काठमाडौँ । यदि तपाईँ अमेरिकाको यात्रामा जाँदै हुनुहुन्छ भने बर्नर फोन वा बार फोन प्रयोग गर्नु बुद्धिमानी हुन सक्छ । बर्नर फोन भनेको के हो र यसलाई कसरी प्राप्त गर्ने भन्नेबारे एकैछिनमा चर्चा गर्ने छौँ ।

यदि तपाईँ अमेरिका भ्रमण गर्दै हुनुहुन्छ वा अमेरिकाबाट बाहिर गएर फेरि भित्र आउँदै हुनुहुन्छ भने तपाईँले आफ्नो व्यक्तिगत जानकारी नभएको बर्नर फोन वा बार फोन लिने बारे सोच्नुपर्ने हुन सक्छ । किनभने अमेरिकी सीमा सुरक्षा बल (US Customs and Border Patrol) का अधिकारीहरूले मोबाइल फोनहरू चेकजाँच गर्ने घटना बढ्दै गएका छन् । केही रिपोर्ट अनुसार, अधिकारीहरूले फोनमा भेटिएका अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी विचारका आधारमा मानिसहरूलाई अमेरिका प्रवेश गर्न नदिएको वा फोन जफत गरेको समेत पाइएको छ ।
एउटा घटनामा फ्रान्सका एक वैज्ञानिक सम्मेलनका लागि अमेरिका प्रवेश गर्दा डोनल्ड ट्रम्प प्रशासनको आलोचना गर्ने सन्देशहरू भेटिएपछि उनलाई रोकिएको र प्रवेशाज्ञा दिन अस्वीकार गरिएको बताइएको छ । यसरी हुने फोनको चेकजाँच कत्तिको जटिल छ अथवा मानिसहरूलाई अन्य कारणले पनि रोकिएको हो कि होइन भन्ने त्यति स्पष्ट छैन ।
त्यसो त यात्रामा नभएको बेलामा पनि बर्नर फोन उपयोगी हुन सक्छ । जस्तै अनावश्यक कलहरू कम गर्न । यद्यपि मोबाइल सेवा प्रदायकहरूले सन् १९९० देखि नै प्रिपेड फोनहरू उपलब्ध गराउँदै आएका छन्, तर बर्नर फोन भन्ने शब्द २००० को दशकमा एचबीओको चर्चित सिरिज ‘द वायर’ बाट लोकप्रिय भएको हो ।

त्यसमा पात्रहरूले प्रहरीबाट बच्न बर्नर फोन प्रयोग गर्थे । अक्सर अपराधीहरूले मात्र प्रयोग गर्ने रूपमा चित्रण गरिएको भए पनि, बर्नर फोनहरू गोपनीयताको बढ्दो चिन्ताका कारण तपाईँका लागि पनि उपयोग हुन सक्छन् ।
बर्नर फोन भनेको के हो ?
साधारण रूपमा भन्नुपर्दा यो सस्तो प्रिपेड फोन हो । यसमा निश्चित मात्रामा प्रिपेड टक टाइम, टेक्स्ट मेसेज वा डेटा हुन्छ र प्रयोग गरिसकेपछि फ्याँक्न मिल्ने गरी बनाइएको हुन्छ । बर्नर फोनहरू सर्त रहित हुन्छन् र तपाईँले सजिलै किन्न सक्नुहुन्छ ।
यी फोनहरूलाई बर्नर फोन भनिन्छ किनकि तपाईँले प्रयोग गरेपछि “बर्न” अर्थात् फ्याँक्न सक्नुहुन्छ । र फोनको आधारमा तपाईँलाई पत्ता लगाउन नसकिने हुन्छ । जसले गर्दा यो अपराधीहरूका लागि आकर्षक मानिन्छ । बर्नर फोनहरू प्रायः तत्काल फोन चाहिएको बेला प्रयोग गरिन्छ, जसमा दीर्घकालीन रूपमा प्रयोग गर्ने उद्देश्य हुँदैन ।
बर्नर फोनहरू नियमित सेलफोन भन्दा फरक हुन्छन् । नियमित फोनहरूका लागि ग्राहकको धेरै जानकारी रेकर्डमा राखिएको हुन्छ ।
किन प्रयोग गर्ने बर्नर फोन ?
बर्नर फोन सेलफोनका झन्झटिला सर्त वा तपाईँको मुख्य फोन नम्बरमा आउने स्पामबाट बच्ने सजिलो तरिका हो । बर्नर फोन तपाईँको पहिचानसँग जोडिएको हुँदैन, त्यसैले यदि तपाईँ कसैको खोजीमा पर्न वा सम्पर्कमा रहन चाहनुहुन्न भने यो उपयोगी हुन सक्छ ।
यद्यपि, तपाईँले प्रयोग गरेपछि यसलाई फ्याँक्नै पर्छ भन्ने छैन । तपाईँले थप समयका लागि रिचार्ज गरेर यसलाई प्रयोग गरी रहन पनि सक्नु हुन्छ । बर्नर फोनहरू नियमित फोनजस्तै काम गर्न सक्छन्, तर यसमा करार वा सेवाको सर्त सम्बन्धी झन्झट हुँदैन ।
तपाईँले विशेष उद्देश्यका लागि दोस्रो फोनको रूपमा पनि बर्नर फोन लिन सक्नुहुन्छ । जस्तै टु-फ्याक्टर अथेन्टिकेसन टेक्स्टका लागि छुट्टै नम्बर राख्न, व्यापारिक प्रयोजनका लागि वा यात्रा गर्दा रोमिङ शुल्कबाट बच्न । तपाईँले कुनै पनि गोपनीयताको कारणले पनि बर्नर फोन लिन सक्नुहुन्छ ।
बर्नर फोन, प्रिपेड फोन, स्मार्टफोन र बर्नर सिमबिचको भिन्नता
बर्नर फोनहरू सामान्यतया सस्ता फिचर फोनहरू हुन् र स्मार्टफोनका सबै सुविधाहरू यिनमा हुँदैनन् । यी सस्ता र फ्याँक्न मिल्ने गरी डिजाइन गरिएको हुँदा तपाईँले आधारभूत सुविधाहरू र एकदम सरल डिजाइन मात्र पाउनुहुन्छ ।
सबै बर्नर फोनहरू प्रिपेड फोन हुन्, तर सबै प्रिपेड फोनहरू बर्नर होइनन् । बर्नरलाई अरूभन्दा फरक पार्ने कुरा भनेकै यसलाई प्राप्त गर्न तपाईँले कुनै व्यक्तिगत जानकारी दिइरहनु पर्दैन र यसको आधारमा तपाईँलाई पत्ता लगाउन सकिँदैन । साथै, यस्तो फोन प्रयोग गरेपछि फ्याँक्न सकिने गरी सस्तो बनाइएको हुन्छ । प्रिपेड स्मार्टफोन चाहिँ सामान्यतया निम्न-स्तरका मोडेलहरू हुन्, र बर्नरहरू सबैभन्दा सस्तो प्रिपेड फोनहरू हुन् ।
यदि तपाईं बर्नर लिन चाहनुहुन्छ भने, तपाईँले नयाँ फोन किन्नै पर्छ भन्ने छैन । तपाईँले बर्नर सिम पनि लिन सक्नुहुन्छ र यसलाई आफूसँग रहेको फोनमा प्रयोग गर्न सक्नुहुन्छ । बर्नर सिमहरू प्रिपेड सिमहरू हुन्, जुन तपाईँले कुनै करार बिना वा व्यक्तिगत जानकारी नदिई प्राप्त गर्न सक्नुहुन्छ । तर नेपालमा भने यस किसिमका सिम पाउन असम्भव जस्तै छ ।
बर्नर फोन कहाँ किन्न सकिन्छ ?
बर्नर फोनहरू प्रायजसो प्रमुख खुद्रा विक्रेताहरूमा उपलब्ध हुन्छन् । तपाईँले वालमार्ट, टार्गेट, बेस्ट बाई लगायतका अन्य ठुला रिटेल स्टोरहरूबाट पनि किन्न सक्नुहुन्छ । स्थानीय सुपरमार्केट, ग्यास स्टेसन र मेट्रो जस्ता खुद्रा फोन आउटलेटहरूमा पनि उपलब्ध हुन्छन् ।
सामान्य बर्नरको मूल्य १० डलरदेखि ५० डलरसम्म पर्नसक्छ । यदि तपाईँलाई धेरै टकटाइम र डेटा चाहिएको छ भने महँगो हुन सक्छ ।
-सीनेट
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १८:५८
सामाग्री श्रोत :
टेक पाना