काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा तीव्र रुपमा अगाडि बढिरहेको देश चीन विश्वकै सबैभन्दा धेरै एआई प्याटेन्ट हुने देश बन्न सफल भएको छ । विश्व बौद्धिक सम्पत्ति संगठन (World Intellectual Property Organization) ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार चीनसँग अहिले विश्वका ६० प्रतिशत एआई सम्बन्धी पेटेन्ट छन्।

यो तथ्याङ्क चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (National Intellectual Property Administration) का प्रमुख शेन चाङयुले स्टेट काउन्सिलद्वारा आयोजित एक पत्रकार सम्मेलनमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै उनले चीनले पछिल्लो केही वर्षमा एआई प्रविधिसँग सम्बन्धित क्षेत्रमा बौद्धिक सम्पत्तिको नीति तथा व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गरेका थिए ।
एआईको दौड चीनले ढिला सुरु गरे पनि अन्य देशहरू भन्दा अहिले चीन धेरै अगाडि पुगिसकेको छ । जनसंख्याको हिसाबले ठूलो बजार भएको यो देशमा सरकारको समय सान्दर्भिक नीतिहरू बनेर पनि यो क्षेत्रमा काम गर्नेहरूलाई निकै सहज भएको छ । अमेरिकाले उच्चस्तरीय एनभिडिया चिप्समा निर्यात प्रतिबन्ध लगाएर चीनको एआई प्रगति रोक्ने प्रयास गरे पनि, चीनको एआई उद्योग अझै तीव्र गतिमा बढिरहेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ ९:५२

सामाग्री श्रोत :
टेक पाना