डा ज्योतिन्द्र शर्मा ह्याम्स अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिरहेका छन्। शल्यचिकित्सक समेत रहेका शर्माले पाँच वर्षदेखि उक्त जिम्मेवारी निर्वाह गर्नुका साथै चिकित्सा सेवा दिइरहेका छन्। मुटु शल्यचिकित्सक रहेका उनी यसअघि गंगालाल हृदय केन्द्रमा रोगमा थिए। जहाँ उनले निर्देशकसम्मको जिम्मेवारी निर्वाह गरेर बिदा लिएका हुन्। अस्पतालको २७ औं वार्षिकोत्सवको सन्दर्भ पारेर उनीसँग अस्पतालले दिइरहेका सेवा, भावी योजना र उनका अनुभवलाई लिएर गरिएको कुराकानी : ह्याम्ससँग तपाईंको प्रत्यक्ष संलग्नता कहिलेदेखि हो ? यहाँ संलग्न हुनुअघि गरिएको अपेक्षा अनुसार नै तपाईंले काम गर्न पाइरहनुभएको छ ?यो २७ वर्षदेखि स्थापित छ । पहिले त्रिपुरेश्वर र पछि बुद्धनगरमा चलिरहेको थियो। १० वर्षअघि हाम्रो अध्यक्ष आरएस भण्डारीले लिएपछि त्यहीबेलादेखि अप्रत्यक्ष रुपमा यससँग म थिएँ । त्योबेला म गंगालाल हृदय केन्द्रको निर्देशक थिएँ । त्यसैले त्यहाँ छाडेर आउने कुरा भएन । करिब पाँच वर्षअघि मैले प्रमुख मुटु शल्यचिकित्सक तथा कार्यकारी निर्देशकका रुपमा यहाँ सेवा प्रारम्भ गरें। मैले सेवा प्रारम्भ गरेको एक महिनामै कोभिड महामारी सुरु भयो। त्यसले हामीलाई चुनौती र अवसर दुवै दियो। अपेक्षा कुरा गर्दा यहाँको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो। त्यही बुझाइका कारणले ह्याम्स यहाँ आइपुगेको हो। आजको ह्याम्स निर्माणमा धेरैजनाको योगदान रहेको छ। म जुन आशा र अपेक्षा राखेर यहाँ काम गर्न आएको थिएँ, त्यस हिसाबले म खुशी छु। तपाईंले कोभिड महामहारीले दिएको चुनौतीको कुरा गर्नुभयो। तर, तपाईंहरुले त्यसलाई अवसरमा बदल्नुभयो। अवसरमा बदल्ने योजना कसरी बनाइएको थियो ?कोभिड १९ नेपालमा आउँछ भन्ने कुरामा हामीले पहिलेदेखि नै सचेत थियौं। चार-पाँच महिनाअघि नै इटली, स्पेन, चिनलगायतका विश्वका विभिन्न मुलुकमा यो फैलिएको थियो र धेरैले ज्यान गुमाएका थिए। नेपालका अधिकांश अस्पतालले अनुमान नै गर्न सकेनन्। उनीहरुको बुझाइ यो नेपालमा आउँदैन भन्ने थियो । यसले हामीलाई छुँदैन भन्ने रुपमा लिए। त्यसैले कोभिडका बिरामी आएपछि भगाउने काम गरे । हामीलाई सुरुदेखि के थाहा थियो भने महामारी फैलिन्छ, बिरामी नहेरी, सेवा नदिइ हुँदैन-हुँदैन। त्यसमाथि जनतालाई सेवा गर्छु भनेर अस्पताल खोल्ने तर महामारीमा हेर्दिनँ भन्ने कुरा नैतिक रुपमा ठीक होइन। हाम्रो बुझाइमा हामीसँग रहनुभएका चिकित्सक, नर्स र कर्मचारीले सहयोग गर्नुभयो। व्यवस्थापनले कोभिड १९ का बिरामी लिनुपर्छ भन्ने जुन रणनीति लियो, त्यसमा कन्सल्ट्यान्ट, फिजिसियन, आइसीयु, इमर्जेन्सीलगायत सम्पूर्णको सहयोग रह्यो। अरु अस्पतालमा भागाभाग गर्दा हामीले उपचार सुरु गर्यौं। अस्पतालकै डिजाइनमा भवन बनेकाले कोभिड र ननकोभिड बिरामीको बाटो नै फरक पारेर काम गर्न सकियो। तेस्रोकुरा हाम्रो आईसीयु देशकै राम्रो आईसीयु हो। प्रत्येक आइसीयु फरक एसी र प्रणाली छ। नेगेटिभ एअरप्रेसर पहिल्यै थियो। त्यहाँ उपचार गर्दा एक बिरामीबाट अर्कोमा संक्रमण नसर्ने भयो। अरु ठाउँमा बिरामीलाई छोएर समेत उपचार भएन। हाम्रोमा डाक्टर क्याबिनमै गएर, कोठामै गएर जाँच्थे। बिरामी नै छक्क पर्थे। परेको बेला यिनीहरुले धोका दिँदैनन् भन्ने भयो। यसले गर्दा अगाडि बढाउन सकेका हौं । हाम्रो कोभिडको नतिजा अन्तर्राष्ट्रियसँग तुलनायोग्य हो। बिरामी लिएको मात्र होइन, निको हुने दर पनि राम्रो भएर हामीलाई विश्वास गरिएको हो। विश्वमा त्योबेला भेन्टिलेटरमा बिरामीको मृत्युदर ३०-३५ प्रतिशत थियो, हाम्रोमा ३३ प्रतिशत थियो। त्यसले कोभिडमा दिएको सेवाले आजसम्म बिरामीले विश्वास गर्नुहुन्छ। सुरुमा उपचार गर्दा सरकारले गाली पनि गर्यो। नेपाल सरकारको निर्देशिकामा सरकारीबाहेक उपचार नगर्ने भनिएको ५ तपाईंहरुले किन गरेको? कारबाही हुन्छ समेत भनियो तर हामी विचलित भएनौं, डगमगाएनौं। हामीले त्यतिबेला भन्यौं- यो सरकार एक्लैले गर्न सक्दैन, उपचारकै ७० प्रतिशत हिस्सा निजीको छ । त्यसैले हाम्रो सहयोग चाहिन्छ। हामीले पहिले नै निजीलाई संलग्न नगरी यो युद्ध जित्न सकिदैन भनेका थियौं, पछि त्यही भयो । तपाईंहरु सबै प्रकारका सेवा दिइरहनुभएको छ। दीर्घकालमा कुनै विशेष सेवालाई आफ्नो पहिचानका रुपमा अघि बढाउने योजना छ वा सबै उपचारका लागि ह्याम्स सम्झिने पहिचानलाई निरन्तरता दिन चाहनुहुन्छ ?हाम्रा सबै विभाग उत्तिकै बलिया छन् । दक्ष चिकित्सक हुनुहुन्छ । सर्जिकल हुन् वा मेडिसिन सबै उत्तिकै प्रभाशाली छन् । कुनै पनि विभाग अर्को विभाग भन्दा ठूलो सानो छैन । कसैको महत्व उच्च वा कम पनि छैन । सबैको उत्तिकै महत्व छ । हाम्रो हिसाबले टर्सरी केयर मल्टिस्पेशियालिटी हस्पिटल भन्न रुचाउँछौं । हामी साँच्चै टर्सरी केयर मल्टिस्पेशियालिटी अस्पताल हौं । सबैलाई उत्तिकै केन्द्रमा राखेर अघि बढाइरहेका छौं । कुनै विभागमा बिरामी बढी होलान्, कहीँ कम होलान् तर हाम्रो फोकस कम हुँदैन। हाम्रो आइसीयुको नतिजा राम्रो छ, इमर्जेन्सी राम्रो छ र प्रिमियर हस्पिटल केयर हेलिरेस्क्यु एकदम राम्रो छ, यो बढी खोज्लान् तर सबैलाई उत्तिकै प्राथमिकतामा राखेर अघि बढ्छौं। तपाईंहरुले हाल दिइरहेका सेवा बाहेक आगामी वर्षमा केही थप्ने वा विस्तार गर्ने योजना बनाइरहनुभएको छ ? हाम्रो योजनामा सेवा विस्तार थप प्रभावकारी बनाउँदै लैजाने भन्ने नै छ । अहिले हामीले नेपालमा उपलब्ध सवै प्रकारका सेवा दिइरहेका छौं । आइसीयु सेवा राम्रो छ। म आफैं मुटु शल्यचिकित्सक भनेर भनेको होइन, मुटु शल्यक्रिया हुने निजी अस्पताल थोरै छन्। यहाँ हुन्छ । न्युरो सर्जरी हुन्छ।अर्थोपेडिक सर्जरी हुन्छ । जीआई सर्जरी राम्रो छ । पल्मोनोलोजी, इन्डोक्राइनोलोजी सबै विभाग उत्तिकै राम्रो छ। हामीले जुन अहिले दिइरहेका छौं, त्यसबाहेक भन्दा अन्कोलोजीमा हामीले केही थप गर्नुपर्ने महशुस भएको छ । बोनम्यारो ट्रान्सप्लान्ट गर्न भनेर फेरिसिस मेसिन ल्याएका छौं । रोबोटिक सर्जरी गर्न रोबर्ट किन्ने तयारी छ । सर्जरी, गाइनोक्लोजी र युरोलोजीको डाक्टरसाबहरुले भारत गएर तालिम लिएर आउनुभएको छ। रोबोटिक सर्जरी सुरु गर्न समस्या छैन । मेसिन त किनेर लिएर सेवा सुरु गर्न सकिन्छ । तर, त्यसको लागत महंगो छ । डिस्पोजेबल नै महंगो छ । त्यसले गर्दा हामीले हतार गरिरहेका छैनौं । हाम्रो आईभीएफ सेव राम्रो छ । हामीले डायालाइसिस विस्तार गर्ने, प्रत्यारोपण सेवा अघि बढाउने सोच छ । स्पेशसियालिटीबाट सुपरस्पेशियालिटी सेवा दिइरहेका छौं, त्यसमा पनि थप गर्न सक्छौं भन्ने हामीलाई लागेको छ। हामीले नागरिक अस्पताल लिएका छौं । त्यसलाई हामीले अरु सेवाका साथै ट्रमाको हबका रुपमा विकास गर्ने योजना बनाएका छौं । त्यहाँ प्रिहस्पिटल केयर र चुस्तदुरुस्त बनाउने सोचेका छौं । अर्को कुनै अस्पतालमा पनि विस्तार हुनेबारे कुरा गरिरहेका छौं । नैतिक अभ्यासबाट बिरामीलाई देशमै उच्चस्तरीय सेवा दिने लक्ष्यका साथ अघि बढिरहेका छौं । जुन मुखले मात्रै होइन, व्यवहारमै गुणस्तरीय सेवा दिने अस्पतालका रुपमा स्थापित हुन चाहन्छौं।अस्पतालको अर्को विशेषता भनेको देशका नाम चलेका चिकित्सकहरु यहाँ आवद्ध हुनुहुन्छ । एउटा म्यानेजरका रुपमा ती ब्रान्ड भएका चिकित्सकको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?सबभन्दा ठूलो कुरा म ठूलो मान्छे होइन भन्ने ठान्नु रहेछ। यति महशुस गर्दा सबै मिल्दो रहेछ । म कार्यकारी निर्देशक हुँ । मैले भनेको तैंले मान्नुपर्छ भन्यो भने त्यहाँ समस्या हुने रहेछ । मलाई यही कुरा मिलाउन यो जिम्मेवारी दिइएको हो भन्ने सोचेपछि मिलाउन गाह्रो छैन। चिकित्सक व्यवस्थापनको काम त्यति सजिलो भने होइन। कुनै न कुनै रुपमा अहम् मलगायत सबै चिकित्सकमा हुन्छ नै तर यो अस्पतालको सबैभन्दा ठूलो सौन्दर्य भनेकै सबै एकआपसमा मिलेर बस्न सक्नु हो । अन्तरविभागीय सम्बन्ध एकदमै राम्रो छ। हामीले बहुसंख्यक अस्पतालमा हेर्यौं यही समस्या छ । सरकारी अस्पतालमा त झन् बिजोगै छ । जतिपनि डाक्टरहरु विज्ञहरु पनि उहाँहरुबाट असहज महशुस गर्नु परेको छैन । त्यसका लागि उहाँहरुप्रति आभारी छु। अस्पताल सञ्चालक, चिकित्सक, नर्स र पारामेडिक्सबीचको पुल बन्ने मेरो जिम्मेवारी हो। आजसम्म मैले इमानदारितापूर्वक त्यो भूमिका निर्वाह गरिरहेको छु। अस्पताल लगानीकर्ताको अपेक्षा सधैं चिकित्सकले बढि कमाइदेओस् भन्ने हुन्छ। तपाईं सरकारी अस्पतालमा काम गरेर आएको मान्छे, त्यता फरक अभ्यास छ। त्यो चुनौती कसरी सामना गरिरहनुभएको छ? सरकारी अस्पतालको फाइनान्सियल डायनामिक्स र प्राइभेट अस्पतालको डायनामिक्समा आकाश जमिन फरक छ। सरकारी अस्पतालको भौतिक पूर्वाधार सरकारको हुन्छ, उपकरण सरकारी हुन्छन् र कतिपय अस्पतालमा तलबसुविधा पनि सरकारबाटै हुन्छ। निजी अस्पतालमा आफैं लगानी गरेर आफैं कमाउ, त्यहीँ कमाएको पैसाले फेरि लगानी गर। निजी अस्पताल खोलेर पैसा कमाउछु भन्ने नसोचे हुन्छ जस्तो लाग्छ। अरुमा केकस्तो छ थाहा छैन, यहाँ मलाई अहिलेसम्म सञ्चालक वा बोर्डबाट अनैतिक काम गर्न एक थोपा दबाब आएको छैन । म आफैं पनि धेरै सोचेर यहाँ आएको हुँ । सोचेअनुरुप नै पाएको छु । हामी एकदमै नैतिक अभ्यास गर्छौं । सुन्दा सहज नलाग्ला- हामी एम्बुलेन्सलाई पैसा दिँदैनौं । बिरामीले विश्वास गरेर हामीकहाँ आउने हो। बोर्डले नैतिक अभ्यास गरेका हिसाबले काम गर्न सहज छ। नैतिक अभ्यास गरेर सेवा दिएबाफत् अलिकति मुनाफा कमाउने हो। प्रतियुनिट खर्च हिसाब गर्ने हो भने सरकारी भन्दा निजीमा कम छ । किनकि सरकारीमा आमजनले तिरेको करबाट गरिएको लगानीको त हिसाबकिताब हुँदैन ।हामी अहिले अस्पतालाई वर्गीकरण गरिदेऊ भनिरहेका छौं। सरकारले नै त्यसको पैसा तोकिदिए हुन्छ। त्यही दररेटमा सेवा दिन तयार छौं । किनभने सेवाको गुणस्तरको अर्थ छ। कोभिड १९ मा विज्ञ कमिटीले तोकेको थियो, त्यो वैज्ञानिक थियो। संकटको बेला ह्याम्सले सेवा दियो। त्यसको बलमा स्थापित पनि सहज भयो। आगामी दिनमा पनि त्यस्तो बेला ह्याम्सले सेवा दिने ग्यारेन्टी कसरी गर्नुहुन्छ?इमानदारिता केही दिनका लागि होइन। इमानदारिता घुस नखाने मात्रै होइन । आजको दिनमा ह्याम्सको नेतृत्व, व्यवस्थापन, चिकित्सक तथा कर्मचारी हामी प्रतिबद्ध छौं। आमजनमा यिनले हामीलाई धोका दिँदनन्, बीच बाटोमा छाड्दैनन् भन्ने परेकव छ। हामीले कोभिडको त्यस्तो समयमा त साथ दियौं। अब किन भाग्छौं । सहज भएका बेला सेवा दिने र पैसा कमाउने र अप्ठ्यारो समयमा भाग्ने कुरा नैतिक पनि भएन। स्वास्थ्य वा अरु जुनसुकै संकट आउँदा पनि हामी हाम्रो ज्यान जोखिममा राखेर पनि सेवा दिन्छौं, त्यो हाम्रो प्रतिबद्धता हो।
सामाग्री श्रोत :
swasthyakhabar

