काठमाडौँ । सामान्यतया फोन पानीमा खस्यो भने चामलमा राखेपछि सुक्छ भन्ने धारणा धेरैको छ । तर, अहिलेको स्मार्टफोन बजारमा वाटर रेसिस्टेन्ट (पानी प्रतिरोधी) विशेषतासहितका फोनहरू उपलब्ध भइसके पनि यी फोनमा पनि पूर्ण विश्वास गर्न सकिँदैन । अनि यदि विश्वास गर्न सकिँदैन भने के फोनमा पसेको पानी निकाल्न चामल नै उपयुक्त उपाय हो त ?

धेरैलाई लाग्न सक्छ, चामलले फोनभित्रको पानी सोस्छ । तर, विज्ञहरूका अनुसार चामलले फोनको पानी सोस्ने काम गर्दैन । बरु, चामलका स-साना कण चार्जिङ पोर्ट, स्पिकर, माइक्रोफोन पोर्ट लगायतमा फसेर फोनमा थप समस्या ल्याउने खतरा हुन्छ ।
ध्यान दिनुहोस्- वाटर रेसिस्टेन्ट भनेको वाटरप्रुफ होइन । यसैले फोन पानीमा खसेपछि के गर्ने र के नगर्ने भन्ने विषयमा एप्पल र सामसङ जस्ता स्मार्टफोन कम्पनीहरूले पनि विशेष सल्लाह दिएका छन् ।
फोन पानीमा खस्दा के गर्ने ?

-
तुरुन्त फोनलाई पानीबाट निकालेर स्विच अफ गर्नुहोस् ।
-
सफा, सुख्खा माइक्रोफाइबर कपडाले राम्रोसँग पुछ्नुहोस् ।
-
फोनलाई चार्जिङ पोर्ट तल फर्काएर बिस्तारै ट्याप गर्नुहोस्, ताकि भित्रको पानी बाहिर निस्कियोस् ।
-
सुक्खा र हावायुक्त ठाउँमा कम्तिमा ५ घण्टासम्म राख्नुहोस् ।
के नगर्ने ?
-
फोनलाई चामलमा नराख्नुहोस् । चामलका कणले पोर्टहरूमा अड्किएर थप क्षति गर्न सक्छ ।
-
हिटर, हेयर ड्रायर वा ओभन प्रयोग नगर्नुहोस् । उच्च तापमानले फोनको भित्री सर्किटमा नोक्सानी पुर्याउँछ ।
एप्पलको सल्लाह
एप्पलका अनुसार, आईफोन पानी, धुलो र लोशनजस्ता पदार्थबाट केही हदसम्म सुरक्षित हुन्छ । तर पूर्णरूपमा होइन । फोन पानीमा खसेपछि ५ घण्टासम्म चार्जमा नराख्न र सफा कपडामा राखेर राम्रोसँग सुकाउन एप्पलले सल्लाह दिएको छ ।
सामसङको सल्लाह
सामसङले पनि फोन पानीमा खसेपछि तुरुन्त निकालेर सफा कपडाले पुछ्न र छायाँ वा पंखाको हावामा सुकाउन सुझाव दिएको छ ।
अर्को भरपर्दो उपाय- सिलिका जेल
फोन सुकाउने अर्को प्रभावकारी उपाय भनेको सिलिका जेल हो । सामान्यतया जुत्ता वा इलेक्ट्रोनिक्स सामग्री खरिद गर्दा सँगै आउने ‘Do not eat’ लेखिएको प्याकेटभित्रको सेता दानालाई सिलिका जेल भनिन्छ । फोनलाई सिलिका जेलसहित बन्द भाडोमा राख्दा यसले फोनको भित्रको आर्द्रता सोस्ने गर्छ । २–३ दिनसम्म राखेपछि फोन सुक्न मद्दत गर्छ ।
–सीनेट सहयोगमा
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १८:४९
सामाग्री श्रोत :
टेक पाना