२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

अल जजिराको कपीराइटले नेपाल टेलिभिजनको युट्युब च्यानल डिलिट, सरकारै लाग्दा पनि भएन फिर्ता

काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको पाइएको छ । बारम्बार कपीराइट अर्थात् प्रतिलिपि अधिकार उल्लङ्घन गरेपछि लाखौँ सब्सक्राइबर भएको युट्युब च्यानल टर्मिनेट (हटेको) भएको हो ।

हाल नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्था अन्तर्गत सञ्चालित छ । जसको मुख्य युट्युब च्यानल प्रादेशिक च्यानलले समेत प्रयोग गर्दै आइरहेका छन् । यसै क्रममा कोहलपुर प्रसारणका कर्मचारीले राखेको भिडिओका कारण युट्युब च्यानल डिलिट भएको बताइएको छ ।

८ लाखभन्दा बढी सब्सक्राइबर रहेको नेपाल टेलिभिजनको मुख्य युट्युब च्यानलमा ८ हजार ४०० भन्दा बढी भिडिओ  अपलोड गरिएका थिए । ती सबै भिडिओ समेत च्यानलसँगै गायब भएका छन् । पुरानो युट्युब च्यानल डिलिट भएपछि मार्चदेखि सोही नाममा नयाँ युट्युब च्यानल खोलिएको छ । 

संस्थाका अध्यक्ष महेन्द्र विष्टले कोहलपुर प्रसारणबाट भुलवश अल जजिराको भिडिओ अपलोड भएको र त्यसैमा कपीराइट लागेको बताए । अल जजिरा कतारको न्युज टेलिभिजन नेटवर्क हो, जुन मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको सबैभन्दा ठुलो न्युज नेटवर्क मानिन्छ । 

नेपाल टेलिभिजनको डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारी प्राप्त डीजीएम चिन्तामणि बरालले युट्युब च्यानल फिर्ता ल्याउने प्रयासमा अल जजिराले नै समस्या खडा गरेको दाबी गरे । “यसका लागि हामीले सञ्चार मन्त्रालयबाट परराष्ट्र मन्त्रालय, कतारको दोहा स्थित राजदूत मार्फत अल जजिरालाई पत्राचार गरेका थियौँ,” उनले भने, “तर पनि उसले अझै खोलिदिएको छैन ।” 

कोहलपुर स्टेसनले छुट्‍टै समाचार सामग्री तयार पारेको नभई टेलिभिजनमा प्रसारण भएको भिडिओ सामग्रीलाई नै युट्युब च्यानलमा राखेको बरालले बताए । “त्यस दिन अल जजिराबाट लिइएका ३ ओटा भिडिओ कन्टेन्ट हाम्रो युट्युब च्यानलमा अपलोड भएका रहेछन् । टेलिभिजनमा जे गयो, त्यही नै युट्युबमा पनि अपलोड भयो । त्यसपछि उनीहरू (अल जजिरा) ले  युट्युबलाई कम्प्लेन गरेपछि हाम्रो च्यानलमा समस्या आयो,” उनले भने । 

च्यानल डिलिट हुनु अघि कुनै वार्निङ समेत नदिइएको दाबी गर्दै बरालले सरकार मार्फत जाँदा पनि अल जजिराले प्रतिक्रिया नदिएको सुनाए । तर युट्युबसँग भने अहिलेसम्म कुनै पनि कुराकानी नभएको उनको भनाई छ । 

नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल बन्द भएको केही महिनापछि मात्र बराल डिजिटल प्लेटफर्म हेर्ने जिम्मेवारीमा आएका हुन् । त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीबाट भिडिओ सामग्री खरिद गर्न नेपाल टेलिभिजनका लागि सरकारबाटै बजेट आउँछ । तर आधिकारिक तवरमा न्युज एजेन्सी मार्फत नभई लापरवाहीपूर्वक अन्य माध्यमबाट विदेशी सञ्चार माध्यमका भिडिओ सामग्री प्रयोग गर्दा युट्युब च्यानल नै डिलिट हुन पुगेको हो । 

तर युट्युबले च्यानल डिलिट गर्नु अघि वार्निङ नै नदिने भन्ने चाहिँ हुँदैन । यहाँनिर कपीराइट उल्लङ्घनमा कसरी युट्युब च्यानल डिलिट हुन सक्छ भन्ने बारेमा बुझ्नुपर्ने हुन्छ । 

कपीराइट स्ट्राइकले कसरी डिलिट हुन्छ, युट्युब च्यानल ?

युट्युबमा कन्टेन्ट क्रियटरहरूका लागि कपीराइट स्ट्राइक एउटा डरलाग्दो विषय हुन सक्छ । यो एक औपचारिक चेतावनी हो, जुन सम्बन्धित सामग्री (म्युजिक, भिडिओ वा तस्विर) को कपीराइट अर्थात् प्रतिलिपि अधिकार भएको व्यक्ति वा संस्थाले दिने गर्छ । खासगरी अरू कसैले अपलोड गरेको भिडिओले आफ्नो अधिकार उल्लङ्घन गरेको लागेमा ओरिजिनल क्रियटरहरूले यस्तो एक्सन लिने गर्छन् ।

युट्युबले भ्यालिड कपीराइट रिमुभल रिक्वेस्ट प्राप्त भएको खण्डमा त्यस्ता भिडिओ हटाउँछ र कपीराइट स्ट्राइक जारी गर्छ । यदि ९० दिनभित्र तीन ओटा एक्टिभ कपीराइट स्ट्राइक प्राप्त भएमा युट्युबले त्यस्तो अकाउन्ट बन्द गर्छ र त्यसमा रहेका सबै भिडिओ हटाउँछ । साथै नयाँ च्यानल बनाउनबाट समेत रोक्छ ।

कपीराइट स्ट्राइक र कन्टेन्ट आईडी

युट्युबको स्वचालित सिस्टमले अपलोड हुने भिडिओमा कपीराइट सामग्री पत्ता लगाएमा कन्टेन्ट आईडी दाबी हुन्छ । यसले सामान्यतया त्यस्ता युट्युब च्यानलमा सोझै कुनै जरिबाना भने लाग्दैन । बरु, कपीराइट धनीले त्यस्तो भिडिओबाट पैसा कमाउने, पर्फमेन्स ट्य्राक गर्ने वा निश्चित देशहरूमा वा विश्वभर उक्त सामग्री हेर्नबाट रोक्ने जस्ता विकल्पहरू रोज्न सक्छन् । 

कन्टेन्ट आईडी दाबीका कारण भिडिओमा कपीराइट लागे पनि त्यसलाई सोझै हटाइँदैन । यद्यपि, बारम्बार गरिएका कन्टेन्ट आईडी दाबीका कारण मनिटाइजेसनको योग्यतामा भने नकारात्मक असर पार्न सक्छ।

कपीराइट स्ट्राइक भनेको चाहिँ कपीराइट धनीले औपचारिक उजुरी दर्ता गर्दा युट्युबले उल्लङ्घन कर्ता च्यानलमाथि गर्ने कारबाही हो । यस्तो अवस्थामा भने अकाउन्टमाथि सोझै पेनाल्टी लाग्छ । यदि कुनै च्यानल कपीराइट स्ट्राइकका कारण बन्द भयो भने, त्यसमा रहेका सबै सामग्री र च्यानल सुविधाको पहुँच गुमाउनु पर्ने हुन्छ ।

युट्युब च्यानल कपीराइट स्ट्राइकका कारण डिलिट (टर्मिनेट) भइसकेपछि त्यसलाई फिर्ता ल्याउनु चुनौतीपूर्ण भए पनि असम्भव भने छैन । यसका लागि समस्याको पहिचान गरेर औपचारिक अपिल दर्ता गर्ने, ध्यानाकर्षण गराउने आदि प्रक्रियामा जान सकिन्छ । 

कपीराइट स्ट्राइकबाट कसरी  बच्ने ?

कपीराइट स्ट्राइकबाट बच्नका लागि रोयल्टी-फ्री सामग्री प्रयोग गर्न सकिन्छ । कपीराइट धनीबाट स्पष्ट अनुमति लिने र उचित प्रयोग (fair use) का नियमहरू बुझ्नुपर्ने हुन्छ । यदि युट्युब च्यानलमा स्ट्राइक आएमा ९० दिनको म्याद सकिन दिनु राम्रो हुन्छ, त्यस अवधिमा थप स्ट्राइक नलाग्नेतर्फ सचेत रहनु पर्छ । यसका लागि युट्युबको ‘कपीराइट स्कुल’ पूरा गर्नुपर्ने हुन्छ । 

वैकल्पिक रूपमा काउन्टर नोटिफिकेसन (counter notification) पेस गर्न वा कपीराइट दाबीकर्तालाई सिधै सम्पर्क गरेर स्ट्राइक फिर्ता लिन अनुरोध गर्न सकिन्छ । काउन्टर नोटिफिकेसन ईमेल, फ्याक्स अथवा पोस्टल मेलबाट पनि पठाउन मिल्छ । काउन्टर नोटिफिकेसनको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नु होस् ।

 

पछिल्लो अध्यावधिक: असार २३, २०८२ १६:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट