२०८१ चैत्र २३ शनिबार
२०८१ चैत्र २३ शनिबार

टेकपाना फ्याक्ट चेकः राष्ट्र गान बजिरहँदा स्टेजमा अश्रुग्यास हानेको भिडिओ डिपफेक भन्ने प्रहरी दाबी झुटो

काठमाडौँ । राजधानीको तीनकुनेमा आयोजित १५ चैतको राजावादी प्रदर्शनका क्रममा राष्ट्रिय गान बजिरहँदा स्टेजमा अश्रुग्यास हानेको भनिएको भिडिओ ‘डिपफेक’ भएको प्रहरीको दाबी थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले सामाजिक सञ्जालमा चर्चा भएजस्तो कार्यक्रममा राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार नभएको भन्दै उक्त भिडिओ डिपफेक भएको बताएका थिए ।  

टेकपाना फ्याक्टचेकका क्रममा ‘राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक हो’ भन्ने प्रहरीको दाबी मिथ्या देखिएको छ ।

वास्तवमा स्टेजमा अश्रुग्यास आएको सत्य हो, जुन कुरा प्रहरीले पत्रकार सम्मेलनकै क्रममा स्वीकार गरेको पनि छ । अर्को, राष्ट्रिय गान बजेको पनि सत्य हो । भाइरल भएका भिडिओमा डिपफेक प्रयोग गरी राष्ट्र गान थपिएको र कार्यक्रम सुरु नै नभई सुरु भएको देखाइएको प्रहरीको दाबी भने मिथ्या हो । 

दाबी

१५ चैतमा राजधानीको तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनका क्रममा राष्ट्रिय गान बजिरहँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्ने दाबीसहितका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । यस्ता दाबी आएपछि बुधबार २० चैतमा आयोजित पत्रकार सम्मेलनमा एक पत्रकारले केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यलाई ‘राष्ट्रिय गान बजिरहँदा टियर ग्यास हानेको भन्ने भिडिओ तपाईँले राख्नु भएन’ भनेर सोधेका थिए । उनको प्रश्न थियो, “तपाईँले जुन भिडिओ देखाउनु भएको छ, त्यसमा मञ्चमा राष्ट्रिय गान बजिरहेको बेला टियर ग्यास हानेको हो कि होइन, त्यो भिडिओ पनि राख्नु भएन ।” अनलाइन खबरले फेसबुक पेजमार्फत उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । सो भिडिओको ४२ मिनेट ३० सेकेन्डमा डीआईजी आचार्यले डिपफेक भिडिओको सन्दर्भ निकालेका छन् । हेर्नुहोस् ओर्जिनल भिडिओआर्काइभ भिडिओ । 

जवाफमा प्रवक्ता आचार्यले भनेका थिए, “ प्रहरीले अनावश्यक बल प्रयोग गर्‍यो भन्ने कुरा आइरहेको छ । प्रहरीले कार्यक्रम बिथोल्यो भन्ने जुन हिसाबले आइरहेको छ, प्रहरीले वास्तवमा सुरु गरेकै छैन त्यहाँ निर गएर । …त्यहाँ राष्ट्रिय गान कहीँ बजेको छैन । त्यो फेक डिपफेक भिडिओ हो । त्यहाँ कार्यक्रम नै सुरु भएको छैन त कसरी राष्ट्रिय गान बज्छ ? कोही देख्नुभएको छ तपाईँहरुले, त्यहाँ भएको नेता ? कोही जम्मा भएको देख्नुभएको छ, त्यहाँ कुनै भिडिओमा ? एउटा पनि भिडिओ छैन जहाँ नेता गएर बसिसकेको अवस्था होस् । त्यहाँ निर कार्यक्रम सुरु गरिरहेको अवस्था होस् । र, त्यो भन्दा अगाडि नै एक जना व्यक्तिले हामी यहाँ तपाईँहरू बसिरहने हैन, उता जानुपर्छ भनेर बोलेको अवस्था छ त । त्यस कारण त्यहाँ जुन हिसाबले यो कार्यक्रम थियो, कार्यक्रम छ भन्ने हिसाबले राष्ट्रिय गान बजेको भन्ने भन्ने कुरा छ, त्यो केही पनि होइन ।” 

“डेफ्नेट्ली यतातिर झडप हुने बेलामा टियरग्यास हान्ने क्रममा त्यो टियरग्यास त्यहाँ पनि पुगेको हो । किनभने त्यो त सबै अहिले जुन-जुन ठाउँमा घटनाहरू भइरहेको छ, त्यो घटना भएको एरिया त्यही हो । त्यस कारण एउटा टियरग्यास एक ठाउँबाट कहिलेकाहीँ अर्को ठाउँमा पुग्छ । त्यो हान्ने बेलामा कहिले एङ्गल मिल्दैन, केही चिज होला…”

 

अर्थात् डीआईजी आचार्यले त्यस दिन तीनकुनेको स्टेजमा राष्ट्रिय गान बजेको बेला अश्रुग्यास हानेको भिडिओ डिपफेक भएको बताए । द्वन्द्व भएको क्षेत्र नै तीनकुने भएकाले प्रहरीले हानेको अश्रुग्यास स्टेजसम्म पुगेको हुन सक्ने उनले बताए पनि राष्ट्रिय गान बजिरहँदा प्रहरीले टियर ग्यास हानेको दाबी डिपफपेक भएको उनको भनाई  थियो ।

तथ्यजाँच

डीआईजी आचार्यले दाबी गरेको जस्तो भिडिओ डिफफेक थियो कि थिएन भन्ने  तथ्य जाँच गर्नु अघि यो प्रविधि के हो भन्ने बुझ्न जरुरी छ । डिपफेक अडिओ, भिडिओ वा फोटो जुनसुकै स्वरूपमा पनि हुन सक्छ । डिपफेक भिडिओ आर्टिफिसियल इन्टेलिजेन्स (Artificial Intelligence) को प्रयोग गरेर बनाइएका यस्ता भिडिओ हुन्, जुन वास्तविक जस्तै देखिन्छ, तर वास्तविक भने हुँदैन । यस्ता भिडिओमा वास्तविक व्यक्तिले बोलेको वा गरेको जस्तो देखाउन सकिन्छ, तर वास्तवमा त्यो झुटो हुन्छ ।

त्यस्तै डिपफेक अडिओमा कसैको आवाजलाई कृत्रिम रूपमा नक्कल गरेर वा सिर्जना गरेर उसले नभनेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । यसका लागि एआईले सम्बन्धित व्यक्तिको आवाजका विभिन्न नमुनाहरू (recording) बाट डेटा लिन्छ र त्यसको आधारमा नयाँ अडियो सिर्जना गर्छ ।

उदाहरणका लागि कसैले कुनै नेताको भाषणको डिपफेक अडियो बनाउन सक्छ । जहाँ नेताले कहिल्यै नबोलेका कुराहरू बोलेको जस्तो सुनिन सक्छ ।

डिपफेक भिडिओमा एआईको प्रयोग गरेर एउटा व्यक्तिको अनुहार र हाउभाउ अर्कै व्यक्तिको हाउभाउ वा सन्दर्भमा मिसाउन सकिन्छ । ताकि उसले नगरेको काम गरेको वा नभनेको कुरा बोलेको जस्तो देखिन्छ । 

उदाहरणका लागि केही समयअघि चर्चित युट्युबर मिस्टर बिस्टको भिडिओ डिफफेक प्रविधिबाट तयार पारी ठगी गर्ने काम भइरहेको थियो । युट्युब भिडिओमा कहिले गाडी, कहिले पैसा र कहिले अन्य किसिमका सामाजिक कार्य गरिरहेको देखिने मिस्टर बिस्टको उक्त डिपफेक भिडिओमा दुई डलरमै आईफोन १५ उपलब्ध गराउने उल्लेख थियो । केही प्रयोगकर्ताले वास्तविक सोचेर रकम बुझाएको दाबी पनि गरेका थिए । पछि मिस्टर बिस्ट आफैले उक्त भिडिओ डिपफेक प्रविधिबाट तयार पारिएको उल्लेख गरेका थिए । डिपफेकको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्न सक्नु हुन्छ । 

अब मूल विषय तर्फ प्रवेश गरौँ । बुधबार पत्रकार सम्मेलन सकिएपछि टेकपानासहित विभिन्न समाचार माध्यममा उक्त घटनाका समाचार आए । सञ्चार माध्यमहरूले डीआईजी आचार्यले ‘राष्ट्रिय गान बजिरहेको बेला अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको प्रहरीको दाबी’ भन्दै समाचार लेखे । यही सन्दर्भलाई लिएर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘प्रहरीले स्टेजमा टियरग्यास हानेको भिडिओ डिपफेक भएको बतायो’, ‘स्टेजमा टियर ग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको प्रहरीको दाबी’ भन्ने आशयका पोस्ट आए । 

अब पत्रकार सम्मेलनपछि आएका समाचार र पोस्टको चर्चा गरौँ । सम्मेलनमा डीआईजी आचार्यले राष्ट्रगान बजिरहँदा स्टेजमा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको बताएका थिए । सँगसँगै स्टेजमा अश्रु ग्यास पुगेको हुनसक्ने कुरा पनि स्वीकार गरेका थिए । तर, केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राजावादीको स्टेजमा अश्रुरग्यास प्रहार भएको भन्ने भिडिओ नै डिपफेक भएको दाबी प्रहरीले गरे जसरी समाचार तथा पोस्ट लेखे । प्रहरी प्रवक्ताले स्टेजमा अश्रुग्यास पुगेको विषय नकारेका छैनन् । उनले राष्ट्रगान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक भएको दाबी गरेका थिए । 

हामीले बिहीबार प्रहरी प्रवक्ता आचार्यलाई सम्पर्क गरी उनले डिपफेक दाबी गरेको भिडिओ कुन हो भनी सोधेका थियौँ । त्यस क्रममा उनले आफूहरू पनि उक्त भिडिओ खोजिरहेको बताए । हामीले सामाजिक सञ्जालमा भाइरल राष्ट्रिय गान बजिरहेको बेला स्टेजमा टियरग्यास प्रहार भएको भिडिओ पठायौँ । तर, उनले त्यस भिडिओलाई लिएर कुनै प्रतिक्रिया जनाएनन् । पटक पटक सम्पर्कको प्रयास गर्दा समेत उनको फोन उठेन । 

राष्ट्रगान बजिरहँदा अश्रुग्यास प्रहार भएका भिडिओको इनभिडबाट किफ्रेम निकालेर गुगल, बिङ्ग, यान्डेक्स जस्ता सर्च इन्जिनको इमेज सर्च टुलको सहयोगमा विभिन्न भिडिओहरू खोज्यौँ । ‘स्टेजमा अश्रुग्यास’, ‘राष्ट्रगान बजिरहँदा अश्रुग्यास’, आदि जस्ता किवर्ड राखेर पनि हेरौँ ।  

यसरी इन्टरनेटमा रहेका विभिन्न भिडिओहरू सङ्कलन गरेर तिनको विश्लेषण थाल्यौँ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेको भिडिओ एउटै थियो । तर, हामीले पृष्ठभूमिमा राष्ट्रियगान बजिरहेको सुनिने फरक फरक व्यक्तिले खिचेका तीन ओटा भिडिओको टाइम फ्रेम दाँजेर हेर्‍यौँ । त्यसमध्येको एउटा हो, देशसञ्चारले फेसबुकमा राखेको भिडिओ । हेर्नुहोस् आरिजिनल लिङ्कआर्काइभ लिङ्क । यो भिडिओ ४२ सेकेन्ड लामो छ । देशसञ्चारका सहसम्पादक मनोज दाहालले सो भिडिओ आफ्नै सम्वाददाताले खिचेको नभई कुनै एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताको सहयोगमा लिइएको बताए । (देशसञ्चारबाट ओरिजिनल सोर्सको जानकारी प्राप्त भएमा यहीँनिर अपडेट गर्नेछौँ) । 

त्यस्तै हामीले सचेत राइड्स नामक युट्युब च्यानलको भिडिओलाई आधार बनाएका छौँ । हेर्नुहोस्, ओरिजिनल लिङ्क । उनको यो भिडिओ १ घण्टा १२ मिनेट लामो छ । यो भिडिओमा राष्ट्रगान ३६ औँ मिनेटदेखि बज्न थालेको सुनिन्छ ।

हामीले विश्लेषणका लागि प्रयोग गरेको अर्को भिडिओ हो, फेसबुकमा विजय पन्त आशुतोषले राखेको भिडिओ । यो भिडिओ दुई मिनेट ८ सेकेन्डको छ । यसमा एक मिनेट १४ सेकेन्डमा राष्ट्रगान बज्न सुरु हुन्छ । हेर्नुहोस् ओर्जिनल भिडिओआर्काइभ भिडिओ । 

डिपफेक गरी बनाइएको भिडिओ हुनका लागि भिडिओमा देखिएका गतिविधि र पात्रहरू वास्तविक भन्दा फरक हुनुपर्ने अथवा वास्तविक पात्र र गतिविधि फरक सन्दर्भमा देखिनु पर्ने हो । तर त्यस्तो कुनै सङ्केत ती भिडिओहरूमा देखिँदैन । किन भने हामीले उक्त भिडिओहरूको किफ्रेमहरू निकालेर विश्लेषण गरेका छौँ । ती कि फ्रेममा कतै पनि अस्वाभाविक स्वरूप, पात्र, चाल, वा गतिविधि भेटिएन । 

प्रहरी प्रवक्ताले ‘भिडिओमा एडिट गरी पछि राष्ट्रगान राखिएको’ हुनसक्ने विषयलाई नबुझेर ‘डिपफेक भिडिओ’ बताउन खोजेको हुनसक्ने शङ्काको सुविधा दिएर पनि हेर्‍यौँ । यसका लागि फरक फरक कोणबाट खिचिएका यी तीन ओटै भिडिओलाई हामीले प्रिमियर प्रोमा राखेर हेर्नुपर्ने भयो । यी सबै भिडिओमा राष्ट्र गान सुरुवातदेखि नै सुनिँदैन । अर्थात् छोटो भिडिओ सुरु हुनु अघिदेखि नै राष्ट्रगान बजेको सुनिन्छ भने लामा दुई भिडिओमा राष्ट्र गान सुरुवातदेखि नै बजेको सुनिन्छ । यी भिडिओमा राष्ट्र गान बज्जाबज्दै एक्कासि रोकिएको भाग समान छ । त्यस्तै दुई लामा भिडिओमा राष्ट्र गान सुरु भएको समय एउटै छ । राष्ट्रगान रोकिएपछि स्टेजमा अश्रुग्यास फैलिएका किफ्रेमहरू दाँजेर हेर्दा राष्ट्रगान रोकिएको समय र देखिएका दृश्य मिल्दाजुल्दा छन् । यी सबै पक्ष विश्लेषण गर्दा कुनै पनि कोणबाट भिडिओमा राष्ट्रगान पछिबाट थपेको पुष्टि हुँदैन । टेकपानासँगको कुराकानीमा प्रहरी स्रोतहरूले समेत प्रवक्ताको भनाईमा सत्यता नरहेको बताए । यी सबै आधारबाट उक्त स्टेजमा राष्ट्र गान बजेको कुरा टेकपाना तथ्यजाँचबाट पुष्टि हुन्छ र भिडिओ डिपफेक वा एडिट गरेर राष्ट्रगान थपिएको भन्ने दाबी मिथ्या रहेको देखिन्छ ।  

अब कुरा गरौँ अश्रुग्यास प्रहार भइसकेपछि राष्ट्रगान बजेको हो कि अगाडि नै राष्ट्र गान बजेको थियो अनि प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो भन्ने विषय । सचेत राइड्सले अपलोड गरेको भिडिओमा पहिले नै अर्थात ३५ मिनेट ४० सेकेन्डमा अश्रुग्यास फैलिएको देखिन्छ भने ३६ मिनेटमा राष्ट्र गान बज्न थाल्छ । र, राष्ट्र गान बीचमै बन्द भएपछि मञ्चमा अश्रुग्यासको धुवा बाक्लिँदै गएको देखिन्छ । 

देशसञ्चारले राखेको स्टेजको भिडिओमा पनि बीचबाट राष्ट्रगान बज्दा स्टेजमा अश्रुग्यास आइरहेको देखिन्छ । 

हामीले तथ्यजाँचकै क्रममा उक्त कार्यक्रमका लागि साउन्ड सिस्टम उपलब्ध गराउने कम्पनीले खटाएका एक कर्मचारीलाई सम्पर्क गर्‍यौँ । (तर गोपनीयताका कारण उनको नाम भने यहाँ उल्लेख गर्न असमर्थ छौँ) । “स्टेजमा अश्रुग्यास आउन थालेपछि मान्छे तितरबितर हुन थाले,” ती कर्मचारीले भने, “त्यसपछि हामीलाई स्टेजमै भएका एक जनाले राष्ट्रिय गान बजाउन भने । हामीले उनले भने अनुसार नै राष्ट्रिय गान बजायौँ । तर, सबै स्टेजमा बस्नै नसकिने भएपछि बन्द गरेर भाग्यौँ ।”

दाबी

‘स्टेजमा राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्ने भिडिओ डिपफेक हो’ भन्ने प्रहरी प्रवक्ता आचार्यको दाबी । 

दाबीकर्ता

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्य । 

तथ्य

प्रहरी प्रवक्ता आचार्यले ‘स्टेजमा अश्रुग्यास प्रहार भएको भिडिओलाई सिधै डिपफेक भनेका थिएनन् । तर उनले स्टेजमा राष्ट्रिय गान बजिरहँदा अश्रुग्यास प्रहार भएको भन्दै भाइरल भिडिओ डिपफेक भएको दाबी गरेका थिए । तर उनले दाबी गरेको जस्तो भाइरल भिडिओ डिपफेक गरी बनाइएको कहीँबाट पुष्टि हुँदैन । न त  एडिट गरेर पछि राष्ट्र गान थपेको नै देखिन् छ । अश्रुग्यास प्रहार भइसकेपछि एक्कासि राष्ट्रगान बज्न थालेको र स्टेजमा अश्रुग्यास पुगेपछि राष्ट्रगान बन्द भएको तथ्यले देखाएको छ । 

निष्कर्ष

डीआईजी आचार्यले दाबी गरेको जस्तो भाइरल भिडिओहरूमा डिपफेक गरी वा पछि एडिट गरी राष्ट्रगान थपिएको होइन । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका भिडिओको विश्लेषणबाट अश्रुग्यास प्रहारकै बिच राष्ट्रगान एक्कासि सुरु भएको र बीचमा गएर एक्कासि बन्द भएको स्पष्ट हुन्छ । अर्थात् स्टेजमा राष्ट्रगान बजेको र त्यसैबिच अश्रुग्यास पुगेको कुरा साँचो हो । 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

 

पछिल्लो अध्यावधिक: चैत २२, २०८१ २१:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट