काठमाडौं । आइतबारदेखि फेसबुक, टिकटक र एक्स लगायतका सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले एक व्यक्तिलाई विमानस्थलबाट बाहिरतिर लगिरहेको देखिन्छ । भिडिओमा उक्त घटना कहिले र कहाँ भएको हो तथा प्रहरीले पक्राउ गरेका व्यक्ति को हुन् र उनलाई किन त्यसरी ट्याक्सी पार्किङबाट भित्र लगिएको हो भन्ने विषयहरू स्पष्ट छैनन् ।

यो भिडिओ सामाजिक सञ्जालमा राख्ने अधिकांश प्रयोगकर्ताले एउटै क्याप्सन कपी-पेस्ट गरेको पाइएको छ । क्याप्सनमा प्रायः सबैले भिडिओ भाइरल भइरहेको छ भन्ने वाक्य उल्लेख गरेका छन् । केहीले भने प्रहरीलाई गाली गर्दै कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
भिडिओमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार देखिन्छ । त्यहीँ नजिक भएको ट्याक्सी पार्किङ स्थलबाट एक व्यक्तिलाई तीन प्रहरीले युवकलाई समाउँदै विमानस्थलभित्र लग्दै गरेको देखिन्छ ।
विमानस्थलभित्र लग्दै गर्दा ती युवक बेलाबेला प्रहरीसँग झर्किरहेका देखिन्छन् । विमानस्थलभित्र लगिसकेपछि युवक र प्रहरीबिच केहीबेर धक्का-मुक्का भएको देखिन्छ । यही दृश्यलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको आलोचना गरिरहेका छन् ।

यस विषयमा बुझ्न टेकपानाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई सोमबार भिडिओ उपलब्ध गराई त्यसको वास्तविकता बताउन अनुरोध गर्यो ।
“हामीले त्यो भिडिओ हेर्यौं । त्यसलाई सीसीटीभीमा पनि दाँजेर हेर्यौं,” प्रहरी उपरीक्षक सुवेदीले भने, “त्यो शनिबारको घटना रहेछ ।”
भिडिओमा प्रहरीले नियन्त्रणमा लिएका युवक शनिबार विदेश (नाम खुलिसकेको छैन) बाट ११ बजे नेपाल फर्किएका थिए । प्रहरी उपरीक्षक सुवेदीका अनुसार विमानबाट झरिसकेपछि युवक भन्सार कार्यालयमा सामान जाँचका लागि गएका थिए । “सामान जाँच गर्ने प्रक्रिया देखेर युवक हैरान भएका रहेछन् । शर्ट टेम्पर खालको मान्छे झनक्क रिसाइहाले,” उनले भने, “त्यसपछि युवक सामान लिएर ट्याक्सी पार्किङतिर लागे ।”
ट्याक्सी चालकसँग पनि युवकको विवाद भयो । त्यहाँ हानाहानको अवस्था आएपछि ड्युटीमा खटिएका प्रहरीले युवकलाई पार्किङबाटै नियन्त्रणमा लिएको हो । “नियन्त्रणमा लिएपछि पनि युवक प्रहरीसँगै जाइलागे । नियन्त्रण गर्न खोज्ने क्रममा केही धक्कामुक्की भएको हो,” सुवेदीले भने ।
विमानस्थल कार्यालयभित्र लगिसकेपछि युवककी श्रीमतीले प्रहरीसँग कुरा गरिन् । त्यसपछि प्रहरीले युवकलाई उनको श्रीमतीको जिम्मा लगाएर युवकलाई पठाएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १३:२
सामाग्री श्रोत :
टेक पाना