
काठमाडौँ । पछिल्ला केही दिन यता नेपाली काँग्रेसका महामन्त्री गगन थापाको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक कलेजको कक्षामा उनले कोर्सेरा वेबसाइटको बारेमा विद्यार्थीहरूलाई सल्लाह दिएका छन् ।
कोर्सेरामा गएर लगइन गरी खोल्दा अमेरिकाको स्ट्यानफोर्ड, अमेरिका-युरोपका एकसेएक युनिभर्सिटीभित्र छिरेर त्यहाँको पढाई फोनबाटै निःशुल्क गर्न सकिने दाबी उनले गरेका छन् । आज हामी तपाईँलाई कोर्सेराको अनलाइन लर्निङ प्लेटफर्मसँगै थापाको त्यही दाबी वरपर रहेर चर्चा गर्दैछौँ ।
हुन त पछिल्लो समय अनलाइन शिक्षाको माग तीव्र गतिमा बढिरहेको छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ प्लेटफर्महरू सञ्चालनमा छन् ।
त्यसमध्येको एउटा हो, कोर्सेरा (Coursera) । जुन विश्वको सबैभन्दा ठुलो सिकाइ प्लेटफर्ममध्येको एक मानिन्छ । कोर्सेरामा ३१ मार्च २०२५ सम्म १७ करोड ५० लाख रजिस्टर्ड प्रयोगकर्ता जोडिएका छन् । कोर्सेरामा उपलब्ध कोर्स निःशुल्क पढ्न सकिने विकल्प पनि छन् । तर ठ्याक्कै गगन थापाले भने जस्तो विदशी विश्वविद्यालयको पढाई वा डिग्री भने निःशुल्क छैन ।
कोर्सेराको वेबसाइटमा ‘अनलाइन डिग्री‘ नामक एउटा सेक्सन छ, जहाँ विभिन्न विश्वविद्यालयले उपलब्ध गराउने अनलाइन डिग्री (कोर्स) राखिएका छन् । त्यहाँ रहेका कोर्सहरूमा क्लिक गर्दा कोर्सेराभन्दा बाहिर अर्थात् सम्बन्धित विश्वविद्यालयको अनलाइन डिग्री लिन सकिने प्लेटफर्ममा पुगिन्छ । ती कोर्सहरूलाई कोर्सेराले आफ्नो वेबसाइटमा एग्रिगेट गरेको मात्रै हो ।
यद्यपि, कोर्सेरामै उपलब्ध भिडिओ, पाठ्यसामग्रीसहितका विभिन्न कोर्सहरू भने निःशुल्क रूपमा अध्ययन गर्न सकिन्छ । यदि बिना शुल्क नयाँ सीप सिक्न वा आफूलाई मनपर्ने विषयहरू अन्वेषण गर्न चाहनुहुन्छ भने अवश्य पनि कोर्सेरा एक राम्रो विकल्प हुन सक्छ ।
कोर्सेराले शीर्ष विश्वविद्यालय र उद्योगका लिडरहरूबाट विभिन्न क्षेत्रका कोर्सहरू प्रदान गर्दै आएको छ । यी कोर्सहरू निःशुल्क वा कम लागतमा कसरी लिन सकिन्छ भन्ने बारेमा आज हामी तपाईँलाई बताउँदै छौँ ।
१. निःशुल्क अडिट मोड (Audit Mode)
कोर्सेराका कोर्समा निःशुल्क पहुँच पाउने एउटा तरिका हो अडिट द कोर्स (Audit the Course) । यो सुविधाले तपाईँलाई कोर्सका सामग्रीहरू निःशुल्क रूपमा हेर्ने अनुमति दिन्छ ।
अडिट मोडमा तपाईँले कोर्सका भिडिओ, पाठ्य सामग्री (readings) र असाइनमेन्टहरूमा पहुँच पाउन सक्नु हुन्छ । । तर, यसमा तपाईँले ग्रेड, फिडब्याक र कुनै पनि प्रमाणपत्र (certificate) भने पाउनु हुनेछैन । यदि तपाईँको उद्देश्य प्रमाणपत्र नभई सिक्नु र सीप विकास गर्नु मात्र हो भने यो तपाईँका लागि उत्कृष्ट विकल्प हुनसक्छ ।
अडिट मोड कसरी प्रयोग गर्ने ?
अडिट मोड प्रयोग गर्न सबैभन्दा पहिला तपाईँले यहाँ क्लिक गरेर वा कोर्सेराको वेबसाइटमा गएर आफ्नो अकाउन्ट बनाउनु होस् । त्यसपछि आफूले सिक्न चाहेको कुनै पनि कोर्स छान्नुहोस् ।
कोर्सको पेजमा गएर Enroll बटनमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि भुक्तानीका विकल्पहरू देखिनेछन् । त्यसको तल Audit वा Audit the course भन्ने सानो बटन खोज्नुहोस् र त्यसमा क्लिक गर्नुहोस् ।
यसरी एक पटक तपाईँले Audit the course मा क्लिक गरेपछि कोर्सका सबै सामग्रीहरूमा तत्काल र असीमित पहुँच पाउनु हुनेछ । कतिपय अवस्थामा, तपाईँले सिधै Audit बटन देख्नुहुन्न । जस्तै कि जब तपाईँ कुनै स्पेसलाइजेसनमा (जसमा धेरै कोर्सहरू हुन्छन्) हुँदा ।
यदि तपाईँले कुनै कोर्सको Enroll बटनमा क्लिक गर्दा तल सानो अक्षरमा Audit अथवा Audit the course को विकल्प देख्नु भएन भने एक स्टे पछि फर्किनुहोस् । अब केही तल स्क्रोल गरेर Courses मा क्लिक गर्नु भयो भने स्पेसलाइजेसन अन्तर्गतका एक एक (individual) कोर्स देख्नु हुनेछ । त्यहाँबाट प्रत्येक कोर्सलाई एक एक गरी छानेर Enroll बटन क्लिक गर्नु भयो भने Audit अथवा Audit the course को विकल्प पाउनु हुनेछ, जहाँबाट उक्त कोर्स अध्ययन गर्न सकिन्छ ।
२. वित्तीय सहायता (Financial Aid)
कोर्सेराले आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई वित्तीय सहायता (Financial Aid) पनि प्रदान गर्दछ । यो विकल्पले तपाईँलाई निःशुल्क रूपमा वा निकै कम लागतमा यसमा रहेका कोर्सहरूमा पहुँच प्रदान गर्दछ र सफलतापूर्वक कोर्स पूरा गरेपछि प्रमाणपत्र पनि प्राप्त हुन्छ ।
सन् २०२५ मा कोर्सेराले आफ्नो प्रणालीमा केही परिवर्तन गरेको छ । पहिले १००% वित्तीय सहायता उपलब्ध भए पनि, अहिले अधिकांश कोर्सहरूमा बढीमा ९०% छुट मात्र प्रदान गरिन्छ । जुन पूर्ण रूपमा निःशुल्क होइन । यसको अर्थ, यदि कुनै कोर्सको लागत २० डलर (करिब २७०० रुपैयाँ) छ भने, ९०% छुटपछि तपाईँले २ डलर (करिब ३०० रुपैयाँ) मात्र तिर्नुपर्ने हुन्छ । यो रकम हार्वर्ड स्तरको कोर्स र प्रमाणित प्रमाणपत्रको लागि निकै सस्तो हो ।
कोर्सेराले वास्तविक रूपमा आवश्यकता भएकाहरूलाई मात्र सहयोग प्रदान गर्न चाहन्छ । त्यसका लागि निश्चित योग्यता आवश्यक पर्छ । जस अनुरूप तपाईँले कोर्सको शुल्क किन तिर्न सक्नुहुन्न भन्ने कुरा खुलाउनु पर्छ । साथै तपाईँ कोर्स किन लिन चाहनुहुन्छ र यसले तपाईँको करियरमा कसरी मद्दत गर्छ भन्ने देखाउनु पर्छ । वित्तीय सहायताको बारेमा थप बुझ्न र प्रक्रिया अगाडि बढाउन यहाँ क्लिक गर्नुहोस् ।
निःशुल्क उपलब्ध कोर्स
कोर्सेराले विभिन्न विषयहरूमा निःशुल्क कोर्सहरू पनि प्रदान गर्दछ, जुन प्रमाणपत्रसहितको कोर्स भन्दा फरक हुन्छन् । यी कोर्सहरूले तपाईँलाई बिना खर्च नयाँ सीपहरू सिक्न, रुचि भएका विषयहरू पत्ता लगाउन, र आफ्नो व्यक्तिगत वा व्यावसायिक लक्ष्यतर्फ कदम चाल्न मद्दत गर्दछन् ।
कोर्सेराको वेबसाइटमा Free खण्डमा गएर तपाईँले विभिन्न विषयहरूमा निःशुल्क कोर्सहरू खोज्न सक्नुहुन्छ । जसमा बिजिनेस, कम्प्युटर विज्ञान, डेटा साइन्स, सूचना प्रविधि (आईटी), भाषा शिक्षा, व्यक्तिगत विकास, कला तथा मानविकी, जेनेरेटिभ एआई लगायतका विषयहरू छन् ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ २०:२६
सामाग्री श्रोत :
टेक पाना
काभ्रेपलाञ्चोक। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।
कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ ।
यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत शनिबारदेखि वीर अस्पतालमा उपचाररत मन्त्री पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको अस्पताल निर्देशक डा दिलिप शर्माको नेतृत्वमा उपचार भएको थियो।
‘मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते ज्वरो आई यस चि. वि. रा.प्र. वीर अस्पतालमा भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल स्वास्थ्यमा सुधार भएकोले आज मिति २०८२/०३/२० गते अस्पतालबाट डिस्चार्ज हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्री पौडेल ज्वरो आएपछि गत शनिबार बेलुका वीर अस्पताल भर्ना भएका थिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । आगामी भदौमा हुने नाडा अटो शोमा प्रदर्शन गरिने ब्रान्डको टुङ्गो लागेको छ । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको आयोजनामा ३ देखि ७ भदौसम्म भृकुटीमण्डपमा हुने शोमा सहभागी हुने ब्रान्डको टुङ्गो लागेको हो । उक्त शोमा ७५ भन्दा बढी ब्रान्ड सहभागी हुने भएका छन् ।
जसमा चार पाङ्ग्रे सवारीका १८ स्टल, दुई पाङ्ग्रे सवारीको चार वटा, लाइट कमर्सियल भेहिकलका १३ स्टल र ४० भन्दा बढी अटो कम्पोनेन्टका स्टलहरू रहने छन् ।
चार पाङग्रे ब्रान्डमा दीपल, अवतार, दोङफेङ नामी, सेरेज, टाटा, सुजुकी, टेस्ला, रिड्डारा लगायतका ब्रान्डका स्टल हुनेछन् । दुई पाङग्रेमा हिरो, रोयल इन्फिल्ड, यमहा र जोनसोन सहभागी हुने आयोजकले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १९:२३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनको सपना पूरा गर्ने तर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरेको कबुल विपरीत भइरहेको बताए ।
विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाए । उनले भने, ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौँ त?’
गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।
उनले भने, ’अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ ?’
गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोक मार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गरे ।
उनले भने, ‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौँ भने स्थिति गम्भीर छ ।’
कार्यक्रममा उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए। उनले भने, ‘सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ यो सबै गम्भीर समीक्षा आवश्यक छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि हातपात गरेका छन्। तीनजना चिकित्सक, नर्स र गार्डमाथि ती महिलाका श्रीमानले हातपात गरेको उक्त अस्पतालमा कार्यरत एक चिकित्सक डा विकास गौचनले जानकारी दिए।
उनका अनुसार सिजरियन सेक्सन गरेको एक घन्टापछि ती सुत्केरी महिलाको एक्कासी मुटु बन्द भएको थियो। चिकित्सकले उपचारको प्रयास गरेपनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
आफन्तको हातपातका कारण एक चिकित्सकको दायाँ आँखा नजिकै र हातमा चोट लागेको छ।
अहिले पनि अस्पताल तनावग्रस्त रहेको डा गौचनले बताए। उनले भने, ‘अहिले पनि आफन्तले धर्ना दिइरहेका छन्। अस्पताल तनावग्रस्त हुँदा अन्य बिरामीको उपचारमा समेत समस्या आउँछ। अस्पतालमा शान्ति कायम गर्ने प्रयास जारी छ।’
अस्पतालमा भीड बढेपछि सुरक्षाका लागि प्रहरी पुगेको छ।
Beyond the Nightingale: नर्ससँग अन्तरंग
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । शुक्रबार दिउँसोदेखि अवरुद्ध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा पाँच घण्टापछि पुनः सञ्चालनमा आएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार साँझ एक सूचना जारी गर्दै प्रणालीमा देखिएको समस्या समाधान भई सेवा नियमित भएको जानकारी दिएको हो ।
विभागले शुक्रबार दिउँसो करिब १ बजे प्रणालीमा समस्या देखिएको भन्दै अनिश्चित कालका लागि सेवा बन्द भएको सूचना निकालेको थियो । तर, प्राविधिक टोलीको प्रयासपछि साँझ सवा ५ बजे नै प्रणालीलाई पुनः सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
“आज मिति २०८१ असार २० गते शुक्रबार विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा केही समय समस्या देखिई सेवा बन्द भएकोमा उक्त समस्या समाधान भई सबै सेवाहरू (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) पुनः सुचारु भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” विभागले जारी गरेको सूचनामा भनिएको छ ।
प्रणाली पुनः सञ्चालनमा आएसँगै लाइसेन्सको अनलाइन आवेदन, नवीकरण, राजस्व भुक्तानी तथा अत्यावश्यक लाइसेन्स छपाइ लगायतका काम पुनः सुरु भएका छन् ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १८:५३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।
‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गरेका छन् ।
२०२३–२५ कार्यकालमा उपाध्यक्षको रूपमा रहेका उनले एनआरएन क्यानडाको इतिहासमा पहिलो पटक संघीय सरकारबाट कार्यक्रमहरूका लागि अनुदान भित्राउन सफल भएका थिए । त्यस्तै दुई वर्षको अवधिमा एनआरएन क्यानडाका विभिन्न कार्यक्रमका लागि करिब ७५ हजार डलर अनुदान ल्याएका थिए ।
किरोज कै पालामा दर्जनौं स्थानीय नेपाली संघ–संस्थाहरू जस्तै नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेड लगायतका संस्थाहरूले पनि करिब ७५ हजार डलर सरकारी अनुदान प्राप्त गरेका थिए ।
त्यस्तै श्रेष्ठ सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा हुँदा सडबरी र ब्यारी लगायतका सहरहरूमा विभिन्न नेपाली राष्ट्रिय दिवसको अवसरमा स्थानीय सिटि भवनमा नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नुका साथै सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रा लगायत दर्जनौं शहरहरूमा निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गरेका थिए ।
लन्डन शहरमा पहिलो पटक नेपालि राजदूतावासको घुम्ती कन्सुलर सेवा पुर्याउने काम पनि उनकै पालामा भएको थियो । श्रेष्ठले नेपाली क्रिकेटका लागि पनि आफ्नो कार्यकालमा निकै महत्वपूर्ण योगदान गरेका थिए । क्यानाडा भ्रमणमा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा फुड डोनेट गर्न समन्वय गरेका थिए ।
क्रिकेट क्यानाडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली समुदायका अग्रजहरूको लागि निःशुल्क भिआइपी सिटको व्यवस्था गरेका थिए । क्यानडाव्यापी पहिलो पटक नेपाली मूलका खेलाडीबीच चेस प्रतियोगिता आयोजना गर्दै नेपाली मूलका क्यानडा चेस च्याम्पियनलाई प्रतिष्ठित क्यानेडियन चेस प्रतियोगितामा सहभागी गराउन सफल भएका थिए ।
श्रेष्ठले एनआरएन आईसीसीबाट एनआरएन एनसीसी क्यानडा ९नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टसँग सम्बन्धित० मा ४४ हजार ७ सय डलर ल्याउन सफल भएका थिए ।
श्रेष्ठले इन्जिनियरिङ पेशामा क्यानाडामा आएका नयाँ बिधार्थिहरूलाई सहयोग हुने गरी विभिन्न सेमिनार सञ्चालन गरेका थिए ।
श्रेष्ठले क्यानडामा रहेका नेपालीहरुको बिभिन्न क्रियाकलापमा आफ्नो सहयोग रहने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघले मिति २०८२ असार १९ गते बिहीबार विभिन्न अस्पताल प्रमुख, मेडिकल र डेन्टल कलेज, चिकित्सक तथा स्वास्थ्यकर्मी संघ-संगठनहरूसँगको छलफलपछि आकस्मिक कार्यकारिणी बैठक बसेर आन्दोलनको कार्यतालिका तय गरेको हो।
संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, हालको अवस्था चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षा सिर्जना गर्ने खालको भएको निष्कर्ष निकालिएको छ। त्यसका विरुद्ध आवाज उठाउन चरणबद्ध कार्यक्रमहरू तय गरिएको छ।
आन्दोलनका कार्यक्रम
१. असार २०, शुक्रबार – नेपाल चिकित्सक संघका शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने।
२. असार २२, आइतबार – सम्पूर्ण चिकित्सकहरूले आ-आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने।
३. असार २३, सोमबार – देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने।
४. सोमबारसम्म – चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने।
५. असार २४, मंगलबार – चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने।
संघले चिकित्सक समुदायको आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यो कदमबाट सर्वसाधारणलाई पर्ने असहजताको जिम्मेवारी राज्यकै हुने उल्लेख गरेको छ।
ऐक्यबद्धता जनाउने संस्थाहरूमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल नर्सिङ एसोसिएसन, नेपाल फिजियोथेरापी एसोसिएसन, नेपाल भेटेरिनरी एसोसिएसन, एनाभीएमआईए, एनपीएचओ रहेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । एनआईसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बिच विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलीपे प्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्यूआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे प्लसमा जोडिएका ११ भन्दा बढी मुलुकका नागरिक नेपाल आउँदा आफ्नै देशको वालेट वा बैंकिङ एपमार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्यूआर मर्चेन्टहरूमा सिधै भुक्तानी गर्न सक्ने सुविधा प्राप्त हुनेछ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
अलीपे प्लस नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाउ, जर्मनीलगायत देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आवद्ध रहेका छन् ।
यस सम्झौतापछि बैंकमा आवद्ध मर्चेन्टहरूले अलीपे प्लस नेटवर्कमा आवद्ध मुलुकहरूका पर्यटकहरूले नेपालपे क्यूआरमार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् ।
बैंक र एनसीएचएलबिच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्यूआर भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा उपलब्ध गराउने विश्वास गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १७:४७
सामाग्री श्रोत :
टेक पाना