काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर) ले फोरके (फोरके) रिजोलुसनमा भिडिओ अपलोड गर्ने सुविधा दिने भएको छ । कम्पनीले प्रयोगकर्ताको इंगेजमेन्ट बढाउन र उनीहरूलाई भिडिओ हेर्नका लागि युट्युब र भिमियो (Vimeo) जस्ता अन्य प्लेटफर्ममा जानबाट रोक्ने उद्देश्यले यो कदम चालेको हो ।

एक्सको इन्जिनियरिङ टिमको अकाउन्टबाट गरिएको पोस्ट अनुसार, चाँडै नै यो सुविधा सबै प्रिमियम ग्राहकका लागि उपलब्ध हुनेछ ।
पहिले, एक्सका प्रिमियम ग्राहकले १०८०पी रेजोलुसनमा अधिकतम ८ जीबी साइज र करिब तीन घण्टासम्मका भिडिओ अपलोड गर्न सक्थे । फोरके सपोर्ट आएसँगै ग्राहकका लागि साइज लिमिट परिवर्तन हुन सक्ने सम्भावना समेत रहेको छ ।
एलन मस्कले कम्पनी खरिद गरेदेखि नै एक्सले प्रयोगकर्ताहरूलाई थप भिडिओ सामग्री पोस्ट गर्न प्रोत्साहित गरिरहेको छ र यसका लागि अपलोड लिमिट क्रमशः बढाउँदै आएको छ ।

यस वर्षको सुरुमा एक्सले मोबाइल एपको होम पेजमा शर्टकटसहित भर्टिकल भिडिओका लागि छुट्टै फिड पनि सुरु गरेको थियो । यो कदम अमेरिकामा टिकटक माथिको सम्भावित प्रतिबन्धको फाइदा उठाउने प्रयासस्वरूप चालिएको थियो ।
यो नयाँ फोरके भिडिओ अपलोड सुविधाले एक्सलाई भिडिओ सामग्रीका लागि अझ प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १५:२७
सामाग्री श्रोत :
टेक पाना