२०८२ बैशाख १५ सोमबार
२०८२ बैशाख १५ सोमबार

चिनीको सट्टा ‘भेली’:  स्वास्थ्यको लागि फाइदाजनक छ?

हामीलाई सबैभन्दा मनपर्ने स्वाद सोध्यो भने कमै मात्रको जवाफ गुलियो नआउँला। हामी सबै जना गुलियो भनेपछि हुरुक्कै हुन्छौं। सजिलै उपलब्ध भएको अनि सबैको भान्सामा पाइने चिनी हाम्रो गुलियोको बलियो श्रोत बनेको छ। यधपि धेरैले यो चिनी हाम्रो स्वास्थ्यको लागि अत्यन्तै हानिकारक छ भनेर बुझिसकेका भने छौं। 

चिनी नखाने भन्ने बित्तिकै हाम्रो दिमागमा एउटा प्रश्न आउँछ चिनीको सट्टा के खाने त? हामीले देखेका अनेकौं विकल्पहरु मध्येको एक हो भेली। नेपाली बजारमा सहजै पाउन सकिने भेलीलाई मानिसहरु चिनीको विकल्पको रुपमा निर्धक्क प्रयोग गरेको पाइन्छ। त्यसैले अलिकति यसको बारेमा केहि चर्चा गर्नु आवश्यक छ। 

के भेली स्वास्थ्यको लागि फाइदाजनक छ त ? 
भेली नेपाली समाजमा सदियौंदेखि विविध रुपमा प्रयोग हुँदै आइरहेको पदार्थ हो। विशेषगरी नेपाल तथा भारतमा अत्याधिक रुपमा पाइने भेलीमा कार्बोहाइड्रेट बाहेक पनि विभिन्न पोषण तत्त्वहरू पाउन सकिन्छ। जसमध्ये मुख्य आइरन, म्याग्नेसियम, पोटासियम, फोस्फोरस, सोडिएम, जिंक, क्लोराइड रहेका छन् भने विभिन्न भिटामिनहरु जस्तै भिटामिन ए, विविध भिटामिन बी का प्रकारहरु, भिटामिन सी तथा भिटामिन इ समेत पाइन्छ। यसका अतिरिक्त भेलिमा केहि मात्रामा प्रोटिन समेत पाइने कुरा बिभिन्न अध्ययनहरुमा पाउन सकिन्छ। 

माथी उल्लेख गरिएका सम्पूर्ण पोषण तत्त्वहरू मानव शरीरका लागि नभई नहुने अत्यावश्यक तत्वहरु हुन् जो भेलीमा हामीले पाउन सक्छौं। तर यतिले मात्र हामी यो निर्क्यौल गर्न सक्दैनौ कि भेली हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ। त्यसैले यसको उत्तर “हो” अथवा “होइन” मा भन्दापनि केहि विश्लेषण गरेर दिनुपर्ने हुन्छ। 

माथि भनिएका तत्वहरु भेलीमा पाउने कुरामा दुइमत छैन तर कति मात्रामा पाउने अथवा त्यी तत्वहरु पाउनको लागि कति भेली खानुपर्ने भन्ने कुराले निर्धारण गर्छ यसको आवश्यकता तथा महत्त्व। 

सामान्य मानिसलाई दैनिक जीवनमा माथी उल्लेखित तत्वहरुको फरक फरक मात्रा आवश्यक पर्दछ। तर भेलीमा उक्त तत्त्वहरु नगन्य मात्रामा पाइन्छन्। अझै भनौं भेलीबाट पोषणतत्त्वहरू पर्याप्त मात्रामा पाउनको लागि हामीले धेरै भेलीको सेवन गर्नुपर्ने हुन्छ जुन अन्य खानाको स्रोतबाट सहजै पाउन सकिन्छ ।

उदाहरणको लागि यसरी बुझ्न सकिन्छ : एक सामान्य वयस्क पुरुषलाइ लगभग ८ मिलिग्राम आइरन बाहिरी स्रोत (विभिन्न खाने कुराहरु) बाट चाहिन्छ। यदि भेलीलाई उक्त स्रोतको रुपमा लिने हो भने लगभग १०० ग्राम भेलीमा उल्लेखित मात्रामा आइरन पाउन सकिन्छ। तर हामीले चिनीको सट्टा प्रयोग गर्ने भेलीको मात्रामा हिसाब गर्दा एक चिया चम्चा भेलीमा लगभग ०.७५ मिलिग्राम मात्र आइरन पाउन सकिन्छ जुन अत्यन्तै नगन्य हुन जान्छ।

अर्कोतिर धेरै भेलीको सेवन गर्दा यसका नकारात्मक असरहरू धेरै छन् किनभने भेली र चिनीले हामीलाई दिने क्यालोरीमा खासै अन्तर छैन। आइरन जसरी नै अन्य तत्त्वहरूलाइ पनि यसरी नै तुलना गरेर हेर्दा भेलीबाट हामीले पाउने फाइदा अत्यन्तै नगन्य छ। त्यसैले माथि “भेलीमा पाइने” भनिएका तत्त्वहरू सन्तुलित रुपमा हामीले खाने फलफुल तथा तरकारीहरूमा सजिलोसँग पाउन सकिन्छ। कुनैपनि पोषण विशेषज्ञले उल्लेखित तत्त्वहरूको लागि प्रमुख श्रोतको रुपमा भेली सेवन गर्ने सल्लाह दिनुभएको पाइदैन।  

अब फेरी घुमेर पुरानै प्रश्नमा पुगौं। के भेली खानु ठिक छ? यो प्रश्नलाई दुई पाटोबाट उत्तर दिनुपर्ने हुन्छ। यदि तपाइँ चिनीलाई भेलीले प्रतिस्थापन गर्नुहुन्छ भने यसमा कुनै शंका छैन भेली चिनी भन्दा सबै तुलनामा उत्कृष्ट हुन सक्छ। स्वास्थ्यमा फाइदा गर्छ भन्ने मनशाय राखेर भेली सेवन गर्नुहुन्छ भने भेली खानु ठिक कदापी छैन। अझै क्लियर कट शब्दमा कम हानिकारक हुनुमा फाइदा देख्नुहुन्छ भने भेलीले चिनीको तुलनामा फाइदा गर्छ तर कसैसँग तुलना नगरी एक्लो भेलीको मात्र कुरा गर्दा भेली पनि फाइदाजनक छैन।

भेली खाने कि चिनी ?
चिनी र भेली दुबैले शरीरलाई बराबर मात्रामा क्यालोरी प्रदान गर्दछन् त्यसैले मोटोपन, पेटको गोलाई लगायतका जोखिमहरु दुबैमा बराबर छन् (तर चिनीबाट प्राप्त क्यालोरीलाइ Empty calori भनिन्छ ) यी दुइको Glycemic Index मा केहि अन्तर भएको कुरा विभिन्न अध्ययनले देखाउछन्। यस अर्थमा जसरी चिनी तुरुन्तै रगतमा घुलेर रगतमा चिनीको मात्रा बढाउछ (Blood sugar spike) भेलीले केहि समय बढी लिने भएकोले ह्वात्तै रगतमा चिनीको मात्रा बढाउदैन (चिनीको तुलनामा)। 

कति चिनी सेवन गरेपछि यो हाम्रो लागि हानिकारक छ भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले भन्छ “स्वस्थ जीवनशैलीका लागि चिनीको सेवनबाट आउने क्यालोरी जम्मा क्यालोरीको ५ प्रतिशत भन्दा कममा सीमित गर्नुपर्ने हुन्छ” (यसमा भेली पनि पर्दछ)। यसरी तोकिएको जति चिनीको स्रोतको लागि हामीले भेली प्रयोग गर्दा भेलीबाट कुनैपनि पोषण तत्त्व महत्त्वपूर्ण रुपमा हामीले पाउदैनौ भने अर्कोतिर चिनी जत्तिकै गुलियो पाउनको लागि तुलनात्मक रुपमा बढी भेली प्रयोग गर्दा अझै क्यालोरीको मात्रा बढ्न सक्ने जोखिम त रहन्छ नै। त्यसैले चिनिसँग तुलना गर्दा बाहेक अन्य कुनैपनि अवस्थामा भेलीले स्वास्थ्यको लागि फाइदा गर्दैन तर हामीले सेवन गर्ने मात्रामा सूक्ष्म रुपले तुलना गर्दा भेली र चिनीमा  पनि त्यति ठूलो फरक छैन। यदि तौल कम गर्ने हाम्रो उद्देश्य हो भने त चिनी र भेलीमा केहि पनि फरक नै छैन भन्दा हुन्छ। यी दुवैले हाम्रो तौल बढाउने नै हुन्। भेलीले तौल कम गर्न सहयोग गर्छ भन्नु सरासर गलत हो।

भेलीले पाचनक्रियामा मद्दत गर्छ ?
भेलीको बारेमा अर्को भनाई के छ भने यसले पाचनक्रियामा अत्यन्तै राम्रो भूमिका खेल्नुको साथै कलेजोको सफाइमा पनि महत्वपूर्ण भूमीका खेल्छ। तर यो भनाइलाई सपोर्ट गर्ने कुनैपनि अध्ययनहरु पाइदैन। यसको लागि फाइबरयुक्त खानेकुराहरु सेवन गर्नु र प्रशस्त पानी पिउनु नै पर्याप्त हुन्छ। भेली चाहिँदैन।

त्यसैले निष्कर्षमा भेलीलाई सुरक्षित मानेर प्रयोग गर्ने सम्पूर्णले यो बुझ्नु जरुरी छ कि भेली कुनैपनि व्यक्तिको स्वास्थ्यको लागि निर्धक्कसँग सेवन गर्न मिल्ने पदार्थ होइन।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट