२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

हात्तीपाइले रोग: खुट्टा र अन्डकोश सुन्निनेदेखि क्यान्सर जस्तो लाग्ने रुपसम्म

घटना १: क्यान्सर जस्तो लाग्ने असामान्य रुपमा भेटियो यो रोग
काठमाडौं नजिकैको पहाडी क्षेत्र बाट ५० वर्षीय पुरुषलाई पेटको समस्या देखिएको हुँदा एक ठूलो अस्पतालमा रेफर गरिन्छ।  उहाँको पेटको सिटी स्क्यान गर्दा लगभग फुटबलको आकारको (२३x १५ सेन्टिमिटर) ठूलो फोका (मेसेन्टेरिक सिस्ट) देखा पर्‍यो। बिरामीलाई पाँच दिन अघिदेखि पेट दुख्ने र दिशा रोकिने भइरहेको थियो। तर, यो भन्दा अघि सम्म एउटा पनि सिटामोलसम्म खान परेको थिएन रे। 

झट्ट मुल्याङ्कन गर्दा चिकित्सकहरूलाई क्यान्सरको शंका लाग्यो। क्यान्सरका मार्करहरू, जस्तै ‘सिइए’ हेर्न रगत परीक्षण गरियो। त्यो जाँचमा “सिइए’ थोरै बढेको थियो र क्यान्सर नै होला भनि शंका गर्न सकिने थियो। पानी धेरै नै जमेको र दिशालाई रोकेको हुँदा शल्यक्रिया मार्फत एउटा सानो पाइप (पिगटेल क्याथेटर) राखी प्याथोलोजी प्रयोगशालामा जाँचका लागि तरल पदार्थ पठाइयो। 

त्यहाँ अप्रत्याशित रोग पत्ता लाग्यो। किरा-जस्ता जीवहरू भेटिए। “हेर! एउटै ठाउँमा तीनवटा छन्, यी जुका हुन्” प्याथोलोजिस्ट डाक्टरले माइक्रोस्कोप जाँच गर्दा रेसिडेन्ट डाक्टरहरूलाई भने।

(चित्रमा हेर्नु होला: चित्र १:)।

बिरामी र उहाँको परिवार सँग थप सोधपुछ गर्दा अहिलेसम्म फाइलेरियाको लागि नेपाल सरकारले वितरण गर्ने औषधि नखाएको बुझियो। “उनले त्यसको लागि एउटा पनि औषधि लिएनन्,” उनकी श्रीमतीले जवाफ दिइन्। कारण सोध्दा, उनले व्याख्या गरिन्, “हामीलाई कागजमा बेरेर सेता ट्याब्लेटहरू दिएका थिए, तर सबैले भने औषधिले ज्वरो आउँछ र निद्रा लगाउछ, हामीले नखाइकन फ्याँकिदियौं। हाम्रो तिर त  कसैले पनि ती ट्याब्लेटहरू खाएनन्, एक मुठी औषधि कसरी खाने त हौ एकै चोटी ?” झन् प्रती प्रश्न गर्न पुगिन् । अब बिरामीलाई सरकारले वितरण गर्ने औषधि डिइसि १२ दिनको लागि शुरु गरियो। २-३ दिन मै बिरामीको उल्लेखनीय सुधार भयो र ७ दिनमा डिस्चार्ज भयो। बाँकी अपरेसन गर्नु परेन ।

घटना २: छातिमा पानी जमेर अस्पताल, क्यान्सरको शंका, ढिलो थाहा पाउँदा अकल्पनीय निदन:
उही जिल्ला, त्यही नजिकैको बजारको अर्को ७० वर्षीया आमा, छातिमा पानी जमेर अस्पताल भर्ना हुनु भो। पानी तानेर प्याथोलोजी ल्याबमा पठाइयो। रेपोर्टमा माथि देखाए जस्तो जुका प्रजातिका जीवहरू भेटियो। तर, औषधि शुरु गर्नु अघी नै उहाँको निधन भइसकेको थियो ।

यस्ता प्रकृतीका घटना गराउने फाइलेरिया रोग के हो ? यो बारे हामी जानकारी लिऔं:
फाइलेरिया कस्तो रोग हो ?
फाइलेरिया, जसलाई हामी हात्तीपाइले रोग भनि चिन्दछौ, एक उपेक्षित रोग हो । यो फाइलेरियल परजीवी भनेर चिनिने हेल्मिन्थ (किरा-जस्ता) परजीवीबाट हुन्छ। यी परजीवी हामी सबैले बुझ्ने जुका प्रजातिका जीवहरू नै हुन् । यो सरुवा रोग हो र मुख्यतया लामखुट्टेको टोकाइबाट सर्छ, विशेष गरी क्युलेक्स लामखुट्टेबाट सर्छ। यो रोगले हातखुट्टा सुन्निने हुन सक्छ ।त्यसैले हामी यसलाई हात्तीपाइले रोग भनि चिन्दछौ । तर, यसले शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्छ, जस्तै, अन्डकोश। समय मै उपचार नभए स्थायी अपाङ्गता र सामाजिक संकट सम्मको समस्या निम्त्याउन सक्छ। खुट्टा ठुलो भएर उपचारले सुधार ल्याउन नसकेपछी बाटोमा बसी मागेर हिंड्नुपरेको अवस्था हामीले देखिरहेका छौं होला। 

माथिका समस्याहरू फाइलेरिया हुने धेरैमा देखिने चिन्न तथा जटिलताहरु हुन् । तर, यि भइरहेको समस्या भन्दा फरक रुपमा (माथी उल्लेखित घटनाहरु) फाइलेरिया देखिएकोले जनचेतनाको लागि साथै डाक्टर तथा स्वास्थ्यकर्मी साथीहरु समक्ष्य पुराउन जरुरी देखेर यो लेख लेखेको हुं ।

नेपालमा यो रोगको अवस्था कस्तो छ ?
हाल, नेपालका ७७ जिल्लाहरू मध्ये ६३ जिल्लाहरू फाइलेरियाबाट प्रभावित छन् । लामखुट्टे प्रजननको लागि अनुकूल अवस्थाका कारण तराई र पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित छन्। २२ बर्ष अघी सन २००३ मा नेपाल सरकारले राष्ट्रिय फाइलेरिया उन्मूलन कार्यक्रम शुरु गर्‍यो, जसको शुरुमा २०२० सम्ममा सार्वजनिक स्वास्थ्य समस्याको रूपमा लिम्फेटिक फाइलेरिया उन्मूलन गर्ने लक्ष्य राखिएको थियो, जुन लक्ष्य पछि विश्व स्वास्थ्य संगठन द्वारा निर्धारित विश्वव्यापी लक्ष्यहरूसँग मिल्दोजुल्दो बनाउन २०३० सम्म विस्तार गरिएको थियो। यो कार्यक्रम मास ड्रग एडमिनिस्ट्रेशन (सामूहिक औषधि खुवाउने कार्यक्रम) र रोग व्यवस्थापन र अपाङ्गता रोकथाममा केन्द्रित छ। यस अभियानमा छ वर्षसम्म जोखिममा रहेका जनसंख्यालाई वर्षमा एक पटक डाइथाइलकार्बामाजिन (डिइसि) र अल्बेन्डाजोलको संयोजन खुवाउने कार्यक्रम सञ्चालन गरेको थियो। थप रूपमा, यसले चुनिएका जिल्लाहरूमा आइभरमेक्टिन, डिइसि र अल्बेन्डाजोलको ट्रिपल-ड्रग रेजिमेन प्रयोग गरेर नयाँ कार्यक्रमहरू प्रस्तुत गरेको छ। हालसालै, अप्रिल २०२४ मा, सरकारले झापा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा र कपिलवस्तु गरी सात जिल्लाहरूलाई लक्षित गर्दै अर्को सामूहिक औषधि खुवाउने कार्यक्रम अभियान शुरु गरेको थियो।  

फाइलेरिया रोग लाग्न बाट कसरी रोक्ने?
सामूहिक औषधि खुवाउने कार्यक्रमको निरन्तरता:
एक प्रमुख निवारक उपाय भनेको जोखिममा रहेका जनसंख्यालाई ४-६ वर्षसम्म वर्षमा एक पटक औषधि खुवाउनु हो। नेपालमा, डाइथाइलकार्बामाजिन (डिइसि) र अल्बेन्डाजोलको संयोजन प्रयोग गरिएको छ। अझै पनि रोग नियन्त्रणमा नआएको हुँदा आइभरमेक्टिन सहितको थप मात्रा चालाउनु उचित देखिन्छ ।

कार्यक्रम अनुगमन र मूल्याङ्कन:
आवश्यकता अनुसार समायोजनहरू सहित कार्यक्रमहरूको उद्देश्य, परिणाम र प्रतिक्रियाको सम्बन्धमा नियमित रूपमा अनुगमन र मूल्याङ्कन गरिनुपर्छ। कार्यक्रमको सफलताको लागि उचित रिपोर्टिङ र मूल्याङ्कन महत्त्वपूर्ण छ।

लामखुट्टेको नियन्त्रण:
लामखुट्टेको संख्या नियन्त्रण गर्न कीटनाशक-उपचार गरिएको झुल, कीटनाशक स्प्रे र सामुदायिक जागरूकता कार्यक्रमहरू लागू गर्नु आवश्यक छ। यस्तो कार्यक्रमहरू भइरहे पनि अपुग रहेको बुझिन्छ।

सामुदायिक जागरूकता:
समुदायमा रोगको बारे, रोकथाम उपायहरू र सम्भावित जटिलताहरूको जानकारी हुनु अति आवस्यक हुन्छ। सामाजिक सञ्जाल, पत्रिकाहरू, र स्वास्थ्य स्वयंसेवकहरूले रोग नियन्त्रण प्रयासहरूमा महत्त्वपूर्ण भूमिका खेल्छन्।

नियन्त्रण कार्यक्रमहरूमा सरोकारवालाहरूको पर्यवेक्षण र उचित परिचालन:
नियन्त्रण कार्यक्रमहरूको सफलताको लागि प्रभावकारी पर्यवेक्षण र सरोकारवालाहरूको संलग्नता आवश्यक छ। 

एकीकृत कार्यक्रमहरू:
लामखुट्टेले सार्ने अरु रोग, जस्तै,  औलो/ मलेरिया  नियन्त्रणका कार्यक्रममा हात्तीपाइले रोग नियन्त्रण पनि संयुक्त रुपमा लान आवश्यक छ।

कार्यक्रम भए पनि किन कार्यक्रमले लक्ष्य हासिल गरिरहेको छैन?
१. मानिसहरूले नेपाल सरकारले वितरण गर्ने औषधि स्वीकार गरिरहेका छैनन्

यसको लागि, निम्न कारणहरू हुन सक्छन्:
– रोग र औषधिको फाइदाको बारेमा जनतालाई अपर्याप्त शिक्षा
-कार्यक्रमको लागि अपर्याप्त तयारी
-मानिसहरूले सोचेजस्तो औषधिको भारी मात्रा। यो उमेर र तौल अनुसार खुराक समायोजन गर्न धेरै ट्याब्लेटहरू प्रयोग गरिएको कारणले हो। डिइसि को अवस्थामा, एकल ट्याब्लेट प्रयोग गरिएमा स्वीकृति दर बढ्न सक्नेछ ।

२. उचित अनुगमनको अभाव र औषधि खाएको रिपोर्टिङमा शंका गर्ने सकिने अवस्था छ। 
औषधिको वितरणलाई औषधि सेवनको रूपमा गणना गर्नु हुँदैन। मानिसहरूले अल्बेन्डाजोललाई मात्र जुकाको औषधि भनि चिनेको हुँदा धेरैले औषधि खाएको भने पनि सोही मात्र लिएको बुझिन्छ, र उचित मात्रा नपुग्दा औषधि प्रभावकारी हुँदैन। त्यसैले, औषधिको वितरण कार्यक्रम सन्चालन गर्न मा मात्र नभइ कार्यक्रमले लक्ष्य हासिल गरिरहेको छ/छैन भन्ने बारे बिस्तृत अध्यायन गर्न जरुरी देखिन्छ ।

(डा. काफ्ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँको प्याथोलोजी विभागका सहायक प्राध्यापक हुन्। उनीसंग लामो समय समुदायमा बसी उपचार र रोग नियन्त्रणका कार्यक्रमहरु सन्चालन गरेको अनुभव छ ।)
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट