काठमाडौँ । ‘काजु’ (Kazu) नामको ह्याकर समूहले लुम्बिनी प्रदेश लोक सेवा आयोगको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । डार्क फोरममा पोस्ट गर्दै उक्त समूहले आयोगको वेबसाइट पहुँच लिई त्यहाँबाट प्राप्त डेटा बिक्री गर्न लागेको जानकारी दिएको हो ।

ह्याकर समूहले डार्क फोरममा प्रदेश लोक सेवा आयोगको वेबसाइट (ppsconline.lumbini.gov.np) को डेटा एक हजार अमेरिकी डलर (करिब एक लाख ३७ हजार रुपैयाँ) मा बिक्रीमा राखेको उल्लेख छ ।
३१ मार्च २०२५ मा गरिएको पोस्टमार्फत ह्याकरले आयोगको ९ लाखभन्दा बढी फाइलमा पहुँच भएको र तीन लाख बढी प्रयोगकर्ताको व्यक्तिगत डेटा कब्जामा लिएको दाबी गरेको छ ।

ह्याकरका अनुसार डेटामा प्रयोगकर्ताहरूका फोटो, सिग्नेचर र परिचयपत्रको अगाडि-पछाडिको भाग समावेश छ । यद्यपि कुन किसिमको परिचयपत्र हो भन्ने खुलाइएको छैन । बिक्रीमा राखिएको डेटाको नमुनासमेत ह्याकर समूहले उपलब्ध गराएको छ । तर, त्यसलाई हेर्न क्लाउड स्टोरेज प्लेटफर्म गोफाइल (GoFile) को प्रिमियम एक्सेस आवश्यक पर्ने बताइएको छ ।
प्रदेश लोक सेवा आयोगको वेबसाइटमा खाता खोल्दा नाम, थर, जन्ममिति, ईमेल, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला र मिति लगायतका जानकारी अनिवार्य राख्नुपर्ने व्यवस्था छ ।
यस विषयमा टेकपानाले लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता यमकान्त पाण्डेसँग सम्पर्क गर्दा उनले घटनाबारे जानकारी नभएको जवाफ दिए । टेकपानाले ह्याकरले दाबी गरेको वेबसाइटको लिङ्क र डार्क फोरममा पोस्ट गरिएका विवरण समेत आयोगलाई उपलब्ध गराएको छ ।
ह्याकरले ह्याक गरेको दाबी गरेपनि लुम्बिनी प्रदेश लोक सेवा आयोगको वेबसाइट अहिले सामान्य अवस्थामा चलेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १७:२६
सामाग्री श्रोत :
टेक पाना