काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको महत्त्व र आर्थिक सुधारका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।

महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रमा बोल्दै उनले महासंघको दुईवर्षे कार्यकालमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रयास सफल भएको र सुधारको यात्रा जारी रहेको बताएका हुन्।
ढकालले दुई वर्षअघि श्रीलंकाको जस्तो आर्थिक संकटको त्रास रहे पनि नेपालको अवस्था फरक रहेको स्मरण गरे। सहुलियतपूर्ण कर्जा, कम ऋण अनुपात र पर्याप्त विदेशी विनिमय सञ्चितिका कारण संकट टरेको उनको भनाइ थियो। तर, अत्यधिक सतर्कताले व्यापार अनौपचारिक बनेको र राजस्वमा असर परेको उनले औँल्याए। पछिल्लो त्रैमासमा ५ प्रतिशत आर्थिक वृद्धि भए पनि व्यवसायीको मनोबल कमजोर रहेको सर्वेक्षणले देखाएको उनले जानकारी दिए।
उनले देशभित्र मर्यादित रोजगारी सिर्जनाको आवश्यकता जोड्दै निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिएको र सरकारको समृद्धि लक्ष्यमा सहयोगी बन्न सक्ने बताए। दक्षिण कोरिया र बंगलादेशको उदाहरण दिँदै नेपालले पनि प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ