काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनीले उत्पादन गरेका औषधिको बिक्रीमा वृद्धि भएको छ।नेपाली उत्पादकका औषधि अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी बिक्री वितरण भएको छ।नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)का तर्फबाट संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपाली औषधिको बजार बढेको देखाएको हो।एपोनले नेपाली उद्योगको बजारका विषयमा तथ्यांकहरु संकलन गरेर राख्ने गर्छ। यसरी संकलन गरेर तयार पारिएको खुत्रुके तथ्यांक शुक्रबार खोलिएको हो। संघका उपाध्यक्ष सन्तोष बराल, कोषाध्यक्ष पृथ्वी राजभण्डारी लगायत कार्यसमिति सदस्य, एपोन मार्केटिङ सर्कलमा पदाधिकारी र एपोनका वरिष्ठ सल्लाहकार तथा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक राधारमण प्रसादको उपस्थितिमा तथ्यांक सार्वजनिक गरिएको हो।एपोनले आर्थिक वर्षको करोबारका आधारमा खुत्रुके तथ्यांक संकलन गर्ने गर्छ। एपोनका ७६ सदस्य उद्योगमध्ये ६७ वटा उद्योगको बिक्री तथ्यांक संकलन गरिएको थियो।सार्वजनिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाली उद्योगहरुले ३५ अर्ब २ करोडको औषधि बिक्री गरेका थिए। यो अघिल्लो आर्थिक वर्षको बिक्रीको तुलनामा १९ दशमलब ८९ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७९/८० मा २९ अर्ब ३६ करोड रुपैयाँ बराबरको नेपाली औषधि बिक्री भएको थियो।तथ्यांक अनुसार नेपाली उद्योगहरुको बिक्रीमा पनि ठूलो ‘ग्याप’ देखिएको छ। नेपाली उद्योगहरुमध्ये सबैभन्दा बढी ३ अर्ब ५० करोडदेखि सबैभन्दा कम ६ करोडसम्मको बिक्री भएको तथ्यांकले देखाएको एपोनका उपाध्यक्ष बरालले जानकारी दिए।उनका अनुसार ६ वट उद्योगले एक सय करोडभन्दा बढीको बिक्री गरेका छन् भने २ सय ५० करोड भन्दा बढी बिक्री गर्ने उद्योग ५ वटा मात्र रहेका छन्। १५ करोड भन्दा कम बिक्री हुने उद्योगको संख्या ४५ रहेको छ। एपोनका उपाध्यक्ष बरालले नेपाली औषधिको बजार बढ्नु सुखद भएको बताए। उनले सरकारले केही नीतिगत र कानुनी सहयोग गर्ने हो भने नेपाली औषधिको बजार ह्वात्तै माथि जाने जानकारी दिए।’बिक्री बढ्नु राम्रो कुरा हो। अझ यसमा सरकारको साथ हुने हो भने नेपाली बजारमा नेपाली उद्योगको बजार हिस्सा छोटो समयमा नै ८० प्रतिशत भन्दा माथि पुग्न सक्छ,’ उनले भने।
सामाग्री श्रोत :
swasthyakhabar

