२०८२ भाद्र ६ शुक्रबार
२०८२ भाद्र ६ शुक्रबार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्न वाणिज्य बैंकहरूसँग सिलबन्दी प्रस्ताव आह्वान गरेको छ । एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकहरूलाई आफूले लगानी गर्न चाहेको रकम र दिनसक्ने अधिकतम ब्याजदरसहित प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

सूचनाअनुसार, इच्छुक बैंकहरूले यही असार ६ गते शुक्रबार दिउँसो ३ बजेभित्र प्राधिकरणको आर्थिक प्रशासन शाखा, जमलमा आफ्नो सिलबन्दी कोटेशन पेश गरिसक्नुपर्नेछ । प्राधिकरणले ६ महिनादेखि एक वर्षसम्मको अवधिका लागि उक्त रकम मुद्दती खातामा राख्न चाहेको हो ।

प्रस्ताव पेश गर्दा बैंकहरूले आफ्नो पुँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृय कर्जा प्रतिशत (NPL), कर्जा-पुँजी-निक्षेप अनुपात (Credit Capital Deposit Ratio), वैधानिक तरलता अनुपात र खुद तरलता अनुपातजस्ता पाँच ओटा वित्तीय सूचकहरू अनिवार्य रूपमा खुलाउनुपर्नेछ । प्राधिकरणले यी सूचकहरू २०८१ चैत मसान्तको प्रकाशित वित्तीय विवरणमा आधारित हुनुपर्ने शर्त राखेको छ ।

यसका साथै बैंकले प्रस्ताव गरेको ब्याजदर कम्तीमा १५ दिनसम्मका लागि मान्य हुनुपर्ने र तोकिएका विवरणहरू उपलब्ध नगराउने बैंकको प्रस्ताव स्वतः रद्द हुने सूचनामा उल्लेख छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले प्राप्त गरेको वार्षिक आयको दुई प्रतिशतले हुन आउने रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । कोषमा रकम निष्क्रिय अवस्थामा रहेपछि प्राधिकरणले समय-समयमा बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: असार ५, २०८२ ८:२३





सामाग्री श्रोत :
टेक पाना

बनियानी – डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई रु एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिए । 

कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई रु ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रु एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उनले बताए । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रु ११ लाख १८ हजार ६२८, हात्तीले २२ वटा घरको क्षति पुर्याएबापत रु चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पुर्याएबापत रु एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पुर्याएबापत रु दुई लाख ७९ हजार ८०० र एउटा पशुधनको क्षतिपूर्तिबापत रु १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा भलले जानकारी दिए । 

Ncell 2
Ncell 2

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई रु ८७ लाख २४ हजार ५३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा भलले बताए ।  “हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा रु दुई लाख दिने व्यवस्था छ”, उनले भने, “अङ्गभङ्ग भएकालाई रु पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उनी बताउँछन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको आरोपसहितको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्यसप्रति आपत्ति जनाउँदै आफूविरुद्ध सुनियोजित चरित्रहत्या भइरहेको आरोप लगाएकी छन् ।

श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै आफूले कसैलाई अख्तियारमा उजुरी दिन भनेको वा निर्देशन दिएको कुरा पूर्णतः गलत र भ्रामक भएको दाबी गरिन् ।

सार्वजनिक भिडिओमा सांसद श्रेष्ठले ठगीमा परेका केही व्यक्तिलाई अख्तियारमा उजुरी दिन उक्साएको, उजुरीको निवेदन लेखिदिएको र त्यसमा गृहमन्त्री रमेश लेखकको समेत नाम उल्लेख गर्न लगाएको आरोप लगाइएको थियो ।

“मेरो निर्देशनमा यस्तो काम भयो भन्ने अफवाहप्रति खेदप्रकटसहित खण्डन गर्दछु । यो मेरो चरित्रहत्या गर्न गरिएको सुनियोजित प्रयास हो,” उनले भनेकी छन् ।

“जनप्रतिनिधिको हैसियतले जनताको गुनासो सुन्नु मेरो कर्तव्य हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “मैले उहाँहरूको समस्या सुनेर कानुनी उपचारतर्फ जान सुझाव दिएलगत्तै संसद भवनतर्फ लागेकी थिएँ ।”

उनले व्यक्तिले व्यक्तिलाई ठगी गरेको मुद्दा अख्तियारको क्षेत्राधिकारमा नपर्ने र यस्तो सुझाव दिनु पीडितलाई थप पीडा दिनुसरह हुने तर्क गरेकी छन् । “असम्बन्धित निकायमा उजुरी गर्दा पीडित पुनः पीडित हुन्छन् र पैसा फिर्ता पाउने प्रक्रियामा कुनै प्रगति हुँदैन । यस्तो सुझावले उल्टै पीडितलाई थकाउने काम मात्र हुन्छ,” उनले भनेकी छन्।

सांसद श्रेष्ठले यस्तो गलत कार्य रास्वपाको कार्यालयमा भएको हो भने त्यसबारे छानबिन हुनुपर्ने मागसमेत गरेकी छन् । उनले यस विषयमा पार्टीका कार्यवाहक सभापतिलाई ध्यानाकर्षण गराइसकेको र पार्टीले सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको जानकारी दिएकी छन् ।

उनले मानव तस्करी जस्तो जघन्य अपराधसँग जोडिएको भिजिट भिसा प्रकरणलाई विषयान्तर गर्न र पीडकलाई जोगाउन यस्ता गतिविधिहरू भएको हुन सक्ने आशंका व्यक्त गरेकी छन्  । “न्यायमा अड्चन गराउने तथा पीडकहरूलाई जोगाउन गरिने कुनै पनि किसिमका प्रयासहरूप्रति मेरो गम्भीर आपत्ति छ,” उनले भनेकी छन् ।

यसअघि संसदमा बोल्दै गृहमन्त्री रमेश लेखकले रास्वपालाई संकेत गर्दै पार्टी कार्यालय किर्ते र जालसाँजीपूर्ण पीडित तयार गर्ने थलोमा परिणत हुँदै गएको आरोप लगाएका थिए । पार्टी कार्यालयमा नक्कली पीडित बोलाएर आफ्नो विरुद्ध जाहेरी दर्ता गराउने काम भइरहेको भन्दै उनले यस्ता काममार्फत राजनीतिक उद्देश्य पूरा गर्न नलाग्न चेतावनी दिएका थिए ।


पछिल्लो अध्यावधिक: असार ५, २०८२ ७:३९





सामाग्री श्रोत :
टेक पाना

नवलपुर – निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताए । त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गरे । 

Ncell 2
Ncell 2

पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उनले आग्रह गरेका छन् । त्यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गरे । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उनको भनाइ छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं, नेपालको प्राथमिकता स्वदेशभित्रैको मर्यादित रोजगारी रहेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् । मन्त्री भण्डारीले श्रमिकको सबै अधिकार संरक्षणमा नेपाल प्रतिबद्ध रहेको बताए ।
स्वीजरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११३औं अधिवेशनमा बोल्दै मन्त्री भण्डारीले नेपालले आन्तरीक रोजगारीको दशक सुरु गरेको, सीप विकासका लागि प्रतिष्ठान मार्फत काम थालेको भन्दै यसले आन्तरिक श्रम बजारका साथै विश्व श्रम बजारमा पनि दक्ष जनशक्ति उपलव्ध गराउने लक्ष्य रहेको बताए ।
मन्त्री भण्डारीले नेपालको जोड न्यायोचित भर्ना प्रकृयामा रहेको भन्दै मर्यादित रोजगारीमा जोड दिए । श्रम आप्रवासन नेपालको विकास र अन्तर्राष्ट्रिय सहभागिताको एक महत्वपूर्ण पक्ष रहेको भन्दै मन्त्री भण्डारीले तर अब नेपाल आवश्यकताबाट प्रेरित श्रम आप्रवासनभन्दा अघि बढेर, सचेत, सशक्त, र सम्मानजनक विकल्पको मोडेलतर्फ अगाडि बढ्न चाहेको बताए ।
मन्त्री भण्डारीले नेपालले औपचारिक रोजगारी र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आधारित समग्र सुधार एजेण्डा अगाडी बढाईरहेको बताए । श्रम निरीक्षण, रोजगारी मिलान, सीप प्रोफाइलिङ, उद्यम दर्ता र श्रम विवाद समाधानका लागि एकीकृत प्रणाली स्थापना गरिएको भन्दै मन्त्री भण्डारीले तिनिहरुलाई सामाजिक सुरक्षा कोषसँग अन्तरसम्बन्धित बनाइएको जानकारी दिए ।
पढ्नुहोस् मन्त्री भण्डारीको सम्वोधन
यस ऐतिहासिक सम्मेलनमा उपस्थित हुन पाउनु मेरो लागि एक विशेष गौरवको विषय हो। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) लाई यति सान्दर्भिक र महत्वपूर्ण सम्मेलन आयोजना गरेकोमा नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। तीव्र प्रविधिगत परिवर्तन, जनसांख्यिकीय रूपान्तरण, र निरन्तर चलिरहेका विश्वव्यापी संकटहरूको बीचमा पनि, ILO सामाजिक न्याय र बहुपक्षीय सहकार्यको प्रतिकको रूपमा कार्य गरिरहेकै छ।
नेपालले समावेशी आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, र सामाजिक सुरक्षामा पहुँच विस्तारमा पछिल्लो केही वर्षमा उल्लेखनीय प्रगति गरेको छ। यी उपलब्धिहरू विविध चुनौतीपूर्ण परिवेशहरू—प्राकृतिक प्रकोप, महामारीको दीर्घकालीन प्रभाव, संरचनागत श्रम बजारको समस्या, र जलवायु परिवर्तनजन्य जोखिमहरू—बीच हासिल गरिएका हुन्।
हामी पूर्ण रूपले सचेत छौं कि विकास केवल वृद्धि मात्र होइन, न्याय र समानताको साथमा हुनुपर्छ। त्यसैले हाम्रो दृष्टिकोण “अधिकारसहितको रोजगारी, समावेशी विकास, र गरिमायुक्त समृद्धि” मा आधारित छ। यसै सन्दर्भमा, म हाम्रो श्रम तथा रोजगार रणनीति यहाँ प्रस्तुत गर्न चाहन्छु।
हामीले रोजगार सृजनालाई विकासको मूल आधारका रूपमा स्थापना गरेका छौं। नेपालको सरकारले यस दशकलाई “आन्तरिक रोजगारी प्रवर्द्धन दशक” घोषणा गर्दै सार्वजनिक-निजी साझेदारी तथा विकास सहकार्यमार्फत रोजगार-प्रधान क्षेत्रमा लगानी वृद्धि गरिरहेको छ। यसलाई सहयोग पुर्‍याउन हामीले राष्ट्रिय व्यावसायिक तालिम प्रतिष्ठानलाई पुनःसंरचना गर्दै भविष्य-उन्मुख सीप विकासको केन्द्र बनाएका छौं। डिजिटल, हरित र उद्यमशीलता-आधारित सीपहरूमा विशेष ध्यान दिइएको छ, जसमा निजी क्षेत्र, नागरिक समाज, र विकास साझेदारहरूको सहकार्यमा हामीले श्रमशक्तिलाई स्वदेश तथा वैदेशिक रोजगारीका लागि तयार गरिरहेका छौं—सुरक्षित, मर्यादित, र नैतिक श्रम सर्तसहित।
नेपालले औपचारिक रोजगारी र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आधारित समग्र सुधार एजेण्डा अघि बढाइरहेको छ। श्रम निरीक्षण, रोजगारी मिलान, सीप प्रोफाइलिङ, उद्यम दर्ता, र श्रम विवाद समाधानका लागि एकीकृत प्रणाली स्थापना गरिएका छन्, जसलाई सामाजिक सुरक्षा कोषसँग अन्तरसम्बन्धित बनाइएको छ। हाम्रो “औपचारिकता सम्बन्धी राष्ट्रिय कार्य योजना” ले ILO को समीक्षा प्रक्रियामा सकारात्मक अन्तर्राष्ट्रिय मान्यता पाएको छ, जुन अधिकारमा आधारित रोजगारीतर्फको महत्वपूर्ण संक्रमण हो।
श्रम आप्रवासन नेपालको विकास र अन्तर्राष्ट्रिय सहभागिताको एक महत्वपूर्ण पक्ष हो। तर अब हामी आवश्यकताबाट प्रेरित श्रम आप्रवासनभन्दा अघि बढेर, सचेत, सशक्त, र सम्मानजनक विकल्पको मोडेलतर्फ अगाडि बढ्न चाहन्छौं।
हामी सबैका लागि समावेशी, सार्वभौमिक, र दिगो सामाजिक सुरक्षा प्रणालीप्रति प्रतिबद्ध छौं। हाम्रो योगदानमा आधारित योजना अन्तर्गत स्वास्थ्य, प्रसूति, उद्धार तथा राहत, व्यावसायिक चोट, अपाङ्गता, र पेन्सन सुविधाहरू समेटिएको छ। अहिले यस योजनाले असंगठित क्षेत्रका श्रमिक र फर्केका आप्रवासी श्रमिकलाई पनि समेट्न थालेको छ—सामाजिक न्यायको यात्रामा कसैलाई पनि पछाडि नछोड्ने हाम्रो संकल्पअनुसार।
नेपालले लोकतान्त्रिक श्रम प्रशासन सुदृढ गर्न त्रिपक्षीय संवादको अपरिहार्यता स्वीकार्छ। यसमा सरकार, श्रमिक, र रोजगारदाता सबैको प्रतिनिधित्व रहने श्रम प्रशासन प्रणालीलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने कार्य भइरहेको छ—हाम्रो संघीय संरचनाको अनुरूप।
अन्तर्राष्ट्रिय स्तरमा, नेपाल द्विपक्षीय, क्षेत्रीय, र बहुपक्षीय सहकार्यलाई निरन्तर सुदृढ गर्न प्रतिबद्ध छ। हामी न्यायोचित आपूर्ति श्रृंखला, सीप मान्यता, नैतिक भर्ती, र श्रम गतिशीलता प्रशासनका विषयमा सक्रिय रूपमा संलग्न छौं। अन्तर्राष्ट्रिय सहकार्यलाई हामी विकल्प नभई, साझा समृद्धि, समानता, र शान्तितर्फको हाम्रो उत्तरदायित्वका रूपमा हेर्छौं।
हामीले भविष्यमा अग्रसर हुँदा, “कामको गरिमा, श्रमिकको आवाज, र न्यायसंगत तथा समानतापूर्ण मूल्यमा आधारित नीति तथा साझेदारी” लाई केन्द्रमा राख्ने नयाँ विश्व ऐक्यभावको भावना आवश्यक छ। नेपाल “श्रमको मर्यादायुक्त एजेण्डा (Decent Work Agenda)”प्रति पूर्णरूपमा प्रतिबद्ध छ ।

सामाग्री श्रोत :
deshparadesh

Ncell 2
Ncell 2

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

 

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६० पैसा र बिक्रीदर १८६ रुपैयाँ ४१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५  पैसा र बिक्रीदर ९० रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०४ पैसा  र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २८ पैसा र बिक्रीदर २१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५२ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६० रुपैयाँ १६ पैसा रहेको छ ।

 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडीभित्रबाट ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिच्ने युट्युबर प्रकाशचन्द्र दाहाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहाललाई पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

इजलासका क्रममा बयान दिँदै दाहालले तीनकुने घटानामा समाचार सम्प्रेषण गर्ने काम मात्र गरेको र कुनै पनि लुटपाट र समाजलाई आतङ्कित बनाउने काम नगरेको बताएका थिए । उनले उक्त दिन आफ्नो च्यानलबाट प्रत्यक्ष प्रसारण गरेको समेत देखिएको भन्दै जिल्ला अदालतले पाँच हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

“प्राप्त प्रमाणबाट निज प्रतिवादीले पत्रकारिताको पेशागत कार्य अन्तर्गत मिति २०८१/१२/१५ गतेको जनविद्रोह घोषणा सभास्थल लगायतका स्थलको प्रत्यक्ष प्रशारण सम्म गरेको देखिएको अवस्थामा निजलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने सम्मको अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे वमोजिम हुने नै हुँदा…” आदेशमा भनिएको छ ।

चैत १५ गतेको प्रदर्शनमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईं प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गर्दै तीनकुनेबाट बानेश्वरस्थित संसद् भवनतर्फ जाँदै थिए । सोही क्रममा गाडीमै सवार प्रकाशचन्द्र दाहालले प्रसाईंले ‘आओ, आओ’ भन्दै भिडलाई आफूतिर बोलाइरहेको दृश्य खिचेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोपछि उनीविरुद्ध आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १८:४२





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन्। 

ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुकेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त प्रतिक्रिया आएको हो। 

इजरायलले शुक्रबार ठूलो बम बारी अभियान चलाएपछि इरानले क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो।

Ncell 2
Ncell 2

“यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन,” खामेनीले सरकारी टेलिभिजनमा गरेको लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई ‘अस्वीकार्य’ शर्त भनेका छन्। 

“कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्‍याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ,” उनले भने। 

सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गरेका थिए। 

तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि ‘सेन्ट्रिफ्युज कम्पोनेन्ट’ बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय आइएइएले पुष्टि गरेपछि खामेनीले इरान अमेरिकासँग नझुक्ने बताएका हुन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङ स्विट्जरल्यान्ड जाने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री गुरुङको स्विट्जरल्यान्ड भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रीपरिषद्‌को निर्णय अनुसार यही असार २३ देखि २७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

त्यस क्रममा मन्त्री गुरुङले वर्ल्ड समिट अन द इन्फरमेसन सोसाइटी (WSIS)+20 फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५ मा भाग लिनेछन् । 

पछिल्लो अध्यावधिक: असार ४, २०८२ २०:२५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन्।

सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्‌वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो।

उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति (आज) बाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद आजका दिनदेखि बदर भएको निर्णय गरेको हो।

 साथै, उनले विवरण ढाँटेर प्रदेशसभा सदस्य बनेकोसमेत इजलासको ठहर छ ।

संविधान र गण्डकी प्रदेश सभाबाट जारी भएको गण्डकी प्रदेश सभा नियमावली – २०८० मा फौजदारी अभियोग लागेका सांसदको पद सम्बन्धी व्यवस्था गरेको छ। उक्त व्यवस्थाले यस्तो अभियोग लागेका वा अभियोग ठहर भएर कारागार चलान भएका व्यक्तिको सांसद पद स्वतः निलम्बन हुने भनिएको छ।

संविधानको धारा १७८ मा प्रदेश सभा सदस्यका लागि योग्यता सम्बन्धी व्यवस्था गरेको छ। उक्त धाराको ‘घ’ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति मात्र प्रदेश सभा सदस्य हुन योग्य हुने उल्लेख छ।

संविधानको प्रदेश व्यवस्थापिका अन्तर्गत धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने अवस्थाबारे उल्लेख छ। उक्त धाराको ‘ख’ मा संविधानको धारा १७८ बमोजिम योग्यता नभएमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने भनिएको छ।

Ncell 2
Ncell 2

तर यस्तो अयोग्यता सम्बन्धी निर्णय सभामुख वा प्रदेश सभाले गर्ने छैन। संविधानको धारा १८१ ले धारा १७८ बमोजिम नैतिक पतन देखिने फौजदारी सजाय पाएका व्यक्ति प्रदेश सभा सदस्य हुन योग्य छ कि छैन भन्ने निर्णय गर्ने अधिकार सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको छ।

‘प्रदेश सभाको कुनै सदस्य धारा १७८ बमोजिम अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले गर्नेछ,’ संविधानको धारा १८१ मा भनिएको छ।

प्रदेश सभा सदस्यको निलम्बन र पदमुक्त हुने व्यवस्था प्रदेश सभा नियमावली २०८० ले पनि गरेको छ। उक्त नियमावलीको परिच्छेद २७ को विविध खण्डमा प्रदेश सभा सदस्यको पक्राउ सम्बन्धी व्यवस्था गरेको छ।

उनको फागुन २३, २०८१ मा  २० प्रतिशत सजाय छुट भएको थियो। छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।

दीपक मनाङे मनाङ प्रदेश सभा ‘क’ बाट निर्विरोध निर्वाचित भएका थिए।

तरबारले चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा मनाङेलाई ५ वर्ष कैदको फैसला भएको थियो।

२० वर्ष पहिलेको घटनामा सर्वोच्चले पनि मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो। घटनालगत्तै पक्राउ परेका उनले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन्।

अब २ वर्ष ४ महिना कैद बाँकी रहे पनि उनले एक वर्ष नै कैद छुट पाएका हुन्। मनाङे २०८१ कात्तिक २७ गते डिल्लीबजार कारागार चलान भएका थिए।

कात्तिक २० गते सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनकै फैसला सदर गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट