२०८२ श्रावण २३ बिहीबार
LATEST NEWS
२०८२ श्रावण २३ बिहीबार

काठमाडौँ । सिद्धार्थ बैँक लिमिटेडले विद्युतीय ट्याक्सीका लागि कर्जा सुविधा उपलब्ध गराउने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बैँकसँग विद्युतीय ट्याक्सी कर्जा सुविधा सम्बन्धी सम्झौता गरेको हो ।

यो सहकार्यले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नेछ । सम्झौताअनुसार सिप्रदी ट्रेडिङमार्फत टाटा मोटर्सका विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकले सिद्धार्थ बैँकबाट सहज र सस्तो ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो कर्जाको अवधि पाँच वर्षसम्मको रहनेछ । सिद्धार्थ बैँकले यस सम्झौतामार्फत वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्धन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ । यो पहलले जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न र हरियाली भविष्य निर्माणमा योगदान पुर्‍याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १४:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । भारतीय अडियो वेयरेबल ब्रान्ड ‘बोट’ ले नेपालमा आफ्नो औपचारिक प्रवेशको घोषणा गरेको छ । काठमाडौँ आज, असार १७ गते एक कार्यक्रम आयोजना गर्दै कम्पनीले नेपाली बजारमा आफ्नो औपचारिक प्रवेशको घोषणा गरेको हो । 

नेपाली बजारमा टेलिटक प्रा.लि. ले बोटका उत्पादनहरू आधिकारिक रूपमा वितरण गर्दै आएको छ । कम्पनीले बोटलाई नेपाली बजारमा पहिले नै स्थापित तीन प्रमुख अडियो वेयरेबल ब्रान्डमध्ये एकको रूपमा प्रस्तुत गरेको, बोटको दाबी छ । 

यसैबिच कम्पनीले आफ्नो निर्भाना सिरिजका इयरबड्स र इयरफोन नेपालमा पनि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा कम्पनीले प्रिमियम ‘निर्भाना’ सिरिजका उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सिलेसन) इयरफोन र इयरबड्स नेपाली बजारमा ल्याएको जानकारी गराएको थियो । यी उत्पादनहरू अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका सह-संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने, “नेपाल हाम्रो लागि सधैं विशेष बजार हो। यहाँको जीवनशैली र डिजिटल प्रवृत्तिका लागि उपयुक्त अडियो उत्पादन ल्याउँदै हामी नेपाली प्रयोगकर्ताको विश्वासप्रति आभारी छौं ।”

त्यसैगरी, टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले यो औपचारिक घोषणाले नेपाली बजारप्रतिको बोटको प्रतिबद्धता अझ बलियो बनाएको बताए। उनले ब्रान्डले अब जीवनशैली-केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरूको श्रृंखला थप विस्तार गर्ने पनि जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १८:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । ‘राइड शेयरिङ’ प्लेटफर्म ई-ड्राइभ नेपाल र ‘तपाईंको बजार’ले सहकार्य गरी राइडरलाई एक हजार ओटा विद्युतीय स्कुटर उपलब्ध गराउने भएका छन् । स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो योजना अन्तर्गत राइडरले दैनिक निश्चित भाडा तिरेर उच्च पर्फर्मेन्स युक्त स्कुटर चलाउन पाउने भएका हुन् ।

यो योजना ई-ड्राइभ नेपाल, तपाईंको बजार र ग्यारो स्कुटरका लागि नेपालका आयातकर्ता कम्पनीको त्रिपक्षीय लगानी र व्यवस्थापनमा सञ्चालन हुनेछ । ई-ड्राइभले राइड शेयरिङ प्लेटफर्मको भूमिका निर्वाह गर्दा, तपाईंको बजारले वित्तीय तथा फ्लीट व्यवस्थापनको पाटो हेर्नेछ ।

कम्पनीका अनुसार इच्छुक राइडरले दुई मोडेलमा स्कुटर प्राप्त गर्न सक्नेछन्  । एउटा दैनिक भाडामा आधारित (रेन्टल) र अर्को मासिक तलबमा आधारित । रेन्टल मोडेलमा राइडरले प्रतिदिन लगभग ७०० देखि १००० रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ । तलबमा आधारित मोडेलमा राइडरले नेपाल सरकारले तोकेको न्यूनतम तलब सुनिश्चित रूपमा पाउनेछन् भने राइडको आधारमा बोनससहित मासिक २० देखि २५ हजार रुपैयाँभन्दा बढी कमाउन सक्ने बताइएको छ ।

राइडरलाई भाडा तिर्न वा आम्दानी गर्न सहज होस् भनेर ‘ई-ड्राइभ नेपाल’ले आफैले व्यवसायको ग्यारेन्टी लिने भएको छ । “यदि राइडरले पर्याप्त आम्दानी गर्न सकेनन् भने हामी आफै उनीलाई व्यापार दिन्छौँ,” ई-ड्राइभ नेपालका एक अधिकारीले भने, “यसका लागि हामीले अर्को राइड शेयरिङ कम्पनी ‘याङ्गो’सँग समेत सहकार्य गरेका छौँ ।”

काठमाडौँको सडक र उकालोमा कम पर्फर्मेन्स भएका स्कुटरको समस्यालाई मध्यनजर गर्दै यो योजनामा उच्च क्षमताको स्कुटर रोजिएको कम्पनीको भनाइ छ ।

योजनामा सहभागी हुन इच्छुक राइडरले आफ्नो सक्कली नागरिकता र लाइसेन्ससहित कम्पनीको कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् । ई-ड्राइभको कार्यालय  विश्वज्योति मल, जमल काठमाडौँमा रहेको छ । यस योजनाको पहिलो चरण अन्तर्गत यही शनिबार एक कार्यक्रमका बीच २५ ओटा स्कुटर वितरण गरिँदैछ । आगामी दुई महिनाभित्रै एक हजार स्कुटर सडकमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १९:५३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार २३ असारसम्म ऐन जारी नभए आन्दोलन गर्ने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । 

‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद् बैठक पनि २३ असारलाई बोलाइएकोले त्यो दिनसम्म कुर्छौं,’ उनले भनिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेका थिए ।

शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षक महासंघसँग वार्ता गर्न समय मागेका थिए । अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्नेगरी विधेयक पास गर्ने तयारी थियो । तर महासंघले ७५/२५ प्रतिशत हुनुपर्ने दबाब दिएपछि विधेयक पास हुन नसकेको हो ।

शिक्षकको कार्य सम्पादन मूल्यांकनको अंक पनि घटाउनु पर्ने माग महासंघको छ । ‘कासमा ९० अंक आउँदैन । यसलाई घटाएर ८० सम्म ल्याउनुपर्छ,’ सहअध्यक्ष पराजुलीले भनिन् । यी विषयमा टुंगो लगाउन धेरै समय नलाग्ने उनको भनाइ छ । ‘विधेयकमा नटुंगिएको विषय टुंगो लगाउन धेरै समय लाग्दैन । सरकार तयार हुनुपर्‍यो,’ पराजुलीले भनिन् । २३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेपछि १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ ।  इन्टरनेटसँगै सामाजिक सञ्जालको सहज पहुँचले समाजमा सकारात्मक र नकारात्मक प्रभाव पारिरहेको छ । सबैका लागि साझा मञ्चका रूपमा काम गर्ने यी प्लेटफर्मका नकारात्मक पक्षबारे बढी चर्चा हुने गरेको छ । खासगरी नेपाल जस्तो विकासोन्मुख देश जहाँ डिजिटल साक्षरता कम छ त्यहाँ नकारात्मक प्रभाव बढी हाबी भएका छन् । 

पछिल्लो समय अन्य देश जस्तै नेपालमा पनि सामाजिक सञ्जाल तथा न्युज वेबसाइटका कमेन्ट सेक्सन सकारात्मक भन्दा नकारात्मक टिप्पणीले भरिने गरेका छन् । यी प्लेटफर्म अनलाइन दुर्व्यवहारको नयाँ मैदान बनेका छन् भन्दा फरक पर्दैन । फलस्वरुप धेरै समाचार संस्थाले वेबसाइटबाट कमेन्ट सेक्सन नै हटाउने गरेका छन् । त्यस्तै सामाजिक सञ्जालमा पनि कमेन्ट सीमित व्यक्तिले मात्र गर्न सक्ने बनाएका हुन्छन् । 

यदि तपाईंले पनि समयमै ध्यान दिनु भएन भने तपाईंको कमेन्ट सेक्सन गालीगलौज, धम्की, विवाद र उत्पीडनको थलो बन्न सक्छ । सन् २०१४ मा ‘प्यू रिसर्च सेन्टर’ले गरेको एक अध्ययनले २२ प्रतिशत (अर्थात् प्रत्येक पाँचमध्ये एक) इन्टरनेट प्रयोगकर्ता कुनै न कुनै वेबसाइटको कमेन्ट सेक्सनमा अनलाइन उत्पीडनको शिकार भएको देखाएको थियो ।

यस्ता नकारात्मक कमेन्ट पोस्ट गर्ने मानिस को हुन् र हामी किन उनीहरूका विषाक्त धारणा पढिरहेका छौँ ? हामी किन आफूलाई नकारात्मक कमेन्ट सेक्सनमा तानिन दिन्छौं वा अझ खराब, कमेन्ट सेक्सनको विवादमा फस्न दिन्छौं ? र यसले अन्ततः हाम्रो मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ ?

अनलाइनका नकारात्मक कमेन्टले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् तर यस समस्यालाई कम गर्न तपाईंले केही विशेष कदम चाल्न सक्नुहुन्छ । नराम्रो कमेन्टले तपाईंको मानसिक स्वास्थ्यमा कसरी असर गर्छन् र यसबाट जोगिन के गर्न सकिन्छ यहाँ चर्चा गरिएको छ ।

त्यसभन्दा अगाडि तपाईंले सामाजिक सञ्जालमा कोही किन नराम्रो, नकारात्मक, अस्वाभाविक, अपाच्य र अश्लील कमेन्ट गर्छन् भन्ने बुझ्नुपर्ने हुन्छ । यस विषयमा टेकपानाले यसअघि विस्तृतमा चर्चा गरेको छ । उक्त लेख पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । यो लेख पढेर यसभन्दा तलको सामग्री पढ्नुभयो भने तपाईंलाई यो विषय बुझ्न थप सहज हुन्छ ।

संक्षिप्तमा चर्चा गरिहालौँ । सामाजिक सञ्जालले दिएको गुमनामताको सुविधा, प्रयोगकर्ताको व्यक्तित्व, उसको सामाजिक परिवेश र समाज, प्लेटफर्मको प्राविधिक पक्ष आदिका कारण नकारात्मक कमेन्टले प्रश्रय पाउँछन् ।

सामाजिक सञ्जालमा अत्यधिक नकारात्मक कमेन्ट किन आउँछन् भन्ने बुझिसके पछि यस्ता कमेन्ट पढ्न हामी किन उत्साहित हुन्छौं भन्ने विषयमा चर्चा गरौँ । तपाईंले सामाजिक सञ्जाल त्यसमा पनि टिकटकका कमेन्ट हेर्न थाल्नुभयो भने कमेन्ट हेर्ने लत बस्छ । त्यसोभए आखिर आफूलाई नराम्रो महसुस गराउने कुरामा हामी किन समय खर्च गर्छौँ ? यदि हामीले कमेन्टले हाम्रो मानसिक स्वास्थ्यमा कसरी असर गर्छ भनेर बुझ्न सक्यौँ भने यसबाट जोगिने तरिकाबारे सरल तरिकाले बुझ्न सक्छौं ।

डोपामाइनको लत

तपाईंले द सोसल डिलेमा (The Social Dilemma) फिल्म हेर्नुभएको छ भने फेसबुकको एल्गोरिदमले प्रयोगकर्तालाई कसरी आकर्षित गर्न सक्छ भन्ने बुझ्नु भएकै होला । वास्तवमा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालाई सकेसम्म धेरै समयसम्म व्यस्त राख्न र लत लगाउन डिजाइन गरिएका हुन्छन् । यसका लागि शक्तिशाली एल्गोरिदम र एआई प्रयोग गरिएको हुन्छ । यी टुलले हामी प्रयोगकर्ताको बानी सूक्ष्म रूपमा निगरानी गर्छन् र हामीलाई के देखायो भने त्यसमा बढी समय बिताउँछौँ वा सन्तुष्ट हुन्छौं भन्ने पहिचान गरेर त्यही अनुसारका कन्टेन्ट देखाउँछन् । यस्ता कमेन्ट आउँदा हाम्रो मष्तिष्कमा डोपामाइन रसायन उत्पादन हुन्छ ।

डोपामाइन हाम्रो मस्तिष्कमा रहेको एक महत्त्वपूर्ण रसायन हो जसले स्नायु कोषिका बीच सन्देश पठाउने काम गर्छ । यसलाई सामान्यतया ‘खुसीको रसायन’ पनि भनिन्छ किनभने यसले हामीलाई आनन्द, सन्तुष्टि र प्रेरणाको महसुस गराउन मुख्य भूमिका खेल्छ ।

यही सिद्धान्तका कारण सामाजिक सञ्जालले प्रयोगकर्ताहरूलाई सन्तुष्टिका साना ‘हिट्स’ (डोपामाइन) को लत लगाएर हेरफेर गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो पोस्टमा लाइक, कमेन्ट वा शेयर पाए भने सन्तुष्ट हुन्छन् । त्यस्तै रुचि भएका सामग्री फिडमा देखिने बेलासम्म त्यसैमा झुन्डिरहन्छन् । 

नकारात्मक कमेन्टले पनि त्यस्तै काम गर्न सक्छन् । यदि तपाईंले काम गर्नुपर्ने बेलामा वा दिक्क लागेको बेलामा लगातार कमेन्ट पढिरहनु भएको छ भने तपाईंलाई कमेन्ट सेक्सनको लत लागेको हुन सक्छ । 

यसले तपाईंको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ किनभने तपाईंले अन्य काम गर्नुपर्ने बेलामा कमेन्ट पढ्न थाल्नुहुन्छ । यसले गर्दा तपाईंलाई उत्प्रेरित नभएको र केही पनि काम पूरा नगरेको जस्तो महसुस गराउँछ । ‘फेरि कमेन्ट हेर्न आउनु भयो हैन’ भन्ने टिकटकका कमेन्टले यसलाई पुष्टि गर्छन् । 

डिप्रेसन र नकारात्मकता

अनलाइनमा नकारात्मक कमेन्टले तपाईंलाई थप नकारात्मक महसुस गराउँछ । यदि तपाईं बिहान उठ्नेबित्तिकै नकारात्मक कमेन्ट पढ्न थाल्नुभयो भने तपाईंको दिन नै नकारात्मकताका साथ सुरु हुनेछ । र, यदि तपाईंलाई कमेन्ट पढ्ने लत लाग्यो भने तपाईँमा डिप्रेसनका केही लक्षण देखिन थाल्छन् । 

कुन पोस्टमा कस्ता कमेन्ट आएका छन् भन्ने थाहै हुँदैन । त्यसैले तपाईंले सकारात्मक नै ठानेको पोस्टमा पनि तपाईंलाई नराम्रो अनुभव गराउने कमेन्ट आएका हुन सक्छन् । त्यसैले बिना काममा आफूसँग सम्बन्धित नभएका पोस्टको कमेन्ट नपढ्दा नै उपयुक्त हुन्छ ।

चिन्ता (एन्जाइटी)

अनलाइनमा आउने कमेन्ट सबै सकारात्मक हुन्छन् भन्ने हुँदैन । आफ्ना पोस्टमा सकारात्मक कमेन्ट मात्र आउन् भन्ने चाहना सबैको हुन्छ । तर, त्यहाँ हुने अन्य प्रयोगकर्ताका कारण नकारात्मक कमेन्टको सामना गरिरहनु पर्ने अवस्था आइरहन्छ । 

ती नकारात्मक कमेन्ट पढ्दा तपाईं थप चिन्तित बन्न सक्नुहुन्छ । खासगरी तपाईंलाई डर पैदा गर्ने, तपाईंले रोजेको काममाथि शंका उब्जाउने वा तपाईंका विचार र धारणामाथि प्रश्न उठाउने कमेन्ट पढ्नुभयो भने नकारात्मक रूपमा तपाईं बढी प्रभावित हुन सक्नुहुन्छ । जो मानिस एन्जाइटीप्रति पहिलेदेखि नै संवेदनशील छन् (जस्तै आनुवंशिक कारणले) उनीहरूलाई यस्ता नकारात्मक कमेन्टले एन्जाइटीको जोखिम बढाउन सक्छ । 

ध्यान केन्द्रित गर्ने क्षमता

तपाईंले पछिल्लो पटक पूरै उपन्यास कहिले पढ्नुभएको थियो ? यदि तपाईं आफ्नो धेरैजसो समय अनलाइनमा नकारात्मक कमेन्ट पढेर बिताउनुहुन्छ भने तपाईंलाई लामो समयसम्म ध्यान दिनुपर्ने कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । कमेन्ट मात्र होइन सामाजिक सञ्जालका फिड लगातार स्क्रोल गर्ने बानीले पनि तपाईंको अटेन्सन क्षमता घटाउँछ । 

यदि तपाईं, तपाईंलाई लामो समयसम्म आबद्ध गराइरहने आफ्ना रुचीका काममा केन्द्रित हुनुभयो भने तपाईंको ध्यान केन्द्रित गर्ने क्षमतामा पक्कै सुधार आउँछ । त्यस्तै आफूलाई खास फाइदा नदिने कमेन्ट बेवास्ता गर्दा पनि सामाजिक सञ्जालको लत कम हुन्छ । र, तपाईंको ध्यान केन्द्रित गर्ने क्षमता सुध्रिन्छ । 

आत्म-सम्मान र आत्मविश्वास

यदि तपाईंले अनलाइनमा आफ्नो बारेमा नकारात्मक कमेन्ट पढ्नुभयो भने आत्मविश्वासमा कमी आएको महसुस हुन्छ । यस्तो हुँदा तपाईंको आत्मसम्मानमा पनि ह्रास आउन सक्छ । यदि कमेन्ट पढिसकेपछि आत्मविश्वासमा कमी आएको महसुस हुन्छ वा नराम्रो लागेको महसुस हुन्छ भने तपाईंले कमेन्ट पढ्न छोड्नुभए हुन्छ । 

कसरी सामना गर्ने नकारात्मक कमेन्ट ?

सामाजिक सञ्जालमा आउने नकारात्मक कमेन्ट पढ्दा त्यसले तपाईंको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ भने के गर्ने ? यहाँ त्यस्ता केही विधिको चर्चा गरिएको छ जसले तपाईंलाई नकारात्मक कमेन्टसँग सामना गर्न सघाउँछन् । 

आफूलाई उपयुक्त हुने प्लेटफर्म छान्नुहोस्

सामाजिक सञ्जालले फरक फरक विचार, बानी र व्यवहार भएका प्रयोगकर्तालाई आकर्षित गरेका हुन्छन् । व्यक्ति कुन सामाजिक सञ्जालतिर आकर्षित हुन्छ भन्ने विषय उसको व्यक्तित्व, पेसा वा व्यवसाय, उसको समाज र पारिवारिक अवस्थामा निर्भर हुन्छ । यदि तपाईं अनलाइनमा नकारात्मक कमेन्ट पढ्ने बारे चिन्तित हुनुहुन्छ भने गुमनाम रहन पाइने प्लेटफर्मबाट टाढा रहनुहोस् । 

गुमनाम रहन पाउने प्लेटफर्ममा नकारात्मक धारणा राख्ने, नकारात्मक टिप्पणी गर्ने प्रयोगकर्ता बढी हुन्छन् । ति प्लेटफर्ममा सक्रिय हुन थाल्नुभयो भने तपाईं नकारात्मक कमेन्टको मारमा पर्नुहुन्छ । 

नकारात्मक कमेन्ट नपढ्नुहोस

कमेन्ट पढ्न छोड्नुहोस् भन्दा यो त सजिलै सकिहालिन्छ नि भन्ने लाग्ला । तर, यसको लत लाग्यो भने निकै भयानक हुन्छ । तपाईंलाई पनि सामाजिक सञ्जालमा आएका कमेन्ट पढ्ने बानी छ र यसलाई छुटाउन चाहनु हुन्छ भने के गर्ने ? त्यसका लागि तपाईंले समय छुट्याउनु पर्ने हुन्छ । ‘म भरसक कमेन्ट पढ्दिन । यदि नपढ्दा छटपटी हुने अवस्था छ भने दिनमा यति समय यस्ता पोस्टमा आएका कमेन्ट मात्र पढ्छु’ भनेर आफूलाई आफ्नै आचारसंहितामा बाँध्नु पर्छ । 

आफ्नो दृष्टिकोण र मूल्यमान्यता बलियो बनाउनुहोस्

बलियो दृष्टिकोण र मूल्यमान्यता हुँदा तपाईं कमेन्ट सेक्सनमा पढेका कुराबाट प्रभावित हुने सम्भावना कम हुन्छ भन्ने अध्ययनले नै देखाएको छ । यसको अर्थ कमेन्टले तपाईंलाई कम असर गरोस् भन्नका लागि तपाईं केमा विश्वास गर्नुहुन्छ भन्ने कुरा जान्नु र अनलाइनमा जे पढे पनि आफ्नो सिद्धान्त र मूल्यमान्यतामा अडिग रहने साहस र दृढता हुनु महत्त्वपूर्ण छ ।

आफूलाई शिक्षित गर्नुहोस्

कुनै विषयमा ज्ञानको कमीले तपाईंलाई अरूको विचार (र कमेन्ट) मा विश्वास गर्न लगाउन सक्ने सम्भावना उच्च हुन्छ । यस कारणले पनि कुनै विषयप्रति आफ्नो धारणा राख्नुअघि त्यसबारे विस्तृतमा बुझ्नुहोस्, अध्ययन गर्नुहोस् । विश्वसनीय सूचनाका स्रोतलाई मात्र फलो गर्नुहोस् र समाचार साइट वा सामाजिक सञ्जाल पेजको कमेन्ट सेक्सनबाट सिकेका कुरामा भर पर्नुको सट्टा आफ्नै धारणा बनाउनुहोस् ।

सकारात्मक कमेन्टमा ध्यान दिनुहोस्

यदि तपाईं अनलाइन कमेन्ट पढ्दा हुने नकारात्मक असर कम गर्न चाहनुहुन्छ भने तपाईंले गर्न सक्ने सबैभन्दा राम्रो कुरामध्ये एक सकारात्मक कमेन्ट मात्र पढ्ने । आफ्ना सामाजिक सञ्जालका अकाउन्टमा सबैलाई कमेन्ट गर्न सक्ने सुविधा नदिनुहोस् । तपाईंलाई असान्दर्भिक वा नकारात्मक लाग्ने किसिमका कमेन्ट गर्ने व्यक्ति एड छ भने उसलाई ब्लक, अनफ्रेन्ड, अनफलो गर्नुहोस् । आफ्नो सर्कलमा आफूलाई समर्थन गर्ने, हौसला दिने र सकारात्मक ऊर्जा प्रवाह गराउने साथीलाई मात्र एड गर्नुहोस् । 

अरूका लागि सकारात्मक कमेन्ट छोड्नुहोस्

के तपाईं अरूका लागि पनि सकारात्मकताको लहर सुरु गर्न चाहनुहुन्छ ? ‘लाइक’ क्लिक गर्न छोडेर अरूको पोस्टमा सकारात्मक कमेन्ट लेख्न थाल्नुहोस् ।

सकारात्मक कमेन्टले थप सकारात्मक कमेन्टलाई प्रेरित गर्छ । कुनै पनि पोस्टको पहिलो कमेन्ट अन्य सबैले कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुरालाई आकार दिन पहिलो कमेन्ट महत्त्वपूर्ण हुन्छ । त्यसैले मौका पर्दा सकारात्मक कमेन्ट गर्नुहोस् । 

स्क्रिन टाइम सीमित गर्नुहोस्

सामाजिक सञ्जालमा आएका कमेन्ट पढ्नमा बिताउने समय सीमित गर्नुहोस् । त्यति मात्र नभई अनलाइनमा नकारात्मक विषय पढ्ने बानी छ भने त्यसको पनि समय सीमा तोक्नुहोस् र कम गर्दै लैजानुहोस् । अत्यधिक स्क्रिन टाइमका निन्द्रा नलाग्ने, आँखाको दृष्टिमा समस्या आउने, थकान लाग्ने जस्ता समस्या देखिन्छन् । जति बढी तपाईं स्क्रिन टाइममा हुनुभयो त्यति नै तपाईं अन्य काममा ध्यान केन्द्रित गर्न सक्नुहुन्न । त्यसैले स्मार्टफोन तथा ल्यापटप जस्ता डिभाइसमा खर्च गर्ने अनावश्यक समय कम गर्नुहोस् । 

स्क्रिन टाइम घटाउनका लागि तपाईं आफ्नो लागि एउटा नियम बनाउन सक्नुहुन्छ । उदाहरणका लागि १० बजे निदाउनुहुन्छ भने ९ः१५ मै डिभाइसबाट टाढिनुहोस् । त्यस्तै अनावश्यक रूपमा डिभाइस प्रयोग गरेर समय खर्च गर्नुभन्दा त्यस्तो समय अन्य भौतिक काम गरेर बिताउनुहोस् । 

अन्य रुचीमा रमाउनुहोस्

अनलाइनका नकारात्मक कमेन्टले मानसिक स्वास्थ्यमा असर गरिरहेको छ भने तपाईं आफ्नो रुची फेर्न सक्नुहुन्छ । सामाजिक सञ्जालका विभिन्न पेजहरू अन्वेषण गर्नुभन्दा उपन्यास पढ्ने कुरामा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । त्यस्तै मानसिक र शारीरिक रूपमा स्वास्थ्यका लागि उपयोगी मानिने भौतिक खेल खेल्न वा त्यही अनुसारका व्यायाम अभ्यास गर्न सक्नुहुन्छ । 

सम्बन्ध विस्तार गर्नमा केन्द्रित हुनुहोस्

सामाजिक सञ्जालको मुख्य उद्देश्य नै सम्बन्ध जोड्नु हो भन्ने धेरैले बिर्सिसके । हुन त सम्बन्ध जोड्ने नाममा थुप्रै किसिमका अपराधका घटना पनि बाहिर आइरहेका छन् । 

यद्यपि अझै पनि मानिसहरू यसलाई सामाजिक सम्बन्ध स्थापित गर्नकै लागि प्रयोग गरिरहेका हुन्छन् । इन्टरनेटले तपाईंलाई एक्लो महसुस गराउन सक्छ । तर यही उपकरणले तपाईंलाई तमाम साथीमाझ पनि पुर्‍याउन सक्छ । तपाईंले यो टुल कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा तपाईंको सम्बन्ध कस्तो हुन्छ भन्ने विषय निर्धारण हुन्छ । 

यदि तपाईं कुनै पनि कारणले अरू मानिसबाट टाढा रहन बाध्य हुनुभयो भने सामाजिक सञ्जालले तपाईंलाई सम्पर्कमा रहन मद्दत गर्न सक्छ । त्यसका लागि तपाईंले सामाजिक सञ्जालमा कमेन्ट पढ्ने नभइ आफ्ना साथीभाइ वा आफन्तसँग सम्पर्क गरेर नजिकिनुपर्ने हुन्छ । 

तपाईंलाई खुसी र सकारात्मक महसुस गराउने साथीको सूची बनाउनुहोस् र उनीहरूसँग सकेसम्म धेरै सम्पर्कमा रहन प्रयास गर्नुहोस् । अहिलेको समयमा म इन्टरनेटको पहुँचमा हुँदैन भनेर साध्य नहोला । त्यसैले अनलाइन हुँदा आफू के गरिरहेको छु भन्नेबारे सचेत हुनुहोस् । र, त्यसका सकारात्मक पक्षलाई पछ्याउनुहोस् । 

आफू सक्रिय भएको क्षेत्रलाई प्रचार प्रसार गर्नुहोस्

के तपाईं कुनै सामाजिक उद्देश्य वा विशेष रुचिमा विश्वास गर्नुहुन्छ ? यदि हो भने इन्टरनेट प्रयोग गर्दा आफ्नो विश्वासको पक्षमा आवाज उठाउनुहोस् र त्यस्तै विचार वा रुचि भएका अन्य व्यक्तिहरूसँग जोडिनुहोस् ।

यदि कोही तपाईंको विचारमा सहमत छैन भने तिनीहरूको सोच बदल्ने प्रयास नगर्नुहोस् । बरु आफ्नो विश्वास वा रुचीलाई सकारात्मक ढङ्गले प्रस्तुत गर्नुहोस् । जस्तै शाकाहारी हुनुहुन्छ भने आफैं बनाएको स्वादिष्ठ परिकारको तस्वीर वा टिप्स शेयर गर्न सक्नुहुन्छ। 

यस्तो गर्ने उद्देश्य भनेको आफूले मन पराउने बिषयमा केन्द्रित हुनु र त्यस्तै सोच भएका व्यक्तिको समूहमा आबद्ध भएर आफ्नो समय अर्थपूर्ण बनाउनु हो ।

नकारात्मकताबाट बच्नुहोस्

नकारात्मकताबाट बच्ने काम सजिलो भएको भए कस्तो राम्रै हुन्थ्यो । तर, त्यति सजिलो छैन । सजिलो छैन भन्दैमा असम्भव नै छैन भन्ने बुझ्नु हुँदैन । यदि तपाईं इन्टरनेटमा भएका नकारात्मक कमेन्टबाट टाढा रहन चाहनुहुन्छ भने टाढिन सम्भव छ । 

(पत्रकार विजय कुमारले फेसबुकमा कमेन्ट लिमिट गरेका छन् ।)

यसको उपाय हो नकारात्मक कमेन्ट आउने साइटमा जानै छोड्ने । कतिपय साइटमा पक्कै नकारात्मक कमेन्ट आउँछन् भन्ने थाहा हुन्छ । त्यस्ता साइट भिजिट नगर्नु नै उपयुक्त हुन्छ । 

उदाहरणका लागि तपाईं कुनै एक समाचार साइटमा बारम्बार जानुहुन्छ र हरेक पटक ट्रोल कमेन्ट पढ्न पुग्नुहुन्छ भने त्यस्तो साइट छाडेर यस्तो समाचार स्रोत रोज्नुहोस् जहाँ कमेन्ट गर्न नै नदिइएको होस् । त्यस्तैगरी तपाईंले फलो गरेको कुनै फेसबुक पेजले आफ्ना फलोअर्सलाई आक्रोशपूर्ण वा उग्र टिप्पणी गर्न उक्साउँछ भने त्यस्तो पेजलाई अनफलो गर्नुहोस् ।

थप आलोचनात्मक बन्नुहोस्

नकारात्मक कमेन्टले तपाईंलाई कति असर गर्छन् भन्ने कुरालाई नियन्त्रणमा राख्ने अर्को उपाय भनेको आफूले पढ्ने सामग्रीप्रति आलोचनात्मक सोच राख्नु हो । त्यो कुरा कोबाट आएको हो, उसको उद्देश्य के हुन सक्छ भन्ने सोच्नुहोस् । 

उदाहरणका लागि यदि तपाईंको कुनै साथीले सधैं तपाईंका फेसबुक पोस्टमा नकारात्मक कुरा मात्र लेख्छ भने उसले किन यस्तो गर्छ भनेर बुझ्ने प्रयास गर्नुहोस् । सकेसम्म उसलाई इनबक्समा कुरा गर्न भन्नुहोस् ।

आफ्नो प्रवृत्ति जाँच्नुहोस्

इन्टरनेट प्रयोग गर्नुअघि तपाईंको मनस्थिति कस्तो छ ? के तपाईं दुःखी, तनावग्रस्त वा आफ्नो शरीरको रूपप्रति चिन्तित महसुस गरिरहनुभएको छ ? याद गर्नुहोस्, अधिकांश सामाजिक सञ्जालका एल्गोरिदम तपाईंले जुन विषयसँग बढी अन्तरक्रिया गर्नुहुन्छ, त्यही सामग्री बढी देखाउने गरी डिजाइन गरिएका हुन्छन् ।

त्यसैले जब तपाईं नकारात्मक भावनामा हुनुहुन्छ, त्यस्तो बेला इन्टरनेटमा जान नखोज्नुहोस् । यदि जानुभयो भने यसले तपाईंलाई झन् बढी नकारात्मकता र निराशातर्फ लैजान सक्छ ।

त्यसको सट्टा डायरीमा आफ्नो भावना लेख्नुहोस् वा कसै नजिकको साथीलाई भेटेर चिया पिउँदै मन हल्का बनाउनुहोस् । यस्तो सानो तर महत्वपूर्ण कदमले तपाईंलाई धेरै राहत दिन सक्छ ।

एल्गोरिदमबारे सचेत रहनुहोस्

माथि विभिन्न सन्दर्भमा सामाजिक सञ्जालका एल्गोरिदमको चर्चा भइसकेको छ । वास्तवमा सामाजिक सञ्जालको सिस्टम (एल्गोरिदम) तपाईंलाई मनपर्ने कुरा बढी देखाउनेगरी डिजाइन गरिएको हुन्छ । तर, तपाईंले चाहनु भयो भने यो प्रणालीलाई आफ्नै फाइदा हुने गरी प्रयोग गर्न सक्नुहुन्छ । 

त्यसका लागि जानाजान तपाईंले सकारात्मक र फरक विषयका पोस्टमा अन्तरक्रिया गर्नुहोस् । उदाहरणका लागि यदि तपाईं अनलाइन जाँदा दुःखी वा नकारात्मक महसुस गर्दै हुनुहुन्छ भने जानाजान सकारात्मक पोस्ट वा भिडिओ लाइक, कमेन्ट वा शेयर गर्नुहोस् । किनभने एल्गोरिदमले तपाईंको मनस्थिति बुझ्दैन । र, तपाईंलाई सकारात्मक पोस्ट हेर्न प्रेरित गर्छ । 

त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहनुहोस् । तपाईंले राम्रो सामग्री हेर्न थाल्नुभयो भने त्यसले तपाईंलाई फेरी पनि सकारात्मक कुरा नै देखाउनेछ ।

अनलाइनका नकारात्मक कमेन्ट पढ्दा तपाईंको मानसिक स्वास्थ्य कमजोर भइरहेको जस्तो लागेको छ भने तपाईं मानसिक स्वास्थ्यसँग जुधिरहनु भएको हुन सक्छ । यसमा तपाईंलाई डाक्टर वा विशेषज्ञको खाँचो हुन सक्छ । 

यसका अतिरिक्त यदि तपाईं इन्टरनेटमा दुर्व्यवहार, धम्की, उत्पीडन, आदिको शिकार हुनुहुन्छ भने आवश्यक अनुसार ब्लक गर्ने र प्रहरीमा उजुरी दिने काम गर्न सक्नुहुन्छ । टेक्स्ट मेसेज, च्याट विन्डोज, कमेन्ट सेक्सन, डीएम आदि जस्ता सबै कुराकानीको रेकर्ड राख्नुहोस् । जे भएको छ त्यसको रेकर्ड राख्दा तपाईंको मुद्दा प्रमाणित गर्न धेरै सजिलो हुनेछ ।

यदि तपाईं साँच्चै अनलाइनमा नकारात्मक कमेन्ट पढ्न रोक्न नसकेर सङ्घर्ष गरिरहनुभएको छ भने आफैलाई ‘म किन आफूलाई नराम्रो महसुस गराउने काम गरिरहनुभएको छु’ भनेर सोध्नुहोस् । 

यदि त्यसो हो भने तपाईंले आफ्नो मानसिक स्वास्थ्य सुधार नगरेसम्म सामाजिक सञ्जाल र कमेन्ट सेक्सन पूर्ण रूपमा त्याग्नु तपाईंको लागि उत्तम हुन सक्छ । यदि तपाईं संघर्ष गरिरहनुभएको छ भने यी सेक्सनको लत लाग्ने प्रकृति र सामग्री सहयोगी हुँदैन ।

कमेन्ट सेक्सन र फिडमा बिताउने समयको लागि सीमा तोक्नु तपाईंले आफ्नो मानसिक स्वास्थ्यको लागि गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो । र, यदि कमेन्ट हेर्न वा सामाजिक सञ्जाल नचलाई बस्नै सक्दैन भन्ने लाग्छ भने यसलाई कम गर्न सघाउने साथी खोज्नुहोस् । यस्तो साथी जसले तपाईंले अनावश्यक रूपमा सामाजिक सञ्जाल प्रयोग गर्दा झकझकाओस्, तपाईंले कति समय अनलाइन बिताइरहनु भएको छ भनेर सोधोस् । बरु त्यो व्यक्तिसँग च्याटमा समय बिताउनुहोस् जसलाई तपाईं के कुरासँग सङ्घर्ष गरिरहनु भएको छ भन्ने थाहा होस् ।

-एजेन्सीको सहयोगमा /- 

पछिल्लो अध्यावधिक: असार १७, २०८२ २०:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्नासाथ सबैकुरा आफूले भनेको जस्तो नहुने बताए ।

‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन,’ महतले भने ।

गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताउँदै उनले संसदमा रहेका र पार्टीका नेताहरूमा अनुशासन नभएको कुरा केन्द्रीय समिति बैठकमा आएको पनि बताए ।

‘गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरूले राम्रो काम गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा अनुशासन भएन,’ उनले भने, ‘संसदमा र बाहिर रहेका साथीहरुले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ ।’

आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको उनको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । एप्पलले आफ्नो सबैभन्दा सस्तो ल्यापटपको रूपमा रहेको म्याकबुक एयरभन्दा पनि कम मूल्यको नयाँ म्याकबुक बजारमा ल्याउने तयारी गरेको छ । चर्चित विश्लेषक एवं लिकर मिङ-ची कुओले सामाजिक सञ्जाल एक्समार्फत एप्पलले सस्तो म्याकबुक ल्याउन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार यो नयाँ र किफायती म्याकबुकमा एम-सिरिजको सट्टा आईफोनमा प्रयोग हुने प्रोसेसर जडान हुनेछ । कुओले एक्समा लेखे अनुसार एप्पलले सन् २०२५ को अन्त्य वा २०२६ को सुरुमा यो नयाँ म्याकबुकको उत्पादन सुरु गर्नेछ । यसमा आईफोन १६ प्रोमा प्रयोग हुने ‘ए१८ प्रो’ चिप रहनेछ । त्यसका साथै कम्पनीले यसलाई सिल्भर (चाँदी रङ), पिङ्क (गुलावी रङ) र पहेँलो जस्ता विभिन्न कलर भेरियन्टमा पनि उपलब्ध गराउन सक्ने अनुमान छ ।

कुओका अनुसार यो सस्तो म्याकबुकको स्क्रिन साइज हालको १३ इन्चको म्याकबुक एयरको जस्तै हुनेछ । यसको अर्थ प्रयोगकर्ताले महसुस गर्ने मुख्य भिन्नता यसको प्रोसेसरमा मात्र हुनेछ ।

यो नयाँ मोडेल कति सस्तो हुनेछ भन्ने कुरा भने अझै स्पष्ट छैन । तर, कुओका अनुसार एप्पलले सन् २०२६ सम्ममा ५० देखि ७० लाख युनिट उत्पादन गर्ने लक्ष्य राखेको छ । यो म्याक ल्यापटपको कुल बिक्रीको एक महत्त्वपूर्ण हिस्सा हो । यति ठुलो सङ्ख्यामा बिक्री गर्नका लागि यसको मूल्य निकै आकर्षक र कम हुनुपर्ने अनुमान गरिएको छ ।

अहिलेसम्म एप्पलले आफ्ना सबै म्याक कम्प्युटरमा शक्तिशाली एम-सिरिज चिप प्रयोग गर्दै आएको छ । तर आईफोनको चिप पनि सामान्य म्याक प्रयोगकर्ताका लागि पर्याप्त शक्तिशाली मानिन्छ । ‘गीकबेन्च’को स्कोर अनुसार ए१८ प्रो चिपको सिङ्गल-कोर पर्फमेन्स म्याक मिनीमा रहेको एम४ चिपको भन्दा थोरै मात्र कम छ । यद्यपि मल्टि-कोर पर्फमेन्समा भने केही फरक देखिन्छ । तर सामान्य प्रयोगकर्ताले यो भिन्नता खासै महसुस नगर्न सक्छन् । यसको मल्टि-कोर क्षमता सन् २०२० को एम १ चिप बराबर छ । यो आज पनि धेरैले सहज रूपमा प्रयोग गरिरहेका छन् ।

नयाँ म्याकबुकको सफलता यसको मूल्यमा निर्भर हुनेछ । हाल एप्पलको सबैभन्दा सस्तो ल्यापटप ९९९ डलर (करिब एक लाख ३६ हजार रुपैयाँ)को म्याकबुक एयर हो । एप्पलले अहिलेसम्म ९९९ डलरभन्दा कम मूल्यमा कुनै पनि ल्याप्टप लन्च गरेको छैन । त्यसैले यो कम्पनी र ग्राहक दुवैका लागि एक नयाँ अनुभव हुनेछ अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ २०:४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ दुई वर्ष नराख्ने प्रावधान कानुन मन्त्रालयले गरेको जिकिर गरेका छन् ।

खतिवडाले पार्टी केन्द्रीय समितिको बैठकमा कानुन मन्त्रालयले दुई वर्ष अवधि हटाएर विधेयक पेश गरेको जिकिर गरेका हुन् ।

समितिबाट पारित भएको व्यवस्था संशोधन गरेर एउटा उपदफा सच्याएर, एउटा उपदफा थप गरेर संसदमा पुगेको उनले बताए । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा कानुन सचिव पाराश्वर ढुङ्गाना अनुपस्थित रहेको समेत सुनाए ।

‘तल उपदफा लेखिएछ, हामीलाई थाहा नभइकन, समितिका कसैलाई पनि थाहा नभइकन उपदफा लेखियो, उपदफामा के लेखियो भनेर जानकारी भएन । हामीले कसैले पनि, समितिलाई मात्र होइन, संसदलाई पनि जानकारी भएन,’ खतिवडाले भने ।उनले थपे, ‘आज कानुन र सामान्य प्रशासन मन्त्रालयका सचिवहरूलाई पनि तपाईंहरू आउनुस्, कसको गल्ती थियो भन्दाखेरि उहाँहरूले हिजो हामीसँग कुरा गर्दा आउँछु भन्नुभयो । आज फोन गर्दा अफ गरेर उहाँहरु समितिकै मिटिङमा आउनुभएन ।’

समितिका सदस्यहरू निष्ठापूर्वक लागेर कुलिङ पिरियड राखिएको उनले बताए । विधेयक हेरफेर गर्ने काममा आफू दोषी नरहेको उनले दाबी गरे ।

‘यसमा हाम्रो केही दोष छैन र दोषीलाई कारबाही गरियोस् भनेर आज हामीले सभामुखसँग आग्रह गरेर आएका छौं,’ पार्टी बैठकमा भने ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । युवतीहरूको सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले एक दिने कोडिङ च्यालेन्ज कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रूपमा बुटवल र धनगढीमा ‘एक-दिने कोडिङ च्यालेन्ज’ कार्यक्रम गर्ने भएका हुन् । 

आयोजकका अनुसार यो च्यालेन्ज २ जुलाईमा बुटवलको मिलनचोकस्थित पाम इन्टरनेसनल र ३ जुलाईमा धनगढीको उत्तर-मुखी मार्गस्थित सौनराई स्क्वायरमा सञ्चालन हुनेछ । १८ देखि २४ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउने उक्त कार्यक्रममा छनोट भएका युवती मात्र सहभागी हुन पाउनेछन् । 

सहभागीले समूहमा रहेर कोडिङसम्बन्धी समस्या समाधान गरी निर्णायक समक्ष प्रस्तुत गर्नुपर्नेछ ।

यो च्यालेन्ज ‘गर्ल्स इन आईसीटी डे नेपाल २०२५’ अन्तर्गतको एक कार्यक्रम हो । ‘समावेशी डिजिटल रूपान्तरणका लागि आईसीटीमा युवती’ भन्ने नाराका साथ सञ्चालित यस अभियानले नेपालमा डिजिटल लैङ्गिक असमानता घटाउने र युवतीलाई प्रविधि क्षेत्रमा लाग्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा सहभागीलाई अनुभवी मेन्टरले सहजीकरण गर्नेछन् । यसबाट उनीहरूको कोडिङ सीपमा सुधार, समूहमा गरिने कामको अनुभव व्यावसायिक नेटवर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रमको अन्त्यमा उत्कृष्ट समूहलाई पुरस्कृत गरिनुका साथै सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

यहाँ क्लिक गरेर इच्छुक नेपाली युवतीले सहभागिता जनाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १९:२०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पाकिस्तान र बंगलादेशको ‘ए’ टिमसँग खेल्ने भएको छ ।

नेपाली टोली अगस्टमा खेल्ने टप इण्ड टि ट्वान्टी सिरिजमा दुवै पाकिस्तान र बंगलादेश ‘ए’ टिमको सहभागिता पनि पक्का भएको छ ।

अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले मंगलबार विज्ञप्ति जारी गर्दै अगस्ट १४ देखि २४ सम्म आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा पाकिस्तान र बंगलादेश ‘ए’ को सहभागिता रहने जनाएको छ ।

नेपाली टोलीले अस्ट्रेलियामा टि ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । त्यसको तयारीका लागि त्यो सिरिज खेल्न लागिएको हो ।

सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने क्यानले जनाएको छ । टप इण्ड टि ट्वान्टी सिरिजमा पाकिस्तान ‘ए’ टिमको लगातार तेस्रो सहभागिता हो । बंगलादेश ‘ए’ टिमले यसअघि सन् २०२३ को यो प्रतियोगितामा भाग लिएको थियो ।

सिरिजका खेलहरु डार्विनमा रहेको डिएक्ससि एरिना, टिआइओ स्टेडियम तथा काज्लिस् एरिनामामा हुनेछन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट