काठमाडौँ । आजको डिजिटल युगमा अनलाइन अकाउन्ट धेरै हुने भएकाले पासवर्ड व्यवस्थापन गर्नु आफैँमा गाह्रो हुन्छ । यसैले धेरै प्रयोगकर्ताहरू गुगल पासवर्ड म्यानेजर जस्ता टुलहरूमा भर पर्छन् । तर के तपाईँका यस्ता संवेदनशील जानकारी साँच्चै सुरक्षित छन् त ? आउनुहोस्, गुगलले पासवर्ड र पासकी सुरक्षाको लागि प्रयोग गर्ने विधिहरू बारे चर्चा गरौँ:

गुगल पासवर्ड म्यानेजरले तपाईँका सुरक्षित गरिएका पासवर्डहरू र पासकीहरूलाई एक युनिक की प्रयोग गरेर इन्क्रिप्ट गर्छ । इन्क्रिप्सन भनेको तपाईँको जानकारीलाई गोप्य कोडमा बदल्ने प्रक्रिया हो, जसले गर्दा अरू कसैले पनि पढ्न नसकोस् । यसरी इन्क्रिप्ट गरिएको जानकारी पढ्न लागि त्यही युनिक की चाहिन्छ ।
हाल गुगलले दुई तरिकाले पासवर्ड इन्क्रिप्ट गर्दै आएको छ; एक स्ट्यान्डर्ड पासवर्ड इक्रिप्सन अनि अर्को अन-डिभाइस इन्क्रिप्सन।
स्ट्यान्डर्ड पासवर्ड इक्रिप्सन

आजकल, तपाईँका सुरक्षित गरिएका पासवर्डहरू नेटवर्कमा पठाउँदा र गुगलमा सुरक्षित गर्दा इन्क्रिप्ट हुन्छन् । पासवर्डमा पहुँच गर्न प्रयोग गरिने इन्क्रिप्सन की सुरक्षित रूपमा तपाईँको गुगल अकाउन्टमा स्टोर गरिएको हुन्छ । जब तपाईँ passwords.google.com मा, तपाईँका उपकरणमा वा क्रोम सेटिङमा पहुँच गर्नुहुन्छ, गुगलले यो की प्रयोग गरेर तपाईँका पासवर्डहरू डिक्रिप्ट गर्छ ।
साथै, पासवर्ड चेकअपमार्फत कुनै सुरक्षा समस्या छ कि छैन भनेर तपाईँका पासवर्डहरू चेकजाँच गरिन्छ । यस प्रकारको इन्क्रिप्सनको अर्थ हो कि तपाईँले आफ्नो डेटा सुरक्षित राख्न गुगललाई विश्वास गर्नुहुन्छ । किनकि त्यस्तो की की गुगलसँग हुन्छ । यदि तपाईँले आफ्नो गुगल अकाउन्टको पासवर्ड गुमाउनुभयो भने तपाईँले सुरक्षित गरिएका पासवर्डहरूको पहुँच पनि गुम्ने जोखिम हुन्छ । आफ्नो अकाउन्ट रिकभरी फोन नम्बर र ईमेल अप-टु-डेट राख्नाले पासवर्ड बिर्सिएको खण्डमा आफ्नो अकाउन्टमा पुनः पहुँच प्राप्त गर्न सघाउ पुग्छ ।
अन-डिभाइस इन्क्रिप्सन
अन-डिभाइस इन्क्रिप्सन सेट अप गर्नु भयो भने तपाईँका पासवर्ड र पासकीहरू तपाईँको गुगल पासवर्ड वा फोन वा ट्याब्लेटमा राखिएको स्क्रिन लक प्रयोग गरेर मात्र अनलक गर्न सकिन्छ । यसको मतलब तपाईँका इन्क्रिप्टेड डेटामा तपाईँ बाहेक अरू कसैले पहुँच पाउन सक्दैन । यसमा इन्क्रिप्सन की तपाईँसँगै हुन्छ । तर याद राख्नुहोस् यदि तपाईँले यस्तो की गुमाउनुभयो भने आफ्नो डेटा पनि गुमाउन सक्नुहुन्छ ।
अन-डिभाइस इन्क्रिप्सनले तपाईँलाई आफ्नो डेटा लक र अनलक गर्ने विभिन्न तरिकाहरू सेट अप गर्ने विकल्प दिन्छ । जस्तै तपाईँको पासवर्ड वा पासकी, जसले गर्दा तपाईँले आफ्नो डेटामा पहुँच गुमाउने सम्भावना कम हुन्छ । यो सुविधा पासवर्ड र पासकीहरूमा मात्र लागु हुन्छ ।
एक पटक अन-डिभाइस इन्क्रिप्सन सेट अप गरिसकेपछि यसलाई हटाउन सकिँदैन । समयसँगै, पासवर्ड सुरक्षालाई मद्दत गर्न यो सुरक्षा उपाय भविष्यमा सबैका लागि अनिवार्य गरिने बताइएको छ ।
गुगल पासवर्ड वा पासकी गुमाउँदा हुन सक्ने जोखिम
यदि तपाईँले आफ्नो गुगल अकाउन्टको पहुँच गुमाउनुभयो भने, तपाईँले सुरक्षित गरिएका पासवर्ड वा पासकीमा पहुँच गुमाउने जोखिम हुन्छ । आफ्नो अकाउन्ट रिकभरी फोन नम्बर र ईमेल अप-टु-डेट (अद्यावधिक) राख्नाले साइन इन गर्न नसकेको खण्डमा आफ्नो अकाउन्टमा पुन: पहुँच प्राप्त गर्न मद्दत गर्न सक्छ ।
यदि तपाईँले आफ्नो गुगल पासवर्ड र डिभाइसको स्क्रिन लक जस्ता सबै रिकभरी विकल्पहरू गुमाउनुभयो भने, तपाईँले आफ्ना सबै पासवर्ड पनि गुमाउनु हुनेछ । यदि तपाईँले आफ्नो गुगल अकाउन्ट साइन इन भएको र पासवर्ड सुरक्षित गरिएको सबै डिभाइसहरूमा पहुँच गुमाउनुभयो भने पनि यस्तै हुन्छ ।
यदि तपाईँले आफ्नो पासवर्डमा पहुँच गुमाउनुभयो र फेरि गुगल पासवर्ड म्यानेजर प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईँले passwords.google.com/encryption/reset मा गएर टर्न अफ छनोट गरी सबै सुरक्षित गरिएका पासवर्डहरू मेटाउनुपर्ने हुन्छ । त्यसपछि तपाईँले अन-डिभाइस इन्क्रिप्सन पुनः सेट अप गर्न सक्नुहुन्छ । यो चाहिँ वैकल्पिक उपाय मात्र हो ।
पासकीको हकमा, यदि तपाईँसँग आफ्नो पासवर्डको पहुँच छ, तर पासकी बिर्सिनु भयो भने तपाईँले आफ्नो क्रोम सर्भर साइड डेटा रिसेट गर्नुपर्ने हुन्छ । क्रोमले कस्तो डेटा स्टोर गर्छ भन्ने बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
यसमा तपाईँका सुरक्षित गरिएका पासवर्ड र पासकीको अतिरिक्त बुकमार्कहरू र क्रोम सेटिङ समेत समावेश हुन्छन् । यका लागि chrome.google.com/sync मा गएर क्लियर डेटा छनोट गर्नुहोस् र आफ्नो डिभाइसमा क्रोममा सिंक अन गर्नुहोस् । पासकीमा पहुँच बनाउनको लागि स्क्रिन लक सेटअप अनिवार्य हुन्छ ।
नयाँ डिभाइसको हकमा
नयाँ डिभाइसबाट आफ्ना पासवर्ड वा पासकीमा पहुँच गर्न धेरैजसो अवस्थामा तपाईँले आफ्नो गुगल अकाउन्टमा साइन इन गरे पुग्छ । पासकीहरूको लागि तपाईँलाई आफ्नो इन्क्रिप्टेड डेटामा पहुँच पाउनु अघि स्क्रिन लक सोधिन्छ ।
गुगलले तपाइँंका सुरक्षित गरिएका पासवर्ड वा पासकीहरू सधैँ रिकभर गर्न सक्ने कुरा सुनिश्चित गर्न रिकभरी विकल्पहरू थप्न सिफारिस गरेको छ । हाल, तपाईँ आफ्नो गुगल पासवर्ड प्रयोग गरेर एन्ड्रोइड डिभाइसमा इन्क्रिप्टेड डेटामा पहुँच पाउन आफ्नो स्क्रिन लक प्रयोग गर्न सक्छन्। भविष्यमा थप रिकभरी विकल्पहरू थपिने बताइएको छ ।
रिकभरी जानकारी अप-टु-डेट राख्न नभुल्नु होस्
गुगल पासवर्ड म्यानेजर प्रयोग गर्दा तपाईंको डेटा इन्क्रिप्टेड भए तापनि बलियो पासवर्ड प्रयोग गर्न र आफ्नो रिकभरी जानकारी अप-टु-डेट राख्न आवश्यक छ । अन-डिभाइस इन्क्रिप्सनले थप सुरक्षा प्रदान गर्दछ । किनकि यसमा की प्रयोगकर्तासँग मात्र हुन्छ । तर यसको बेफाइदा के छ भने यदि की हरायो भने डेटा पनि हराउन सक्छ । प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता र जोखिमको अवस्था अनुसार इन्क्रिप्सनको विधि छनोट गर्न सक्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १५:३३
सामाग्री श्रोत :
टेक पाना