
काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले तीन नयाँ फोल्डेबल फोन सार्वजनिक गरेको छ । बुधबार आयोजित ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले फोन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका मोडेलमा ग्यालेक्सी जेड फ्लिप सेभेन एफई, ग्यालेक्सी जेड फ्लिप सेभेन र ग्यालेक्सी जेड फोल्ड सेभेन रहेका छन् । यी तीन मोडेलमध्ये सबैभन्दा महँगो ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ ले सबैको ध्यान तानेको छ । यसले विश्वका सबैभन्दा पातला र हल्का फोल्डेबल फोनलाई कडा टक्कर दिने देखिएको छ ।
कति पातलो र हल्का छ ग्यालेक्सी जेड फोल्ड सेभेन ?
ग्यालेक्सी जेड फोल्ड सेभेन पट्याउँदा जम्मा ८.९ एमएम र पूरा खोल्दा ४.२ एमएम मात्रै पातलो छ । यसको तौल केवल २१५ ग्राम रहेको छ । यो भनेको विश्वकै सबैभन्दा हल्का बुक-स्टाइल फोल्डेबल फोन हो । यो अनर म्याजिक भी५ भन्दा केवल ०.१ एमएम बाक्लो हुँदै विश्वको दोस्रो सबैभन्दा पातलो फोल्डेबल फोन बन्न सफल भएको छ ।
यो फोन सामसङका पुराना फोल्ड सिरिजका फोनभन्दा निकै पातलो र हल्का छ । पहिलो ग्यालेक्सी फोल्ड १५.५ एमएम बाक्लो र २७६ ग्राम तौलको थियो भने ग्यालेक्सी जेड फोल्ड ६ को मोटाइ १२.१ एमएम र तौल २३९ ग्राम थियो ।
अन्य ब्रान्डसँग तुलना:
-
ग्यालेक्सी जेड फोल्ड सेभेन: ८.९ एमएम / २१५ ग्राम
-
अनर म्याजिक भी५: ८.८ एमएम / २१७ ग्राम
-
ओप्पो फाइन्ड एन५: ८.९ एमएम / २२९ ग्राम
-
भिभो एक्स फोल्ड ५: ९.२ एमएम / २१७ ग्राम
-
साओमी मिक्स फोल्ड ४: ९.५ एमएम / २२६ ग्राम
-
हुवावे मेट ६: ९.९ एमएम / २३९ ग्राम
-
गुगल पिक्सेल ९ प्रो फोल्ड: १०.५ एमएम / २५७ ग्राम
पातलो बनाउन गरिएका परिवर्तन
फोनलाई पातलो र हल्का बनाउन सामसङले यसको डिजाइन र बनोटमा थुप्रै परिवर्तन गरेको छ । यसलाई रि-इन्जिनियरिङ गरिएका कम्पोनेन्ट, उच्च-घनत्व भएको लजिक बोर्ड र कार्बन फाइबरको सट्टा ग्रेड ४ को टाइटेनियम प्रयोग गरिएको छ । साथै यसमा ‘आर्मर फ्लेक्सहिन्ज’ नामक वाटरड्रप आकारको हिन्ज र मल्टी-रेल संरचनाको प्रयोग गरिएको छ । यसले भित्री स्क्रिनलाई सहज रूपमा पट्याउन मद्दत गर्ने कम्पनीले बताएको छ ।
पातलो तर बलियो भएको दाबी
आफ्नो पातलो र हल्का डिजाइनका बाबजुद ग्यालेक्सी जेड फोल्ड सेभेन निकै बलियो र टिकाउ भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसको फ्रेम ‘एडभान्स्ड आर्मर एलुमिनियम’ बाट बनेको छ । यसको बाहिरी स्क्रिनमा ‘कर्निंग गोरिल्ला ग्लास सेरामिक २’ को सुरक्षा छ भने भित्री स्क्रिनमा ५० प्रतिशत बाक्लो ‘अल्ट्रा थिन ग्लास’ प्रयोग गरिएको छ । फोनको पछाडिको भागलाई ‘गोरिल्ला ग्लास भिक्टस २’ ले सुरक्षित राख्छ ।
कम्पनीले विश्व बजारमा आजैदेखि ग्यालेक्सी जेड फोल्ड सेभेनको प्रि-अर्डर खुला गरेको जनाएको छ । नेपालमा पनि यो फोन चाँडै सार्वजनिक हुने चर्चा छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ २१:११
सामाग्री श्रोत :
टेक पाना

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिका–३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै हराएका छन् ।
कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का असार २२ गते अपराह्नदेखि सम्पर्कविहीन भएका हुन् ।
स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३:५५ बजेसम्म स्कुलमै थिए र करिब ४:३० बजेतिर बाहिर निस्केका थिए। प्रिन्सिपल केसीकाले बताए अनुसार विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको छ । ‘उनीहरूले भाग्ने योजना बनाएको कुरा कक्षाका अरु साथीहरूले सुनेका रहेछन्, तर के कारणले र कहाँ गए भन्ने खुलेको छैन,’ उनले भने।
विद्यार्थीका आफन्तले भने घटनामा विद्यालयको चरम लापरबाही भएको आरोप लगाएका छन्। हराएकामध्ये कोहलपुर–३ मदनचोकका निरज थापा सोही स्कुलको होस्टेलमा बसेर अध्ययन गर्थे ।
उनीहरू हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात छ भने प्रहरीले उनीहरू भारत पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले प्रारम्भिक अनुसन्धानमा विद्यार्थीहरू भारत पुगेको हुन सक्ने संकेत देखिएको बताएकी छन्।
उनीहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। विद्यालयले पनि विद्यार्थीहरूको तस्बिरसहित सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा अपिल गरेको छ ।
खोजीका क्रममा उनीहरू हराएकै दिन साँझ ६:३० बजेतिर विद्यालयबाट करिब २० किलोमिटर टाढा नेपालगन्जस्थित जिल्ला हुलाक कार्यालय अगाडि सीसी क्यामेरामा देखिएका थिए। विद्यालयको सिसी क्यामेरा प्राविधिक समस्याका कारण त्यस दिन बन्द रहेको विद्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । एन्ड्रोइड फोनको नोटिफिकेसन पनि अब एआई (आर्टिफिसियल इन्टेलिजेन्स)ले नै व्यवस्थापन गरिदिने भएको छ । फोनमा आउने सयौं नोटिफिकेसन आफैँ व्यवस्थित हुनेगरी गुगलले नयाँ फिचर ल्याउन लागेको हो ।
‘नोटिफिकेसन अर्गनाइजर’ नाम दिइएको यो फिचरको मुख्य उद्देश्य प्रयोगकर्तालाई अनावश्यक नोटिफिकेसनको झन्झटबाट राहत दिनु हो । यो फिचरले फोनमा आउने विभिन्न अलर्टहरूलाई स्वतः विश्लेषण गरी प्रोमोसन, न्युज, सोसल (सामाजिक सञ्जाल) जस्ता विभिन्न क्याटेगोरीमा छुट्याएर समूहमा (बन्डल) राखिदिनेछ ।
जिमेलले ईमेललाई विभिन्न ट्याबमा छुट्याएजस्तै यो फिचरले अनावश्यक नोटिफिकेसनलाई स्वतः म्युट गरी एउटै समूहमा राखिदिने हुँदा प्रयोगकर्ताको ध्यान भंग हुने समस्या कम हुने कम्पनीको विश्वास छ ।
यो फिचर एन्ड्रोइड १६ को अपडेटसँगै सार्वजनिक हुनसक्ने अनुमान छ । प्रयोगकर्ताले आफूलाई महत्त्वपूर्ण लाग्ने एपहरूलाई यो व्यवस्थापनबाट बाहिर राख्न सक्नेछन्, जसले गर्दा बैंकिङ, मेसेजिङ वा अन्य जरुरी एपका नोटिफिकेसनहरू छुट्ने छैनन् ।
गुगलले सुरुमा यो फिचर आफ्नै पिक्सल फोनहरूमा मात्र उपलब्ध गराउने र पछि अन्य एन्ड्रोइड डिभाइसहरूमा पनि विस्तार गर्ने बताइएको छ । यो फिचर ‘एन्ड्रोइड सिस्टम इन्टेलिजेन्स’ एपको हिस्सा हुने भएकाले यसले प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षालाई ध्यानमा राखेर काम गर्ने गुगलको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ २०:३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेको हो ।
पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताएका छन् ।
तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ताले पार्टीको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणहरूको आधारमा निष्कासन गरिएको उनले बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।’
यस्तै, धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवरलाई निलम्बन गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि उपलब्ध प्रमाणहरूको आधारमा निलम्बन गरिएको उल्लेख छ ।
उनीहरूलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार ६ (छ) महिना र नेपाली कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोश (BOSCH) ले नेपालमा आफ्नो नयाँ डिजिटल लोयल्टी कार्यक्रम सुरु गरेको छ । ‘हाम्रो बोश’ नामक उक्त कार्यक्रम बोशको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलसँगको सहकार्यमा सोमबार सार्वजनिक भएको हो।
यो विशेष कार्यक्रम काठमाडौँका स्थानीय मेकानिकहरूलाई लक्षित गरी ल्याइएको हो । यसले बोश ब्रान्डको स्पेयर पार्टसको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स र बोश भारतका प्रतिनिधिसहित १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
‘हाम्रो बोश’ कार्यक्रमको मुख्य उद्देश्य बोश प्लेटफर्ममा दर्ता भएका मेकानिकहरूलाई ओरिजिनल बोश पार्टपुर्जाको प्रयोग बढाउन प्रोत्साहन गर्नु हो । यसका लागि उनीहरूलाई आकर्षक अङ्क र प्रोत्साहन प्रदान गरिनेछ ।
यी अङ्कहरू मोबाइल एपमार्फत सजिलै ट्र्याक गर्न र रिडिम गर्न सकिने व्यवस्था मिलाइएको छ । यो एप नेपाली बजारकै लागि विशेष रूपले डिजाइन गरिएको हो ।
बोश मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रका लागि एक महत्त्वपूर्ण बजार रहेको बताइन् ।
बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा एड्भान्स प्रोडक्ट र प्रविधिहरू भित्र्याउनमा बोश सधैँ अग्रणी रहेको उल्लेख गरे । उनले ‘हाम्रो बोश’ कार्यक्रमले नेपालमा रहेका आफ्ना ग्राहकसँग बोशले जोडेको सम्बन्ध र विश्वासको भावनालाई प्रतिविम्बित गर्ने धारणा राखे ।
सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा बोशसँग आबद्ध हुन पाउनु गर्वको विषय रहेको बताए । उनले अटोमोटिभ क्षेत्रको मुटु मानिने मेकानिक्सलाई लक्षित गरी यो डिजिटल पहल सुरु गर्न पाउँदा खुसी व्यक्त गरे । मिश्रले आफ्नो बलियो वितरण सञ्जालका कारण यस कार्यक्रमले बोशको बजार विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
अटोमोटिभ क्षेत्रबाहेक बोशले विश्वभर पावर टुल्स, विल्डिङ टेक्नोलोजी र बोश होम अप्लायन्स जस्ता क्षेत्रमा पनि नवीनतम उत्पादनहरू बिक्री गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १९:३
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन्।
ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका हुन्।
विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ।
अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मङ्गलबार घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । मार्केटिङ एजेन्सी चलाउँदा रौनक भट्टराईको पर्स जहिल्यै भिजिटिङ कार्डले भरिएको हुन्थ्यो । हरेक व्यावसायिक भेटघाट र कार्यक्रममा कार्ड साटासाट गर्नु उनका लागि सामान्य भइसकेको थियो ।
उनी कार्ड लिन्थे पनि, दिन्थे पनि । तर, समय बित्दै जाँदा उनलाई यो प्रक्रिया झन्झटिलो, खर्चिलो र सबैभन्दा महत्त्वपूर्ण, अर्थहीन लाग्न थाल्यो । पर्समा थुप्रिएका सयौं कार्डमध्ये काम लाग्ने केही मात्र हुन्थे, बाँकी केवल कागजको थुप्रोमा परिणत हुन्थे । यो समस्याले उनलाई गहिरोसँग सोच्न बाध्य बनायो ।
“सबैसँग भेट हुँदा कार्ड आदानप्रदान त हुन्थ्यो । तर त्यो एउटा औपचारिकता जस्तो मात्रै भयो,” रौनक आफ्नो अनुभव सुनाउँछन्, “हतारमा लिएको कार्ड पर्सको कुनामा बस्थ्यो । पछि आवश्यक पर्दा खोज्यो, भेटिँदैनथ्यो । भेटिए पनि त्यसको नम्बर फोनमा सारेर सम्पर्क गर्दा फेरि सुरुबाटै आफ्नो परिचय दिनुपर्थ्यो । कार्ड दिएको त केवल देखाउनका लागि मात्रै रहेछ भन्ने महसुस भयो ।” यो उनको मात्र होइन व्यावसायिक वा पेसागत जीवनमा प्रवेश गरेका अधिकांशले यस्तै अवस्थाको अनुभव गरेका हुन्छन् ।
भिडभाडमा, हतारमा वा कुनै कार्यक्रममा दिइएका दर्जनौं कार्डमध्ये हाम्रो कार्डले कति प्राथमिकता पायो होला ? त्यसको विवरण कतिले आफ्नो फोनमा सुरक्षित गरे होलान् ? हुन त तपाईं उक्त व्यक्तिका कत्तिको महत्त्वपूर्ण हुनुहुन्छ भन्ने विषयले पनि फरक पार्छ । तर, औसत व्यक्तिका रूपमा गनिंदा यस्ता कैयौं प्रश्नहरू आउँछन् । यी प्रश्नले नै परम्परागत भिजिटिङ कार्ड कत्तिको प्रभावकारी होलान् त भन्ने रौनकको मनमा लागिरहेको हुन्थ्यो ।
यही समस्याको समाधान खोज्ने क्रममा एक दिन रौनकले सामाजिक सञ्जालमा एउटा विज्ञापन देखे, जसले उनको सोचलाई नै बदलिदियो । त्यो थियो- ‘एनएफसी’ (NFC – Near Field Communication) प्रविधिमा आधारित डिजिटल कार्डको विज्ञापन, जहाँ केवल ‘ट्याप’ गरेकै भरमा सम्पर्क विवरण आदानप्रदान गर्न सकिन्थ्यो । “त्यो देख्नेबित्तिकै मेरो पहिलेको आइडियाले इनर्जी पाएको जस्तो लाग्यो,” रौनक भन्छन्, “मैले सोचेँ नेपालमा त यस्तो कसैले व्यवस्थित रूपमा गरेकै छैन । यो आइडिया यहाँ एकदमै चल्न सक्छ ! यसले कागजको खपत घटाउँछ, नेटवर्किङलाई सहज बनाउँछ र मान्छेको समय बचाउँछ । त्यसमा पनि आधुनिक र प्रविधिलाई आत्मसात गर्ने बानीलाई बढावा दिनुका साथै ‘प्रिमियम’ अनुभव गराउँछ ।”
बजारमा रहेका अन्य प्रतिस्पर्धीले उपलब्ध गराउने कार्डको गुणस्तर, वेब अनुभव, बिक्रीपछिको सेवा प्रभावकारी नभएको महसुस गरे । र, यी आवश्यकता मेटाएर व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने ठाने ।
आइडिया जतिसुकै राम्रो भए पनि त्यसलाई मूर्तरूप दिन सही टिम चाहिन्छ । रौनक मार्केटिङ र व्यावसायिक रणनीतिमा अनुभवी थिए, तर प्राविधिक पक्षबारे केही अनविज्ञ थिए । उनले तुरुन्तै आफ्ना साथी अनुराग सुवेदीलाई सम्झिए । अनुराग एक डेभलपर थिए, जसलाई वेब सुरक्षा र सफ्टवेयर विकासका राम्रो अनुभव थियो ।
रौनकले उनलाई आफ्नो आइडिया सुनाए । “मैले उसलाई यस्तो कन्सेप्ट छ भन्दा उसलाई पनि निकै इन्ट्रेस्टिङ लाग्यो,” रौनक सम्झिन्छन्, “हामीले बजारमा यस्तो प्रयास कसैले गरेको छ कि भनेर अनुसन्धान गर्यौं । केहीले सुरु त गरेका रहेछन्, तर उनीहरूको उत्पादन अपरिपक्व जस्तो देखियो । र, हामीले यही ‘ग्याप’ मा काम गर्ने निर्णय गर्यौं ।”

परियोजनाको खाका तयार भयो, तर नाम के राख्ने भन्ने टुङ्गो थिएन । यही बीचमा रौनकलाई आफूले कुनै बेला सोचेको एउटा नाम याद आयो । उनले कुनै समय ‘जेलिएन्ट’ नामबाट कपडाको ब्रान्ड खोल्ने सपना देखेका थिए । तर, कपडा ब्रान्ड कहिले र कसरी खोल्ने भन्ने केही सोचेका थिएनन् । त्यसका लागि नाम मात्र साचेका थिए । उनलाई उक्त नाम खुबै मन परेको थियो । “जेलिएन्टको शाब्दिक अर्थ केही छैन,” रौनक हाँस्दै स्वीकार्छन्, “तर हामीले नै यसलाई एउटा अर्थ दिने निर्णय गर्यौं – प्रिमियम र विश्वसनीय । हाम्रो लक्ष्य नै ‘जेलिएन्ट’ भन्ने बित्तिकै मान्छेको दिमागमा गुणस्तरको छाप परोस् भन्ने हो ।”
यसरी करिब एक वर्षअघि एउटा सानो कोठाबाट ‘जेलिएन्ट’ को यात्रा सुरु भयो । यस कम्पनीको लक्ष्य एउटा सामान्य समस्याको समाधानबाट व्यावसायिक नेटवर्किङको पुरानो शैलीलाई नै चुनौती दिनु थियो ।
जेलिएन्टको अवधारणा जति सरल र आकर्षक थियो यसलाई यथार्थमा उतार्ने प्रक्रिया त्यति नै चुनौतीपूर्ण थियो । सह-संस्थापक तथा प्राविधिक पक्षको जिम्मेवारी सम्हालेका अनुराग सुवेदी यसमा सबैभन्दा ठुलो निर्णय अनलाइन प्रणाली अपनाउनु भएको बताउँछन् । धेरैको जिज्ञासा हुन्थ्यो- के यो अफलाइन चल्दैन ? “एनएफसी चिपमा डेटा लेख्न मिल्ने ठाउँ (स्टोरेज) एकदमै सीमित हुन्छ,” अनुराग प्रस्ट्याउँछन्, “यदि हामीले सबै विवरण अफलाइन राख्ने प्रयास गर्यौं भने नाम, फोन नम्बर र ईमेलबाहेक केही पनि अटाउँदैनथ्यो ।”
उनी अगाडि भन्छन्, “प्रोफाइल फोटो, सामाजिक सञ्जालका लिङ्क, वेबसाइट र सबैभन्दा महत्त्वपूर्ण पछि विवरण परिवर्तन गर्ने सुविधाबाट प्रयोगकर्ता वञ्चित हुन्थे ।” त्यसैले उनीहरूले एनएफसी चिप र क्यूआर कोडमा एउटा युनिक वेब लिङ्क राखे जसले आफ्नो सर्भरमा रहेको प्रयोगकर्ताको व्यक्तिगत प्रोफाइल खोल्छ । यसले प्रयोगकर्तालाई जतिबेला पनि आफ्नो विवरण आफैँं एडिट गर्ने सुविधा दियो ।
तर, अनलाइन प्रणालीसँगै आयो सबैभन्दा ठुलो चुनौती- डेटा सुरक्षा र विश्वास । डिजिटल उत्पादनमा प्रयोगकर्ताको सबैभन्दा ठुलो चिन्ता नै डेटा सुरक्षाको हुन्छ । अनुरागको पृष्ठभूमि नै वेब सुरक्षामा भएकाले पनि उनी यसमा कुनै सम्झौता गर्न तयार थिएनन् । प्रयोगकर्ताको डेटा सुरक्षाका लागि वेबसाइटलाई सुरक्षित राख्ने विभिन्न किसिमका टुल प्रयोग गरिएको र होस्टिङ प्रोभाइडर परिवर्तन गरेको उनी बताउँछन् । “सुरुमा हामीले केही नेपाली होस्टिङ प्रोभाइडरसँग काम गर्यौं, तर अनुभव राम्रो रहेन,” अनुराग तीतो अनुभव सुनाउँछन्, “त्यसपछि यसलाई थप सुरक्षित बनाउन विश्वसनिय होस्टिङ प्लेटफर्म रोजेँ ।”
नेपाली होस्टिङ प्रोभाइडरबाट सेवा लिंदा उनीहरूले आफ्नो सी प्यानलदेखि डेटाबेससम्म बिना कुनै जानकारी पहुँच पाएको अनुरागले थाहा पाए । यसबाट प्रयोगकर्ताको डेटा दुरुपयोग हुने जोखिम देखेर उनले ‘होस्टिन्जर’मा जेलिएन्टको सिस्टम सारे ।
उनी भन्छन्, “होस्टिन्जर अन्तर्राष्ट्रिय कम्पनी भयो । लाखौं ग्राहक छन् । डेटाको क्षेत्रमा काम गर्ने प्रतिष्ठित कम्पनी होस्टिन्जरका ग्राहक छन् । सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेका छ । यी सबै पक्ष विश्लेषण गर्दा हामीलाई होस्टिन्जर उपयुक्त लाग्यो ।”
प्रयोगकर्ताको डेटा तेस्रो पक्षलाई बिक्री गर्ने वा त्यसैलाई मार्केटिङमा प्रयोग गरी आम्दानीको माध्यम बनाउने प्रवृत्ति छ । अनुराग भने आफूहरूबाट यस्तो कहिल्यै नहुने आश्वासन दिन्छन् । “डेटा कसरी व्यवस्थापन हुन्छ अनि यो कत्तिको सुरक्षित हुन्छ भन्ने जिज्ञासा हुन सक्छ,” उनी थप्छन्, “हामीले यसलाई आफ्नो मुख्य व्यवसायको खुड्किलोका रूपमा ल्याउन खोजेका छौं । यसैबाट मुख्य ब्रान्ड स्थापित गरेर त्यहाँबाट भएको आम्दानीले नै यसलाई निरन्तरता दिने योजना छ । डेटा तेस्रो पक्षलाई बिक्री गर्ने वा प्रयोगकर्तालाई उनीहरूको सहमति बिना अनावश्यक सम्पर्क गर्ने वा ईमेल, एसएमएस पठाउने काम गर्दैनौं ।”
यदि कार्ड हराइहाल्यो भने के गर्ने ? यो पनि अर्को चिन्ताको विषय हो । खासगरी परम्परागत कार्डको तुलनामा बढी विवरण हुने भएकाले कार्ड हराउँदा दुरुपयोग हुने जोखिम झनै बढी हुन्छ । जेलिएन्टले यसको पनि समाधान निकालेको छ । “यदि तपाईंको कार्ड हरायो भने हामीलाई खबर गर्ने बित्तिकै हामी त्यो कार्डसँग जोडिएको लिङ्कलाई ब्लक गरिदिन्छौं । जसले गर्दा कार्ड अरू कसैले फेला पारे पनि तपाईंको विवरणसम्म पहुँच गर्न सक्दैन,” अनुराग बताउँछन्, “अहिले हामी यी र यस्तै फिचरमा काम गर्दैछौं । पछि प्रयोगकर्ता आफैँले एनएफसीमा आफ्नो प्रोफाइल लिङ्क वा अन्य कुनै लिङ्क राख्ने सुविधा दिन्छौं ।”
जेलिएन्टकै वेबसाइटमा पनि च्याट इन्टिग्रेट गरिएको छ । त्यसको उद्देश्य ग्राहकले आफ्ना समस्या र जिज्ञासा राख्न सकुन् भन्ने हो । तर, यो अझै पूर्ण रूपमा सम्पन्न नभइसकेको उनी सुनाउँछन् ।
यो यात्रामा उनीहरूले प्रविधि मात्र बनाएर हुँदैन ग्राहकको विश्वास जित्न र उत्कृष्ट सेवा दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने पाठ सिके । हरेक चुनौतीले उनीहरूलाई अझ परिपक्व र बलियो बनाउँदै लग्यो ।
घरको कोठाबाट सुरु भएको यात्रा अब एउटा व्यवस्थित कार्यालयसम्म आइपुगेको छ । दैनिक सयौं सोधपुछका म्यासेज आउँछन् जसलाई व्यवस्थापन गर्न एउटा डेडिकेटेड टिम तयार छ । रौनकका अनुसार एक वर्षको अवधिमा ११०० भन्दा बढी कार्ड बितरण भइसकेका छन् । यो दर मासिक १५ देखि २० प्रतिशतले बढिरहेको उनी सुनाउँछन् । “यस्तो कार्ड बिजनेस अनर, इन्फ्ल्युन्सर र स्टार्टअपले प्रयोग गरिरहेका छन्,” रौनक भन्छन्, “फिडब्याक पनि राम्रो आइरहेको छ । सरल डिजाइन र आफैँ कस्टुमाइज गर्न सकिने सुविधाको प्रशंसा गर्नेहरू हुनुहुन्छ ।”
तर, धेरैको मनमा एउटा प्रश्न अझै छ – एकपटक ८९९ रुपैयाँ (छुटसहित) तिरेपछि जीवनभर चल्ने कार्ड बेचेर मात्र कम्पनी कसरी दिगो हुन्छ ?
‘८९९ रुपैयाँमा जीवनभर चल्ने कार्ड दिँदा कम्पनीको सञ्चालन खर्च कसरी धान्नुहुन्छ ? भविष्यमा ‘एड-अन’ फिचर ल्याउने योजना सुनाउनुभयो तर त्यसमा मात्रै भर पर्नु जोखिमपूर्ण छैन ?’ भन्ने टेकपानाको प्रश्न थियो । जवाफमा रौनक छन्छन्, “हाम्रो मुख्य उद्देश्य कार्ड बेचेर नाफा कमाउनु मात्र होइन । यो कार्ड हाम्रो लागि ‘ब्रान्ड’ मान्छेको हात-हातमा पुर्याउने सबैभन्दा सजिलो र प्रभावकारी माध्यम हो । जब मानिसले हाम्रो उत्पादन र सहज सेवा अनुभव गर्छन् तब ‘जेलिएन्ट’ ब्रान्डप्रति एउटा गहिरो विश्वास बन्छ भन्ने हाम्रो आशा छ ।” जेलिएन्ट ब्रान्डबाटै स्थापित हुने मार्केटप्लेसबाट यसको सम्पूर्ण खर्च धानिनेमा उनीहरू विश्वस्त छन् ।
त्यसबाहेक जेलिएन्टको दिगोपनाको आधार भविष्यमा ल्याइने ‘एड-अन’ फिचर पनि हुन् । उनीहरूका अनुसार अहिलेको आधारभूत प्रोफाइल सधैँ निःशुल्क रहनेछ तर व्यावसायिक आवश्यकता अनुसार थप सुविधा चाहने प्रयोगकर्ताका लागि प्रिमियम फिचरहरू ल्याइनेछ । ति फिचरका लागि भने अतिरिक्त शुल्क लाग्नेछ ।
अनुराग यसलाई थप प्रस्ट्याउँदै भन्छन्, “हाम्रो योजना हरेक पेसा र व्यवसायलाई मिल्ने गरी विशेष टेम्प्लेट र फिचर बनाउने हो । जस्तै डाक्टर र कन्सल्टेन्टका लागि प्रोफाइलबाटै अपोइन्टमेन्ट बुक गर्न मिल्ने प्रणाली, रेस्टुरेन्ट र क्याफेका लागि डिजिटल मेनु र अर्डर लिने फिचर अनि कलाकार, लेखक र पत्रकारका लागि उनीहरूको काम स्वचालित रूपमा प्रोफाइलमा देखिने टाइमलाइन वा पोर्टफोलियो । यी फिचरले प्रयोगकर्तालाई प्लेटफर्ममा टिकाइराख्न र हामीलाई पनि दीगो बनाउन सघाउँछ ।”
तर, उनीहरूको सपना यतिमा मात्र सीमित छैन । उनीहरूको अन्तिम लक्ष्य भनेको जेलिएन्टको ब्रान्ड र यसले निर्माण गरेको प्रयोगकर्ता सञ्जालको जगमा एउटा ठुलो ‘डिजिटल मार्केटप्लेस प्लेटफर्म’ निर्माण गर्नु हो । उनीहरू अहिले यस्तो प्लेटफर्म बनाइरहेका छन् जहाँबाट मानिसले न्यूनतम मूल्यमा आफ्नो व्यवसायका लागि आफैँ डाइनामिक किसिमको वेबसाइट बनाउन सकुन् । “हामी अहिले डेभलपमेन्टकै फेजमा छौं,” रौनक भन्छन्, “हामी यस्तो प्लेटफर्म बनाउँदैछौं जहाँबाट मानिसले युनिक डिजाइन र स्टाइल भएको वेबसाइट बनाउन सक्छन् । प्रविधिमा रुचि राख्नेदेखि सामान्य प्रोग्रामिङ जानेको मान्छे हुँदै यसमा दख्खल व्यक्तिका लागि हामीले ल्याउने प्लेटफर्म उपयोगी हुनेछ ।” उक्त मार्केटप्लेसको नाम पनि जेलिएन्ट जोडेर नै राख्ने उनीहरूको योजना छ ।
कस्ता छन् बजारमा प्रतिस्पर्धी ?
नेपाली बजारमा एनएफसी सहितका कस्टुमाइज डिजिटल कार्ड उपलब्ध गराउने अन्य कम्पनी पनि छन् । ईभाज कार्ड, फ्ल्यापमो, आईटी कारखाना, एनएफसी नेपाल जस्ता कम्पनीले डिजिटल कार्डको सेवा दिइरहेका छन् । अन्य कम्पनीहरूले जेलिएन्टमा नभएका केही फिचर जस्तै: पोर्टफोलियोमा भिडिओ, म्याप र व्यक्तिगत सेवा राख्ने सुविधा पनि दिएका छन् । यीमध्ये एक कम्पनीले आफ्नो सम्पर्क विवरण गलत राखेको फेला पर्यो । फिचरबारे बुझ्न सम्पर्क गर्दा पनि केहीमा सफल हुन सकेन । त्यस्तै केही कम्पनीमा शुल्क अग्रिम भुक्तानी गरेपछि मात्र कार्ड अर्डर गर्न सकिने देखियो ।
साथै, केहीले क्यूआर कोड, एनएफसी लिङ्क र कार्डको डिजाइन समेत प्रयोगकर्ता आफैँँले गर्न मिल्ने सुविधा दिएको पाइयो । हुन त यो प्रयोगकर्तालाई उनीहरूकै डिजाइनमा कार्ड उपलब्ध गराउन सकिने सेवा हो । तर, पोर्टफोलियो लिङ्कदेखि अन्य विवरण राख्नमा भने यो उपयुक्त नहुने देखिन्छ । मूल्यका हिसाबले पनि अन्य प्लेटफर्ममा स्पष्ट मूल्य राखिएको देखिंदैन । केहीमा भने मासिक शुल्क तिर्ने किसिमको सब्क्रिप्सन प्लान राखिएको छ । यो सस्तो भए पनि भोलि प्रयोगकर्ताले रिन्यु गरेन भने कार्ड प्रयोगविहीन हुने देखिन्छ ।
सामान्यतः क्यूआर कोड अफलाइन स्क्यान गर्दा पनि व्यक्तिको विवरण देखिनुपर्छ । तर, जेलिएन्टले उपलब्ध गराउने क्यूआर कोडमा वेबसाइटको लिङ्क राखिएको हुनाले अनलाइन हुनु आवश्यक पर्छ । यद्यपि कार्डमा छापिएका आधारभूत विवरणले पनि यो काम चलाउन सक्छ तर यस्तो अवस्थामा यो परम्परागत कार्ड जस्तै हुन पुग्छ । किनभने अर्को व्यक्तिलाई ती विवरण फोटो खिच्न वा टिप्न झन्झटिलो हुन सक्छ । त्यसैले अन्य प्रतिस्पर्धी भने यसमा अगाडि देखिन्छन् ।
अर्डर गर्नुअघि नै कार्ड कस्तो बन्छ भनेर ‘प्रि-भ्यु’ हेर्न सकिने, सरल युजर इन्टरफेस, प्रयोगकर्ता आफैँँले कार्डको पछाडिको डिजाइन बनाएर पठाउन सक्ने, पोर्टफोलियोमा आफैँ जानकारी राख्न तथा अध्यावधिक गर्न सक्ने र त्यसको कार्डमा देखिने विवरणको आकार अनि स्थान मिलाउन सक्ने सुविधा जेलिएन्टका फरक विशेषता हुन् । त्यसैगरी एक पटकको खरिदमा सधैव सेवा दिने, ट्राफिक इन्साइट्स, अनलिमिटेड शेयरिङ जस्ता फिचरमा अतिरिक्त शुल्क नलिने पनि जेलिएन्टका आकर्षक विशेषता हुन् । तर, यी फिचर निःशुल्क सधैव उपलब्ध गराउने कम्पनीको विश्वासमाथि भने शंका गर्न सकिन्छ ।
कार्डको मूल्यलाई नै लिएर व्यावसायिकताको दीगोपनमाथि शंका गर्ने जेलिएन्टकै ग्राहक छन् । “मलाई कार्ड त एकदम मन पर्यो । क्वालिटी पनि राम्रो छ,” ग्रान्डी अस्पतालमा कार्यरत श्रवण विशेषज्ञ अम्ब्रिश तिवारी आफ्नो अनुभव सुनाउँछन्, “बिरामीलाई परम्परागत भिजिटङ कार्ड दिनुभन्दा डिजिटल कार्ड स्क्यान गराउँदा सहज हुन्छ । तर, सबैको फोनमा एनएफसी सपोर्ट गर्दैन । कतिपय फोन नभएका बिरामी आउनुहुन्छ । उहाँहरूलाई पुरानै कार्ड दिनुपर्छ ।”
सेवा आकर्षक लागे पनि ८९९ रुपैयाँमा उपलब्ध गराउनुले व्यवसायको दीगोपनमाथि शंका उठाएको उनी सुनाउँछन् । “कम्तिमा चार पाँच वर्ष त मान्छे कार्ड बोक्छ नै,” उनी भन्छन्, “एकपटकका लागि लिएको शुल्कले त्यतिबेला सम्म खर्च धान्छ कि धान्दैन भन्ने हो । तर, प्रयोगकर्ताका लागि त धेरै नै प्रभावकारी छ ।”
त्यस्तै स्ल्याश प्लसका प्रमुख सञ्चालक अधिकृत प्रमोश अधिकारी एनएफसी सहितको डिजिटल कार्डले प्रविधिलाई आत्मसात गर्दै कार्ड आदनप्रदान गर्ने प्रवृत्तिमा परिवर्तन ल्याइरहेको बताउँछन् । उनी भन्छन्, “प्रविधिमा रुचि भएका र त्यही क्षेत्रमा काम गरिरहेका व्यक्तिका लागि राम्रो छ । धेरै कार्ड बोक्नुपर्ने झन्झट पनि हुँदैन । सेवा पनि राम्रै दिनुभएको थियो ।”
कसरी प्रयोग गर्ने जेलिएन्ट, कस्तो हुन्छ डिजिटल कार्ड ?
जेलिएन्ट भौतिक कार्ड हो जसको बाहिरपट्टि व्यक्तिको नाम, पेसा, सम्पर्क नम्बर, ईमेल, वेबसाइट र क्यूआर कोड हुन्छ । त्यसको माथिपट्टिको भागमा एनएफसी जडान हुन्छ । यो क्यूआर कोड र एनएफसीमा लिङ्क हुन्छ । क्यूआर कोडमा पहिले जे लिङ्क राखेको छ सधैं त्यही लिङ्क नै हुन्छ । तर, एनएफसीमा भएको लिङ्क भने आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ । स्मार्टफोनमा भएको एनएफसी सेन्सरले कार्डको एनएफसी रिड गर्छ र त्यसमा भएको विवरण फोनमा देखिन्छ ।
कार्ड कस्तो डिजाइनको बनाउने, अगाडि र पछाडिपट्टि कस्तो लोगो राख्ने ? क्यूआर कोड र त्यसमा भएका अन्य विवरण कुन ठाउँमा कुन आकारमा राख्ने भन्ने जेलिएन्टकै वेबसाइटबाट सेट गर्न सकिन्छ । अब कुनै डिभाइसले एनएफसी रिड गर्यो वा क्यूआर कोड स्क्यान गर्यो भने त्यहाँ राखिएको लिङ्क ब्राउज हुन्छ । लिङ्कभित्र व्यक्तिको पोर्टफोलियो हुन्छ । त्यहीबाट सोझै कन्ट्याक्टमा व्यक्तिको नम्बर र अन्य विवरण फोटो सहित सेभ गर्न सकिन्छ । साथै वेबसाइबटबाटै सोझै ह्वाट्सएपमा सम्पर्क गर्न सकिन्छ । त्यसबाहेक कति जनाले कुन समयमा कार्ड स्क्यान गरे भन्ने पनि हेर्न सकिन्छ ।

कार्ड कसरी बनाउने ?
-
त्यसपछि नाम, ईमेल अनि पासवर्ड राख्नुपर्छ । त्यही ईमेल र पासवर्ड राखेर पछि ड्याशबोर्डमा जान सकिन्छ ।
-
यति भइसकेपछि जेलिएन्टको वेबसाइट खुल्छ । त्यहाँ रहेको कार्डको अप्सनमा ट्याप गरेर कस्टमाइजको अप्सन छान्नुपर्छ । त्यसपछि त्यहाँ जे विवरण राख्यो, त्यही विवरण कार्डमा देखिन्छ ।
-
अगाडि र पछाडिपट्टि लोगो राख्ने र आवश्यकता अनुसार लोगोको आकार र स्थान परिवर्तन गर्न सकिन्छ ।
-
इन्फरमेसनको सेक्सनमा सबै विवरण राखिसकेपछि त्यसैमा रहेको स्टाइलिङको सेक्सनमा जानुहोस् ।
-
उक्त सेक्सनबाट कार्डको कलर कस्तो बनाउने, नामको साइज कत्रो राख्ने, सम्पर्क विवरण कसरी मिलाउने भन्ने सेटअप गर्न सकिन्छ ।
-
यति गरेपछि भर्चुअल कार्ड तयार हुन्छ । अब यसलाई ‘नेक्स्ट स्टेप’को बटनमा ट्याप गरेर कार्डका लागि अर्डर गर्न सकिन्छ ।
रौनकका अनुसार यसरी अनलाइन अर्डर गरिसकेपछि त्यहाँ भएका सम्पूर्ण विवरण प्रमाणित गर्न जेलिएन्टबाट कल जान्छ । सबै विवरण प्रमाणित भएपछि कार्ड प्रिन्टका लागि जान्छ । र, केही दिनमा कार्ड अर्डर गर्ने व्यक्तिले भनेको ठाउँमा पुग्छ ।
अनलाइन पोर्टलबाटै कार्ड अर्डर गर्न सकिने सुविधा भए पनि ६० प्रतिशतले ह्वाट्सएपमा आफ्बनो विवरण बनाएर कार्डका लागि अर्डर गर्ने गरेको रौनक सुनाउँछन् । ‘यतिका अर्डर ह्वाट्सएपबाट आउनुले तपाईंको वेबसाइटको युजर एक्सपिरियन्स कमजोर छ कि भन्ने सङ्केत गर्दैन ?’ भन्ने प्रश्नको जवाफमा रौनक सहजताको प्रसंग जोड्छन् । “एउटा त झन्झट किन गर्ने भन्ने पनि भयो होला । अर्को कार्ड कस्टमाइज गर्दा केही बिग्रिने हो कि भन्ने डर पनि होला,” रौनक भन्छन्, “त्यसैले पनि हामीलाई धेरै अर्डर ह्वाट्सएपमै आउँछ । हाम्रा लागि सजिलो र कम खर्चिलो चाहिं वेबसाइट नै हो । यूएक्सले गर्दा ह्वाट्सएपमा बढी क्वेरी र अर्डर आएको हो जस्तो लाग्दैन ।”
सुरुवाती समयमा कार्डको शुल्क १५९९ रुपैयाँ तोकिएको थियो । पछि त्यसैलाई इकोसिस्टममा परिमार्जन गर्ने योजना बनाएपछि उनीहरूले कार्डको शुल्क घटाए । र, ८९९ रुपैयाँ कायम गरे । रौनकका अनुसार यो शुल्कमा कार्ड बनेर नेपालभर डेलिभर हुन्छ ।
तर, यसमा उनीहरूका लागि चुनौती पनि उत्तिकै छन् । डिजिटल कार्डमा देखिने विवरण र क्यूआर कोड सजिलै नमेटिने बनाउन गुणस्तरीय प्रिन्टर चाहिन्छ । यसको खर्च लाखौं पर्ने भएकाले उनीहरूले तेस्रो पक्षसँग मिलेर प्रिन्टिङको काम गरिरहेका छन् । तेस्रो पक्षसँग मिलेर काम गरेको भए पनि डेटा सुरक्षा र गोपनीयताको प्रश्न उठिरहेको हुन्छ । यसमा भने कहिल्यै सम्झौता नगर्ने अनुराग स्पष्ट पार्छन् । कार्ड प्रिन्ट गरिसकेपछि केही ग्राहकले विवरण आफैँले फरक राखेकाले सच्याउनु पर्यो भन्ने गुनासो राख्छन् । यस्तोमा कार्ड पुनः प्रिन्ट गर्नुपर्ने हुन्छ ।
खर्च ग्राहककै हुने भए पनि उनीहरूको अनुभव खल्लो हुन सक्छ । त्यस्तै थोरै केही कार्डमा सिस्टम इरोर हुँदा फरक डिजाइन पर्ने समस्या पनि देखिए । यद्यपि यस्ता समस्या भने अहिले नभएको रौनक सुनाउँछन् । “कार्ड अर्डरका लागि आइसकेपछि हामी विस्तृतमा कुरा राख्छौं । सबै डेटा भेरिफाई गर्छौं । कन्फर्म भइसकेपछि प्रिन्टमा पठाउँछौं,” उनी भन्छन्, “तर, कहिलेकाहीं भने मानवीय त्रुटिले समस्या आउन सक्छ ।”
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १८:४
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको हो।
विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो। सोमबारदेखि मंगलबार २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ।
विभागका बाढीविद् विनोद पराजुलीले चीन तथा नेपालको भू–भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशंका रहेको बताए। ‘भारी वर्षाका कारण बाढी गएको होइन भन्ने पत्ता लाग्यो। अब चाहिँ के कारण गएको भनेर हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘कार्यस्थलमा नै तत्काल गएर अध्ययन गर्न सम्भव नभए पनि भू–उपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो। तर बादलका कारण अझै समस्या देखिएको छ।’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि भोलि (२६ असार) देखि लागु हुनेगरी ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत विभिन्न भ्वाइस, डेटा र एसएमएस प्याकेजका साथै शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष छुट र बोनसको व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार अपाङ्गता भएका व्यक्तिहरूले ‘सजिलो अनलिमिटेड ६९९’ र ‘७९९’ प्याकेजमा ३० प्रतिशत छुट पाउनेछन् । उनीहरूका लागि अन्य प्याकेजमा समेत बोनसको सुविधा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
यो अफर अन्तर्गत अन्य ग्राहकका लागि पनि विभिन्न आकर्षक भ्वाइस, डेटा तथा एसएमएस प्याकेजहरू उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत यी प्याकेजहरू खरिद गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार २५, २०८२ १६:४८
सामाग्री श्रोत :
टेक पाना

वीरगंज– वीरगंज महानगरपालिकामा आज पानीको समस्या समाधानसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा नेपाल खानेपानी संस्थानका पर्सा तथा बारा जिल्लाका प्रमुख, महानगरका अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा वीरगंज लगायत तराई–मधेस क्षेत्रमा बढ्दो खानेपानी संकटको गम्भीर समीक्षा गर्दै यसको दिगो समाधानका लागि आवश्यक रणनीति तथा योजनाहरूमा घनिभूत छलफल गरिएको छ।
पानीको समस्या समाधानको उद्देश्यसहित संघीय खानेपानी मन्त्री तथा प्रतिनिधिसभा सदस्य (पर्सा क्षेत्र नं. १) प्रदीप यादव स्वयं वीरगंजमा उपस्थित रहे। मन्त्री यादवले जनताले भोगिरहेको पानीको चरम अभावप्रति गहिरो चिन्ता र पीडा व्यक्त गर्दै समस्याको समाधान गरेरै छाड्ने दृढ प्रतिबद्धता जाहेर गरे।
उनले भने, “खानेपानी संकट जलवायु परिवर्तन र खडेरीको असरसँग प्रत्यक्ष जोडिएको छ। यस्तो स्थितिमा सरकार जनताको आधारभूत आवश्यकताप्रति गम्भीर छ र कुनै कसर बाँकी राख्ने छैन।”
स्थलगत अवलोकन र प्रत्यक्ष संवादका लागि आफू वीरगंज आएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानका लागि संघीय सरकार स्तरबाट तिव्र पहल जारी रहेको बताए। बैठकमा सहभागी सरोकारवालाहरूले पनि संकट समाधानका लागि संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ




