काठमाडौं । गत शुक्रबार (२२ चैत) मा बुढानीलकण्ठस्थित निवासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परे । उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएपछि त्यही दिन राति प्रहरीको टोली उनलाई पक्राउ गर्न खटिएको थियो ।

लामिछाने पक्राउ परेपछि शनिबार सामाजिक सञ्जालमा उनलाई प्रहरीले पेस्तोल देखाएको भन्दै भिडिओ भाइरल भएको छ । जहाँ प्रहरीले हत्कडी लगाएर लामिछानेलाई बन्दुक तेर्स्याएको देखिन्छ । तर, टेकपानाले उक्त भिडिओको तथ्यजाँच गर्दा भिडिओ चिपफेक रहेको पाइएको छ । चिपफेक प्रविधि के हो भनेर थाहा पाउनुभएको छैन यहाँ क्लिक गरी पढ्नुहोस् ।
दाबी
‘ताप्लेजुङको लिम्बू’ नामको फेसबुक अकाउन्टबाट ५ अप्रिल, २०२५ मा रवि लामिछानेलाई हत्कडी लगाएको र प्रहरीले पेस्तोल तेर्स्याएको देखिने भिडिओ सार्वजनिक भएको छ । १७ सेकेन्ड लामो उक्त भिडिओ यो सामग्री तयार पार्दासम्म २३ लाखभन्दा बढी पटक हेरिएको छ ।

भिडिओमा लेखिएको छ, “रवि लामिछानेलाई मार्ने रणनीति आखिर किन गर्दैछन् यस्तो व्यवहार” । पृष्ठभूमिमा भिडमा मानिसहरू बोलिरहेको सुनिन्छ । “राम्रोसँग सुन्नु होला”, “उहाँले अन्तिम इच्छा के हो सोध भन्नु भएको छ” । “अन्तिम इच्छा सोध्ने को हो” जस्ता वाक्यहरू बोलेको सुन्न सकिन्छ । ‘ताप्लेजुङको लिम्बू’ले सार्वजनिक गरेको भिडिओ र आर्काइभ लिङ्क हेर्नुहोस् ।
उक्त भिडिओमा १४ सयभन्दा धेरैले कमेन्ट गरेका छन् । केही व्यक्तिले एआईको प्रयोग गरेर भिडिओ बनाइएको बताएका छन् भने केहीले पेस्तोल देखाउने प्रहरीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
‘ताप्लेजुङको लिम्बू’ बाहेक विभिन्न फेसबुक पेज, टिकटक अकाउन्ट तथा युट्युबमा पनि सोही भिडिओ राखिएका छन् । सोही भिडिओ अन्य सामाजिक सञ्जाल अकाउन्टमा राखिएको हेर्न यहाँ र यहाँ क्लिक गर्नुहोस् ।
तथ्य जाँच
५ अप्रिलदेखि सामाजिक सञ्जालमा रविलाई पेस्तोल ताकिएको भन्दै भिडिओ भाइरल भयो । भिडिओ हेर्दा कतिपय प्रयोगकर्ताले एआईबाट तयार पारिएको भिडिओ भएको प्रतिक्रिया दिएका छन् । वास्तवमै उक्त भिडिओलाई ध्यानपूर्वक हेर्दा एआई वा एडिटिङ टुलबाट तयार पारिएको प्रस्ट हुन्छ ।
यद्यपि भिडिओको विस्तृत विवरण हेर्दा प्रहरीले रविलाई पेस्तोल देखाएका छन् भने रवि लामिछानेजस्तो देखिएको व्यक्ति हत्कडीमा देखिएका छन् । अनुहारमा पसिना आएको छ र उनी तनावपूर्ण अवस्थामा देखिन्छन् । भिडिओबाट विभिन्न फ्रेम निकालेर गुगल इमेजमा खोज्दा रवि लामिछानेको हालसम्म सार्वजनिक कुनै तस्बिर वा भिडिओसँग मेल खाएन ।
त्यस्तै, शुक्रबार लामिछाने पक्राउ परिरहेको विभिन्न तस्बिर वा भिडिओहरू मिडिया तथा सामाजिक सञ्जालमा राखिएका छन् । तर सार्वजनिक तस्बिरमा रविलाई हत्कडी लगाइएको प्रमाणित हुने कुनै सामग्री भेटिएन ।
शनिबार बिहान १२:४१ मा ‘सुनौलो खबर टिभी एचडी’ नामक फेसबुकले रवि पक्राउ परेर घरबाट निस्किँदै गरेको भिडिओ राखेको छ । रविका दुवै हात प्रष्ट देखिने उक्त भिडिओमा रविको हातमा हत्कडी देखिँदैन ।
त्यस्तै भिडिओमा देखिएको प्रहरी पनि वास्तविक नेपाली प्रहरीजस्तो देखिँदैन । नेपाल प्रहरीको पोसाकभन्दा भिडिओमा देखिएको पोसाक फरक छ । गुगल रिभर्स सर्चमार्फत हेर्दा उक्त पोसाक सिंगापुरको प्रहरीसँग मिल्दोजुल्दो देखिन्छ ।
भिडिओमा गोली चलाएको दृश्य पनि देखिन्छ । तर गुगलमा ‘रवि लामिछाने पेस्तोल’ वा ‘गोली’ भनेर खोज्दा त्यस्तो भिडिओ वा समाचार भेटिएन ।
शुक्रबार राति लामिछानेलाई पक्राउ गर्न निवास पुगेका प्रहरीले रविको “अन्तिम इच्छा के हो ?” भनेर सोधेको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । प्रहरीले यस्तो वाक्य बोलेको विषयमा आलोचना पनि भएको छ । यदि साँच्चिकै गोली ताकिएको भए, पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै बहस हुने थियो । तर, पेस्तोल देखाइएको विषयमा कतै पनि यस्ता बहस देखिएनन् ।
यता भाइरल फेक भिडिओको ब्याकग्राउन्ड अडिओमा भने केही वास्तविकता देखिन्छ । शुक्रबार प्रहरीले रविलाई पक्राउ गरेपछि उनका समर्थकहरूले मिडियालाई देखाएको “अन्तिम इच्छा सोधिएको” अडिओ डिपफेक भिडिओ बनाउन प्रयोग भएको पाइएको हो ।
“NewGeneration3256” नामको फेसबुक आईडीबाट शुक्रबार राति ११:१९ मा सार्वजनिक गरिएको भिडिओलाई र भाइरल फेक भिडिओको अडिओलाई तुलना गर्दा उस्तै सुन्निन्छ ।
२७ सेकेन्ड लामो उक्त भिडिओको पहिलो १६ सेकेन्ड र रविलाई पेस्तोल ताकिएको जस्तो देखिएको भिडिओलाई हुबहु सुन्न सकिन्छ । “NewGeneration3256” ले सार्वजनिक गरेको भिडिओ र त्यसको आर्काइभ लिङ्क ।
‘न्यु जेनेरेसन’ नामको फेसबुक आईडीबाट सेयर गरिएको भिडिओ रवि पक्राउ परेपछि एचटीपी खबरले फेसबुकमा गरेको लाइभ भिडिओसँग मिल्दोजुल्दो देखिन्छ । शुक्रबार राति १०:३७ मा गरिएको पाँच मिनेट ४४ सेकेन्ड लामो उक्त लाइभ भिडिओको पहिलो दुई मिनेट ‘न्यु जेनेरेसन’ले राखेको भिडिओजस्तै देखिन्छ ।
दाबी
रवि लामिछानेमाथि प्रहरीले पेस्तोल उठाए
दाबीकर्ता
‘ताप्लेजुङको लिम्बू’ नामक फेसबुक पेजसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
रवि लामिछानेमाथि प्रहरीले पेस्तोल तेर्स्याएको भिडिओ एआईमार्फत तयार पारिएको हो ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल भएजस्तो प्रहरीद्वारा रवि लामिछानेमाथि पेस्तोल तेर्स्याइएको होइन । पक्राउ परेको रातिको अडिओलाई प्रयोग गरी विभिन्न एआई टुलमार्फत चिपफेक भिडिओ बनाइएको हो ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: चैत २६, २०८१ २१:५
सामाग्री श्रोत :
टेक पाना