काठमाडौँ । नेपालको आफ्नै डिजिटल करेन्सीको प्रोटोटाइप तयार भएको छ । बीआईएस इनोभेसन हब, हङकङ सेन्टरको प्रोजेक्ट अरुमको कोड बेस प्रयोग गरी होलसेल सीबीडीसीको प्रोटोटाइप तयार गरिएको हो ।

यससँगै नेपाल राष्ट्र बैंकले अबको दुई वर्षभित्र नेपालको आफ्नै डिजिटल करेन्सीको पाइलट परीक्षण गर्ने लक्ष्य अघि सारेको छ । पछिल्लो पाँच वर्षमा केन्द्रिय गरेका प्रमुख कार्य तथा उपलब्धि समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा सन् २०२६ भित्र केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को प्रोटोटाइप तथा परीक्षणको विषय समेटिएको हो ।
केन्द्रीय बैँक अन्तर्गत विद्युतीय मुद्राको विकासको लागि छुट्टै महाशाखा गठन भइसकेको छ । निर्देशकको नेतृत्वमा भुक्तानी प्रणाली विभाग अन्तर्गत रहने गरी केन्द्रीय बैँक विद्युतीय मुद्रा महाशाखा स्थापना गरिएको छ । केन्द्रीय बैँकले त्यसमा प्राविधिक जनशक्ति समेत खटाइसकेको छ ।
नेपालमा २०२६ सम्ममा सीबीडीसीको पाइलट परीक्षण सुरु गर्ने लक्ष्य राखिएको छ । त्यसको कार्यान्वयन पाँच चरणमा पूरा गर्ने योजना रहेको छ । सीबीडीसी विकासको क्रममा प्रथम चरणमा रिटेल, होलसेल वा सीमापार भुक्तानीमा प्रयोग गर्न त्यसको प्रयोग क्षेत्र पहिचान गर्ने तथा डिजाइन क्यारेक्ट्रिस्टिक्स र नीतिगत उद्देश्य निर्धारण गर्ने कार्य भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

यससँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरोकारवाला निकायहरूसँग गरिएको अन्तरक्रियाबाट प्राप्त सुझावहरूको विस्तृत विश्लेषण गरी यस सम्बन्धी कार्य अघि बढाइएको हो । साथै, सीबीडीसी जारी गर्ने सम्बन्धमा आवश्यक परामर्शका लागि केन्द्रिय बैँकले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) बाट प्राविधिक सहायता समेत प्राप्त गरेको छ । दोस्रो र तेस्रो चरणको कार्य अन्तर्गत ‘प्रुफ अफ कन्सेप्ट’ तथा सीबीडीसीको प्रोटोटाइप तयार भएको हो । उक्त प्रोटोटाइपका आधारमा चौथो चरणमा सोको पाइलट परीक्षण गर्ने योजना बनाइएको छ।
केन्द्रीय बैँक विद्युतीय मुद्राका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग पनि प्राविधिक ज्ञान आदानप्रदान गरिएको छ । बीआईएस इनोभेसन हब, हङकङ सेन्टरसँग नन-डिस्क्लोजर अग्रिमेन्ट (एनडीए) मा हस्ताक्षर गरी उक्त संस्थाको एमब्रिज प्रोजेक्टको त्रैमासिक अब्जर्भर मिटिङ (ओएम) मा अब्जर्भिङ मेम्बरको रूपमा बैँक सहभागी भएको छ ।
केन्द्रीय बैँकमा उल्लेख्य प्रगति हासिल गरेका ४९ राष्ट्रको अनुभव समेटी सीबीडीसीको प्रारूप, उद्देश्य तथा यसको अन्तरसम्बन्ध समेटेर एउटा अध्ययन समेत सम्पन्न भएको छ । जसको विषय ‘एक्प्लोरिङ द ग्लोबल सीबीडीसी ल्यान्डस्केप: कम्प्यारेटिभ स्टडी अफ सेलेक्टेड नेसनल इनिसियटिभ्स’ रहेको छ ।
साथै, राष्ट्र बैँकको नेतृत्वमा सार्कफाइनान्स कोल्याबरेटिभ स्टडीअन्तर्गत प्रोस्पेक्टस् अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी इन द सार्क रिजन’ विषयक अध्ययन पनि सम्पन्न भएको छ ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १२:४०
सामाग्री श्रोत :
टेक पाना