२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

सीमावर्ती क्षेत्रमा अवैध मोबाइल सिग्नल बुस्टर भेटिँदै, भारतीय सिम सजिलै चलाउने प्रयास

काठमाडौँ । भारतसँग सिमाना जोडिएका क्षेत्रमा अवैध रूपमा मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रयोग गरेर भारतीय सिम सजिलै चलाउने प्रयास भइरहेको पाइएको छ । मोबाइल सेवाप्रदायक एनसेलका एक अधिकारीका अनुसार सीमावर्ती क्षेत्रमा भारतीय सिम प्रयोग गर्न सिग्नल बुस्टर प्रयोग भइरहेको पत्ता लागेको हो ।

नेटवर्क समस्याबारे गुनासो आएपछि अनुसन्धान गर्दा मोबाइल सिग्नल बुस्टर राखिएको पुष्टि भएको उनले बताए । “गुनासो आएपछि हामीले तत्कालै नेपाल दूरसञ्चार प्राधिकरणलाई खबर गरी कारबाही प्रक्रियामा सघाएका थियौँ,” उनले भने ।

गत चैतको पहिलो हप्तामा पर्साको वीरगञ्जबाट चार ओटा अवैध सिग्नल बुस्टर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनका अनुसार ती बुस्टर जिओ, एयरटेल, बीएसएनएल जस्ता भारतीय दूरसञ्चार कम्पनीको नेटवर्क बलियो बनाउन प्रयोग गरिएको थियो ।

यस घटनापछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले १७ चैतमा सूचना जारी गर्दै अवैध रूपमा मोबाइल सिग्नल बुस्टर नचलाउन सचेत गराएको थियो । प्राधिकरणले रेडियो ऐन, २०१४ र दूरसञ्चार ऐन, २०५३ को प्रावधान विपरीत कार्य गरे कारबाही हुने चेतावनी दिएको छ ।

सामान्यतः धेरै भिडभाड हुने क्षेत्रमा मोबाइलको नेटवर्क राम्रोसँग टिप्दैन । कुनै स्थानबाट टाढामात्र मोबाइल टावरहरू छन् र नेटवर्क सिग्नल कमजोर छ भने टाढाको मोबाइल टावर सिग्नललाई रिसिभ गरेर मोबाइलमा नेटवर्कको क्वालिटी बुस्ट गर्न एम्प्लिफायर प्रयोग गरिन्छ ।

नेपालको कानुनमा मोबाइल नेटवर्क बुस्ट गर्ने प्रविधि अनुमतिप्राप्त सेवाप्रदायक बाहेक अन्यले राख्न पाउँदैनन् । वीरगञ्जमा भने व्यक्तिहरूले आफ्नै घरमा मोबाइल सिग्नल बुस्टर एम्प्लिफायरहरू राखेको भेटिएपछि जफत गरिएको थियो । 

भारतीय सिमको नेटवर्क क्षमता बढाउन बुस्टर प्रयोग गरेको स्थानमा एनसेल वा नेपाल टेलिकमले पनि सेवा दिइरहेका  हुन्छन् । तर अवैध रूपले तेस्रो पक्षले बुस्टर राख्दा नेपाली सेवाप्रदायकको नेटवर्कमा असर पर्नुका साथै फोनमा आवाज नबुझिने र इन्टरनेट गति कमजोर हुने समस्या देखिने टेलिकमका सहायक प्रवक्ता नवीन मिश्र बताउँछन् ।

“मोबाइल सिग्नल बुस्टर राखेर नेपाल टेलिकमको नेटवर्कमा समस्या भयो भनेर त खासै गुनासो आएका छैनन् । कतै राखेको थाहा पायौँ भने कानुनी कारबाही अघि बढाउन दूरसञ्चार प्राधिकरणलाई खबर गर्छौँ,” उनले भने ।

एनसेलका एक अधिकारीका अनुसार अवैध बुस्टरका कारण टेलिकम अपरेटरको मात्र नभइ देशकै आम्दानीमा असर पर्छ । “नेपालका दूरसञ्चार कम्पनीले १ रुपैयाँ कमाउँदा ५० पैसाभन्दा धेरै सरकारलाई राजश्व तिर्छन् । तर अवैध एम्प्लिफायर राख्दा दूरसञ्चार सेवाको गुणस्तरमा समस्या आउँछ नै, यसले देशकै आयमा असर गर्छ,” उनले भने । 

सीमावर्ती क्षेत्रका व्यक्तिहरूले रोजगारी, व्यवसायका लागि भारत जाने गर्ने भएकाले त्यतैको सिम लिने गरेको पाइन्छ । नेपालको सिमबाट भारतमा फोन गर्दा अन्तरदेशीय शुल्क लाग्ने भएकाले अतिरिक्त शुल्क लाग्नबाट बच्न भारतीय सिम प्रयोग गर्ने प्रवृत्ति छ । यस्ता मोबाइल सिग्नल बुस्टर वीरगञ्जजस्ता सीमावर्ती क्षेत्रमा थुप्रै राखिएको हुनसक्ने आशंका गरिएको छ ।

भारतबाट नेपालमा नेटवर्क नटिप्ने भएकाले बुस्टरको प्रयोग भएको हुनसक्ने बताइन्छ । यसरी सिम प्रयोग गर्दा आपराधिक क्रियाकलापहरू समेत बढ्ने सम्भावना रहने जानकारहरू बताउँछन् । यदि कुनै व्यक्तिले आपराधिक क्रियाकलापका लागि विदेशी सिमको प्रयोग गरेमा त्यसलाई खोज्न समेत समस्या पर्ने गर्छ । अचेल धेरै आपराधिक क्रियाकलापको अनुसन्धान मोबाइल तथा सिममा भएको सूचनाबाट टुंगो लाग्ने गरेका छन् ।

विदेशी सिमको प्रयोग बढ्दा आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने र अनुसन्धानमा कठिनाइ आउने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउँछन् । उनका अनुसार पहिले धेरैजसो अवैध बुस्टर भेटिने गरेकोमा अहिले प्रहरीले कडाइ गरेपछि यस्ता घटनामा कमी आएको छ ।

“पहिला अवैध रुपमा एम्प्लिफायर प्रयोग भएको गुनासोहरू धेरै आउँथ्यो । तर प्रहरीले कारबाही गरिरहेकाले यस्तो घटनाहरू पहिला तुलनामा कम भएका छन्,” उनले भने । अवैध बुस्टर फेला परे तत्काल जफत गरी कानुनी कारबाही गरिने उनले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १८:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट