२०८२ भाद्र ७ शनिबार
२०८२ भाद्र ७ शनिबार

काठमाडौं- डा रणजित झाले आकाशमै उपचार सेवा दिएर बिरामी बच्चाको ज्यान जोगाएका छन्।      

आइतबार जनकपुरबाट काठमाडौँ उडेको यति बिमानमा एउटा नवजात शिशुलाई जन्मजात मुटुको रोग भएर शरीर निलो हुँदै गरेको अवस्था (साइनोसिस) भएको थियो। 

बिमानका चालक दल र एअर होस्टेजले मेडिकल सपोर्टका लागि अनाउन्स गरेका थिए। जहाँ लहान प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा झा पनि यात्रारत थिए। 

चालकदलको आग्रहमा अक्सिजनको मात्रा मिलाउने गरी सम्बन्धित अस्पतालसम्म  पुर्याउनसम्म उनले सहयोग गरे। बालकको ज्यान जोगाउन सहयोग पुर्‍याएपछि डा झाले भने,  ‘बिरामीलाई सेवा अस्पतालमा मात्र हैन,  धर्ती देखि  आकाशमा नि  दिन सकिँदो  रहेछ !’

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- भक्तपुर क्यान्सर अस्तालले विश्व टाउको तथा घाँटी क्यान्सर दिवसका अवसरमा नयाँ सेवाहरु विस्तार गरेको छ। अस्पतालले एक कार्यक्रमका बीच दन्त तथा मुख रोग विभाग तथा स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड शुरु गरेको  हो । 

अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना फैलाउने उद्देश्यले क्यान्सर सर्वाइभरहरूलाई सम्मान समेत गरेको छ। नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ। यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र शुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो मात्र अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा  उज्ज्वल चालिसेले बताए। 

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा रामकण्ठ माकाजुले बिरामीको अनुहारको खुशीले अस्पतालको सेवाको गुणस्तर मापन गर्ने भन्दै भक्तपुर क्यान्सर अस्पतालले गरेको सेवा राम्रो भएको बताए। ज्ञान वुद्धि र सहकार्यले संस्थाको विकास हुने भएकाले धुलिखेल अस्पताल सधैं सहकार्य गर्न तयार रहेको बताए।

२००७ मा भरतपुरमा अस्पतालबाट सुरु गरिएको हेड एण्ड नेक विभाग  हाल सबै क्यान्सर अस्पतालहरुमा विस्तार हुनुले विश्वस्तीय सेवाहरु नेपालमा नै पाउने स्थिती भएको बताए। 

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले बताए ।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं – नेपालको पुरानो र भरोसाको केन्द्र बनेको वीर अस्पतालले आज आफ्नो १३६ औं वर्षमा प्रवेश गरेको छ। १ ३५ वर्षअघि आजकै दिन  तत्कालीन श्री ३ वीर शम्शेरको पहलमा स्थापना गरिएको यो अस्पताल अहिले नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा आधुनिक विशिष्टकृत उपचार सेवासहित देशकै अग्रणी स्वास्थ्य संस्था बनिसकेको छ।

वीर अस्पतालले जनतामा सुलभ स्वास्थ्य सेवा पु-याउने उद्देश्यले स्वास्थ्य उपचारसँगै शैक्षिक र अनुसन्धानमूलक कार्यमा समेत उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ। वि.सं. २०६३ मा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (चि.वि.रा.प्र.) ऐन जारी गरी यस अस्पताललाई राष्ट्रिय स्तरको शिक्षण तथा अनुसन्धान केन्द्रको रूपमा अघि बढाएको हो। हाल एमडी, एमएस, एमसीएच, डीएम, बीएससी नर्सिङ, बीएमएस, एमएनलगायतका उच्चस्तरीय शैक्षिक कार्यक्रमहरू यहाँ सञ्चालनमा छन्।

कोभिड–१९ महामारीको समयमा वीर अस्पताललाई ‘युनिफाइड केन्द्रीय अस्पताल’ को रूपमा विकास गरिँदै २०७८ सालमा थप ८३१ दरबन्दी स्वीकृत गरिएको थियो। यसले सेवा विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

अस्पतालले अति गरीब, अपाङ्ग, बेवारिसे, हिंसापीडित महिला, जेष्ठ नागरिक, जनआन्दोलनका घाइतेजस्ता वर्गका लागि गुणस्तरीय निःशुल्क सेवा निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ।

केवल १५ शैयाबाट सुरु भएको वीर अस्पताल हाल ४६० शैयामा सेवा दिइरहेको छ भने नयाँ सर्जिकल भवनको सञ्चालनपछि सेवा क्षमता ९६० शैयासम्म विस्तार भएको छ। 

भक्तपुरको दुवाकोटमा पनि वीर अस्पतालको सेवा विस्तार गरिँदैछ। १३६ वर्षको ऐतिहासिक यात्रामा वीर अस्पतालले चिकित्सा सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदान गौरवपूर्ण रहँदै आएको छ। भविष्यमा अझ प्रविधिमैत्री, पहुँचयोग्य र गुणस्तरीय सेवाको विस्तार गर्दै लैजाने निर्देशक डा दिलिप शर्मा बताउँछन् । 

उनका अनुसार अहिले निकै गुनासो आइरहेको इमर्जेन्सीलाई फराकिलो बनाउने क्रम जारी छ। त्यसैगरी भीडलाई व्यवस्थित गर्ने र देशका कुनाकन्धराबाट आउने बिरामीका लागि कुरुवा घर प्राथमिकता रहेको उनी बताउँछन्। 

वार्षिकोत्सवको अवसरमा गरिएको संवाद् 

सामाग्री श्रोत :
swasthyakhabar

संसारभर जुलाई २८ मा विश्व हेपाटाइटिस दिवस मनाउने तयारी भइरहँदा हामीले भाइरल हेपाटाइटिस विरुद्धको लडाइँमा हासिल गरिएको उपलब्धि र हाम्रो सामु रहेका चुनौतीहरूको समीक्षा गर्नु जरुरी छ। यस वर्षको नारा — “सबै मिलेर संकल्प गरौँ, हेपाटाइटिस अन्त्य गरौँ”ले हेपाटाइटिस निवारण र कलेजोको क्यान्सरको रोकथाममा बाधक बनेका आर्थिक, सामाजिक र प्रणालीगत अवरोधहरूलाई हटाउनका लागि तत्काल कदम चाल्न आह्वान गर्दछ। 

भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ विश्वव्यापी रूपमा गम्भीर जनस्वास्थ्य चुनौती हुन्, र प्रायः कुनै पनि लक्षण नदेखाएर जटिल रोग निम्त्याउने गर्छन्। यी भाइरसहरू मुख्यतया संक्रमित रक्तजन्य उत्पादनहरू, असुरक्षित चिकित्सकीय अभ्यास, साझा सुइको प्रयोग, असुरक्षित यौन सम्पर्क र प्रसूतिका बेला संक्रमित आमाबाट बच्चामा लगायताका माध्यमबाट सर्छन्। संक्रमण लक्षणविहीन हुने भएकाले धेरैजसो संक्रमितहरू कलेजो सम्बन्धी गम्भीर समस्या नदेखिएसम्म पहिचान हुँदैनन्। 

ग्लोबल हेपाटाइटिस रिपोर्ट २०२४ अनुसार सन् २०२२ मा ३० करोड ४ लाख मानिसहरूलाई हेपाटाइटिस बी र सी बाट संक्रमण थिए। हरेक वर्ष करिब १३ लाख मानिसको मृत्यु कलेजोसम्बन्धी जटिलता र क्यान्सरका कारण हुने गर्छ, जुन दैनिक ३,५०० जनाको मृत्यु बराबर हो। यदि तत्काल दीर्घकालीन कदमहरु चालिएनन् भने सन् २०३० सम्ममा २८ लाख ५० हजार मृत्यु, ९५ लाख नयाँ संक्रमण, र थप २१ लाख क्यान्सरका नयाँ केसहरु हुने आंकलन गरिएको छ।

संक्रमक रोगहरूमध्ये भाइरल हेपाटाइटिस मृत्युको प्रमुख कारण भए तापनि, यसले अझै पनि एचआइभी वा क्षयरोग जस्तो विश्वव्यापी रूपमा प्राथमिकता पाउन सकेको छैन। 

नेपालको अवस्था
नेपालमा सामान्य जनसंख्यामा हेपाटाइटिस ‘बी’ र ‘सी’ को प्रकोप क्रमशः ०.९ प्रतिशत र ०.३८ प्रतिशत रहेको छ। तर, एचआइभी संक्रमित व्यक्ति र सुईबाट लागूऔषध प्रयोग गर्ने व्यक्तिहरू जस्ता उच्च जोखिम समूहहरूमा यो दर अझै बढी छ। तिब्बतसँग सिमाना जोडिएको दुर्गम हिमाली क्षेत्र माथिल्लो डोल्पामा, केही प्रकाशित अध्ययनहरू अनुसार, हेपाटाइटिस बी को प्रकोप १७ प्रतिशतसम्म रहेको छ। नेपालमा रोगको वास्तविक भार सम्बन्धी राष्ट्रिय तथ्यांक उपलब्ध नभएपनि, विश्वव्यापी आंकलन अनुसार नेपालमा करिब १ लाख १५ हजार जना हेपाटाइटिस सी संक्रमित छन् र तीमध्ये केवल १८ प्रतिशतको निदान भएको छ भने मात्र १ प्रतिशतले उपचार पाएका छन्। 

यी तथ्यांकहरूले रोगको भार र उपचार तथा हेरचाहमा पहुँचबीचको गम्भीर खाडल प्रस्तुत गर्दछ। किफायती परीक्षण तथा उपचार उपलब्ध भएपनि सेवामा न्यून पहँुच, जनचेतनाको कमी र आर्थिक कठिनाइका कारण धेरै संक्रमितहरूको अझै पनि न त पहिचान हुन सकेको छ न त उपचार नै पाउन सकेका छन्। सेवा र पहुँचबीचको यो खाडलले हेपाटाइटिस सम्बन्धी स्वास्थ्य सेवाहरू बिस्तार र ती सेवाहरूलाई समग्र स्वास्थ्य प्रणालीमा एकीकृत गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। 

हाल नेपालमा तोकिएका ९ वटा उपचार केन्द्रहरूले हेपाटाइटिस सी का लागि निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छन्, तर यी सेवा अझै पर्याप्त छैनन्। अधिकांश हेपाटाइटिस बी र सी संक्रमितहरूले निजी क्लिनिक वा अस्पतालबाट उपचार लिने गरेका छन्, जसका कारण विशेषगरी कलेजो सम्बन्धी गम्भीर रोग वा कलेजोको क्यान्सर भएको अवस्थामा उनीहरूले ठूलो आर्थिक भार बेहोर्नु परेको छ।  

यी चुनौतीहरूका बाबजुद पनि, नेपालले दृढ राजनीतिक इच्छाशक्ति र लक्षित जनस्वास्थ्य कार्यक्रमहरू  मार्फत सुधार सम्भव छ भन्ने प्रमाणित गरेको छ। सन् २०१९ मा पाँच वर्षमुनिका बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण गर्न सफल विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रका पहिलो देशहरूमध्ये नेपाल पनि बंगलादेश र भुटानसँगै एक बन्यो। यो उपलब्धि प्रभावकारी बाल खोप कार्यक्रमहरूको प्रतिफल हो।

यस महत्वपूर्ण उपलब्धिको आधारमा, भाइरल हेपाटाइटिस नियन्त्रणका लागि तयार गरिएको राष्ट्रिय रणनीतिक योजनाले सन् २०३० सम्म नयाँ संक्रमणहरूमा ९० प्रतिशत र मृत्युमा ६५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको छ। तर, यो योजनाको कार्यान्वयनमा बजेट तथा स्रोतको अभावका कारण चुनौतीपूर्ण बन्दै गइरहेको छ। 

अब कदम चाल्ने समय हो 
नेपालको संघीय स्वास्थ्य प्रणाली र बलियो प्राथमिक स्वास्थ्य सेवा सञ्जालले भाइरल हेपाटाइटिस सम्बन्धी सेवा विस्तार गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँचको लक्ष्यतर्फ अघि बढ्न रणनीतिक अवसर प्रदान गरेको छ। भाइरल हेपाटाइटिस सम्बन्धी सेवाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवाहरू र राष्ट्रिय स्वास्थ्य बीमा प्याकेजहरूमा समावेश गरेमा विशेषगरी सेवामा पहुँच नभएका समुदायहरूका लागि उपचारलाई अझ सुलभ र किफायती बनाउनेछ।

सेवाहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रहरूमा विकेन्द्रीकरण गर्दै, स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई हेपाटाइटिस केस व्यवस्थापन सम्बन्धी आधारभूत सीपहरू प्रदान गर्न सकिएमा जीवनरक्षक उपचार सबैभन्दा बढी आवश्यक पर्ने व्यक्तिहरूसम्म पुर्‍याउन सकिन्छ। साथै, भाइरल हेपाटाइटिस सम्बन्धी भ्रम, लाञ्छना र विभेद विरुद्ध लड्नका लागि सटिक र प्रभावकारी सार्वजनिक शिक्षा प्रदान गर्नु आवश्यक छ।

यस विश्व हेपाटाइटिस दिवसमा, म सरकार, नीतिनिर्माताहरू, स्वास्थ्य सेवा प्रदायकहरू, नागरिक समाज र आम जनतालाई भाइरल हेपाटाइटिसको अन्त्यका लागि यो अवसरको उपयोग गर्न आह्वान गर्दछु। हामीले स्वास्थ्य सेवा पहुँचका अवरोधहरू हटाउँदै, लाञ्छना अन्त्य गर्दै, र सबैलाई रोकथाम, परीक्षण, उपचार र हेरचाहको अवसर सुनिश्चित गर्दै भाइरल हेपाटाइटिसको अन्त्यका लागि हाम्रो सामूहिक प्रयासलाई तीव्र पार्नैपर्छ। 

केही नगरी बस्नु विकल्प होइन। हाम्रो साझा प्रयासले जीवन बचाउन, नयाँ संक्रमणहरू रोक्न र नेपाललाई हेपाटाइटिसमुक्त बनाउन सक्छौं।

(डा राजेश सम्भाजिराव पाण्डव विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयका प्रमुख हुन्। )
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- पाटन अस्पतालमा उपचाररत बालबालिकाले क्यान्सरको पहिचानका क्रममा हुने खर्च सहुलियत पाउने भएका छन्। क्यान्सरका विभिन्न औषधि नि:शुल्क दिइरहेको द म्याक्स फाउन्डेसनले निदानका लागि लाग्ने खर्च बेहोर्ने भएको छ। 

अस्पतालकी बाल क्यान्सर रोग विशेषज्ञ डा सुचरिता तुलाधारले १९ वर्ष भन्दा कम उमेरका बालबालिकाले उक्त सहयोग पाउने जानकारी दिइन्। 

डा तुलाधरका अनुसार प्रारम्भिक जाँचबाट क्यान्सरको सम्भावना देखिएका बालबालिकाको थप जाँचका लागि सहुलियत दिन थालिएको हो। फाउन्डेसनको सहयोगबाट एकजना बिरामीले उक्त सहुलियत प्राप्त गरिसकेको उनले बताइन्। 

क्यान्सरको सम्भावना देखिएपछि यकिन गर्न विभिन्न जाँच जस्तो बोनम्यारो, एमआई, सीटी स्क्यान आदि  गरिन्छ । त्यसका लागि लगभग ५० हजारसम्म खर्च हुन्छ । कतिपय बिरामीका आफन्तसँग त्यति पैसा समेत नहुँदा जाँच नै गर्न नपाइ उपचार सुरु हुन नसकेको अवस्थाको अन्त्य गर्न उक्त सहुलियत जुटाइएको हो। 

१९ वर्षमुनिकाले उक्त सहुलियत पाउनेछन् । केही समयअघि फाउन्डेसनकी को-फाउन्डर तथा सीईओ प्याट गर्सिया-गोन्जालेज नेपाल आएका बेला डा सुचरिताले बाल क्यान्सरका बिरामीको अवस्था दर्शाएकी थिइन्।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले अमेरिकामा फाउन्डेसनकी सीईओ प्याटसँगको भेटमा उक्त प्रसंग सम्झाएका थिए। बाल क्यान्सरका बिरामीका लागि पाटन अस्पतालले राखेको प्रस्ताव आफ्नो जन्मदिनको अवसरमा कार्यान्वयनमा लैजाने घोषणा सीईओ प्याटले गरेको डा शाही बताउँछन्। 

डा सुचरिताको सहयोग अभियानको सार्थकता
डा सुचरिताले आफू र आफू निकट केही सहयोगमा उक्त अभियान थालेको केही वर्ष भयो। सरकारले क्यान्सर पहिचान भएपछि मात्रै सहयोग गर्ने गर्छ। क्यान्सर पहिचान गर्नकै लागि महंगो खर्च हुने र त्यो पैसा समेत जोहो गर्न नसक्ने बिरामी देखेपछि आफैंबाट अभियान थालेको उनी बताउँछन्।  

उनले भनिन्,  ‘पाटन अस्पतालमा मध्यम र न्युन वर्गका बिरामी आउँछन् । ५० हजार रुपैयाँ एउटा सामान्य मान्छेका लागि धेरै नै हो। त्यसमा पनि क्यान्सर छ भन्ने कुराले तनावपूर्ण  बनाउँछ।  तर १०/११ वर्षको बच्चालाई क्यान्सर भएको छ भनेपछि एउटा परिवारलाई कति बज्रापत पर्छ।‘

उनका अनुसार सुरुका जाँचमा एकमुष्ट खर्च हुन्छ । परिवार तनावमा हुन्छ । सपनामै नसोचेको कुराले अत्याउँछ । त्यस्तो बेलामा भरोसा जरुरी हुने भएर उनले अभियान थालेकी थिइन्। उनले थपिन्,  ‘काठमाडौं टाढाबाट थोरै पैसा लिएर आउनुहुन्छ । ऋण खोज्नुपर्‍यो,  झनै गाह्रो हुन्छ। पहिले हामी साथीभाइ मिलेर कोष बनायौं । हामीले  मात्रै सधैं त्यसलाई चलाउन सकिँदैनथ्यो । दीगो स्रोत जरुरी थियो । गतसाल प्याट  आउँदा हामीले कुरा गर्‍यौं । उहाँ कन्भिन्स्ड हुनुभयो ।‘

उनका अनुसार पहिचानका लागि गर्नुपर्ने जाँचका लागि पैसा नहुँदा धेरैले उपचार नै त्यागेका छन्। उनले भनिन्,  ‘धनी देशमा १० मा ८ ठीक हुने तर  हाम्रोमा १० मा २ जना  हुने उपचारको प्रभावकारिता नभएर होइन । हामीकहाँ पनि उपचार त त्यही हुन्छ ।  औषधि त्यही हो। तर,  निदानका क्रममा नै धेरैले उपचार गर्न छाड्छन् वा ढिलोगरी आउँछन्।‘

‘पैसाले कसैको उपचार नरोकोस् । खर्च छैन भनेर कोही बच्चाले ज्यान गुमाउन नपरोस् भन्ने हामीलाई लाग्छ,’ उनले भनिन्, ‘उपचार गर्नु हाम्रो काम हो तर उपचार गरेर मात्रै हाम्रो काम सकिँदैन । उपचार गर्न कसरी सहज बनाउन सकिन्छ ? त्यतातिर पनि सोच्ने क्रममा यस्तो सहयोग जुटेको हो।‘ 

उनले यो एउटा सुरुवात भएको बताइन्। यसलाई देशभरी नै फैलाउने आफ्नो सोच रहेको उनको भनाइ छ। अहिले पाटन अस्पतालमा आइपुगेका बच्चाका लागि म्याक्स फाउन्डेसनले कोष बनाएको छ । 

यसअघि नै लियो फाउन्डेसनसँगको सहकार्यमा क्यान्सर भएका बच्चाका आफन्तलाई काठमाडौंमा खानेबस्ने र आउने-जाने खर्चको जोहो गरिँदै आएको उनले बताइन्। 
 

सामाग्री श्रोत :
swasthyakhabar

नेपाल जस्तो विविधता भएको मुलुकमा शिक्षा प्रणालीको दायित्व केवल किताबी ज्ञान प्रदान गर्नु मात्र होइन, जनताको सुख समृद्धि भलाइमा आधारित समाधान खोज्नु पनि हो। देशका हिमाली दुर्गम बस्तीदेखि शहरको व्यस्तता भित्र अनेकौँ कथा लुकेका छन्, ती अवसर, समस्या र चुनौतीहरुलाई पहिचान गरी त्यस सम्बन्धमा उचित नीति निर्माणको लागि आवश्यक प्रमाण संकलन र उपायको खोजी गर्ने जिम्मेवारी विश्वविद्यालयको हुनु पर्दछ, जहाँ जीवनमा अर्थ राख्ने प्रश्न र तथ्यमा आधारित समाधानहरू खोजिन्छन् । यो नै समुदायको भलाइलाई अग्रता दिने स्वभाविक दिशा हो। तर दुःखको कुरा, नेपालका विश्वविद्यालयहरू आज पनि अनुसन्धानले केन्द्रिय स्थान पाउन सकेको छैन- विशेष गरी स्वास्थ्य र सामाजिक सरोकारका विषयहरूमा। यो लेख अनुसन्धान संस्कृतिको यथार्थ, केही प्रेरणादायी अभ्यास,चुनौतीपूर्ण अवस्थाहरूर सुधारका सम्भावनाहरूमा केन्द्रित छ।

नेपालमा मातृ र शिशु मृत्युदर अझै उच्च छ । बालबालिकाको कुपोषण चिन्ताजनक अवस्थामा छ । नसर्ने रोगहरू बढ्दो क्रममा छन् । मानसिक स्वास्थ्य, उपेक्षित उष्ण तटीय रोगहरू भित्र-भित्रै व्यापक रुपमा फैलिदै छन। बढ्दो क्रममा  रहेको बृद्दहरुको जनसंख्याका कारण समाज, परिवार, र स्वय् त्यो समूहका मानिसले भोग्दै आएको विषम् परिस्थिती कतिपय अवस्थामा समस्याको रुप लिँदैछ । यस्ता जटिल स्वास्थ्य समस्याहरूको समाधान केवल नया अस्पताल वा स्वास्थ सस्था थप्दैमा वा अन्य उपचार सेवा विस्तारबाट सम्भव छैन । यसको लागि तथ्य प्रमाणमा आधारित नीति,समुदायको आवाज समेटिएको दृष्टिकोण र निरन्तरको अनुगमन चाहिन्छ। यसको लागि आधार भनेकै वर्तमान अवस्थाबाट अघि बढ्न मार्गनिर्देश गर्ने अनुसन्धान हुने गर्दछ।

उदाहरणका लागि,देशका केही ग्रामीण बस्तीहरूमा किन महिलाहरू गर्भजाँच गर्न, स्वास्थमा प्रसूती होस या प्रसूती पछीको जाचको लागी किन आई रहेका छैनन्? हाम्रा सबै बच्चाहरूको खोप, पोषण  होस् या सामान्य बिमारी पर्दा उचित स्वास्थ उपचार किन पाइरहेका छैनन्? किन तराईको उर्बर भूमिमा पनि धेरै मानिसहरु कुपोषित छन्? किन हाम्रा युवाहरू बढ्दो क्रममा मनोबैज्ञानिक सेवाको आवश्यकता महसुस गरिरहेका छन्? तिनको आवाज के हो? यस्ता प्रश्नहरू झुटो आश्वाशन, बहकाई, सानातिना अनुदान, सहयोग, तालिमले मात्र समाधान हुँदैन। स्थानीय सन्दर्भलाई बुझ्ने अनुसन्धान गरी त्यसको बस्तुपरक कार्यान्वन बिना वास्तविक परिवर्तन सम्भव छैन।

विश्वविद्यालयहरु के गर्दैछन् ?
नेपाल जस्तो सानो देशमा पनि १३ वटा विश्वविद्यालय, अनि त्यति संख्यामा बिषय केन्द्रित स्वायत्त शैक्षिक प्रतिष्ठानहरु खुलेका छन । ति अधिकांश विश्वविद्यालयहरूमा अनुसन्धान खासै प्राथमिकता पर्दैन । त्यहाँ अनुसन्धानको बारेमा पढाइ हुन्छ । आजकल स्नातक र स्नातकोत्तरका विद्यार्थीहरू थेसिस लेख्छन्,तर त्यो प्रायः औपचारिकता मात्रै हुन्छ। त्यस्ता थीसिसहरु कलेजमा बुझाउनमा मात्र सिमित हुन्छ । उनीहरुलाई अध्ययनको लागि प्रेरित गर्नु पर्ने प्राध्यापकहरू आफैँ पनि उचित वातावरण नपाएर आफनै अघुवईमा जीवन जगत र विज्ञानका लागि उपयोगी अध्ययन गर्न सकी रहेका छैनन् । उनीहरुलाई अध्ययनबृति सहज छैन, जेनतेन केही अध्ययन गर्दै रहेकाहरु पनि बिभिन्न व्यवस्थापकीय र प्रकाशनको झन्झटले जुधिरहेका हुन्छन्। फलस्वरूप कतिपय अब्बल प्राध्यापकहरू गहन अध्ययन भन्दा पनि प्रशासनिक वा राजनैतिक नियुक्तिको पछि लाग्दछन्।

प्राध्यापकहरु कै अनुसन्धानको अवस्था दयनीय भएको परिप्रेच्छामा कलेजले विद्यार्थीहरूलाई अनुसन्धानका नाममा केवल सर्भे फारम भराउने गरेका छन्। अनुसन्धान केवल डिग्री पूरा गर्नुपर्ने बन्धन जस्तो देखिन्छ। शिक्षाको यो अवास्था हुदा पनि विश्वविद्यालयहरु स्वय, विश्वविद्यालय अनुदान आयोग, सरकारी वा गैरसरकारी लगायत अन्य निकायहरुले विषय केन्द्रित भएर विश्वविद्यालयलाई अध्ययनको संस्कृती बिकासका लागि प्रयास गरेको पाइँदैन ।
एक त सरकारले बार्षिक कार्यक्रममा अध्ययन अनुशन्धानमा निक्कै काम बजेट छुट्याउने गरेको छ, त्यसमा पनि त्यस्ता अध्ययनहरु आन्तरिक प्रतिष्पर्धाबाट विश्वविद्यालय र विषय बिज्ञहरुलाई दिने गरेको छैन । फलस्वरूप उपलब्ध सिमित अध्ययनको बजेट पनि अनुत्पादक हुने गरेको छ।

स्वास्थ्य अनुसन्धानका केही आशलाग्दा उदाहरणहरू
सकारात्मक उदाहरणहरू पनि प्रशस्त छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो जनस्वास्थ्य कार्यक्रममा ‘डिजिटल हेल्थ’को परीक्षण गर्दै आएको छ। ललितपुरका ग्रामीण पालिकासँग सहकार्यमा गरिएको ‘डिजिटल परिवार स्वास्थ्य प्रोफाइल’ परियोजनाले समुदायमै स्वास्थ्य डेटा संकलन गरेर स्थानीय निर्णय प्रक्रियामा अनुसन्धानको प्रयोग गरिरहेको छ। त्यस्तै बिभिन्न रोग र तिनका औषधिको बारेमा पनि थुप्रै अध्ययन गरिएको छ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र ठूलो विश्वविद्यालय भएकोले यसले पनि बिगतमा धेरै राम्रा अध्ययन गरेको हो तर आजकल भने त्यहाँ पनि अध्ययनको नाममा सानातिना सर्भेमा सिमित हुने गरेको छ ।  काठमाण्डौं विश्वविद्यालयले नेपाल सरकारको स्रोत, विदेशी सहयोगमा स्वास्थमा केही आशलाग्दा केही अनुसन्धानका काम गर्दै आएको छ । त्यसका अलावा अन्य विश्वविद्यालयहरु र प्रतिष्ठानहरुले पनि केही अनुसन्धान गतिबिधि गरेका होलान । तर जब अनुसन्धान समुदाय र मानिसको जीवन र जगतका बिबिध सवालको उत्तर खोज्नसँग जोडिन्छ तब मात्र अनुसन्धानले अर्थ राख्छ। दुःखको कुरा,स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि अनैतिक अभ्यासहरू फैलिएका छन्। उदाहरणका लागि,कसैको स्वार्थ सिद्धी लागि अध्ययनको नतिजा प्रभावित पार्ने जस्ता काम हुने गर्दछ । हाम्रो बजारमा ब्यापक प्रचलनमा रहेका न्युत्रास्युटिकल त्यसका उदाहरण हुन् । स्वास्थ्य अनुसन्धानमा यस्तो अभ्यासले सार्वजनिक नीतिमा भ्रम फैलाउने,स्वास्थ प्रणाली बिगार्ने र जनस्वास्थ्यमा खतरनाक असर पार्न सक्छ।

अनुसन्धान संस्कृतिको जगेर्ना 
नेपालमा विश्वविद्यालय तहको शिक्षामा अध्ययन र अनुसन्धानको संस्कृति विकास गर्ने प्रयासहरू पछिल्लो दशकमा केही सशक्त बनेका छन्। सरकारी तर्फ,विश्वविद्यालय अनुदान आयोगले अनुसन्धान अनुदान,फ्याकल्टी र थेसिस सहयोगजस्ता कार्यक्रममार्फत शिक्षण संस्थाहरूलाई अनुसन्धानमैत्री बनाउने प्रयत्न गरिरहेको छ। राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, स्वास्थ तथा जनसख्या मन्त्रालय लगायत अन्य मन्त्रालयले मातहतका निकाय मार्फत नीति निर्माणमा सहयोग पुग्ने गरी अनुसन्धानलाई प्राथमिकता दिन थालेका छन्। यसै उद्देश्यका साथ उच्चस्तरमा नीति अनुसन्धान परिषद समेत गठन भएको छ । यदपी यस्ता निकायको कार्यक्रम कुनै विश्वविद्यालयले पाएका उदाहरण बिरलै छन । अर्को तर्फ, स्वास्थ र शिक्षामा राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूबाट पनि केही अनुसन्धान सहयोग गर्ने प्रतिबद्दता गरेको देखिन्छ। उनीहरु पनि त्यस्तो सहयोग विश्वविद्यालयहरूसँग सहकार्यमा  गर्दै अनुसन्धान लगानी,तालिम तथा प्राविधिक सहयोग पुर्‍याउँन उत्साहित देखिँदैन।

अबको बाटो
नेपालमा अनुसन्धान संस्कृतिको विकास अब विलासिता होइन,आवश्यकता हो। त्यसका लागि अनुसन्धानका लागि मार्गचित्र कोर्ने, विद्यार्थी अनुसन्धानलाई वास्तविक बनाउने, प्राध्यापकको समय संरचना पुनर्विचार गर्ने, सरकारी नीति अनुसन्धानमैत्री बनाउने उपायहरू तत्काल चालिनुपर्छ ।
नीति अनुसन्धान परिषद, स्वस्थ्य अनुसन्धान परिषद लगायतका निकायहरुलाई देशमा अध्ययनको वातावरण सृजना गर्न र नैतिक अनुगमन सुदृढ बनाउने परिलक्षित हुनु पर्दछ, त्यसका लागि समुदायमा आधारित अनुसन्धानका लागि स्पष्ट मार्गनिर्देश दिनुपर्छ। अनुसन्धान संस्थानहरूले गर्ने कामलाई ब्यबस्थित गर्न भूमिका खेल्नु पर्छ । अर्कोतर्फ विद्यार्थी अनुसन्धानलाई वास्तविक बनाउने अवसर छ । स्नातक र स्नातकोत्तर तहका अनुसन्धान परियोजनालाई स्थानिय सरकारका आवश्यकता र समस्यासँग जोडेर स्थानीय निकाय र कलेजको सहकार्य गर्नुपर्छ। त्यसको अलावा प्राध्यापकको समय संरचना पुनर्विचार गर्ने पर्ने पनि अति आवश्यक छ । विश्वविद्यालय वा कलेज वा बिद्यालयमा संलग्न व्यक्तिलाई आफ्नो पेशा, कार्यरत सस्था र समाजको हित हुने बिषयमा अध्ययन अनुसन्धानका लागि समय, प्राबिधीक र आर्थिक सहयोग गर्ने परिपाटी विकास गर्ने।  

राज्यले सरकारी नीति अनुसन्धानमैत्री बनाउने अर्को सम्भावना पनि छ, बिभिन्न तहका सरकारहरूले नीति निर्माणका लागि स्थानीय विश्वविद्यालय, कलेजको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बाध्यात्मक ब्यवस्था गर्नुपर्छ,जस्तै सामाजिक सेवाको उपयोगिता, सेवाको पहुँच, समाजमा आएको परिवर्तन, वातावरणीय जोखिम आदि। हरेक गतिला अध्ययनका लागि स्रोतको आवश्यकता अपरिहार्य हुन्छ अत: अनुदान प्रणालीमा पारदर्शिता र अनुगमन हुनुपर्छ । विश्वविद्यालय अनुदान आयोग, बिभिन्न मन्त्रालयले अनुसन्धानलागि प्रदान गर्ने सहयोग लगायत अनुदान दिने मात्र होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूबाट अनुसन्धानमा छुटयाएको राशी र त्यो प्राप्त गर्ने बिधि पद्दतिलाई राज्यले अनुगमन र व्यवस्थित गर्नुपर्छ।

निष्कर्ष
नेपालका विश्वविद्यालयहरूमा थुप्रै प्रतिबद्ध शिक्षक, जिज्ञासु विद्यार्थी र समाज प्रतिको उत्तरदायित्व भएका अनुसन्धानकर्ता छन्। तर तिनीहरूको प्रयास संगठित, संरचित र समर्थन प्राप्त हुन सकेको छैन। विशेषगरी स्वास्थ्य जस्तो विषयमा, जहाँ जनताको जीवन र मृत्युको सिमानामा निर्णय हुन सक्छ, अनुसन्धानको भूमिका झनै निर्णायक हुन्छ। उच्च शिक्षामा अनुसन्धानको महत्व बढदै गएको भए पनि अझ स्पष्ट नीति,पर्याप्त लगानी,र अनुसन्धान-अनुकूल वातावरणको आवश्यकता अझै बाँकी छ। अनुसन्धानको संस्कृति बलियो बनाउन राज्य,  शैक्षिक निकायहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरूको प्रतिबद्धता र सहकारी अपरिहार्य हुन्छ।

अब हामीले अनुसन्धानलाई किन गर्ने भन्ने होइन, कसरी गर्ने, कसरी संस्थागत बनाउने भन्ने प्रश्न उठाउनु पर्छ। विश्वविद्यालय, स्वास्थ्य संस्था, स्थानीय सरकार र नीति निर्माता मिलेर यस्तो अनुसन्धान संस्कृतिको निर्माण गर्नुपर्छ, जसले जनताको जीवनमा साँचो सुधार ल्याउन सकोस्।

(लेखक पाटन स्वास्थ बिज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ ।)

सामाग्री श्रोत :
swasthyakhabar

नेपालमा हाल गैर-संक्रामक रोग- जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोग, मिर्गौलासम्बन्धी समस्या आदिका कारण मृत्यु हुने दर अत्यन्त उच्च छ। यी रोगहरू प्रायः ४० वर्षपछिको उमेर समूहमा देखिन्छन्, र उमेरसँगै जोखिम बढ्दो हुन्छ। रोग नदेखिए पनि शारीरिक परिवर्तन, बोसोको मात्रा र जीवनशैलीको असरले भविष्यमा गम्भीर समस्या ल्याउन सक्छ।

यस्ता जोखिमहरूको सुरुवाती पहिचान र नियन्त्रण गर्न जापानले सन् २००८ मा ‘मेटाबो कानून’ लागू गरेको थियो, जुन अब नेपालले पनि आफ्नो सन्दर्भमा स्वीकारेर मेटाबो-शैली कार्यक्रम सञ्चालन गर्न सक्ने समय आएको छ।

मेटाबो कानून के हो?
मेटाबो कानून , जापान सरकारले सन् २००८ मा लागू गरेको एउटा राष्ट्रिय सार्वजनिक स्वास्थ्य कार्यक्रम हो, जुन मेटाबोलिक सिन्ड्रोमलाई लक्षित गरी बनाइएको हो।

मेटाबो कानूनका प्रमुख विशेषताहरू:
•    उमेर समूह: ४० देखि ७४ वर्षका सबै नागरिकका लागि यो कार्यक्रम अनिवार्य छ।
•    स्वास्थ्य परीक्षण: प्रत्येक वर्ष पेटको घेराइ (waist circumference), BMI, रक्तचाप, चिनी, कोलेस्ट्रोल जाँच गरिन्छ।
•    सीमाहरू:
o    पुरुषको पेटको घेराइ: ८५ से.मी. भन्दा बढी भएमा जोखिमयुक्त मानिन्छ।
o    महिलाको पेटको घेराइ: ९० से.मी. भन्दा बढी।
•    जोखिम देखिएमा: तीन महिनादेखि छ महिनासम्मको व्यक्तिगत परामर्श, खानपान सुधार योजना, व्यायाम तालिका, मानसिक स्वास्थ्य सम्वाद दिइन्छ।

बीमा कम्पनीहरूको भूमिका:
•    बीमा कम्पनी तथा कार्यस्थलले आफ्ना सदस्यहरूको स्वास्थ्य सुधारमा योगदान दिनुपर्छ।
•    बीमा कम्पनीले आफ्ना सेवाग्राहीको पेटको मापन, चिनी, दबाब आदि परीक्षण गरेर तिनीहरूको स्वास्थ्य सुधार गर्न सहयोग गर्नु पर्छ। यदि उनीहरूले यो कार्य नगरेमा, वा सुधार नभएमा, सरकारले ती बीमा कम्पनीहरूलाई आर्थिक जरिवाना तिराउँछ।

मेटाबो कानून किन ल्याइयो?
कारणहरू:
१. जनसंख्या बृद्धि र बुढ्यौली: जापानको जनसंख्या तीव्र रूपमा बुढो हुँदै गइरहेको छ। स्वास्थ्य प्रणालीमा पर्ने दबाब घटाउन रोगको सुरुवाती अवस्थामै नियन्त्रण आवश्यक थियो।

२.  मोटोपन र मधुमेहको दर बढ्दै थियो: सन् १९९० पछाडि जापानमा पश्चिमी खानपान र शारीरिक निष्क्रियता बढेपछि मोटोपन र मधुमेह तीव्र रूपमा वृद्धि भयो।

३. स्वास्थ्य खर्चको बढ्दो भार: दीर्घकालीन उपचारमा बढ्दो खर्चलाई कम गर्न रोकथाम-केन्द्रित उपाय अपरिहार्य बन्यो।
४. रोग नदेखिँदा पनि जोखिम थुप्रै: पेटको बोसो, रक्तचाप वा चिनीको थोरै वृद्धिले पनि भविष्यमा ठूलो असर पार्ने देखिएकाले Risk Profiling आवश्यक भयो।

जापानले के उपलब्धि हासिल गर्‍यो?
•    मोटोपनको वृद्धि रोकियो: वयस्क मोटोपनको वृद्धि दर स्थिर रहन गयो।
•    रक्तचाप, चिनीको नियन्त्रणमा सुधार: मापदण्ड अनुसारको परामर्श र जीवनशैली सुधारले दीर्घकालीन सुधार ल्यायो।
•    स्वास्थ्य खर्च घट्यो: रोग लाग्नुअघि नै नियन्त्रण गरेपछि उपचार खर्च घट्ने प्रमाणित भयो।
•    कम्पनीको सहभागिता बढ्यो: कार्यस्थलबाटै स्वास्थ्य प्रवर्द्धन गर्ने प्रवृत्ति बलियो बन्यो।

नेपालको सन्दर्भमा यस्तो कार्यक्रम किन आवश्यक छ?
नेपालमा:
•    ३० वर्ष नाघेका धेरै व्यक्तिहरूमा पेटको बोसो, चिनी र दबाब उच्च देखिन्छ।
•    मधुमेहका करिब ५० प्रतिशत व्यक्तिहरूलाई रोग भएको थाहा नै छैन।
•    स्वास्थ्य संस्थाहरू उपचारमुखी छन्, रोकथाममुखी कार्यक्रम कम छन्।
•    युवा पुस्ता पनि मोटोपनको जोखिममा छ, जसले ४० पछि गम्भीर रोग ल्याउने सम्भावना बढाउँछ।

संरचनात्मक सम्भावना
•    देशभरिका स्वास्थ्य चौकी, नगर अस्पताल, पालिका स्वास्थ्य विभागमा आवश्यक पूर्वाधार छन्।
•    स्वास्थ्य स्वयंसेवक  र स्थानीय सरकारबीच समन्वय गर्न सकिने अवस्था छ।
•    जनचेतना कार्यक्रम डिजिटल माध्यम, रेडियो, मेला तथा स्वास्थ्य शिविरमार्फत सम्भव छ।

 नेपालमा मेटाबो-शैली कार्यक्रम कसरी लागू गर्न सकिन्छ?
क) ४०+ स्वास्थ्य सचेतना र परीक्षण अभियान:
•    प्रत्येक नगरपालिका वा वडामा ४० वर्षभन्दा माथिका नागरिकका लागि:
o    पेटको घेराइ मापन
o    बीएमआई, रक्तचाप, चिनी र कोलेस्ट्रोल परीक्षण
•    स्वास्थ्य चौकीहरूले ‘मेटाबो कार्ड’ वितरण गर्न सक्छन् जसमा वर्षेनी मापन भर्ने व्यवस्था होस्।

ख) कार्यस्थल–केन्द्रित रणनीति
•    सरकारी कार्यालय, उद्योग, बैंक तथा विद्यालयहरूमा:
o    वर्षेनी ‘हेल्थ अडिट’
o    जोखिम देखिएकालाई पोषण, मानसिक स्वास्थ्य र व्यायाम तालिम

ग) प्रोत्साहन र दण्ड नीति
•    स्वस्थ जीवनशैली कायम राख्ने व्यक्तिलाई बीमा छुट, प्रशंसा वा पुरस्कार।
•    जोखिम भएका व्यक्तिलाई नियमित भेटघाटमा सहभागी हुन प्रेरणा।

घ) स्थानीय स्रोत र बजेटको उपयोग:
•    वार्षिक स्वास्थ्य जाँचका लागि स्थानीय तहबाट बजेट विनियोजन गरिनुपर्छ।
•    मापदण्ड अनुसार स्वास्थ्य स्वयंसेवकलाई तालीम दिएर समुदायमै मापन गराउने।

संभावित लाभ
•    रोग लाग्नुअघि पहिचान र नियन्त्रण हुने।
•    स्वस्थ जीवनशैली अपनाउने बानी बस्ने।
•    दीर्घकालीन उपचार खर्च घट्ने।
•    कार्यस्थलको उत्पादकत्व बढ्ने।
•    कम समयमा, सस्तोमा जनस्वास्थ्य सुधार हुने।

निष्कर्ष
जापानको मेटाबो कानून केवल कानुनी प्रावधान नभई सशक्त, वैज्ञानिक र पूर्वसक्रिय सार्वजनिक स्वास्थ्य रणनीति हो। नेपालले यसको सैद्धान्तिक ढाँचा आफ्नो सामाजिक र भौगोलिक अवस्थाअनुसार स्थानीय सरकार-केन्द्रित, समुदाय–साझेदार कार्यक्रममार्फत लागू गर्न सक्छ।

अब रोग लागेपछि मात्रै उपचार गर्ने होइन, रोग लाग्नै नदिने उपायहरू हाम्रो राष्ट्रिय प्राथमिकता बन्नुपर्छ। स्वास्थ्य नीतिमा ४० वर्षपछिको उमेर समूहलाई लक्षित मेटाबो–शैली कार्यक्रम अबको आवश्यकता हो, जसले नेपालको दीर्घकालीन स्वास्थ्य भविष्य सुरक्षित बनाउनेछ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्र्तगतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन्।

फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै  मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए । यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भैरहेको भन्दै उनले एसियाली देशहरुसँग सहकार्यका लागि तयार रहेको बताए।

आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए।

मन्त्री पौडेलले फोरमअन्र्तगतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे।

जलवायु उत्पन्न स्वास्थ्य संकटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने दृढता व्यक्त गरे।


 

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेट गर्दै स्वास्थ्य सहकार्यका लागि आग्रह गरेका थिए।

नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीसमेत सहभागी द्विपक्षीय भेटमा हेटौंडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्यूरो उपचार केन्द्र लगायतका विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ।

मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि योगदान पुर्‍याउन आग्रह गरे । 
 

सामाग्री श्रोत :
swasthyakhabar

प्रोस्टेट ग्रन्थी के हो?
प्रोस्टेट ग्रन्थी पुरुष प्रजनन प्रणाली अन्तर्गत पर्ने एउटा महत्वपूर्ण अंग हो, जुन केवल पुरुषहरूमा मात्र पाइन्छ। यो मूत्राशयको ठीक तल र मूत्रनलीको सुरुवातमा अवस्थित हुन्छ, र मूत्रनलीलाई घेरेर बसेको हुन्छ।
प्रोस्टेट ग्रन्थीको काम
साधारणतया, प्रोस्टेटको आकार एउटा अखरोट जत्रो हुन्छ। यसको मुख्य काम वीर्य उत्पादनमा आवश्यक तरल पदार्थ बनाउनु हो, जसले शुक्राणुलाई जीवित राख्न र सक्रिय बनाइराख्न मद्दत गर्छ।

मुख्य कार्यहरू:
•    वीर्य उत्पादनमा सहयोग
•    शुक्राणुको सुरक्षा र पोषण
•    वीर्यलाई मूत्रनली हुँदै बाहिर निकाल्न सहयोग
प्रोस्टेट सम्बन्धी सामान्य समस्याहरू
१. प्रोस्टेट ग्रन्थीको वृद्धि
उमेरसँगै प्रोस्टेटको आकार बढ्न सक्छ। यसले मूत्रनलीमा दबाब दिई पिसाब गर्न गाह्रो पार्न सक्छ।
२. प्रोस्टेट संक्रमण 
प्रोस्टेट ग्रन्थीमा संक्रमण हुँदा दुखाइ, ज्वरो, र पिसाब गर्दा जलन हुने जस्ता लक्षण देखिन्छन्।
३. प्रोस्टेट क्यान्सर
प्रोस्टेट ग्रन्थीमा हुने एक प्रकारको घातक क्यान्सर हो। सुरूवाती चरणमा खासै लक्षण नदेखिन सक्छ, त्यसैले समयमै स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ।

प्रोस्टेट स्वास्थ्य परीक्षणका उपायहरू
•    पीएसए  टेस्ट: रगतमा प्रोस्टेट सम्बन्धी प्रोटिनको स्तर जाँचिन्छ।
•    डिजिटल रेक्टल एक्जामिनेसन: डाक्टरले औँलाको सहायताले गुद्द्वार हुँदै प्रोस्टेटको आकार र बनावट जाँच गर्छन्।

इनलार्ज्ड प्रोस्टेट के हो?
इनलार्ज्ड प्रोस्टेट भनेको उमेरसँगै प्रोस्टेट ग्रन्थीको आकार बढ्नु हो। यो समस्या प्रायः ५० वर्ष भन्दा माथिका पुरुषहरूमा देखिन्छ।

मुख्य लक्षणहरू:
•    पिसाब गर्न गाह्रो हुने
•    बारम्बार पिसाब लाग्ने
•    पिसाब राम्रोसँग ननिस्कने
•    राति पटक–पटक उठेर पिसाब गर्नुपर्ने

इनलार्ज्ड प्रोस्टेटको उपचार विकल्पहरू
१. औषधि उपचार
प्रोस्टेटको आकार घटाउने वा मूत्र प्रवाह सहज बनाउने औषधिहरू प्रयोग गरिन्छ।
२. जीवनशैलीमा परिवर्तन
•    कफी, चिया, मदिरा र धेरै पानी रातिको समयमा कम सेवन गर्ने
•    एकैचोटि पिसाब पूरा गरिसकेर उठ्ने बानी बसाल्ने
•    पिसाब रोक्ने बानी नबसाल्ने
•    नियमित व्यायाम र तौल नियन्त्रणमा राख्ने
३. शल्यक्रिया वा अन्य उपचार विधिहरू
•    सामान्य सर्जरी
•    नन-सर्जिकल प्रविधिहरू 
•    प्रोस्टेटिक स्टन्ट जडान कहिले डाक्टरसँग सम्पर्क गर्ने?
•    पिसाब रोकिएर पेट दुख्न थालेमा
•    पिसाबमा रगत देखिएमा
•    अत्यधिक थकान, वाकवाकी वा ज्वरो आउँदा
•    औषधिले काम नगरेको अवस्थामा

प्रोस्टेट ग्रन्थी पुरुष स्वास्थ्यको महत्वपूर्ण अंग हो। उमेरसँगै यसमा समस्या आउनु स्वाभाविक भए पनि समयमै परीक्षण र उपचार गरिएमा गम्भीर समस्या हुन दिइन सक्छ।

इनलार्ज्ड प्रोस्टेटका लागि औषधि, जीवनशैली परिवर्तनदेखि शल्यक्रिया सम्मका उपचार विकल्पहरू उपलब्ध छन्। कुन उपचार उपयुक्त हुन्छ भन्ने निर्णय बिरामीको उमेर, लक्षणको गम्भीरता र सम्पूर्ण स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकले गर्छन्।

(डा अन्सारी नेपाल मेडिकल कलेजका कन्सल्टेन्ट युरोलोजिस्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन हुन्।)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूम्रपान पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले गत असार ३२ गते सम्पन्न नगर सभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गर्ने व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार साउन ९ गतेदेखि एक महिनासम्म यसबारे प्रचारप्रसार गरिनेछ भने भदौ १ गतेबाट कारबाही प्रक्रिया सुरु हुनेछ।

सार्वजनिक स्थानमा धूम्रपान गरेको पाइएमा पहिलोपटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ। दोहोर्‍याएर उल्लंघन गरेमा जरिवाना दोब्बर गरिने व्यवस्था छ।

प्रमुख पाण्डेले भने, ‘सार्वजनिक स्थानमा धूम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि हाम्रो हटलाइनमा त्यस्तो गुनासो धेरै आएको थियो। अब निजी बाहेकका सबै स्थलहरूमा धूम्रपान निषेध गरिएको छ।’

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन अनुसार सार्वजनिक स्थल

३. सार्वजनिक स्थल मानिनेः (१) देहायको स्थललाई सार्वजनिक स्थल मानिनेछ:–

(क) राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय,
(ख) शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था,
(ग) विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
(घ) बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब,
(ङ) सार्वजनिक शौचालय,
(च) उद्योग तथा कल कारखानाका कार्यस्थल,

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “कार्यस्थल” भन्नाले उद्योग तथा कल कारखानाले काम गर्न छुट्याएको कार्यालय वा स्थल सम्झनुपर्छ ।

(छ) चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
(ज) होटल, मोटल, रिसोर्ट, रेष्टुरेण्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह,
(झ) रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस,
(ञ) डिपार्टमेण्टल स्टोर तथा मिनी मार्केट,
(ट) धर्मशाला तथा धार्मिक स्थल,
(ठ) सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउण्टर ।
(२) उपदफा (१) मा उल्लिखित स्थलको अतिरिक्त कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थल समेत सार्वजनिक स्थल मानिनेछ ।

४. सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न नहुनेः (१) कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्ति सेवन गर्न पाउने छैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकले कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटलको कुनै खास ठाउमा अन्य व्यक्तिलाई प्रतिकूल असर नपर्ने गरी धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम धूम्रपान तथा सूर्ति सेवनको लागि छुट्याइएको ठाउँमा कायम गर्नु पर्ने आधारभूत कुराहरु तोकिए बमोजिम हुनेछन्।
५. सूचना टास गर्नु पर्ने : व्यवस्थापकले आफुसग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउ“मा धूम्रपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टास गर्नु पर्नेछ ।
६. घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न नहुनेः कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधनभित्र धूम्रपान गर्न हुँदैन ।

 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट