काठमाडौँ । तपाईँ आफ्नो फोन दिनमा कति पटक सफा गर्नुहुन्छ ? अथवा फोन सफा गर्नुपर्यो भने कसरी सफा गर्नुहुन्छ ? हामीले सबैभन्दा धेरै पल्ट छुने वस्तु भनेकै सम्भवतः मोबाइल हो । अनि सबैभन्दा धेरै फोहोर हुने वस्तु पनि सम्भवत: मोबाइल नै हुनसक्छ । तपाईँ जहाँ जहाँ जानुभयो फोन पनि तपाईँसँगै यात्रा गर्छ ।

फोन कता राखिन्छ, कसरी चलाइन्छ, कहिलेकाहीँ कति धुलो हुन्छ, कति कीटाणु हुन्छन् लगायतका कुरामा हामी खासै ध्यान दिइरहेका हुँदैनौँ । अनि यही फोहोर स्क्रिनका कारण छाला सम्बन्धी समस्याहरू देखा परेका घटना पनि प्राय: सुन्ने गरिन्छ । यसो सोच्ने हो भने त फोन यति धेरै फोहोरसँग सम्पर्कमा आएको हुन्छ कि फोन सफा गर्नका लागि नै छुट्टै रिमाइन्डर फोनमै राख्नुपर्ने हो कि जस्तो पनि लाग्नसक्छ । तर फोन सफा गर्न त्यति गाह्रो पनि छैन । त्यसोभए फोनलाई सफा कसरी राख्ने त ?
फोन सफा राख्नका लागि केही सामान्य कुराहरू ध्यान दिए पुग्छ । सबैभन्दा पहिलो कुरा फोनमा धेरै फोहोर लाग्ने भनेको हाम्रो हातबाटै हो । हाम्रो हातका औँठाछापहरूले फोन धेरै फोहोर हुन्छ । अर्को भनेको सामान्य धुलोका कणहरू । अनि कतिपय समयमा हामीले अनुहारमा प्रयोग गर्ने विभिन्न सामग्रीहरू, जस्तै स्किन केयर प्रोडक्ट अनि मेकअप । यी कुराहरूबाट भएको फोहोर फोनबाट कसरी हटाउने त ?
औँठाछाप कसरी हटाउने ?

तपाईँको फोनमा औँलाका छापहरू बसे भने तपाईँ के गर्नुहुन्छ ? हामी सबैले गर्ने पहिलो काम भनेको टी-सर्टमा पुछ्ने अथवा प्यान्टमा पुछ्ने । अर्को धेरैले गर्ने काम भनेको वाइप टिस्यु (अनुहार वा मेकअप पुछ्न प्रयोग हुने चिसो कागजको रुमाल) ले पुछ्ने । यो वास्तवमा राम्रो कुरा भने होइन । तपाईँ सामान्य रूपमा माइक्रोफाइबर कपडाले स्क्रिन सफा गर्न सक्नुहुन्छ । अर्को तरिका भनेको सफा पानीमा माइक्रोफाइबर कपडा डुबाउनुहोस् अनि मज्जाले निचोरेर फोनको स्क्रिन र पछाडिको भाग सफा गर्ने । यस्तै बजारमा स्क्रिन पुछ्न कै लागि भनेर माइक्रोफाइबर स्क्रिन क्लिनर स्टिकरहरू पाइन्छन्, जुन मोबाइल पसलमा किन्न सकिन्छ । यो पनि प्रयोग गर्न सकिन्छ । तर दैनिक प्रयोगको लागि भने यो विधि व्यवहारिक नहुन सक्छ ।
धुलो वा स-साना धुलाको कण कसरी हटाउने ?
मोबाइलको चार्जिङ पोर्ट, स्पिकर लगायतमा स-साना धुलाका कणहरू छिट्टै टाँसिन्छन् । मोबाइल सफा गर्ने बानी नहुँदा कहिलेकाहीँ स्पिकर बिग्रिएको जस्तो लाग्छ । फोन चार्ज नभएको जस्तो लाग्छ । तर वास्तवमा समस्या भने धुलोमा हुन्छ । यस्तोमा त्यस्तो स-साना पोर्टहरू तपाईँले पानी टेप प्रयोग गरेर सफा गर्न सक्नुहुन्छ । सुरुमा टेपलाई पोर्टहरूमा टास्नुहोस् । त्यसपछि सानो सिन्काले विस्तारै टेपलाई भित्र पसाइदिनुहोस् । टेपले पोर्टमा भएको धुलो टसाउँछ र बाहिर निकाल्न मद्दत गर्छ । अथवा बजारमा डिभाइसहरू सफा गर्ने सानो भ्याकुम क्लिनर पनि पाउनुहुन्छ ।
मेकअपका दागहरू कसरी हटाउने ?
तपाईँले प्रयोग गर्ने मोस्चराइजर, सन्सस्क्रिन, फाउन्डेसन वा अनुहारमा प्रयोग हुने अरू कुनै क्रिमहरूले पनि फोनको स्क्रिन धेरै फोहोर गरिरहेका हुन्छन् । केहीले मेकअप रिमुभर, ग्लास क्लिनर लगायतले पनि फोनको स्क्रिन पुछ्ने गर्छन् । रिमुभर प्रयोग गर्न नहुने पहिलो कारण हो अल्कोहल । मेकअप रिमुभरहरूमा अल्कोहलको मात्रा धेरै हुन्छ । यसले स्क्रिन बिगार्न सक्छ । अब बजारमा पाइने अल्कोहल नभएका रिमुभर पनि प्रयोग गर्न सकिन्छ मेकअपको दाग पुछ्नका लागि । तर मेकअपको दाग पनि सफा पानी वा माइक्रोफाइबर कपडाले पुछ्नु नै उचित हुन्छ ।
के के कुराले फोन पुछ्नु हुँदैन ?
– ह्यान्ड स्यानिटाइजर
– झ्याल अथवा भान्छा सफा गर्ने केमिकल युक्त क्लिनर
– कागजको रुमाल (टिस्यु, न्यापकिन)
– भाँडा माझ्ने वा हात धुने साबुन
-भिनेगर
– कम्प्रेस्ड एयर (हावा फ्याँक्ने वा हावा सोस्ने उपकरण)
सीनेटको सहयोगमा ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १७:४२
सामाग्री श्रोत :
टेक पाना