काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आज ५१ औं वार्षिकोत्सव मनाइरहेको छ। यो नेपालको आँखा उपचार क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने पहिलो आँखा अस्पताल हो। स्थापनाकालदेखि हालसम्म अस्पतालले ३६ लाख भन्दा बढीलाई आँखा उपचार सेवा दिइसकेको छ भने एक लाख ४८ हजार ३४४ जनाको आँखाको शल्यक्रिया गरेको छ।अस्पतालले मोतिबिन्दु, रेटिना, अकुलोप्लाष्टी, कर्निया, जलबिन्दु, बाल आँखा सेवा लगायतका सेवाहरु भिन्नै विभागबाट प्रदान गर्दै आइरहेको छ। अस्पताले प्रदान गर्दै आइरहेका सेवा, भावी योजना तथा चुनौतीका विषयमा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीःनेपाल आँखा अस्पतालको ५१ औं वार्षिकोत्सव मनाइरहँदा यसको स्थापनको इतिहासबारे केही बताइदिनुहोस् न?नेपाल आँखा अस्पतालको स्थापना विं सं २०३० साल चैत्र २६ गते भएको हो। तत्कालीन अवस्थामा वीर अस्पतालमा रहेको आँखा विभागमा बिरामीहरुको संख्या बढ्दै गएपश्चात् भिन्नै आँखा अस्पतालको आवश्यकता महसुस भएको थियो। त्यतिबेला डा रामप्रसाद पोखरेल जसलाई नेपालमा आँखा बाको उपनामले पनि चिनिन्छ, उहाँकै नेतृत्वमा वीर अस्तालको आँखा विभाग नेपाल आँखा अस्पतालको रुपमा त्रिपुरेश्वरमा स्थापना भएको हो। नेपाल आँखा अस्पतालले के–कस्ता सेवा प्रदान गर्दै आइरहेको सेवा प्रदान गर्दै आइरहेको छ?यो नेपालमै पहिलो आँखा अस्पताल हो। यो आँखा अस्पताल मात्रै नभएर आँखासम्बन्धी सम्पुर्ण अध्ययन अध्यापन कार्यहरु, फेलोसिप, एमडी, स्नातक तथा डिप्लोमा तहसम्म कार्यक्रमहरु समेत नेपाल आँखा अस्पतालले विगतदेखि नै सञ्चालन गर्दै आइरहेको छ। यो अप्थल्मोलोजीको अध्ययन गराउने पहिलो संस्था पनि हो। स्थापनाकालदेखी नै आँखा उपचार सेवालाई प्राथमिकतामा राखेर देशका विभिन्न भागमा अस्पतालले मोबाइल क्याम्प मार्फत् समेत सेवा दिइरहेको छ। हाल गुठी संस्थान रहेको भवनबाट नेपाल आँखा अस्पतालले सुरुवातमा सेवा दिदै आएको थियो। २०७० सालसम्म पनि उक्त भवन नेपाल आँखा अस्पतालकै थियो। वर्तमान अवस्थामा नेपाल आँखा अस्पताल विशेषज्ञ आँखा उपचार सेवा दिने प्रयासमा जुटिरहेकै छ। हाल अस्पतालमा दैनिक ६ सय देखि १ हजारसम्म बिरामीहरु ओपिडी सेवा लिने गरेका छन्। औसतमा अस्पतालले दैनिक ५० बिरामीहरुलाई शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको छ। गत वर्षको तथ्यांक अनुसार अस्पतालले १ लाख ९३ हजार बिरामीलाई ओपिडी सेवा दिएको छ। त्यस्तै ९ हजार ९३ बिरामीलाई अस्पतालले शल्यक्रिया सेवा दिएको तथ्यांकमा उल्लेख छ। आँखा उपचारका लागि नेपाल आँखा अस्पताललाई नै किन रुचाइएको होला?यो नेपालको पहिलो आँखा अस्पताल हो। बिरामीलाई सेवा प्रदान गर्ने क्रममा हामीले गुणस्तरीयतालाई विशेष प्राथमिकतामा राख्दै आएका छौं। यो विशेषज्ञ चिकित्सकले बिरामी परीक्षण गर्ने सम्भवत् पहिलो आँखा अस्पताल हो। नेपाल आँखा अस्पतालमा फुल टाइम काम गर्ने १६ जना अप्थ्ल्मोलोजिष्ट हुनुहुन्छ। सबै बिरामीले अप्थ्ल्मोलोजिष्टबाट नै सेवा पाउँछन्। त्यस्तै काठमाडौं उपत्यकामा रहेका आँखा अस्पतालहरुमा यो सबैभन्दा सस्तो आँखा अस्पताल पनि हो। १०० रुपैंयाको दर्ता शुल्कले नै बिरामीले धेरै किसिमका सेवा पाउन सक्छन्। त्यस्तै यहाँ शल्यक्रिया तथा अन्य उपचार सेवालाई लामो समयसम्म कुर्नुपर्ने अवस्था छैन।अस्पतालमा इमआर अर्थात् इलेक्ट्रोनिकल मेडिकल रेकर्ड प्रणाली लागु भएको छ। बिरामी अस्पताल आएर करिब २ घन्टा भित्र उपचार गरेर घर फर्किसकेका हुन्छन्। त्यस्तै आँखा उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण नेपाल आँखा अस्पतालमा छन् जसले सेवालाई थप गुणस्तरीय र सहज बनाइदिएको छ। आँखा उपचारलाई थप गुणस्तरीय, प्रभावकारी तथा सहज बनाउनका लागि अस्पतालले के कस्ता भावी योजनाहरु तय गरेको छ?हाल रहेका सेवालाई निरन्तरता दिँदै नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्च्यिुटका रुपमा अगाडि बढाउने योजना हाम्रो रहेको छ। दीर्घकालीन योजनाका रुपमा आँखा उपचारका साथै अध्ययन अध्यापन हुने संस्थाका रुपमा यसलाई विकास गर्न खोजेका हौं। त्यस्तै हालको अस्पतालको भवन ५० वर्ष पुरानो भइसकेको अवस्थामा आधुनिक भवन बनाएर अझै सेवालाई प्रभावकारी बनाउने योजना रहेको छ। हामीले प्रत्येक वर्ष आँखा शिविर सञ्चालन गरेर हरेक वर्ष कम्तीमा पनि १ हजार जना बिरामीलाई निःशुल्क आँखा उपचार सेवा दिदैं आइरहेका छौं। जसलाई नेपाल आँखा अस्पतालले निरन्तरता दिने छ। त्यसबाहेक, गोकर्ण, गोरखा, सीमारा, भैंसीपाटी तथा देशका विभिन्न स्थानमा रहेका आँखा उपचार केन्द्रलाई थप विकसित बनाउँदै आवश्यक परेमा अन्य आँखा उपचार केन्द्र समेत खोल्ने योजना अस्पतालको छ। गत वर्ष नेपाल आँखा अस्पतालले कति बिरामीलाई कुन –कुन सेवा प्रदान गरेको थियो?गत आर्थिक वर्षमा १ लाख ६२ हजार ९ सय ३६ बिरामीले नेपाल आँखा अस्पतालमा बहिरंग सेवा लिएका थिए। जसमध्ये ९ हजार ९३ जनाले शल्यक्रिया सेवा लिएका थिए। शल्यक्रिया सेवा लिनेमध्ये करिब ७०– ७५ प्रतिशतले मोतिबिन्दुको शल्यक्रिया गराएका थिए। त्यसबाहेक रेटिना उपचार, जलबिन्दु, लो भिजन उपचार सेवा, आँखाको लेन्स उपचार सेवा, आँखा डेढोपनाको उपचार अस्पतालले प्रदान गरेको थियो। यहाँ आँखाको सिटीस्क्यान तथा लेजर गर्ने प्रविधि पनि उपलब्ध छन्।
सामाग्री श्रोत :
swasthyakhabar

