काठमाडौँ । ठगहरूले मेसेजिङ एप ह्वाट्सएपमा पैसा ठग्ने नयाँ तरिका अपनाउन थालेको पाइएको छ । स्क्यामरले फोटो पठाइ डाउनलोड गर्न लगाउने र सो फोटोमा क्लिक गरेको भरमा प्रयोगकर्ताको व्यक्तिगत विवरणहरू प्राप्त गरी बैंक तथा डिजिटल वालेटको पैसा चोर्ने घटना बाहिरिएको हो ।

हालै भारतको मध्य प्रदेशको जबलपुरमा एक व्यक्तिले अज्ञात नम्बरबाट ह्वाट्सएपमा आएको एउटा फोटो डाउनलोड गरेपछि करिब २ लाख भारु गुमाएका छन् । यस घटनाले साइबर ठगीको नयाँ तरिकाको बारेमा खुलासा गरेको हो ।
ह्वाट्सएप इमेज स्क्याम (WhatsApp image scam) एक नयाँ प्रकारको साइबर ठगी हो, जसमा ठगहरूले ह्वाट्सएप वा अन्य मेसेजिङ एपमार्फत फोटो पठाउँछन् । यी फोटोहरूमा मालवेयर लिंकहरू हुन्छन्, जसलाई स्टेगानोग्राफी (Steganography) भनिन्छ । यो डिजिटल फाइलहरूमा डेटा लुकाउने प्रविधि हो ।
जब प्रयोगकर्ताले त्यस्तो फोटो डाउनलोड गर्छन्, उनीहरूको फोन क्र्याश हुन सक्छ वा सुरक्षाका हिसाबले कमजोर बन्न सक्छ । जसले ठगहरूलाई संवेदनशील जानकारी जस्तै ओटीपी, बैंक विवरण, वा डिजिटल वालेटका विवरणमा पहुँच दिन्छ।

केही ठगहरू फोनमार्फत पीडितसँग सम्पर्क पनि गर्छन्, तस्बिरको बारेमा सोधपुछ गर्छन् । ताकि तस्बिर खोलिएको कुरा सुनिश्चित गर्न सकियोस् । यो नयाँ प्रकारको स्क्यामले पुरानो फिशिङ लिंक वा नक्कली एप जस्ता विधिहरूलाई पनि माथ खुवाउन सक्छ ।
साइबर सुरक्षा विज्ञहरूले यस प्रकारको ठगीबाट बच्न प्रयोगकर्ताहरूलाई अज्ञात नम्बरबाट आएका कुनै पनि मेसेज वा तस्बिर नखोल्न र मोबाइल उपकरणमा एन्टी-मालवेयर सफ्टवेयर राख्न सुझाव दिएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ ११:५०
सामाग्री श्रोत :
टेक पाना