काठमाडौं । कोभिड महामारीको समयमा तपाईं इन्टरनेटको पहुँचमा हुनुहुन्थ्यो भने पक्कै पनि क्लबहाउस (Clubhouse) प्रयोग गर्नुभयो होला । प्रयोग गरेकै भएपनि यतिबेलासम्म त बिर्सिसक्ने बेला भयो ।

‘क्लबहाउस’ एउटा यस्तो नाम हो, जसले सामाजिक सञ्जालको दुनियाँमा ठुलो सफलता पाएर पनि कसरी छिट्टै ओरालो लाग्न सक्छ भन्ने एउटा ज्वलन्त उदाहरण प्रस्तुत गर्यो । यो एन्ड्रोइड र आईओएस दुवैमा चल्ने एउटा सामाजिक सञ्जाल एप हो । जहाँ प्रयोगकर्ता अडिओमार्फत मात्रै वास्तविक समयमा भर्चुअल कोठामा कुराकानी गर्न सक्छन् ।
यो अवधारणा रोचक भए पनि अहिले अलि पुरानो भइसकेको छ । क्लबहाउस आफ्नो चर्चाको शिखरमा हुँदा यसमा टेक्स्ट म्यासेज वा भिडिओको सुविधा थिएन । यो एप मुख्यत: मानिसहरूसँग सम्पर्क बढाउन प्रयोग गरिन्थ्यो ।
यसले अन्य सामाजिक सञ्जाल एप र भ्वाइस कल सेवा (VoIP) सँग पनि प्रतिस्पर्धा गर्नुपर्यो । तर यसको क्रेज कहिले सुरु भयो र कहिले ओरालो लाग्यो ? यस सामग्रीमा क्लबहाउस र अडिओसँग सम्बन्धित यस्तै अन्य सामाजिक सञ्जाल एपको ट्रेन्डलाई हेरेर यो कहाँ चुक्यो भनेर विश्लेषण गर्नेछौं । यदि तपाईं आफ्नो नयाँ स्मार्टफोनमा क्लबहाउस डाउनलोड गर्न खोज्दै हुनुहुन्छ भने यो अहिले कस्तो अवस्थामा पुगेको छ भनेर देखेर तपाईं छक्क पर्नुहुन्छ ।

क्लबहाउस के हो र कहिले सुरु भयो?
क्लबहाउस यस्तो अवधारणा हो, जहाँ तपाईं कुनै पनि समूहमा चलिरहेको कुराकानीमा सामेल हुन सक्नुहुन्छ । त्यहाँ अन्य वक्ताले बोलेको सुन्न सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ र नयाँ मानिसहरूसँग सम्बन्ध बनाउन सक्नुहुन्छ । यी भर्चुअल च्याट रुमहरू कुनै पनि विषयमा हुन सक्थे र यहाँ प्रवेश पाउन ‘निम्तो’ (invite) आवश्यक पर्थ्यो ।
क्लबहाउस प्रयोग गर्न पाउनु आफैंमा एक विशेष मौका जस्तो थियो । सबैलाई सजिलै प्रवेश मिल्दैनथ्यो । त्यसैले यसमा सामेल हुनु खास कुरा मानिन्थ्यो । यदि तपाईं भाग्यमानी हुनुहुन्थ्यो भने तपाईंलाई त्यहाँ प्रभावशाली व्यक्ति, सेलिब्रेटीहरू र महत्त्वपूर्ण व्यक्तित्वहरूसँग प्रत्यक्ष कुराकानी गर्ने मौका मिल्थ्यो । सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एलन मस्क र मार्क जुकरबर्ग पनि क्लबहाउसमा देखिएका थिए ।
क्लबहाउस मार्च २०२० मा सुरु भएको थियो । पल डेभिसन र रोहन सेठले एउटा स्टार्टअप परियोजनाबाट यो एप बनाएका थिए । सुरुवातमा यसलाई ‘टक शो’ (Talkshow) एपको रूपमा डिजाइन गरिएको थियो । पछि भने यसलाई सोसल अडिओ एपको रूपमा आईओएस (२०२० मा) र एन्ड्रोइड (२०२१ मा) मा उपलब्ध गराइयो ।
कोभिड-१९ महामारीको सुरुवाती चरणमा यो एप निकै लोकप्रिय भयो । फेब्रुअरी २०२१ मा यसका प्रयोगकर्ता ४० लाखसम्म पुगेका थिए । तर, नोभेम्बरसम्म आइपुग्दा यो सङ्ख्या घटेर १० लाखभन्दा कम भयो । सीएनबीसीका अनुसार यो अचानक बढेको लोकप्रियतालाई व्यवस्थापन गर्न क्लबहाउसको टिमले धेरै चुनौतीको सामना गर्नुपर्यो ।
“मलाई लाग्छ डिसेम्बर (२०२०) मा मात्रै हामी १० गुणाले बढ्यौं,” सन् २०२१ मा सीएनबीसीसँग कुरा गर्दै क्लबहाउसका सहसंस्थापक पल डेभिल्सनले भने, “यो क्रम चलिरह्यो । यो बढ्ने क्रम चलिरहँदा हाम्रो टोलीमा जम्मा आठ जना थिए र यसले प्रणालीमा ठुलो दबाब सिर्जना गर्यो ।”
दुर्भाग्यवश एक समय भाइरल यो सोसल अडिओ एप २०२१ मा घटेको लोकप्रियताबाट माथि उठ्न सकेन । एपको पतनमा धेरै कारकहरूले भूमिका खेले । त्यसमध्ये प्रमुख कारकको चर्चा तल गरिएको छ”
१. अप्रत्याशित लोकप्रियता धान्न नसक्नु
क्लबहाउस सुरुमा केवल दुई जनाले बनाएको स्टार्टअप परियोजना थियो । पछि यस टिममा आठ जना पुगे । तर, त्यसमा दिनानुदिन बढ्दै गएका लाखौं प्रयोगकर्ता धान्न यो जनशक्ति पर्याप्त थिएन । प्लेटफर्ममा प्राविधिक सीमितताहरू थिए र डेभलपरसँग भविष्यमा के-कस्ता फिचर ल्याउने भन्ने कुनै योजना थिएन ।
क्लबहाउस धेरै छिटो लोकप्रिय भएकोले त्यसको विकास सम्हाल्न गाह्रो पर्यो र सुरुवाती समयमा प्रयोगकर्तालाई सीमित राखियो । धेरै मानिसहरू क्लबहाउसमा जोडिन चाहन्थे । तर त्यसका लागि ‘इन्भिटेसन’ पाउन जरुरी थियो वा पहिले देखिनै सदस्य हुनु आवश्यक थियो । त्यसैले पनि क्लबहाउसमा सहभागी हुने अवसर आफैंमा निकै विशेष मानिन्थ्यो । त्यसैले यसमा सहभागी हुन पाउने इन्भिटेसन कोडहरू ‘ईबे’ र चिनियाँ अनलाइन मार्केटमा महँगो मूल्यमा बेचिन्थे ।
यसले गर्दा मानिसमा ‘फियर अफ मिसिङ आउट’ (FOMO) अर्थात् ‘म केही रोचक कुरा छुटाउँदै त छैन ?’ भन्ने डर सिर्जना भयो । मुख्यगरी क्लबहाउसमा भएका कुराकानीको रेकर्डिङ प्रयोगकर्ताले अन्य प्लेटफर्ममा सार्वजनिक गर्थे । यसले गर्दा पनि प्रयोगकर्ताले क्लबहाउसमै गएर ती कुरा सुन्न चाहन्थे । तर, सीमितता हुँदा सहभागी हुन सक्दैनथे ।
यी कारणले गर्दा पनि प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै गयो । अन्ततः क्लबहाउसको टिमलाई प्रयोगकर्ताको चाप धान्न गाह्रो भयो । तर, यति ठुलो सफलता पाएपनि क्लबहाउसको व्यवस्थापन राम्रोसँग गरिएन । त्यहाँ न त स्पष्ट नियम थिए, न त उचित निगरानी (moderation) को व्यवस्था नै । त्यसैले पछि गएर धेरै समस्या देखा परे, जसले यस प्लेटफर्मलाई थप चुनौतीपूर्ण बनायो ।
२. प्लेटफर्मबाट नाफा कमाउन नसक्नु
क्लबहाउसले केही कडा नीति लागु गर्यो । तर ती नीति कम्पनीका लागि उल्टै हानिकारक साबित भए । यसको व्यापार मोडेल कमजोर थियो । किनभने यसमा पैसा कमाउने तरिकाको अभाव थियो । क्लबहाउसले प्रयोगकर्ता, क्रियटर वा रुम एनालिटिक्स थाहा पाउने सुविधा दिएको थिएन । सामाजिक सञ्जाल एप डेटा सङ्कलनका लागि कुख्यात छन् । यस्ता डेटा कम्पनीका लागि विज्ञापन र नयाँ फिचर ल्याउन महत्त्वपूर्ण मानिन्छन् । क्लबहाउससँग नाफा कमाउन चाहिने कुरा कहिल्यै थिएन । टिम सुरुवातमा सानो भएपनि विस्तारै बढ्दै गयो । तर, पछि सन् २०२३ मा क्लबहाउसले आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गर्यो ।
३. सही समयमा आएको एप
क्लबहाउसको लोकप्रियता बढ्नुको मुख्य कारण कोभिड-१९ नै हो भन्ने धेरैको विश्वास छ । सरल शब्दमा भन्नुपर्दा महामारीका कारण मानिसहरूलाई प्रत्यक्ष भेटघाटको अवसर कम भएको थियो । तर सामाजिक रूपमा जोडिन चाहने चाहना भने उस्तै थियो । त्यसैले मानिसहरू जुममा गेम खेल्दै, टिकटक जस्ता शर्ट भिडिओ एपहरू प्रयोग गर्दै सामाजिक सम्पर्क कायम राख्ने प्रयास गरिरहेका थिए । यसै क्रममा क्लबहाउस पनि एउटा नयाँ, तर रोचक माध्यम बनेर देखा पर्यो ।
क्लबहाउसले मानिसहरूलाई एक आपसमा कुरा गर्ने नयाँ र सजिलो तरिका दिएको थियो । यहाँ अनुहार देखाएर भिडिओ कल नगरी सिधै आवाजमै कुराकानी गर्न मिल्ने भएकाले पनि यो एप धेरैलाई मन परेको थियो । जो व्यक्तिलाई भेट्न मुस्किल पर्थ्यो त्यस्ता मानिससँग पनि सजिलै कुराकानी गर्ने मौका क्लबहाउसले दिएको थियो ।
कोभिड-१९ को समयमा मानिसहरू घरमै थुनिएका थिए साथीभाइसँग भेटघाट हुँदैनथ्यो । त्यसैले पनि क्लबहाउस जस्तो एप झन् लोकप्रिय बन्यो । पछि अन्य ठुला कम्पनीहरूले ट्वीटर (अहिलेको एक्स) ले स्पेस, स्पोटिफाईले स्पोटिफाई लाइभ र अमेजनले एएमपी फिचर ल्याए । तर, ती फिचर धेरै टिक्न सकेनन् । केही बन्द भए भने केही त बेवारिस अवस्थामा छन् । एलन मस्कका कारण ट्वीटरको स्पेस भने बेला बेला चर्चामा आइरहन्छ ।
४. उचित अनुगमन र गुणस्तर नियन्त्रणको अभाव
सामाजिक सञ्जालका प्लेटफर्म मुख्य रूपमा अभिव्यक्ति तथा वाक स्वतन्त्रतालाई प्राथमिकता दिने माध्यमका रूपमा लिइन्छ । तर, वाक स्वतन्त्रतालाई प्रश्रय दिने भन्दैमा छाडा छोड्दा ती प्लेटफर्म चाँडै नै विवादास्पद र नकारात्मक बन्छन् । क्लबहाउसमा पनि यही भयो । सुरुवातमा धेरैलाई यो प्लेटफर्म अभिव्यक्ति तथा वाक स्वतन्त्रताका लागि राम्रो माध्यम लागेपनि विस्तारै यो प्लेटफर्म नकारात्मक कुरा, घृणाजन्य अभिव्यक्ति र अनुचित छलफल गर्ने प्लटफर्मका रूपामा देखा पर्यो । त्यसैले धेरै मानिस यसमा भएको मोडेरेसन र गुणस्तरको अभावले विचलित भए । र, प्लेटफर्म प्रयोग गर्नै छोडे ।
जब कुनै सामाजिक सञ्चाल एपको छवि बिग्रन्छ, त्यसपछि पुराना प्रयोगकर्तालाई पुन: आकर्षित गर्न निकै गाह्रो हुन्छ । क्लबहाउसका लागि पनि यही भयो । तर, क्लबहाउसले आफ्नो कमजोरी महसुस गर्ने बेलासम्म बजारमा यस्ता एपहरू आइसकेका थिए, जसले क्लबहाउसभन्दा धेरै राम्रो सुविधा दिन्थे । र, राम्रोसँग निगरानी पनि गर्थे । त्यसैले ती राम्रा प्लेटफर्मको उदयसँगै क्लबहाउस विस्तारै हराउँदै गयो ।
के क्लबहाउस पुनरागमन गर्ला ?
मुख्य क्लबहाउस एप लगभग मरणासन्न अवस्थामा छ । यही अप्रिलमा कम्पनीले आफ्ना आधाभन्दा बढी कर्मचारीलाई हटाएको घोषणा गरेको थियो । कम्पनीले नयाँ फिचर जारी गर्न पनि ढिलाइ गरिरहेको छ । र, क्लबहाउस प्रयोग गर्ने धेरै प्रयोगकर्ता यो र यस्तै अन्य सोसल अडिओ एपबाट अन्यत्र गइसकेका छन् ।
यो एप फेरि उसैगरी चल्छ कि चल्दैन भन्ने त समयले बताउला । तर अहिले क्लबहाउसको भविष्य राम्रो देखिएको छैन । तपाईंले अहिले पनि एपस्टोर र प्लेस्टोरबाट क्लबहाउस डाउनलोड गर्न सक्नुहुन्छ ।
तर, तपाईंले पहिले प्रयोग गर्दा यो एप जस्तो थियो । अहिले त्योभन्दा निकै फरक छ । नेपालबाट एपमा लगइन गर्न खोज्दा एसएमएसमा कोड नै नआउने समस्या छ । कोड नआएसम्म अघिल्लो पेजमा जानै सकिंदैन । एक हिसाबले भन्नुपर्दा यो एप अहिले नेपालबाट नयाँ प्रयोगकर्ताले प्रयोग गर्नै सक्दैनन् । अन्य देशमा पनि क्लबहाउसमा यस्तै समस्या छ । क्लबहाउसले अन्तिम पटक १५ फेब्रुअरी २०२४ अर्थात् एक वर्ष अगाडि ब्लग राखेको थियो । त्यसपछि सार्वजनिक रूपमा कम्पनीको आधिकारिक साइटबाट कुनै ब्लग आएको छैन ।
सामाजिक सञ्जालका एपको संसारमा कि त टिकिन्छ कि त डुबिन्छ !
सामाजिक सञ्जाल एपका लागि ‘डुब या तैर’ भन्ने नियम लागु हुन्छ । अर्थात् यी कि सफल हुन्छन् कि विस्तारै हराउँछन् । क्लबहाउस यसको राम्रो उदाहरण हो, जहाँ धेरै कुरा गलत दिशामा गए । सुरुवातमा यो एक भाइरल ट्रेन्डका रूपमा उदायो । धेरैले के रहेछ भन्ने बुझ्नकै लागि प्रयोग गर्न खोजे । तर, यसमा भएका विविध किसिमका कमजोरीले गर्दा अचानक प्रयोगकर्ता घट्न थाले । प्रयोगकर्ता घटेपछि कम्पनीले आधा टिम नै कटौती गर्नुपर्यो ।
क्लबहाउसले आफैंलाई सीमित बनाएर राख्यो । केही समयका लागि यो रणनीतिले काम त गर्यो । तर जब प्रयोगकर्ताहरूलाई नयाँ र थप फिचर चाहियो, त्यतिबेला कम्पनीले आवश्यकता बुझेर समयमै ती फिचर उपलब्ध गराउन सकेन । अर्कोतर्फ सामाजिक सञ्जालमा मानिसहरू फेरि फर्किन्छन् । तर त्यो केवल त्यही बेला सम्भव हुन्छ जब प्लेटफर्मको छवि अझै बलियो हुन्छ । क्लबहाउसको छवि बिग्रिएपछि फर्कन गाह्रो भयो । टिकटक जस्तो एप भने विवादहरूबिच पनि लोकप्रियता कायम राख्न केही हदसम्म सफल भयो । तर, क्लबहाउसले त्यसो गर्न सकेन ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १४:१४
सामाग्री श्रोत :
टेक पाना