।
“इन्ड-टु-इन्ड इन्क्रिप्सनको अर्थ प्रयोगकर्ताको ईमेल, फाइल, क्यालेन्डर र पासवर्डमा बलियो गोपनीयता सुरक्षा हुन्छ । तर स्विस कानुन विपरीतका उद्देश्यका लागि प्रोटोनमेल प्रयोग गर्न अनुमति छैन,” कम्पनीले भनेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १६:८
सामाग्री श्रोत :
टेक पाना