काठमाडौं। एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन्। चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनले भने, ‘सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती गर्यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ।’
‘वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ। ती प्रहरीहरुलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।रासस

सामाग्री श्रोत :