२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

टेकपाना फ्याक्टचेक: ओलीले ‘मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ?’ भनेका छैनन्, भ्रम फैलाइयो

काठमाडौँ । सोमबार (८ वैशाख) मा विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिइन् । यसै विषयलाई जोडेर नेपाल टाइम्स नामको अनलाइन मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीबारे विभिन्न टिप्पणी भएको भन्दै एक भिडिओ सामग्री सार्वजनिक गर्‍यो । भिडिओमा ओलीले ‘मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ?’ भनेर प्रश्न गरेका छन् भन्ने दाबी गरिएको छ । 

मंगलबार (९ वैशाख) नेपाल टाइम्सले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्रीको भाषणलाई उद्धृत गर्दै उक्त दाबी गरेको हो । तर टेकपानाले गरेको फ्याक्टचेकमा प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिएको कुनै प्रमाण भेटिएन ।

दाबी 

प्रधानमन्त्री ओलीप्रति जनतामा असन्तुष्टि रहेको भन्दै नेपाल टाइम्सले मंगलबार साँझ ५:५३ मा एउटा भिडिओ सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो- “ओलीले सोधे मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ?”

चार मिनेट लामो भिडिओमा शिक्षामन्त्रीको राजीनामा र नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्रीले दिएको सम्बोधन समेटिएको छ । भिडिओमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग तुलना गर्दै आफ्नाबारे अनावश्यक आलोचना भएको गुनासो गरेको दाबी गरिएको छ ।

भिडिओको १:५५ सेकेन्डमा समाचारवाचिका भन्छिन्, “नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री स्वयम्‌ले आफू आलोचनाको केन्द्रमा रहेको स्वीकारेका छन् ।” 

यस्तै २:४२ सेकेन्डमा समाचारवाचिका अगाडि भन्छिन्, “राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण र समृद्धिको सपना देखाउँदै केपी ओली नेतृत्वको सरकार बनेको एक वर्ष पुग्न लागेको छ । तर सरकारप्रति जनताको आस्था भन्दा अविश्वास बढिरहेको छ । प्रशंसाभन्दा आलोचना बढिरहेको छ । यसको खुलासा स्वयम् प्रधानमन्त्रीले नै गरेका छन् । उनले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना नहुने गरेको समेत बताएका छन् ।”

उक्त सामग्री नेपाल टाइम्सले आफ्नो फेसबुक पेज र युट्युब च्यानलमा अपलोड गरेको छ । यो सामग्री तयार पार्दासम्म फेसबुक पेजमा सार्वजनिक भिडिओमा एक लाख ८७ हजारभन्दा धेरै पटक हेरिएको छ भने ६३ सयभन्दा धेरै रियाक्ट र १८७ कमेन्ट आएका छन् । हेर्नुहोस् फेसबुक पेजमा अपलोड भएको भिडिओ आर्काइभ लिङ्क । 

त्यस्तै यही भिडिओ युट्युबमा २८ हजार ६०० भन्दा धेरै पटक हेरिएको छ । भिडिओमा एक हजार बढी लाइक र १४० कमेन्ट छन् । हेर्नुहोस् नेपाल टाइम्सको युट्युब च्यानलमा अपलोड भएको ओरिजिनल भिडिओ आर्काइभ लिङ्क । 

भिडिओका कमेन्टमा अधिकांश प्रयोगकर्ताले नेपालका प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीसँग आफूलाई तुलना गर्न नसुहाउने आशयका प्रतिक्रिया दिएका छन् । युट्युबमा प्रकाश कार्की कमेन्ट गर्छन्, “मोदीले आफन्तलाई ठाउँ ठाउँमा ठूला पद दिन्नन्, तर ओली? मोदीको देशमा झाडूवाला देखि शिक्षक, कर्मचारी सबैको सम्मान गर्छन्, तर ओली? मोदीले आफ्नो दलका नेतादेखि विरोधीको आवाज सुन्छन् र सुधार गर्छन्, तर ओली? कति उदाहरण दिने हो?”

कार्कीजस्तै अन्य प्रयोगकर्ताले भिडिओको शीर्षक हेरेर प्रधानमन्त्री ओलीलाई गाली गरेका छन् । केही प्रयोगकर्ताले ओलीमाथि अश्लील शब्दसमेत खन्याएका छन् ।

तथ्य-जाँच 

काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच ९ वैशाखमा नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७६ औँ वर्षगाँठ मनायो । जहाँ एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले १ घण्टा लामो भाषण दिएका थिए । उक्त कार्यक्रमको लाइभ एमाले आफैँले सामाजिक सञ्जालमा राखेको छ भने विभिन्न सञ्चारमाध्यमले पनि लाइभ गरेको छ । हामीले नेपाल खबरले गरेको लाइभ भिडिओलाई स्रोत बनाएर हेर्‍यौँ । 

नेपाल खबरको लाइभ भिडिओको १:३३:२५ देखि २:४२:२२ सम्म ओलीको भाषण छ । जहाँ उनले नेकपाको इतिहासदेखि पार्टीभित्र आफ्नो विरोधमा भएका असन्तुष्टि र अन्य विषयमा कुरा गरेका छन् । उनले शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिँदा त्यसलाई गलत तरिकाले व्याख्या गरेको भन्दै नेपाली मिडियाप्रति नकारात्मक टिप्पणीसमेत गरे । 

नेपाल टाइम्सको समाचारमा जस्तो ओलीले मोदीको आलोचना नहुने, तर आफ्नो हुने गरेको भनेर दाँजेका छन् कि छैनन् भनेर पूरा भिडिओ हेर्‍यौँ । उनले भारतका प्रधानमन्त्री मोदीका बारेमा उक्त लाइभ भिडिओको २:३८:४३ देखि २:४०:२७ सम्म बोलेका छन् । जहाँ उनले छिमेकी देशहरूबाट समर्थन नमिल्ने भनेर हुने गरेको टिप्पणीमा सत्यता नभएको भन्दै थाइल्याण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ४५ मिनेट लामो कुराकानी निकै सकारात्मक कुरा भएको उल्लेख गरे । 

उनले भने, “अस्ति थाइल्याण्डमा भर्खर मोदीजी र मेरो लामै कुराकानी भएको छ । अझ लामो कुराकानी हुन्थ्यो । तर मोदीजीको अर्को कार्यक्रममा जानै पर्ने पूर्वनिर्धारित कुराले गर्दा ४५ मिनेट जति कुरा गरेर हामी छुट्यौँ । बहुत राम्रो कुरा भएको छ । अनि विरोध छ, समर्थन छ आदि ? अब त्यत्रो भारतमा कसैले विरोध गर्ला । यी नेपालभित्र पनि त हाम्रो विरोध गर्ने छन् नि त । त्यत्रो भारतमा कसैले विरोध गर्ला ! त्यत्रो चीनमा विरोध गर्ला ! कसैले सक्छ ? अमेरिकामा.. कसैले विरोध गर्दा कुन व्यक्तिले के गर्छ तर हाम्रा सम्बन्धहरू बहुत राम्रा छन् ।…. देशभित्र हाम्रो सम्बन्ध जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, शान्ति, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानित जीवनको सबैका निम्ति प्रत्याभूतिको पक्षमा छ ।”

उक्त भाषणमा ओलीले आफ्नो आलोचना भएको, तर मोदीको भने नहुने जस्तो भाव जनाउने कुनै वाक्य बोलेका छैनन् । त्यसमा उनले भारत एमाले-काङ्ग्रेस गठबन्धन सरकारप्रति सकारात्मक रहेको बताउँदै ठुलो जमातमा अलि अलि गठबन्धनको विरोध हुनु स्वाभाविक रहेको टिप्पणी गरेका छन् । 

उक्त भाषणबाहेक अन्य स्थानमा पनि ओलीले नेपाल टाइम्सको जस्तो दाबी दिने भाषण गरेका छन् भनेर “भारतीय प्रधानमन्त्री मोदी ओली आलोचना”, “मोदी ओली आलोचना”, “नरेन्द्र मोदी प्रशंसा ओली आलोचना”, “मोदीलाई ताली ओलीलाई गाली” जस्ता किवर्डहरू राखेर फेसबुक र गुगलमा खोज्यौँ । तर उक्त दाबीसँग मिल्दोजुल्दो सामग्री फेला परेन । 

प्रधानमन्त्री ओलीका भाषणलाई नेपाली मिडियाले मुख्य प्राथमिकतामा राख्दै आएका छन् । तर भारतका प्रधानमन्त्रीसँग तुलना गरेर आफ्नो आलोचना बढी हुने कुरा ओलीले स्वीकारेको भए यसले स्थान नपाउने अवस्था हुँदैन । त्यसैले पनि यो दाबी पुष्टि हुँदैन । 

यता नेपाल टाइम्स आफैँले पनि शीर्षकमा राखेको जस्तै ४ मिनेटको भिडिओमा प्रधानमन्त्री ओलीले “मोदीको आलोचना हुँदैन, मेरो किन हुन्छ ? ” बोलेको कुरा स्पष्ट रुपमा प्रस्तुत गर्न सकेको छैन । यसले धेरै प्रयोगकर्तालाई आकर्षित गर्ने उद्देश्यले मात्र तथ्यहीन शीर्षक राखेको देखिन्छ । 

दाबी 

प्रधानमन्त्री केपी शर्मा ओलीले “मोदीको आलोचना हुँ‍दैन, मेरो किन हुन्छ ? ” भन्दै प्रश्न गरे । 

दाबीकर्ता 

नेपाल टाइम्स 

तथ्य 

प्रधानमन्त्री ओलीले नेपाल टाइम्सले दाबी गरेजस्तो भारतका प्रधानमन्त्रीसँग दाँज्दै आफ्नो आलोचना किन हुन्छ भनेर प्रश्न गरेका छैनन् । 

निष्कर्ष

नेपाल टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीले “मोदीको आलोचना हुँ‍दैन, मेरो किन हुन्छ ?” भनेर प्रश्न गरेका हुन् भन्ने दाबीसहित भिडिओ सामग्री प्रस्तुत गर्‍यो । तर उपलब्ध प्रमाणहरूले ओलीले आफ्ना कुनै पनि सम्बोधनमा यस्तो भनाइ गरेका छैनन् भन्ने पुष्टि गर्छ । नेपाल टाइम्सले प्रयोग गरेको वाक्य न त प्रधानमन्त्रीको वास्तविक भाषणमा भेटिन्छ, न त त्यस अर्थमा कुनै अभिव्यक्ति दिएका छन् । बरु, ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै छिमेकी देशहरू सरकारप्रति सकारात्मक रहेको दाबी गरेका छन् । यस्तो पृष्ठभूमिमा नेपाल टाइम्सको शीर्षक र दाबी तथ्यहीन र भ्रामक ठहरिन्छ । यसले दर्शकको ध्यान तान्न बनाइएको गलत शीर्षक र सामग्रीको प्रयोग भएको प्रस्ट हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।


पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ २०:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट