२०८२ बैशाख ९ मंगलवार
२०८२ बैशाख ९ मंगलवार

के तपाईँलाई थाहा छ विश्वको पहिलो वेबसाइट कुन थियो ?

काठमाडौँ । तपाईँ अहिले इन्टरनेटबाटै यो समाचार पढिरहनु भएको छ । आजको डिजिटल युगमा इन्टरनेट हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर के तपाईँलाई थाहा छ, यो इन्टरनेटमा रहेको पहिलो वेबसाइट कुन थियो र कहिले सुरु भएको थियो ? आउनुहोस्, आज हामी तपाईँलाई यसै विषयमा जानकारी दिँदैछौँ:

६ अगस्ट, १९९१ । यो त्यो ऐतिहासिक दिन थियो, जब विश्वको पहिलो वेबसाइट सार्वजनिक भएको थियो । बेलायती कम्प्युटर वैज्ञानिक टिम बर्नर्स-लीले स्विट्जरल्याण्डको जेनेभामा रहेको युरोपेली आणविक अनुसन्धान सङ्गठन-सर्न (CERN) मा कार्यरत रहँदा यो वेबसाइट बनाएका थिए ।

त्यो पहिलो वेबसाइटको ठेगाना थियो info.cern.ch । यो वेबसाइट वर्ल्ड वाइड वेब परियोजनाकै बारेमा जानकारी दिनकै लागि बनाइएको थियो । यसमा वेब कसरी काम गर्छ र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने जस्ता जानकारीहरू समावेश थिए ।

बर्नर्स-लीले यो वेब सर्भरको कोड नेक्स्ट कम्प्युटरमा विकास गरेका थिए, जुन स्टिभ जब्सले डिजाइन गरेको कम्प्युटर हो । उक्त कम्प्युटरलाई बन्द हुनबाट बचाउनको लागि त्यसमा रातो मसीले “This machine is a server. DO NOT POWER IT DOWN!!” भनेर लेखिएको थियो ।

पहिलो वेब पेजको ठेगाना http://info.cern.ch/hypertext/WWW/TheProject.html थियो । यो पेजमा हाइपरटेक्स्टको विवरण, वेब सर्भर बनाउने प्राविधिक जानकारी र अन्य वेब सर्भरका लिङ्क थिए । सर्नमा कार्यरत हजारौँ वैज्ञानिकहरूलाई सूचना आदानप्रदान गर्न सजिलो होस् भन्ने उद्देश्यले यो वेब प्रणालीको विकास गरिएको थियो ।

बर्नर्स-लीको यो आविष्कारले संसारभरको सूचनालाई सहजै पहुँच योग्य बनाइ दियो। उनले वेब प्रविधिको पेटेन्ट दर्ता गराउने सर्नको प्रस्तावलाई अस्वीकार गर्दै यो सबैको लागि खुल्ला र निःशुल्क हुनुपर्छ भन्ने मान्यता राखे ।

बर्नर्स-लीले आफ्नो आविष्कारबाट लाभ उठाउने प्रयास गरेनन् । उनी वेब खुला र नि:शुल्क हुनुपर्छ र छिटो विस्तार तथा विकास हुनुपर्छ भन्नेमा विश्वास राख्थे । वेब एक विश्वव्यापी स्थान हुनुपर्छ र कुनै एक संस्थाको नियन्त्रणमा हुनु हुँदैन भन्ने उनको दृष्टिकोण थियो । सन् १९९३ मा सर्नले वर्ल्डवाइडवेबको सोर्स कोड रोयल्टी-फ्रि आधारमा उपलब्ध गरायो, जसले यसलाई नि:शुल्क सफ्टवेयर बनायो ।

आज हामी जुन इन्टरनेट र वेब ब्राउजरहरू प्रयोग गर्छौँ, त्यसको जग त्यही पहिलो वेबसाइट र त्यसलाई बनाउने प्रविधि नै हुन् । टिम बर्नर्स-लीको दूरदर्शिता र समर्पणले आजको सूचना प्रविधिको युगलाई सम्भव बनाएको छ ।

वर्ल्डवाइडवेब (WWW) को नाम तय हुनुअघि यसका लागि इन्फरमेसन म्यानेजमेन्ट, माइन अफ इन्फरमेसन, र इन्फरमेसन मेश जस्ता नामहरू छलफलमा थिए । डब्लूडब्लूडब्लूको आधारभूत विचार भनेको कम्प्युटर, डेटा नेटवर्क, र हाइपरटेक्स्टका विकसित प्रविधिलाई प्रयोग गर्न सजिलो विश्वव्यापी सूचना प्रणालीमा मर्ज गराउनु थियो ।

सन् १९९० तिरै बर्नर्स-लीले वेबका लागि चाहिने एचटीएमएल, एचटीटीपी, यूआरएल जस्ता प्रविधिहरू विकास गरिसकेका थिए । हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज (HTML) बाट वेब पेज तयार पार्ने प्रविधि हो भने हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल (HTTP) चाहिँ वेबमा डेटा ट्रान्सफरका लागि तय गरिएको नियमहरूको सेट । त्यस्तै डकुमेन्ट तथा पेज फेला पार्न प्रयोग गरिने वेब एड्रेसको रूपमा युनिफर्म रिसोर्स लोकेटर्स (URLs) बनाए ।

सन् १९८९ मा लीले वर्ल्डवाइड वेबको आविष्कार गरेका उनले त्यसका लागि वेब सर्भर सफ्टवेयर, “httpd” बनाएका थिए । तर इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध सेवाको रूपमा वेबको सुरुवात भने ६ अगस्ट, १९९१ मा भएको हो । जब बर्नर्स-लीले पहिलो वेबसाइट पब्लिस गरे । त्यो साइट वर्ल्ड वाइड वेब परियोजनाकै बारेमा थियो । उक्त वेबसाइट सर्नमा रहेको बर्नर्स-लीको नेक्स्ट कम्प्युटरमा होस्ट गरिएको थियो ।

लीले तयार पारेको विश्वको पहिलो वेबसाइट info.cern.ch अझै पनि अनलाइनमा उपलब्ध छ । यसको १९९१ को ओरिजिनल भर्सन भने अपडेट गरिएको छ । तैपनि, यो वर्ल्ड वाइड वेबको जन्म र सर्नमा टिम बर्नर्स-लीको दूरदर्शी कार्यको प्रमाणको रूपमा चलिरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १४:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट