काठमाडौँ । आजको डिजिटल युगमा हाम्रा स्मार्टफोन र अन्य उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भएका छन् । यी उपकरणहरू सञ्चालन गर्न नियमित रूपमा चार्ज गर्नुपर्ने हुन्छ ।

परम्परागत तारयुक्त चार्जिङको विकल्पको रूपमा वायरलेस चार्जिङ प्रविधि हालका वर्षहरूमा लोकप्रिय हुँदै गइरहेको छ । वायरलेस चार्जिङले केही महत्त्वपूर्ण फाइदाहरू प्रदान गरे पनि, यसका बेफाइदाहरूलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।
यहाँ हामी तपाईँको सजिलोको लागि वायरलेस चार्जिङका मुख्य फाइदा र बेफाइदाहरूलाई केलाउँदैछौ ।
फाइदाहरू

-
सुविधा: वायरलेस चार्जिङको सबैभन्दा ठुलो फाइदा भनेको यसबाट प्राप्त हुने सुविधा हो । यसले गर्दा तपाइँलाई आफ्नो फोन चार्ज गर्नको लागि केबल खोज्ने वा पोर्टमा प्लग इन गर्ने झन्झट हुँदैन । केवल आफ्नो उपकरणलाई चार्जिङ प्याडमा राख्नु भयो भने तुरुन्तै चार्ज हुन थाल्छ । यो विशेष गरी व्यस्त व्यक्तिहरू वा शारीरिक रूपमा केबुल जडान गर्न कठिनाइ हुनेहरूका लागि बढी उपयोगी हुन सक्छ ।
-
सफा र व्यवस्थित: वायरलेस चार्जिङले तपाइँको कार्यस्थल वा घरलाई केबुलहरू छरपस्ट हुने अव्यवस्थाबाट मुक्ति दिलाउँछ । केही वायरलेस चार्जिङ प्याडहरूले एकैसाथ धेरै डिभाइसहरू चार्ज गर्ने क्षमता समेत राख्दछन् । जसले गर्दा धेरै चार्जर र केबुलहरूको आवश्यकता पर्दैन।
-
चार्जिङ पोर्टको सुरक्षा: बारम्बार केबुलहरू जोड्ने र हटाउने गर्दा उपकरणको चार्जिङ पोर्टमा क्षति पुग्न सक्छ । वायरलेस चार्जिङ प्रयोग गर्नाले भौतिक रूपमा जोड्ने र छुटाउने आवश्यकता पर्दैन । जसले चार्जिङ पोर्टको आयु लम्ब्याउन मद्दत गर्दछ।
-
बारम्बार पावर बुस्ट: वायरलेस चार्जिङको माध्यमबाट तपाईँले आफ्नो फोन राख्ने बेलामा थोरै भए पनि ब्याट्री बुस्ट गराउन सक्नुहुन्छ । घर, अफिस वा गाडीमा वायरलेस चार्जर राखेर डिभाइसलाई दिनभर चार्जिङ दिइरहन सजिलो हुन्छ ।
-
सुरक्षा: वायरलेस चार्जिङ प्रणालीहरूले सर्ट सर्किट, करेन्ट चुहावट वा पोर्टमा हुने खियाई जस्ता जोखिमहरूलाई कम गर्दछ । प्रत्यक्ष विद्युत जडान नहुने हुँदा केबुलहरू तातिने वा स्पार्क हुने खतरा पनि कम हुन्छ ।
बेफाइदाहरू:
-
स्लो चार्जिङ: तारयुक्त चार्जिङको तुलनामा वायरलेस चार्जिङ प्रायः स्लो हुने गर्छ । यदि तपाईँलाई तुरुन्तै आफ्नो उपकरण चार्ज गर्नुपर्ने आवश्यकता छ भने, तारयुक्त चार्जर नै उत्तम विकल्प हुन सक्छ ।
-
न्यून इफिसेन्सी: वायरलेस चार्जिङमा ऊर्जा स्थानान्तरणको क्रममा केही ऊर्जा नोक्सान हुन्छ, जसले गर्दा यो तारयुक्त चार्जिङ भन्दा कम इफिसेन्ट अर्थात् कुशल हुन्छ । यसको मतलब वायरलेस चार्जिङले तपाईँको उपकरण चार्ज गर्न बढी ऊर्जा खपत गर्न सक्छ ।
-
डिभाइस तात्ने सम्भावना: वायरलेस चार्जिङको क्रममा तारयुक्त चार्जिङको तुलनामा बढी ताप उत्पन्न हुन सक्छ । अत्यधिक तापले डिभाइसको ब्याट्रीको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
-
सीमित प्रयोग: वायरलेस चार्जिङ सधैँ सहज नहुन सक्छ । केबुल युक्त चार्जर जस्तो यसमा तपाईँले फोनलाई यताउता गरेर चलाउँदै गर्दा चार्ज भइरहने भन्ने हुँदैन । किन कि वायरलेस चार्जरहरूका लागि डिभाइसलाई प्याडमा समतल रूपमा राख्न आवश्यक हुन्छ । म्याग्नेटिक म्यागसेफ जस्ता वायरलेस चार्जिङले यस समस्यालाई केही हदसम्म समाधान गर्न सक्छ, यदि तपाईँको डिभाइसले त्यसको सपोर्ट छ भने ।
-
सबै डिभाइसमा उपलब्ध नहुनु: सबै स्मार्टफोन र अन्य उपकरणहरूले वायरलेस चार्जिङलाई सपोर्ट गर्दैनन् । पुरानो वा सस्तो मूल्यका डिभाइसहरूमा अझै पनि यो सुविधा नहुन सक्छ ।
-
उच्च लागत: वायरलेस चार्जरहरू सामान्यतया तारयुक्त चार्जरहरू भन्दा महँगा हुन्छन् । तपाईँले वायरलेस चार्जिङ प्याड छुट्टै किन्नुपर्ने हुन सक्छ र केही प्याडहरूलाई राम्रो स्पिडमा चार्ज गर्नको लागि मिल्दो पावर एडाप्टरको पनि आवश्यकता पर्न सक्छ ।
-
सही स्थानको आवश्यकता: वायरलेस चार्जिङको लागि डिभाइसलाई चार्जिङ प्याडमा सही स्थानमा राख्नुपर्ने हुन्छ । यदि उपकरण सही रूपमा राखिएन भने, यो चार्ज नहुन सक्छ वा ढिलो चार्ज हुन सक्छ ।
-
फोन केसले समस्या: बाक्लो वा धातुबाट बनेका केसहरूले वायरलेस चार्जिङ प्रक्रियामा बाधा पुर्याउन सक्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १९:११
सामाग्री श्रोत :
टेक पाना