
काठमाडौं– राजस्व अनुसन्धान विभागले २५ करोड विदेशी मुद्रा तस्करीका मालिक नारायण पौडेलविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
विभागले पौडेलविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा २५ करोड बिगो, ऐनअनुसार जरीवाना र कैद सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिकाको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी पौडेल रहेको खुलेको थियो।
प्रहरीले ट्रकसँगै चालक सिन्धुपाल्चोकको भोटेकोशी वडा नम्बर १ का ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्ने पौडेल नेपाल इन्भेस्टमेन्ट बैंकमा नक्कली एलसी खोलेको अभियोगमा २ वर्ष जेल परेका व्यक्ति हुन्।

यसअघि पटकपटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा पनि परेका पौडेल यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न मानिएका थिए। पौडेल २०७४ सालमा सीआईबीले सुन तस्करीमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

















