काठमाडौँ । सोमबार २८ अप्रिल २०२५ बेलुकादेखि पूर्वमन्त्री एवं एकीकृत समाजवादीका सांसद प्रेम आलेले प्रतिनिधिसभाको बैठकमै अश्लील शब्द प्रयोग गरेको भन्दै विभिन्न भिडिओ क्लिप र समाचार आइरहेका छन् ।

कन्टेन्ट क्रियटर टङ्क दाहालदेखि समाचार माध्यम कान्तिपुर दैनिकसम्मले त्यस विषयमा समाचार राखेका छन् । तर, टेकपाना फ्याक्टचेकका क्रममा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भन्दै आएका समाचार सामग्री गलत रहेको देखिएको छ ।
दाबी
सोमबार २८ अप्रिल २०२५ बेलुकादेखि प्रतिनिधि सभा सदस्य आलेले संसद् रोस्टममा अश्लील शब्द बोलेको भन्दै एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ । कान्तिपुरले मङ्गलबार ‘संसद्को रोस्टममा एकीकृत समाजवादीका सांसद आलेले अश्लील शब्द बोले’ शीर्षकको समाचार राखेको थियो । त्यसमा के अश्लील शब्द भन्ने खुलाइएको छैन । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।

आफूलाई कन्टेन्ट क्रियटर बताउने टङ्क दाहालले पनि मङ्गलबार उक्त भिडिओ क्लिप राखेका छन् । क्याप्सनमा पूर्वमन्त्री आलेको भनाइलाई व्यङ्ग्य गर्दै उनले लेखेका छन्, “पार्टीको दबाब झेल्न नसकेर, मेरै पालामा त्यो मु* लाई डिजी बनाइयो – मा. प्रेम आले
*मु = मुख्य जिम्मेवार ? कि के हो ? संसद भित्रै छाडा त बोलेको होइन होला है? 😁”
त्यसपछि उनले चार पल्ट नै एडिट गरेका छन् ।
पछिल्लो पोस्टमा उनले सच्याएर लेखेका छन्, “पार्टीको दबाब झेल्न नसकेर, मेरै पालामा त्यो मु* लाई डिजी बनाइयो – मा. प्रेम आले
* मु* = मुख्य जिम्मेवार ? कि के हो? 😁 तर कडा 🤭
धेरै साथीहरु ले यहाँ “मुन्छे” नै भनेको हो भन्नु भएकोले मैले पनि “मुख्य जिम्मेवार” नभएर “मुन्छे” नै हो भन्ने निस्कर्षमा पुगेको छु 😁” हेर्नुहोस् ओरिजिलन पोस्ट र आर्काइभ पोस्ट ।
दाहालको यही क्याप्सन र भिडिओ अन्य सामाजिक सञ्जाल पेज र अकाउन्टले व्यापक शेयर गरिरहेका छन् ।
तथ्यजाँच
भिडिओ र समाचार अत्यधिक आएपछि मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद आलले आफैँले ‘मुन्छे’ भनेको शब्दलाई फेसबुक पेज र समाचार माध्यमले बङ्ग्याएर अश्लील शब्द बोलेको भनी भ्रम फैलाएको स्पष्टीकरण दिए ।
उनले भनेका छन्- “हिजो मैले संसद्मा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय सभामुख महोदय यो समाचार जुनसुकै मिडियाबाट आएको भएपनि राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न म अनुरोध गर्न चाहन्छु । हिजो मैले संसद्मा कुरा राख्दै गर्दा पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डीजी बनाइयो भनेको थिएँ । तर त्यसलाई तोडमोड गरेर राज्यको चौथो अङ्ग भन्ने सञ्चारकर्मी मिडियाले समाचार राखेर यसलाई डाइभर्ट गर्ने काम गरेको छ ।”
उनको भनाइपछि तथ्यजाँच गर्ने क्रममा हामीले युट्युबकै सोही भिडिओलाई ०.५ एक्स स्पिडमा सुन्यौँ । त्यसमा पनि “त्यो बेलामा मैले धेरै पटक भनेको हो जुनियर मन्छेलाई नबनाऊ, नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डीजी बनाइयो” भनेको सुनियो ।
त्यसपछि हामीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट बोलेको क्लिप लियौँ । त्यसको अडिओ भर्सन निकालेर गुगलको एआई रिसर्च टुल नोटबुक एलएममा राख्यौँ । त्यस क्रममा उक्त टुलले निकालेको ट्रान्सक्रिप्सनमा लेखियो, “…त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबोधाउ नबजाउ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो।”
त्यस्तै गुगलकै अर्को एआई टुल एआई स्टुडियोमा उक्त अडिओ राखेर ट्रान्सक्रिप्सन निकाल्न अनुरोध गर्यौँ । उक्त टुलले निकालेको अनुच्छेद जस्ताको तस्तै, “…त्यो बेलामा मैले धेरै पटक भनेको, जुनियर मान्छेलाई नबनाउ नबनाउ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डीजी बनाइयो ।”
दाबी
पूर्व पर्यटनमन्त्री एवं नेकपा एस (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले संसद् रोस्टममै अश्लील शब्द बोले ।
दाबीकर्ता
कान्तिपुर दैनिक समाचार माध्यम, टङ्क दाहाल लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेका छैनन् । उनले ‘मुन्छे’ भनेको क्लिपलाई लिएर केही प्रयोगकर्ताले स्पिड बढाएर धेरै पटक दोहोर्याउँदै राखेका छन् । धेरै पटक त्यही शब्द स्पिडमा झट्ट सुन्दा अश्लील जस्तो सुनिन्छ । तर, गुगलको एआई टुल प्रयोग गरी सटीक रूपमा विश्लेषण गर्दा उनले ‘मुन्छे’ भनेको पुष्टि भयो ।
निष्कर्ष
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भन्दै भिडिओ क्लिप र समाचार भाइरल भइरहेका छन् । मङ्गलबार त्यही समाचार र भिडिओको खण्डन गर्दै सांसद आलेले आफूले ‘मुन्छे’ भनेको र समाचार माध्यमले त्यसलाई तोडमोड गरी अश्लील शब्द बोलेको भन्दै प्रचार गरेको बताए । हामीले गुगलको नोटबुक एलएम टुल, एआई स्टुडियोबाट निकालिएको ट्रान्सक्रिप्सनबाट ‘मुन्छे’नै बोलेको पायौँ । त्यस्तै संसद् भवनको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भएको भिडिओलाई ०.५ एक्स स्पिडमा सुन्दा पनि ‘मुन्छे’ भनेको पाइयो । यसबाट कान्तिपुर लगायतका सञ्चारमाध्यम र फेसबुक पेज तथा अकाउन्टले भ्रामक जानकारी सहित भिडिओ र समाचार राखेको पुष्टि भयो ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १५:३५
सामाग्री श्रोत :
टेक पाना