हामीले संचालन गरिरहेका जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु मध्ये मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम असाध्यै महत्वपूर्ण छ। समाजमा रहेका हरेक आमाले स्वस्थ बच्चाको जन्म दिने वातावरण बनाउनु हामी सबैको कर्तव्य हो। स्वस्थ आमा र स्वस्थ बच्चा नै हामीले परिकल्पना गरेको समृद्द भविष्यको बलियो आधार हो र हामीले गरेका लगानीहरु मध्ये दिगो लगानी हो।नेपाल सरकार मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारकोलागि निरन्तर रुपमा सार्थक प्रयास गरिरहेको छ। आज विश्व स्वास्थ्य दिवस २०२५ देशभर “स्वस्थ शुरुवात, समृद्ध भविष्य” भन्ने नाराका साथ मनाई रहेका छौँ। यस सन्दर्भमा मातृ तथा नवजात शिशु स्वास्थ्यमा नेपालले हासिल गरेका प्रगतिलाई थप नजिकबाट हेर्ने र प्रगतिहरुको समिक्षा गर्ने अवसर प्राप्त भएको छ। नेपालको संविधान २०७२ ले मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा लिदै मौलिक हकको रूपमा राखेको छ। जस अनुरुप सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ तथा जनस्वास्थ्य ऐन २०७५ ले प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवा मार्फत हरेक नागरिकलाई नि:शुल्क रूपमा सेवा पुर्याउने लक्ष्य लिएको छ। नेपालमा सन् १९९६ मा ५३९ प्रति लाख जीवित जन्म रहेको मातृ मृत्युदर सन् २०२३ सम्ममा ७१.५% ले घटेर १४२ प्रति लाख जीवित जन्म पुगेको देखिन्छ। यही अवधिमा नवजात शिशु मृत्युदर ५० बाट घटेर १६.६ प्रति १००० जीवित जन्ममा पुगेको छ।त्यस्तैगरी, मृत जन्म २००१ मा ३० बाट घटेर २०२३ सम्ममा १३.५ प्रति १००० जन्ममा पुगेको छ (बिश्व स्वास्थ्य संगठन, २०२४)। यी सबै रोकथाम गर्न सकिने मृत्युहरुको न्यूनीकरण दर कायम भएमा, नेपालले मातृ मृत्यु, मृत जन्म र नवजात शिशु मृत्युदरको सन् २०३० सम्ममा लक्ष्य हासिल गर्ने प्रवल सम्भावना छ। दिगो विकास लक्ष्यमा उल्लिखित मातृ मृत्युदरको विश्वव्यापी लक्ष्यले मातृ मृत्युदर ७० प्रति लाख जीवित जन्म सम्ममा घटाउने लक्ष्य राखेको भएता पनि नेपालको हकमा सन् २०१५ को मातृमृत्यु अनुपातको दुई तिहाई घटाउने लक्ष्य अनुसार यो ९३ प्रति लाख जीवित जन्म हुन्छ। त्यसैले अहिलेको अनुमानित तथ्यांकले नेपाल दिगो विकास लक्ष्यलाई पुरा गर्ने बाटोमा छ। नेपाल सरकारले आफ्ना नियमित कार्यक्रमहरु, निःशुल्क सूत्केरी सेवा, सूत्केरी घरभेट कार्यक्रम, ८ पटक गर्भवति जाँच सेवा, निःशुल्क नवजात शिशु उपचार, शल्यक्रिया सहितको सूत्केरी सेवा, निःशुल्क आमा सुरक्षा कार्यक्रम, नवजात शिशु कार्यक्रम, खोप, पोषण तथा यातायात खर्च समेत प्रदान गरी मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ। आमा र बच्चाको उपचारात्मक सेवाको साथै सम्बर्धनात्मक र प्रतिकारात्मक कार्यहरु उच्च प्राथमिकतामा छन। यस कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयहरू तथा साझेदार संघसंस्थाहरूको अटुट प्रयास र पहल सराहनीय छ। प्रसूति पश्चात हुने रक्तस्राव, उच्च रक्तचाप र गर्भ रहनु पूर्वको आमाको स्वास्थ्य समस्या जस्ता जटिलताहरू मातृ मृत्युका प्रमुख कारणहरू हुन्। मातृ तथा नवजातशिशु कार्यक्रममा घट्दो बजेट प्रबाह, दक्ष सेवा प्रदायकको कमी, आवश्यक चिकित्सकीय औजार तथा उपकरणहरुको अभाव, बर्थिंग सेन्टरबाट प्रवाह हुने सेवाको गुणस्तर कायम गर्न चुनौती, दुर्गम तथा विकट क्षेत्रहरुमा शल्यक्रिया द्वारा हुने प्रसूति सेवा तथा नवजात शिशु बिशेष उपचार सेवाको निरन्तरतामा समस्या, जस्ता कारणहरुले पनि कार्यक्रमगत उपलब्धि हासिल गर्न चुनौति रहेको छ। यसका अतिरिक्त शिक्षा, सामाजिक-सांस्कृतिक कारकहरू, सेवाको सर्वव्यापी पहुँचमा कमी, प्रेषण प्रणालीमा अवरोध, बाल विवाह, किशोरावस्थामा गर्भधारण, जलवायु परिवर्तन, द्वन्द्व तथा विभिन्न विपदहरू समेत आमा तथा नवजात शिशु कार्यक्रमका लागि थप चुनौतीका रुपमा रहेका छन्। यी समस्याहरुलाई समाधान गर्नका लागि मातृ तथा नवजात शिशु क्षेत्रमा काम गर्ने सम्पूर्ण सरोकारवालाहरु, दातृ निकायहरु तथा नेपाल सरकार एक जुट भएर लाग्न जरुरी छ। गर्भावस्था एक विशेष अवस्था भएकोले सम्पूर्ण परिवार तथा समाजले सकारात्मक वातावरण निर्माण गर्न अत्यावश्यक छ।अन्त्यमा, स्वस्थ शुरुवात अथवा ‘गर्भ रहे देखि सुत्केरी अवस्थामा आमा र बच्चालाई विशेष स्वास्थ स्याहार तथा सहयोग’ नै देशको समृद्ध भविष्यको आधारशिला भएकोले हामीले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्दता अनुसार यस क्षेत्रमा थप योगदान पुर्याउन सरोकारवाला सबैको कर्तब्य हुन् आउँछ।(लेखक जोशी वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्। उनी स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा कार्यरत छिन्।)
सामाग्री श्रोत :
swasthyakhabar

