काठमाडौँ । शिक्षा ऐनको माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि आन्दोलनरत रहेकै बेला दुई स्थानीय तहले भने विद्यार्थी भर्नालाई निरन्तरता दिन अनलाइन प्रणाली सुरु गरेका छन् । दैलेखको दुल्लू नगरपालिका र बर्दियाको ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि अनलाइनमार्फत विद्यार्थी भर्ना लिन थालेका हुन् ।

दुल्लू नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै सामुदायिक विद्यालयमा अनलाइन प्रणालीबाट विद्यार्थी भर्ना गर्न अभिभावकहरूलाई आग्रह गरेको छ । नगरपालिकाका अनुसार सोसेक नेपाल हातेमालो परियोजनाको आर्थिक सहयोग र रिभेरेन्ट कम्प्युटर इन्स्टिच्युट दुल्लुको प्राविधिक सहयोगमा यो प्रणाली विकास गरिएको हो । दुल्लूका सामुदायिक विद्यालयमा भर्ना हुन इच्छुक विद्यार्थीले यस लिङ्कमा क्लिक गरी विद्यालय छनोट गरेर आवेदन दिन सक्नेछन् ।
दुल्लूका वरिष्ठ शिक्षा अधिकृत विकाशजंग शाहीले यो प्रणाली एकै दिनमा तयार भएको जानकारी दिए । उनले पालिकाभित्रकै एक शिक्षकले आफ्नो पहलमा यसको अवधारणा तयार पारेपछि सोसेकसँगको सहकार्यमा प्रणालीलाई अन्तिम रूप दिइएको बताए । शाहीका अनुसार अनलाइन भर्ना सम्पन्न भएपछि विद्यार्थीहरूले आफू भर्ना भएको विद्यालयमा गएर पाठ्यपुस्तक लिन सक्नेछन् ।
“शिक्षकहरू आन्दोलनमा हुँदा अभिभावकहरूलाई भर्ना हुने/नहुने अन्योल थियो । त्यसैले हामीले यो प्रणाली बनाएका हौँ,” शाहीले टेकपानासँग भने, “प्रायः अभिभावकहरू मोबाइल चलाउनुहुन्छ र सामाजिक सञ्जालमा पनि सक्रिय हुनुहुन्छ । अनलाइन भर्ना भएपछि उहाँहरूलाई आफ्ना बालबालिका विद्यालयमा भर्ना भएकोमा ढुक्क महसुस हुनेछ ।”

नगरपालिकाले अनलाइन भर्ना खुला गर्नुअघि नै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूलाई विद्यार्थीलाई पाठ्यपुस्तक वितरणका लागि विद्यालयमा उपस्थित हुन अनुरोध गरेको थियो ।
गत वर्ष दुल्लू नगरपालिकाभित्र १० हजारभन्दा बढी विद्यार्थी भर्ना भएका थिए भने अनलाइन भर्नाको सूचना जारी भएपछि मंगलबार मात्रै २०० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । शाहीले अनलाइन भर्ना प्रणालीले समुदायमा डिजिटल साक्षरताको अवस्था मूल्यांकन गर्न र भविष्यमा प्रविधि सम्बन्धी कार्यक्रम ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाले पनि मंगलबार सूचना जारी गर्दै अनलाइनमार्फत विद्यार्थी भर्ना गर्न आह्वान गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नालाई लिएर अन्योल सिर्जना भएपछि अभिभावकहरू निजी विद्यालयतर्फ आकर्षित हुन थालेको महसुस गरी यो कदम चालेको हो ।
ठाकुरबाबा नगरपालिकाका सूचना प्रविधि अधिकृत विकाश भाट र रोजगार संयोजक रविन्द्र अर्यालले संयुक्त रूपमा यो अनलाइन भर्ना प्रणाली तयार पारेका हुन् । ठाकुरबाबाका सामुदायिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकले यहाँ क्लिक गरी अनलाइन फारम भर्न सक्नेछन् ।
सूचना अधिकृत भाटका अनुसार अनलाइन भर्ना आह्वान गरिएको पहिलो दिन नै सात जना विद्यार्थीले आवेदन दिएका छन् । “अहिले शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । उहाँहरू फर्किएपछि यो प्रणालीबाट भएको भर्नाले उहाँहरूलाई पनि सहज हुन्छ,” भाटले टेकपानासँग भने, “हामीसँग भएको विद्यार्थीको विवरण पछि विद्यालयहरूलाई उपलब्ध गराउँछौँ ।” उनले पालिकाका सूचना प्रविधि अधिकृत र कर्मचारीले नै यस्तो प्रणाली तयार पार्न सक्ने उदाहरण प्रस्तुत गरेको बताए ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १४:४१
सामाग्री श्रोत :
टेक पाना