२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

पेटमा लुकेको घातक समस्या तर तपाईंले सोच्नुभएको जस्तो होइन !

कहिलेकाहिँ मानिसको उमेर अनुमान गर्दा अचम्म लाग्न सक्छ। देखिने कुराले सधैं वास्तविकता देखाउँदैन, जुन म एउटा वृद्ध मानिसलाई आकस्मिक कक्षमा देख्दा थाहा पाएँ। मैले उहाँलाई झण्डै ७० वर्षको होला भन्ने सोचेँ, तर वास्तवमा उहाँ ९० वर्षका हुनुहुँदो रहेछ। तर जीवनभर शारीरिक रूपमा तन्दुरुस्त रहनुभएको थियो। यो उमेरमा पनि यस्तो हट्टाकट्टा देख्दा म आफैं लोभिएको थिएँ।उहाँ एक किसान हुनुहुन्थ्यो, जसले आफ्नो जीवन खेतीपातीमै बिताउनुभएको थियो। कहिल्यै नङ काट्नु हुन्नथ्यो, विशेष अवसरमा मात्र जुत्ता लगाउनुहुन्थ्यो। सरल र निर्दोष मानिस उनी, अस्पताल पुग्ने कल्पना पनि कहिल्यै गर्नुभएन होला। तर पछिल्ला दुई महिनादेखि उहाँ क्रमशः कमजोर हुँदै जानुभएको थियो। थकान बढ्दै गएको थियो र थोरै हिँड्दा पनि सास फेर्न गाह्रो हुन्थ्यो। शौचालय जान समेत दुःखदायी हुन्थ्यो। तर, उहाँलाई सबैभन्दा पीडा दिने कुरा भनेको भोक नलाग्ने अवस्था थियो। आफ्नो मनपर्ने खाना समेत हेर्न मन लाग्दैनथ्यो। कहिलेकाहीँ चुरोट तान्नु हुन्थ्यो, तर पेट सधैं भरिएको जस्तो लाग्थ्यो, ग्यासले पोलेको जस्तो।तपाईंलाई के लाग्छ, उहाँलाई के भएको थियो?सामान्य अनुमान? गम्भीर रक्तअल्पता (एनेमिया) उहाँको रगतमा हेमोग्लोबिनको मात्रा अत्यन्त कम थियो। एक दिन शौचालयबाट फर्किएपछि उहाँ सास फेर्न नसक्ने अवस्थामा पुग्नुभयो। खुट्टा सुन्निएको थियो, राती-राती खोकी लाग्थ्यो, पहिलोपटक यस्तो लक्षण देखिएको थियो। कम बोल्ने स्वभाव भएका उहाँ आफैं अस्पताल जान कहिल्यै चाहनु हुन्नथ्यो। छोराले जबर्जस्ती अस्पताल ल्याए।अस्पतालमा ल्याउँदा उहाँको अनुहार सेतो थियो। ल्याब टेक्निसियन रगतको नमुना देखेर अचम्म मान्नुभयो, त्यति पातलो रगत ! परीक्षण पुनः दोहोर्‍यायो। रिपोर्ट आयो- हेमोग्लोबिन: १.८ ग्राम/डी.एल। तर अचम्म, उहाँ बेडमा सामान्य अवस्थामै बसिरहनु भएको थियो। अस्पतालले परीक्षण पुनः गर्यो, रिपोर्ट ठिकै थियो।तर आश्चर्य यतिमै सकिएन। उहाँको मुटुको धड्कन ७४ प्रति मिनेट मात्र थियो, जुन यस्तो अवस्थाका लागि निकै अस्वाभाविक रूपमा स्थिर थियो। डाक्टरले नपत्याई पुनः जाँच गरे तर मुटु साँच्चै स्थिरै थियो। उहाँलाई बिस्तारै पाँच पोका रगत चढाइयो। छातीको एक्स-रे गर्दा फोक्सोको छेउमा अलिकति पानी देखियो र मुटु पनि अलिकति फुलेको देखियो।अब तपाईंको बुद्धिमानी अनुमान के होला?थप सोधपुछ गर्दा थाहा भयो, उहाँ महिनौंदेखि कालो, चिप्लो दिसा (मेलेना) गरिरहनुभएको रहेछ। यो माथिल्लो पेटमा रगत बगिरहेको संकेत हो। उहाँले दिसाको रंगमा ध्यान दिनुभएको रहेनछ, धेरै पानीले फ्लस गरिदिनुहुन्थ्यो।अब प्रश्न उठ्यो- रगत किन बगिरहेछ? धेरैले पेटको क्यान्सर भनेर ठान्थे, उमेर, रक्तअल्पता, भोक नलाग्ने, र मलेना। सबै लक्षणले क्यान्सरतर्फ नै संकेत गर्दै थियो। धेरैले अनुमान गर्थे, पेटको अल्सर, क्यान्सरमा परिणत भएको होला। यदि भाग्य साँच्चै निर्दयी भएको भए, क्यान्सर शरीरभर फैलिएको हुन सक्थ्यो। त्यस्तो अवस्थामा शल्यक्रिया सम्भव नहुने र परिवारले उहाँलाई घर फर्काउने निर्णय लिनुपर्ने अवस्था आउँथ्यो।तर, वास्तविकताले अन्तिम अचम्म बाँकी राखेको थियो। जब पेटमा भित्र क्यामेरा (एन्डोस्कोपी) हालियो, त्यहाँ ट्युमर थिएन। बरु सयौंवटा गोलो आकृतिका जुकाहरू पेटभित्र घुमिरहेका थिए। सबैभन्दा अचम्मको कुरा? एल्बेन्डाजोलको चारवटा ट्याब्लेट (तीन दिनमा तीन, दुई हप्तापछि एक) खाँदा बल्ल उहाँ पूर्ण रूपमा निको हुनुभयो। आज पनि उहाँ सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ।सिकाइको बुँदा: सामान्य कुरा सधैं सामान्य नै हुन्छ।(लेखक शहिद गंगालाल हृदय केन्द्रका आवासीय चिकित्सक हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट