२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

३३ औं वर्षमा नर्भिक : अस्पताल खोल्न यस्तो घटनाले प्रेरित गरेको थियो वसन्त चौधरीलाई

काठमाडौं-  नर्भिक इन्टरनेशनल अस्पताल  वैशाख १ गतेदेखि ३३ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल नेपालका नाम चलेका ‘मल्टी स्पेसियालिटी अस्पताल’मा एक भएको छ। स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो। त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु गर्‍यो । यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरु सञ्चालन भइरहेका छन् । ‘पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ,’ अस्पतालले जनाएको छ। यस्तै, कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको बताइएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया पनि सुरु गरिएको छ। प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । ‘स्थापनायताका तीन दशकभन्दा लामो अवधिमा हामीले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेका छौं । यसैगरी, नर्भिक अस्पताल विदेशी नागरिकका लागि पनि विश्वसनीय गन्तव्य बन्दै गएको छ । हालसम्म हामीले सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएका छौं,’  अस्पतालले भनेको छ।हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ। सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुने बताइएको छ। अस्पताल सन् २०२१ को  जुलाइ १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ र निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने समेत जनाएको छ। अस्पताल खोल्न उत्प्रेरित गर्ने घटनाउपचार सेवामा जोडिनका लागि बसन्त चौधरीलाई बाल्यकालका घटनाले उत्प्रेरित गरेको छ । सानोमा उनी बिरामी परिरहन्थे । उनलाई उपचारका लागि भारत लगिन्थ्यो । उनी सम्झिन्छन्, ‘त्यो बेला भारतमा पनि अहिलेको जस्तो राम्रो र सुविधा सम्पन्न अस्पताल थिएनन् । अस्पतालमा कर्पोरेट लगानी सुरु भइसकेको थिएन । सबैभन्दा राम्रो अस्पताल अल इन्डिया इन्स्च्युट अफ मेडिकल साइन्स (एम्स) मानिन्थ्यो । हामी त्यहीँ उपचारका लागि जान्थ्यौं।’ उनका अनुसार उक्त अस्पतालमा बिरामीको भीड छिचोलेर डाक्टरको समय पाउनै गाह्रो थियो । उनको उपचारका लागि उनका बुवा लुनकरणदास चौधरी हात जोडेर डाक्टरको पछि–पछि हिँडिरहेको दृश्य उनको मानसपलटमा ताजै छ । त्यस्तै, रस्साकस्सी थियो बेड पाउन । उनी सम्झिन्छन्, ‘बल्ल–बल्ल पाएको बेडमा पनि जताततै रगतका टाटा हुन्थे । मलाई उपचारका क्रममा त्यसैमा सुताइन्थ्यो।’ अस्पताल नजिककै रुखको छहारीमा उनकी आमाले खाना पकाउँथिन् । उपचार चलिरहेका दिनहरुमा त्यहीँ खाना पकाएर उनीहरु खान्थे । उनी १३/१४ वर्षका थिए त्यो बेला । यी घटनाले उनको मनमा गहिरो छाप बनाए । उनलाई लाग्न थाल्यो, ‘नेपालमै राम्रो अस्पताल भए त यस्तो दुःख पाइँदैनथियो।’उनी हुर्किंदै गए, दिल्लीमा आफ्नो उपचार गर्नुपर्दाका दृश्यले उनलाई त्यति नै बिझाउँदै गयो । स्वास्थ्य क्षेत्रमा केही काम गर्ने अठोट पनि पलाउँदै गयो । उनका बुवाले बेला–बेला भनिरहेका हुन्थे, ‘नेपालमा एउटा राम्रो उपचार केन्द्र चाहिन्छ ।’करिब ३२/३३ वर्षअघि उनका बुवालाई हृदयाघात भयो । वीर अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । त्यो समय वीरको व्यवस्थापन अहिलेभन्दा पनि निकै अस्तव्यस्त थियो । उनले भने, ‘बुवाको उपचारका क्रममा हामीले निकै समस्या भोग्यौं । त्यो समस्याले मलाई नेपालमै सुविधा सम्पन्न अस्पताल खोल्ने हुटहुटी जाग्यो।’‘नर्भिक’ नामको अर्थ  र सुरुवातनर्भिक शब्दको आफैंमा कुनै अर्थ छैन । शब्दकोष हेरेर जुराइएको पनि थिएन । ‘नर्भिक’ नाम जुर्नुको कथा यस्तो रहेछ, एकपल्ट मेडिकल इक्युपमेन्टको व्यवसाय गर्ने सोच अनुरुप डा चौधरी भारत पुगेका थिए । पुनामा बस्ने उनका एक साथीको एम्सका तत्कालीन निर्देशक डा आरपी सिन्हासँग पारिवारिक सम्बन्ध थियो । पारिवारिक भेटका क्रममा डा सिन्हाले एकदिन भनेका थिए, ‘मेडिकल साइन्स नर्भ (नशा) माथि विजय प्राप्त गर्नु हो ।’ अर्थात् भिक्टरी ओभर नर्भ । यी दुई शब्दलाई मिलाएर चौधरीले अस्पतालको नामाकरण ‘नर्भिक’ गरे। सन् १९९३ मा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालिको नाममा अस्पताल दर्ता गरिएको थियो । डा नरेश त्रेहान अमेरिकाबाट भर्खर भारत फर्किएको समय थियो त्यो । डा त्रेहानसँग उनका दाजु विनोद चौधरीको राम्रो मित्रता थियो । उनले भारत फर्केर स्कर्ट अस्पताल खोलेको धेरै भइसकेको थिएन । उनी सम्झिन्छन्, ‘एक दिन कुरैकुरामा उहाँले नेपालमा पनि राम्रो अस्पताल खोल, हामी साथ दिन्छौं भन्नुभयो । त्यसपछि हामीले अस्पताल सञ्चालनको काम अगाडि बढाएका हौं।’ सुरुमा डाइग्नोस्टिक सेन्टर खोल्ने निधोमा उनीहरु पुगेका थिए । हाल एभरेस्ट अस्पताल रहेको नयाँबानेश्वरस्थित भवनमा भाडा पाएपछि डाइग्नोस्टिक सेन्टर मात्र नभई सानो अस्पतालकै रुपमा सेवा दिन सुरु गर्‍यो, चौधरी ग्रुपले । तर, त्यहाँबाट उपचार सेवा ६ महिनाभन्दा बढी दिन पाएनन् । चौधरी भन्छन्, ‘६ महिनामै हामीलाई भवन छाड्न वाध्य पारियो । त्यहाँबाट निस्केपछि पुतलीसडकबाट सेवा दिन थाल्यौं । तर, त्यहाँ पनि समस्या आयो । त्यसपछि हामी थापाथलीमा रहेको जेसिस भवनमा सर्‍यौं।’ जेसिस भवनमा अस्पताल सञ्चालन गरिरहँदा नर्भिक अस्पतालबाट पोलिक्लिनिकमा झर्‍यो । यो सन् १९९७ तिरको कुरा हो । त्यसपछि चौधरीलाई लाग्यो, अब यसरी  हुँदैन । कि त मैले नेपालमा राम्रो अस्पताल सञ्चालन गर्ने सपनाकै अन्त्य गर्नुपर्छ । कि त एउटा स्थायी स्थानमा प्रशस्त ठाउँ लिएर अघि बढ्नुपर्छ ।  आफ्नो सपनाको अन्त्य गर्न उनको मनले दिँदै दिएन । त्यसपछि थापाथलीमा जग्गा किनेर आफ्नै भवनबाट नर्भिक अस्पताल सुरु भयो । जुन आज पर्यन्त त्यहीँ छ । सन् १९९७ मा थापाथलीबाट सेवा दिन सुरु गरिएको चौधरी बताउँछन् । त्यसपछि उनले सन्तोषको सास फेरे । लक्ष्य लिए, ‘कुनै पनि हालतमा राम्रो उपचार सेन्टर बनाएरै छाड्छु।’ 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट