२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

एलन मस्क ट्रम्पको पछि लाग्दा ७१ प्रतिशतले घट्यो टेस्लाको नाफा

काठमाडौँ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको नाफा घटेपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अब राष्ट्रपति ट्रम्पको लागि वासिङ्टनमा कम समय दिने बताएका छन् । यो वर्षको पहिलो तीन महिनामा मात्रै कम्पनीको नाफा ७१ प्रतिशतले घटेको छ ।

मङ्गलबार वाल स्ट्रिटका विश्लेषकहरूसँगको छलफलमा मस्कले ट्रम्पको कार्यकालभर हप्तामा एक वा दुई दिन वासिङ्टनको काममा बिताउने सम्भावना रहेको बताए । उनी ट्रम्पका नजिकका विश्वासपात्र हुन् । सरकारी खर्च कटौती तथा हजारौँ सङ्घीय सरकारी कर्मचारीहरूको जागिर घटाउने राष्ट्रपति ट्रम्पको प्रयासमा उनको महत्त्वपूर्ण भूमिका रहेको छ ।

टेस्लाले पहिलो त्रैमासमा ४० करोड ९० लाख डलर नाफा कमाएको जानकारी दिएको छ । जब कि गत वर्षको सोही अवधिको नाफा १ अर्ब ४० करोड डलर थियो । कम्पनीले गत वर्ष एक अर्ब १० करोड डलर खुद नाफा भएको बताएको थियो ।

अहिले भने टेस्लाको बिक्रीमा कमी आएको छ । चिनियाँ कार निर्माता कम्पनीहरूको तीव्र प्रतिस्पर्धा, नयाँ मोडेलहरूको अभाव र मस्कले अति-दक्षिणपन्थी विचारको समर्थन गर्नुलाई यसको मुख्य कारण मानिएको छ । उनको सोही विचारलाई लिएर केही उदारवादी र मध्यमार्गी ग्राहकहरूले टेस्लाका गाडीहरू किन्न छोडेको न्युयोर्क टाइम्सले लेखेको छ ।

टेस्ला आफ्नो शेयर मूल्यको आधारमा विश्वको सबैभन्दा मूल्यवान् कार निर्माता कम्पनी हो । यसले अमेरिकामा सबैभन्दा धेरै ईभी बिक्री गर्दै आएको छ । तर डिसेम्बरको मध्यदेखि यसको शेयर मूल्य लगभग आधाले घटेको छ । किनभने लगानीकर्ताहरू कम्पनीको भविष्यप्रति निराश छन् र ट्रम्प प्रशासनमा मस्कको भूमिकालाई लिएर चिन्तित छन् । केही लगानीकर्ता र विश्लेषकहरूले हालै मस्कलाई टेस्लाको व्यवस्थापनमा बढी समय दिन र ट्रम्प प्रशासनसँगको काम सीमित वा समाप्त गर्न आग्रह गरेका थिए ।

ट्रम्प प्रशासनमा कम समय दिएपनि मस्कको ध्यान विभाजित नै रहनेछ । किनभने उनी स्पेसएक्स, सामाजिक सञ्जाल एक्स, एक्सएआई नामक आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी र अन्य कम्पनीहरू पनि चलाउँछन् ।

मस्कको कम्पनीले यस दशकको अन्त्यसम्ममा वार्षिक दुई करोड गाडी बेच्ने आशा राखेको थियो । जुन टोयोटाको भन्दा दोब्बर हो । तर २०२३ मा १८ लाख पुगेको टेस्ला कारको बिक्री घटिरहेको छ । गत वर्ष कम्पनीले १७ लाख गाडी बेचेको थियो र सन् २०२५ को पहिलो त्रैमासमा यसको विश्वव्यापी बिक्री अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ ।

टेस्लाले साइबरट्रकको विकासमा कम्पनीको धेरै स्रोत साधन खर्च गरेको थियो । तर त्यो अहिले फ्लप भएको जस्तो देखिन्छ । अनुसन्धान फर्म कक्स अटोमोटिभका अनुसार पहिलो त्रैमासमा साइबरट्रकको बिक्री अघिल्लो वर्षको अन्तिम तीन महिनाको तुलनामा लगभग ५० प्रतिशतले घटेको छ ।

टेस्लाले स्टकमा रहेका साइबरट्रकहरूमा आठ हजार ५०० डलरसम्मको छुट अफर दिइरहेको छ । सङ्घीय र राज्य स्तरका प्रोत्साहन नजोड्ने हो भने ट्रकको सुरुवाती मूल्य ७० हजार डलर छ ।

कम्पनीले जुनको अन्त्यसम्ममा कम लागतको गाडी उत्पादन सुरु गर्ने कुरा दोहोर्‍याएको छ । जसले विद्युतीय गाडीको बिक्री बढाउने अपेक्षा गरिएको छ । तर कम्पनीले अहिलेसम्म त्यसको प्रोटोटाइप समेत देखाएको छैन ।

यो नयाँ गाडी चाँडै ठुलो सङ्ख्यामा उपलब्ध हुने कुरामा समेत विश्लेषकहरूले शङ्का गरेका छन् । यो कार नयाँ डिजाइनको हुने हो वा टेस्लाको मोडेल ३ सेडान वा मोडेल वाईको साधारण भन्नेमा पनि स्पष्टता छैन ।

उता सरकारको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सीमार्फत मस्कले सङ्घीय निकायहरूको बजेट घटाएका छन् । जसका कारण हजारौँ कर्मचारीहरूको जागिर गुमेको छ । यस किसिमको भूमिकाले उनलाई विवादको केन्द्रमा धकेलेको छ । अभियन्ताहरूले विश्वभरका टेस्ला डिलर बाहिर विरोध प्रदर्शन गरेका छन् र टेस्लाका गाडीहरू तोडफोड तथा जलाउने सम्मका काम गरेका छन् ।

टेस्ला सम्भवतः अन्य कार निर्माताको तुलनामा ट्रम्पको अटो र पार्टपुर्जामा लगाउने ट्यारिफबाट कम प्रभावित हुनेछ । किनभने क्यालिफोर्निया र टेक्सासमा रहेका यसका कारखानाहरूले नै अमेरिकामा बेचिने सबै गाडीहरू बनाउँछन् । कम्पनीका साङ्घाई र बर्लिन नजिकै पनि कार कारखानाहरू छन्, जसले विश्वको अधिकांश भागमा सेवा दिन्छन् ।

यद्यपि ट्रम्प ट्यारिफले टेस्लालाई पनि घाटा हुनेछ । यसका अमेरिकी कारखानाहरूले मेक्सिको र चीनबाट आयातित पार्टपुर्जा प्रयोग गर्छन् । जसमा वृद्धि भएको ट्यारिफ लाग्नेछ । यसले गर्दा कम्पनीले मूल्य बढाउनुपर्ने वा कम नाफामा चित्त बुझाउनुपर्ने हुन्छ ।

मस्कले मङ्गलबार आफूले ट्रम्पलाई कारहरूमा शुल्क लगाउने कार्यबाट रोक्न नसकेको र परिणाम स्वरूप टेस्लालाई पनि हानि गरेको बताएका छन् । उनले भने, “म चर्को शुल्कको साटो कम शुल्कको वकालत गरिरहनेछु, तर म त्यति मात्र गर्न सक्छु ।”

विश्लेषकहरूसँगको छलफलमा मस्कले टेस्लाको भविष्य एआई प्रविधिमा रहेको बताए, जसले कम्पनीका सवारी साधनहरूलाई मानिसको हस्तक्षेप बिना चलाउन सक्षम बनाउनेछ । र “साइबरक्याब”हरूले ग्राहकहरूलाई ओसारपसार गरेर पैसा कमाउनेछन् ।

तर टेस्लाले अझै यो प्रविधिमा निपुणता हासिल गरिसकेको भने छैन । यो नयाँ व्यवसायले धेरै चिनियाँ कम्पनीहरू र गुगलको मूल कम्पनी अल्फाबेट अन्तर्गतको वाइमोबाट प्रतिस्पर्धाको सामना गरिरहेको छ ।

वाइमोका स्वचालित कारहरूले फिनिक्स र सान फ्रान्सिस्कोमा धेरै वर्षदेखि सशुल्क सेवा दिइरहेका छन् र थप ठाउँहरूमा विस्तार भइरहेका छन् । गत महिना वाइमोले चार सहरहरूमा प्रत्येक हप्ता लगभग २ लाख जनाले यात्रा गरिरहेको जानकारी दिएको थियो । साथै अब वाशिंगटनमा समेत यसको सेवा विस्तारको योजना समेत घोषणा गरेको छ । यसले जापानको टोकियोमा पनि आफ्ना कारहरूको परीक्षण गरिरहेको छ ।

केही विश्लेषकहरूलाई टेस्लाका स्वचालित सवारी साधनहरूले मस्कले भनेजस्तो खर्बौँ डलर आम्दानी दिलाउन सक्नेमा शङ्का छ । १५ वर्षदेखि सशुल्क सेवा दिइरहेको र टेक्सासको अस्टिनमा वाइमोसँग काम गरिरहेको उबरले २०२४ मा १२ अर्ब डलर आम्दानी गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १८:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट