२०८२ बैशाख १० बुधबार
LATEST NEWS
२०८२ बैशाख १० बुधबार

नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको दाबीसहित ७ हजार डलरमा बेच्ने भन्दै राखियो डार्कवेबमा

काठमाडौँ । आफूलाई ‘काजु’ (Kazu) नामले चिनाउने एक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी डेटा हात पारेको दाबी गरेको छ । डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा पोस्ट गर्दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेको दाबी गर्दै डेटा बिक्रीमा राखेको हो ।

पोस्टको शीर्षकमा लेखिएको छ, “[2M+ Citizens] Nepal Police Central Website Breach (nepalpolice.gov.np)”, जसको अर्थ २० लाखभन्दा बढी नेपाली नागरिकको व्यक्तिगत विवरण रहेको प्रहरीको वेबसाइटबाट डेटा चोरी गरेको ह्याकरको दाबी छ । 

पोस्टमा तल लेखिएको छ, “म बगको एक्सप्लोइट कोड बिक्री गर्छु । तपाईंले स्क्रिप्ट चलाउनु मात्र पर्छ, अनि डेटा स्वचालित रूपमा डाउनलोड हुन्छ !!!”

टार्गेटका रूपमा नेपाल प्रहरीको केन्द्रीय रेकर्ड पोर्टल उल्लेख गरिएको छ । जसमा आधिकारिक वेबसाइटको यूआरएल पनि दिइएको छ । समूहले नेपाल प्रहरीको परिचय यसरी लेखेको छ:

“Nepal Police is the central law enforcement agency of Nepal, operating under the Ministry of Home Affairs. The official website (nepalpolice.gov.np) acts as a hub for national police operations, offering access to services like FIR registration, complaint tracking, officer directories…”

(नेपालीमा अनुवाद गर्दा: नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत सञ्चालन हुने नेपालको केन्द्रीय कानुन कार्यान्वयन निकाय हो । यसले वेबसाइट एफआईआर दर्ता, उजुरी ट्र्याकिङ, अफिसर डाइरेक्ट्री जस्ता सेवा दिन्छ ।)

 

वेबसाइटको डेटा कहिले लिक भएको हो भन्ने खुलाइएको छैन । तर पोस्टमा २०२५ मै वेबसाइट ब्रिच गरेको दाबी गरिएको छ । ह्याकरले उक्त डेटाको मूल्य ७००० डलर (करिब साढे नौ लाख रुपैयाँ) तोकेका छ । अनि सम्पर्कका लागि सेसन आईडी, सिग्नल र क्यूटक्स (Qtox) को एड्रेस पनि उपलब्ध गराइएको छ । 

ह्याकरले आफूसँग नेपाली नागरिकको फोटो, नागरिकता, पासपोर्ट र पीआईआई अर्थात् व्यक्तिगत पहिचानयोग्य जानकारी भएको दाबी गरेका छन् । त्यसभन्दा तल नमुना भन्दै फाइलको डाउनलोड लिङ्क राखिएको छ ।

ह्याकरले नमुनाको रूपमा करिब ५०० फाइलहरू डाउनलोड गर्न सकिने लिङ्क पनि पोस्ट गरेका छन् । ती फाइलहरूमा नेपाली नागरिकको फोटो, नागरिकताको फोटो, पासपोर्ट स्क्यान, बसाइसराइँका कागजात लगायतका विवरण छन् ।

लिक गरिएका डेटाको नमुनाको स्क्रिनशट

यस विषयमा बुझ्न टेकपानाले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई सम्पर्क गर्दा उनले भने, “हामीलाई जानकारी आएपछि यस विषयमा आन्तरिक अनुसन्धान गरिरहेका छौं । हाम्रो पुरानो डेटा हो कि नयाँ हो भन्ने पनि स्पष्ट छैन । हाम्रो नहुन सक्ने देखिएको छ । अनुसन्धान जारी छ ।”

प्रहरी स्रोतका अनुसार अहिले ह्याकरले उपलब्ध गराएका स्याम्पल र नेपाल प्रहरीको सिस्टममा भएका डेटा जाँच गरेर प्रमाणीकरण गर्ने काम भइरहेको छ । यसअघि यही ह्याकर समूहले प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशको वेबसाइट ह्याक गरी तीन लाख प्रयोगकर्ताको संवेदनशील डेटा डार्क वेबमा बिक्रीका लागि राखेको दाबी गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १६:२७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट