
काठमाडौँ । नेपाली ई-स्पोर्टस् टोली ‘होरा ईस्पोर्ट्स’ पब्जी मोबाइल विश्वकपमा प्रतिस्पर्धा गर्न मङ्गलबार साउदी अरब प्रस्थान गरेको छ । २५ जुलाई (९ साउन ) देखि सुरु हुने ‘ईस्पोर्ट्स वर्ल्डकप’ अन्तर्गत पब्जी मोबाइल विधामा नेपालको प्रतिनिधित्व गर्दै होरा ईस्पोर्ट्सले विश्वका उत्कृष्ट टोलीहरूसँग भिड्नेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ई-स्पोर्ट्स संघ (इशान) का अध्यक्ष अञ्जन धमलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । टोलीमा खेलाडीहरू आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामा रहेका छन् भने व्यवस्थापकमा उमेश बुढथापा तथा अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी छन् ।
टोलीले विश्वकप जित्ने लक्ष्यका साथ प्रतियोगितामा भाग लिन लागेको जनाएको छ । “हाम्रो मानसिकता विश्वकप जित्ने नै हो र सोहीअनुसार तयारी गरेका छौं,” टोलीका अफिसियल सञ्जन गौतमले भने ।
होरा ईस्पोर्ट्सले हालै कजाखस्तानमा सम्पन्न ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२४’ मा दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट भएको हो । विश्वका २४ उत्कृष्ट टोली सहभागी हुने यस प्रतियोगितामा नेपालबाट छनोट हुने होरा एक्लो टोली हो ।
प्रतियोगिताको कुल पुरस्कार राशि करिब ४१ करोड नेपाली रुपैयाँ रहेको छ । जसमा विजेताले मात्रै करिब सात करोड रुपैयाँ प्राप्त गर्नेछ । गौतमका अनुसार, होरा ईस्पोर्ट्सले आफ्नो पहिलो चरणको खेल २५-२७ जुलाईमा खेल्नेछ । उक्त चरणमा उत्कृष्ट प्रदर्शन गरेमा टोली सोझै फाइनलका लागि छनोट हुनेछ, अन्यथा जुलाई २८ र २९ मा हुने अर्को चरणमा पुनः प्रतिस्पर्धा गर्नुपर्नेछ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १२:१५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माणमा विश्वमै प्रभुत्व जमाएको एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन ह्वाङले अहिलेको समयमा युवाहरूले सफ्टवेयरभन्दा फरक क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । यदि आफू आजको दिनमा २२ वर्षको युवा भएको भए सफ्टवेयर साइन्सभन्दा फिजिकल साइन्स (भौतिक विज्ञान) मा बढी ध्यान दिने उनको भनाइ छ ।
हालै बेइजिङको एक कार्यक्रममा सहभागी भएका ह्वाङलाई सञ्चारकर्मीहरुले सोधेका थिए, “यदि तपाईं सन् २०२५ मा २० वर्षीय युवा हुनुभएको भए, कुन क्षेत्रमा ध्यान केन्द्रित गर्नुहुन्थ्यो ?“ जवाफमा उनले आफ्नो रोजाइ सफ्टवेयर नभएर फरक हुने स्पष्ट पारे । उनले कुनै एक विशेष विषयको नाम नलिए पनि भौतिक विज्ञानतर्फ आफ्नो झुकाव रहने बताएका हुन् ।
ह्वाङले सफ्टवेयरभन्दा भौतिक विज्ञानलाई प्राथमिकता दिनुले भविष्यको अवसरलाई कसरी हेरिरहेका छन् भन्ने संकेत गर्छ । उनले एआईको भविष्य ‘रिजनिङ एआई’ र ‘फिजिकल एआई’ तर्फ मोडिएको देखेका छन् । उनका अनुसार भविष्यका एआई प्रणालीहरूले भौतिक संसारका नियमहरू बुझ्न सक्नेछन्, जसले रोबोटिक्सको क्षेत्रमा ठूलो प्रगति ल्याउनेछ । यसले विश्वव्यापी रूपमा देखिएको जनशक्तिको अभावलाई सम्बोधन गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
ह्वाङ आफैँले सन् १९८४ मा ओरेगन स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र सन् १९९२ मा स्ट्यानफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका थिए । त्यसको एक वर्षपछि नै उनले एनभिडियाको सह–स्थापना गरेका थिए । आज उनको नेतृत्वमा एनभिडिया विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ र हालै यसको बजार पुँजीकरण ४ ट्रिलियन डलर नाघेको छ ।
उनले भौतिक विज्ञान अध्ययन गर्नुको पछाडि ‘फिजिकल एआई’ को भविष्य रहेको बताएका छन् । उनका अनुसार एआईको अर्को लहर भनेकै ‘फिजिकल एआई’ हो जसलाई भौतिक विज्ञानका नियमहरु बुझ्न आवश्यक पर्छ । भविष्यमा भौतिक विज्ञानका अवधारणाहरू बुझ्ने क्षमता एआईको लागि महत्त्वपूर्ण हुने उनको बुझाई छ ।
ह्वाङले पहिले पनि एआईले कोडिङको कामलाई धेरै हदसम्म विस्थापित गर्ने बताउँदै आएका छन् । गत महिना लन्डन टेक विकमा उनले भनेका थिए, “अब एउटा नयाँ प्रोग्रामिङ भाषा छ, जसलाई ’ह्युमन’ (मानव) भनिन्छ ।“ अब मानिसले सामान्य भाषामा निर्देशन दिएरै एआईबाट कोडिङ गराउन सक्ने उनको भविष्यवाणी छ ।
इकोनोमिक टाइम्सको सहयोगमा
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १०:५१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफ्नो एक बर्षे कार्यकालमा नीतिगत सुधारदेखि डिजिटल क्रान्तिसम्म गरेको दावी गरेका छन् ।
भण्डारीले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेको एकबर्षको मुख्य उपलव्धी सार्वजनिक गर्दै श्रम मन्त्रालयले उनको नेतृत्वमा नीतिगत, संरचनात्मक, प्राविधिक र सेवामूलक क्षेत्रमा प्रगति देखिएको बताएको हो । श्रमिक र रोजगरादाताको हित, सामाजिक न्याय, अन्तरिक रोजगारी प्रवद्र्धन र वैदेशिक रोजगारीको व्यवस्थापनमा मन्त्रालयले विगतको उपलव्धीहरुलाई पछि पार्दै आगामी रुपानतरकारी कार्ययोजनालाई स्पष्ट पारेको दावी गरेको छ ।
मन्त्रालयले सुरक्षित, पारदर्शी र मर्यादित वैदेशिक रोजगारीको आधार तयार गर्दै सरकारले श्रम आप्रवासन नीति स्वीकृत गरेको कामलाई मुख्य उपलवधीका रुपमा प्रस्तुत गरेको छ । विभिन्न अनौपचारिक र गैरकानुनी तवरले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुलाई वैधानिकिकरण गरी श्रमिक बीमा, सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यहरुमा समावेश गर्नु ऐतिहाँसिक कदम भएको मन्त्रालयको तर्क छ । श्रम स्वीकृति नहुँदा विभिन्न समस्यामा पर्दै आहत भएका वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यो प्रयासले राहत दिएको भन्दै मन्त्रालयले सेप्टेम्बर २०२४ लाई कटअफ मानेर अनौपचारिक श्रमिकलाई वैधानिकीकरण गर्ने प्रक्रिया अगाडी बढेको र यसले लाखौँ नेपालीलाई सरकारी सेवा र सुविधा प्राप्त गर्नमा सहयोग गर्ने बताएको छ ।
नवौं आवधिक योजना देखि सूचना प्रविधिको प्रयोगको सोच भए पनि हालसम्म बन्न नसकेको डिजिटल प्रणालीको प्रयोग र विस्तारलाई मन्त्री भण्डारीले आफ्नो प्रमुख कार्य बनाएको मन्त्रालयको दावी छ । श्रम बजारमा श्रमिक तथा सीपको माग र आपूर्ति, रोजगार विनिमय प्रणाली लगायत उपलव्ध सूचनाबाट श्रम बजारको हस्तक्षेपकारी भूमिका तय गर्ने गरी श्रम संसार पोर्टल तथा एप्लिकेसनलाई मन्त्री भण्डारीले तिव्रता दिएको जनाइएको छ । कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङ जस्ता उच्च प्रविधिहरुको प्रयोगलाई ध्यान दिइएको यो प्रणालीले सेवा प्रवाहलाई रुपान्तरण गर्ने तथा भविष्यको रोजगारी सिर्जनामा सहयोगी हुने मन्त्रालयको दावी छ । मन्त्रालयबाट सञ्चालनमा आएका सूचना प्रणालीहरुको एकीकरण लगायत स्तरोन्नतीमा ध्यान दिएको मन्त्रालयले सन् २०३० सम्ममा एकीकृत राष्ट्रिय रोजगार सूचना प्रणाली निर्माण तथा प्रयोग हुने लक्ष्य तोकि मन्त्रालयले डिजिटल विकास र विस्तारको कार्य अगाडी बढाइएको जनाइएको छ ।
वर्षमा १०० भन्दा कम श्रमिक पठाउने व्यवसायीको इजाजतपत्र नवीकरण नहुने प्रावधानका कारण विभिन्न अनैतिक कार्यहरुले प्रोत्साहन पाएको अवस्थामा मन्त्री भण्डारीले केही नेपाल ऐन संशोधन मार्फत यो प्रावधान खारेज गराएको र यो उपलव्धी भएको मन्त्रालयको दावी छ । यसले वैदेशिक रोजगार व्यवसायीलाई स्वतन्त्र र पारदर्शी रूपमा काम गर्ने अवसर प्रदान गर्ने मन्त्रालयको दावी हो ।
यसैगरी नागरिकले वैदेशिक रोजगारमा जानेहरुलाई मिटर व्याज तथा साहु महाजनको चर्को व्याजबाट मुक्ति दिन मन्त्री भण्डारीले विना धितो सहुलियतपूर्ण कर्जाको कार्यविधि बनाएको पनि मन्त्रालयको भनाई छ । युरोपका थप १२ वटा मुलुकहरुमा श्रम समझदारीको लागि गरिएको प्रस्ताव, कुवेत, मौरिसियस, मलेसिया, कोरिया र कतारसँग श्रम सम्झौता र नवीकरण प्रक्रिया अगाडी बढ्नु पनि मन्त्री भण्डारीका प्रगतिका सूचकका रुपमा प्रस्तुत गरिएका छन् ।
संसदको समितिले घरेलु कामदारका रुपमा महिलालाई वैदेशिक रोजगारमा पठाउन रोक लगाएको भए पनि ठुलो सङ्ख्यामा नेपाली घरेलु कामदारहरु खाडीका मुलुकहरुमा कार्यरत रहेका छन् । गैरकानुनी र अनौपचारिक तवरले महिलाहरु घरेलु कामदारका रुपमा कार्यरत भएकोले मन्त्री भण्डारीले यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न यु.ए.इ. मा नैतिक र संस्थागत तवरले घरेलु श्रमिक पठाउन पाइलट परियोजना सञ्चालनको तयारी गरेको मन्त्रालयको दावी छ ।
“नेपाललाई अतिविपन्न मुलुकबाट स्तरोन्नती गराउन आवश्यक पर्ने आइएलओ महासन्धि ८१, ८७ र १८९ अनुमोदनका लागि आवश्यक नेतृत्व लिएका मन्त्री भण्डारीले मन्त्रालयलाई आगामी वर्षहरुमा कुन क्षेत्रमा कसरी कार्य गर्ने भन्नेमा समेत स्पष्ट मार्गदर्शन गरेका छन्” श्रम मन्त्रालयले तयार पारेको उनको प्रगति प्रतिवेदनमा समेटिएको छ ।
सामाग्री श्रोत :
deshparadesh
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। एक वर्षका अवसरमा आफ्ना ‘उपलब्धी’ समेत सार्वजनिक गरेका छन्। उनको एक वर्षके कार्याकाललाई लिएर मन्त्रालयको नेतृत्व गरिसकेका केही स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग गरिएको कुराकानी यसप्रकार छ :
डा सेनेन्द्रराज उप्रेती (पूर्वसचिव)
नयाँ घोषणा धेरै गरेका छन् । घोषणाहरु प्रिय लागेपनि त्यसको कार्यान्वयनको पाटो अझै महत्वपूर्ण हुन आउँछ। प्रदेशगत रुपमा क्यान्सर उपचार सेवा र मुटु उपचार सेवा लगायत विस्तार गर्ने घोषणा गरिएको अवस्थामा कार्यान्वयन मुस्किल हुनसक्ने अवस्था छ ।
स्वास्थ्य बीमा अन्तर्गत कडा रोगलाई थप १ लाख रुपैयाँ दिइने घोषणा व्यवहारमा उत्तार्न सके अवश्य नै स्वास्थ्य सेवा प्रवाह सहज बन्न सक्नेछ । समग्रमा भन्नुपर्दा स्वास्थ्यमन्त्रीको एक वर्षको कार्यकालको समीक्षा कार्यक्रमको घोषणा भन्दा पनि कार्यान्वयनले निर्धारण गर्नेछ। मन्त्री पौडेलको घोषणाको कार्यान्वयनले उचित निर्धारण गर्नेछ ।
स्वास्थ्य क्षेत्रमा तीन तहको सरकारले समन्वयको क्षेत्रमा समस्या उत्पन्न गराएको छ, जसले प्रभावकारी कार्यान्वयनमा समेत समस्या पैदा गर्छ । तीनै तहको सरकारबिच समन्वय हुनुपर्छ भन्ने संविधानमा नै उल्लेख गरेपनि त्यसो हुन सकेको छैन । मन्त्री पौडेलले स्वायक्त तीन तहका सरकारबीच कार्यक्रमगत रुपमा समन्वय गर्नुपर्छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई हेला गरिएको छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार गर्न नै खोजेको हो भने स्वास्थ्य बीमा कार्यक्रममा रहेको अनावश्यक हस्तक्षेप रोकेर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । सरुवा-बढुवा जस्ता कुराहरु प्रक्रियागत, अनुशासन तथा शुशासनको विधिअनुसार मात्रै अगाडि बढाउँदा मन्त्री पौडेलमाथि हुने आलोचना कम गर्न सकिनेछ।
डा किरण रेग्मी (पूर्व-स्वास्थ्य सचिव)
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका कतिपय घोषणाहरुलाई पूरा गर्नका लागि निरन्त ररुपमा नै लागि परेको देखिन्छ । स्वास्थ्य बीमालाई व्यवस्थित गराउन मन्त्री पौडेल निरन्तर लागि पर्नु भएको देखिएको छ । जुन कठिन पनि छ । मन्त्री पौडेलले बीमालाई व्यवस्थित गराउनका लागि गरेको घोषणा उहाँले सोचेजस्तो सहज रुपमा पूरा हुन सक्ने स्थिती छैन, तर निरन्तर लागि परेमा नतिजा नआउने पनि होइन ।
यसअघि बीमा सुविधा लिनेहरुलाई समेत कठिन थियो । विभिन्न नगरपालिकामा समेत केन्द्र तोकिएको छ, जसले बिमितहरुलाई समेत सहज भने भएको छ । बीमाको दायरा बढाइनु, रोजगारदाताले कामदारहरुको स्वास्थ्य बीमा गरिदिनुपर्ने व्यवस्था तथा यसरी केन्द्र तोकिनुले स्वास्थ्य बीमा सुधारमा सकारात्मक प्रयास भने भएको देखिन्छ । यद्यपी स्वास्थ्य बीमालाई सुधार गर्न सकेमा स्वास्थ्य क्षेत्रमा ब्रेक थ्रु नै हुनसक्छ ।
स्वास्थ्य संस्थाहरुमा भिडभाड कम गर्ने तथा जानेबितिकै सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्री पौडेलले गरेको प्रयास सकारात्मक छ । स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्नका लागि उहाँले गरेको प्रयासलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ । यद्यपि त्यसको परिणाम भने आउन बाँकी नै छ ।
मन्त्री पौडेलले गरेका घोषणा थोरै र राम्रा छन् त्यसलाई कार्यान्वयन गराउन सके स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन सक्नेमा शंका छैन । घोषणा गरेका कार्यक्रम कार्यान्वयनको सुरुवात राम्रै छ, पूर्ण कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने हेर्न बाँकी नै छ ।
स्वास्थ्य क्षेत्रमा तीन तहका सरकारबीचको समन्वयका लागि भने स्थानीय स्तरले नै अपनत्व लिनुपर्ने हुन्छ । तीन तहको सरकारबीचको समन्वयका लागि प्रदेशगत रुपमा स्वास्थ्य प्रणाली बुझेका मानिसहरुलाई संयोजक बनाएर पनि काम गर्न सकिन्छ जस्तो मलाई लाग्छ । जसले प्रदेशका समस्यालाई केन्द्रसम्म ल्याउन तथा सम्बोधन गर्नका लागि सहज वातावरण बनाइदिन्छ । जसले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन उपलब्धी हासिल गर्न पनि सहयोग पुग्छ ।
सबै सेवाहरुका लागि एकद्वार प्रणाली बनाउन समय लाग्न सक्छ तर दीर्घकालीन लाभ मिल्छ । मानव संसाधनको गुणात्मक संख्या बढाउन पनि आगामी दिनमा मन्त्री पौडेल लाग्नुपर्ने देखिन्छ ।
डा गुणराज लोहनी (पूर्वअध्यक्ष स्वास्थ्य बीमा बोर्ड )
स्वास्थ्य क्षेत्र सुधारका लागि गरेको प्रयास सराहनीय छ । स्वास्थ्य बीमालाई भने मन्त्री पौडेलले स्वास्थ्य प्रणालीका रुपमा लिएको जस्तो मलाई लाग्छ ।
स्वास्थ्य बीमाको लक्ष्य स्वास्थ्य व्यवस्थापन प्रणाली नै बलियो बनाउने रहेको मलाई लाग्छ । सरकार प्रणाली बलियो बनाउनेतर्फ लाग्नुपर्ने छ। स्रोतको व्यवस्थापन बिना स्वास्थ्य बीमाको दायरा बढाउँदा समस्या आउन सक्छ । स्रोत व्यवस्थापनमा बीमाको प्रिमियम बढाउने तथा औपचारिक क्षेत्रका संघ संस्थाहरुलाई अनिवार्य रुपमा बीमामा समावेश गराउनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा विभिन्न तहका सरकारबीचको काममा नतिजा आउने गरी काम गर्नका लागि हालका स्वास्थ्य संस्थाहरुको पुन नामाकरण, स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीहरुको ओएनएम सर्वे लगायतका काम गर्न आवश्यक छ।
हेल्थ फाइनान्सिङ स्ट्राटेजी २०८० अनुसार काम गर्न सकेमा स्वास्थ्यमा क्षेत्रमा नागरिक महसुस गर्न सक्ने गरी सुधार आउँछ । सो अनुसार प्रत्येक सरकारले कुल बजेटको १० प्रतिशत बजेट स्वाास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।
सामाग्री श्रोत :
swasthyakhabar
जलवायु परिवर्तन कुनै टाढाको वैज्ञानिक समाचार होइन, न त बेवास्ता गर्न मिल्ने पुरानो फेसन। म अहिले पब्लिक हेल्थ अध्ययन गर्दैछु। दिनदिनै रोग, अस्पताल र प्रणालीबारे पढिरहेको छु। तर जति पढ्दै जान्छु, उति नै एउटा कुरा मनमा गहिरिँदै जान्छ,जलवायु परिवर्तन। यसले हाम्रो स्वास्थ्यमा यति चुपचाप असर गरिरहेको छ कि धेरैलाई थाहा पनि छैन।
वातावरण टाढाको कुरा होइन,यो त हामीसँगै छ। हामीले सास फेर्ने हावा, पिउने पानी, खाने अन्न,सबैमा यसको असर देखिन थालिसकेको छ। मौसम अनिश्चित बन्दै गएको छ, बाली नष्ट हुँदैछन्, र यसको असर हाम्रो शरीरमा पनि देखिन थालेको छ।
स्वास्थ्यसम्बन्धी समस्या जसबारे धेरैले कुरा नै गर्दैनन्
प्रायः जब कसैले ‘जलवायु परिवर्तन’ भन्छ, तब मानिसको दिमागमा हिमाल पग्लिरहेको छ वा समुद्री सतह बढ्दैछ भन्ने चित्र आउँछ। तर यो यती टाढाको कुरा मात्र होइन,नेपालमै देखिन थालेको जल्दोबल्दो समस्या हो।
विश्व स्वास्थ्य संगठनको भनाइ छ,जलवायु परिवर्तनका कारण हरेक वर्ष थप २,५०,००० मानिसको मृत्यु हुन सक्छ, गर्मी, कुपोषण, मलेरिया, झाडापखाला लगायतका रोगका कारण। यी रोगहरु पनि जलवायु परिवर्तनकै परिणाम हुन् भनेर धेरै जना अज्ञात नै छन्।
नेपालमै हेर्ने हो भने,मलेरिया र डेङ्गु जस्ता रोगहरू पहिलेको तुलनामा, अहिले धेरै देखिन थालेका छन्, कारण के हो भन्दा,बढ्दो तापक्रम र बदलिंदो वर्षा प्रणाली। बाढीपहिरोले खानेपानी फोहर बनाउँछ, जसले झाडापखालाको प्रकोप फैलाउँछ। सबैभन्दा धेरै असर त गरिब, बच्चा, वृद्ध र पहिले नै बिरामी भएका व्यक्तिलाई पर्छ। किनभने उनीहरूसँग निको हुने स्रोत र समय कम हुन्छ।
मैले आफैँ बाढीपछि सफा पानी खोज्दै घण्टौँ हिँडेका परिवारहरू देखेकी छु। भीडभाडमा बस्नुपर्छ, जहाँ रोग छिट्टै फैलिन्छ। यी कुनै तथ्यांक होइनन्,यथार्थ मानिसहरू हुन्।
यदि हामीले प्रकृतिलाई हानि पुर्याउँछौं भने, यसले हामीलाई उल्टै हानि पुर्याउँछ
जब हामी वन फडानी गर्छौं, खोला प्रदूषित पाछौँ, माटोको उर्वराशक्ति घटाउँछौँ ,त्यसको असर अन्ततः हामीमै फर्किन्छ। वनहरूले मौसम सन्तुलनमा राख्न र रोग फैलिन नदिन मद्दत गर्छन्। रुख काट्दा जनावरहरू मानिसको नजिक आउँछन्, जसले गर्दा रोग मानिसमा सर्न सजिलो हुन्छ।
फोहर पानीले हैजा जस्ता रोग ल्याउँछ। वर्षा ढाँचामा आएको परिवर्तनले बाली नष्ट गर्छ, खाद्यान्न अभाव हुन्छ। मैले किसानहरूसँग कुराकानी गर्दा उनीहरूले खेती गर्ने समय छोटिंदै गएको, मल महँगो भएको, र आफ्ना बच्चाहरूको पोषणबारे चिन्ता बढ्दै गएको बताएका छन्।
मानसिक स्वास्थ्यमा पनि असर
जलवायु परिवर्तनले केवल शरीरमा होइन, मानसिक अवस्थामा पनि गहिरो असर पार्छ। घर डुब्नु, बाली गुमाउनु, वा भविष्यप्रति डर रहिरहनु,यी सबै तनाव, चिन्ता र निराशाको कारण बन्छन्।
नेपालमा त सहरी क्षेत्रमा नै मानसिक स्वास्थ्य सेवा सीमित छ। ग्रामीण क्षेत्रमा त यो विषय अझै बोल्नै नसकिने विषयजस्तै लाग्छ।
सानो प्रयासले पनि फरक पार्न सक्छ
हामी कहिलेकाहीँ सोच्छौं,‘म एक्लैले के नै गर्न सक्छु र?’ तर सानो प्रयास पनि जोडिँदै जाँदा ठूलो प्रभाव पार्छ। म आफन्त र साथीहरूसँग जलवायु र स्वास्थ्यबारे कुरा गर्छु, प्लास्टिकको प्रयोग घटाउने कोशिश गर्छु, रुख रोप्छु, सकेसम्म हिड्छु, साइकल चढ्छु, र नीतिगत सुधारको पक्षमा बोल्छु। मौका पाउँदा स्वयंसेवकका रूपमा पनि काम गर्छु।
जो सबैभन्दा बढी असरमा परेका छन्,उनीहरूले त सबैभन्दा कम प्रदूषण गरेका हुन्। त्यसैले हामी बोल्नुपर्छ,उनीहरूका लागि, सबैका लागि।
एक्लैले सम्भव छैन, हामी सबैको हात चाहिन्छ
जलवायु संकट कसैले एक्लै समाधान गर्न सक्दैन। सरकार, समुदाय, स्वास्थ्यकर्मी, युवाहरू,सबै मिलेर मात्र सम्भव हुन्छ। ठूला देशहरूको तुलनामा नेपालले धेरै प्रदूषण गर्दैन, तर असर भने कडा भोग्दैछ। त्यसैले अब हामीलाई साहसी नेतृत्व, व्यवहारिक समाधानहरू, र सबैभन्दा आवश्यक कुरा,एकआपसमा एकता र सहयोगको भावना चाहिन्छ।
स्वास्थ्यकर्मीहरू पहिलेदेखि नै लागिपरेका छन्,प्रणाली सुदृढ बनाउने, विपद्को तयारी गर्ने, रोगको निगरानी गर्ने, र मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने कार्यमा। तर उनीहरू मात्रले पुग्दैन।
हामी सबै मिलेर अघि बढ्नुपर्छ। पर्खेर केही हुँदैन। साना प्रयासहरूले नै फरक पार्न सक्छन्।
प्रकृतिको विनाश भनेको हाम्रो नै विनाश हो। यो केवल हिमचुचुरो वा वनजंगलको कुरा होइन। यो हाम्रो स्वास्थ्य, हाम्रो परिवार र हाम्रो भविष्यको कुरा हो। जलवायु परिवर्तनले ढोका ढकढक्याइसकेको छ। तर अझै ढिलो भइसकेको छैन।
यदि हामी सबै मिलेर, जिम्मेवारीपूर्वक र संवेदनाका साथ अघि बढ्यौं भने, हामी स्वस्थ समुदाय बनाउन, पीडितलाई सहयोग गर्न, र भविष्य सुरक्षित राख्न सक्छौँ।
पृथ्वीलाई जोगाउनु भनेको हामीलाई नै जोगाउनु हो। यी दुई कुरा छुट्टै होइनन्, सधैँ एक अर्कासँग गहिरो रूपमा जोडिएका छन्।
(निर्मला ओझा हाल पब्लिक हेल्थ विषयमा अध्ययनरत छिन्।)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अर्बपति एलन मस्कको स्याटलाइट इन्टरनेट कम्पनी स्टारलिंक नेपालमा सेवा सञ्चालनका लागि पुनः सरकारी निकाय धाउन थालेको छ । तर, नेपालको कानुनी प्रावधानअनुसार शतप्रतिशत एकल लगानीमा सेवा सञ्चालन गर्न नमिल्ने भएपछि कम्पनीको प्रवेश अझै अनिश्चित बनेको छ ।
पछिल्लो पटक स्टारलिंकका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याललाई भेटेर ‘नेपालमा मात्रै सेवा सुरु गर्न किन अप्ठ्यारो पारेको ?’ भन्दै प्रश्न गरेका छन् । स्टारलिंकले आफ्नो शतप्रतिशत लगानी भएको कम्पनीमार्फत मात्रै सेवा दिने अडान कायमै राखेको छ भने सरकारी पक्षले विद्यमान दूरसञ्चार नीति २०६० अनुसार तय भएका प्रावधान पालना गर्नुपर्ने जवाफ दिएको छ ।
दूरसञ्चार नीतिमा विदेशी लगानीसहित आउने दूरसञ्चार सेवा प्रदायकले बढीमा ८० प्रतिशत मात्रै स्वामित्व राख्न पाउने व्यवस्था छ । बाँकी २० प्रतिशत लगानी अनिवार्य रूपमा नेपाली साझेदारलाई दिनुपर्छ । तर, विश्वभर आफ्नो सेवा आक्रामक रूपमा विस्तार गरिरहेको स्टारलिंक कुनै पनि देशमा स्थानीय साझेदार राख्न तयार छैन ।
यही कानुनी प्रावधानका कारण नेपालमा उसको प्रवेश रोकिएको हो । वार्ताका क्रममा स्टारलिंकका प्रतिनिधिले उपकरण बिक्री तथा मार्केटिङ जस्ता कामको जिम्मा नेपाली कम्पनीलाई दिन तयार रहेको, तर इन्टरनेट सेवा बिक्रीबाट प्राप्त हुने आम्दानीको एक प्रतिशत हिस्सा पनि स्थानीय साझेदारलाई नदिने स्पष्ट पारेका छन् ।
कूटनीतिक दबाब र नयाँ ऐनमा चलखेलको प्रयास !
स्टारलिंकले नेपाल प्रवेशका लागि अमेरिकी दूतावासमार्फत कूटनीतिक दबाबलाई समेत निरन्तरता दिएको छ । सञ्चार मन्त्रालय हाल नयाँ दूरसञ्चार विधेयक निर्माणको प्रक्रियामा छ । स्टारलिंक र अमेरिकी दूतावासले यही मौकामा विधेयकबाट विदेशी लगानीको सीमासम्बन्धी प्रावधान हटाउन लबिङ गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।
“जसरी हुन्छ स्टारलिंक एकल लगानीमा नेपाल प्रवेश गर्न चाहन्छ । नयाँ विधेयकमा अहिलेको बाधा हटाउन दूतावासमार्फत निरन्तर दबाब बढाइरहेको छ,” स्रोतले टेकपानालाई भन्यो ।
पछिल्लो पटक स्टारलिंककी ग्लोबल लाइसेन्सिङ र मार्केट एक्टिभेसन निर्देशक रेबिका स्लिक हन्टरले १५ असारमा सञ्चार सचिव अर्याल र त्यसलगत्तै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीसहितका उच्च अधिकारीहरूलाई भेटेकी थिइन् ।
यस भेटको व्यवस्थापन अमेरिकी दूतावासकी एक कर्मचारीले मिलाएकी थिइन् । यद्यपि, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयले भने मन्त्रीसँग १५ असारमा कुनै भेट नभएको दाबी गरेको छ । यसअघि ठ्याक्कै एक वर्षअघि पनि नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन थम्सनको संयोजनमा स्टारलिंकका प्रतिनिधिले मन्त्री गुरुङ र अन्य अधिकारीहरूलाई भेटेका थिए ।
सरकारी अडानपछि स्टारलिंकको निराशा
सरकारी अधिकारीहरूले भने विद्यमान कानुन सबै सेवा प्रदायकले पालना गरिरहेकाले स्टारलिंकका लागि मात्रै छुट दिन नसकिने जवाफ दिएका छन् । दूरसञ्चार नीतिले निर्दिष्ट गरेको व्यवस्थाभन्दा बाहिर गएर कुनै निर्णय गर्न नसकिने तर्क सरकारी पक्षको छ । स्टारलिंकका प्रतिनिधिले भने बैठकमा निराशा व्यक्त गरेका थिए ।
“अरू देशहरूले ‘आऊ, के सहजीकरण गर्नुपर्छ’ भन्छन्, तर नेपालले के गर्न खोजेको हो, बुझ्न सकिएन,” उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “जे भए पनि हामी पछि हट्दैनौं, हाम्रो प्रयत्न जारी रहन्छ ।”
यसैबिच, स्टारलिंकले नेदरल्यान्ड्समा दर्ता भएको ‘स्टारलिंक होल्डिङ्स नेदरल्यान्ड्स बीभी’ नामक कम्पनीलाई नै नेपालमा शतप्रतिशत लगानीसहित दर्ता गर्न खोजेको पाइएको छ । सञ्चार मन्त्रालयले यसबारे प्राधिकरणसँग राय माग्दा कम्पनी दर्ता गर्न पाइने तर सञ्चालन अनुमति (लाइसेन्स) सबै प्रक्रिया पूरा गरेपछि मात्र जारी हुने जवाफ प्राधिकरणले पठाएको थियो । नेपालमा कानुनी सहजीकरणका लागि स्टारलिंकले पायोनियर ल एसोसिएट्सका अधिवक्ता अनुपराज उप्रेतीलाई जिम्मेवारी दिएको छ ।
अरू दक्षिण एसियाली देशमा के भइरहेको छ ?
दक्षिण एसियाली देश भुटान, बंगलादेश र श्रीलंकामा स्टारलिंकले सेवा सञ्चालन गर्न अन्तिम स्वीकृति पाइसकेको छ ।
भुटानले स्टारलिंकलाई गत वर्ष नै लाइसेन्स दिइसकेको थियो । सन् २०२४ को अन्तिम महिनाबाट स्टारलिंकले भुटानमा सेवा रोलआउट गरिसकेको छ । दक्षिण एसियामा स्टारलिंक सबैभन्दा सुरुमा भुटानमै लन्च भएको थियो । यस्तै बंगलादेशमा दुई महिनाअघि सेवा सुरु भइसकेको छ भने श्रीलंकामा १८ असारबाट सेवा सुरु भएको छ ।
छिमेकी भारतले पनि गत महिना लाइसेन्स जारी गरिसकेको छ । अन्य केही प्राविधिक क्लियरेन्स पाएपछि अबको केही महिनाभित्रै भारतमा पनि स्टारलिंकको सेवा सुरु हुने अनुमान छ । स्टारलिंकले आफ्ना हार्डवेयर वितरणका लागि भारतीय टेलिकम जायन्टहरु भारती एयरटेल र रिलायन्स जिओसँग रणनीतिक साझेदारी गरिसकेको छ ।
पाकिस्तानमा स्टारलिंकले प्रोभिजनल नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको छ । चार महिनाअघि स्टारलिंकले पाकिस्तानमा आफ्नो भगिनी संस्था दर्ता गरेको थियो । प्राविधिक र नियामकीय सर्त पालनासम्बन्धी काम भइरहेकाले पाकिस्तान सरकारले केही समयमै स्टारलिंकलाई पूर्ण लाइसेन्स दिने योजना बनाएको छ ।
यी सबै देशमा स्टारलिंकले शतप्रतिशत आफ्नै लगानीमा स्थानीय साझेदार बिना नै सेवा सञ्चालन गर्दैछ । यही कारण नेपालको २० प्रतिशत स्थानीय साझेदारीको प्रावधान कम्पनीका लागि प्रमुख बाधा बनेको प्रस्ट देखिन्छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ ९:१७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग लज्जास्पद हार बेहोरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक फेसबुक पेजमा समर्थकहरूको प्रतिक्रिया रोक्न कमेन्ट सेक्सन नै बन्द गरेको छ ।
सोमबार बंगलादेशको ढाकामा सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल आयोजक बंगलादेशसँग ४-० को फराकिलो अन्तरले पराजित हुँदै उपाधिबाट विमुख भएको थियो ।
खेल सकिएलगत्तै एन्फाले आफ्नो फेसबुक पेजमा राखेका पोस्टहरूमा कमेन्ट गर्न नमिल्ने बनाएको छ । एन्फाका पछिल्ला फेसबुक पोस्टहरूमा कमेन्ट गर्न खोज्दा ‘All Nepal Football Association-ANFA limited who can comment on this post’ (अखिल नेपाल फुटबल संघ-एन्फाले यो पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर सीमित गरेको छ) भन्ने सन्देश देखिन्छ ।
यसअघि खेलको पहिलो हाफ सकिँदासम्म गरिएका पोस्टमा भने कमेन्ट सेक्सन खुला रहेको थियो । तर, खेल सकिएपछिका पोस्टहरूमा यो सुविधा हटाइएको छ ।
खेलपछि आउने सम्भावित आलोचना र नकारात्मक टिप्पणीबाट बच्न एन्फाले यस्तो कदम चालेको अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ ८:६
सामाग्री श्रोत :
टेक पाना
गिटार थेरापी भन्नाले गिटारलाई मानसिक वा शारीरिक स्वास्थ्यको उपचार प्रक्रियामा प्रयोग गर्नु हो। यो संगीत–चिकित्सा (म्युजिक थेरापी) को एक हिस्सा हो, जहाँ गिटार बजाउने, सुन्ने वा संगीत सृजना गर्ने कार्यमार्फत् रोगीको उपचार प्रक्रियालाई अगाडि बढाइन्छ।
गिटार एक प्राचीन तारयुक्त वाद्ययन्त्र हो जसको विकास लामो समयको इतिहाससँग जोडिएको छ। यसको उत्पत्ति विभिन्न सभ्यताबाट हुँदै आएको हो र अहिलेको आधुनिक गिटारको रूप धेरै चरणहरू पार गरेर विकसित भएको हो। म्युजिक थेरापी अन्तर्गत गिटारलाई मनोरन्जनको साधनको अलावा कसरी स्वास्थ्य उपचारमा सहयोगीसिद्ध रहेको छ भन्ने कुरा चर्चा गरिएको छ।
प्राचीन समय गिटारजस्तै देखिने वाद्ययन्त्रहरू करिब ४,००० वर्ष पहिले मेसोपोटामिया, मिश्र र भारतमा पाइन्थे। प्राचीन ग्रीसमा ‘किथारा’ नामको वाद्ययन्त्र बजाइन्थ्यो, जुन गिटारको नामसँग पनि सम्बन्धित छ।
मध्य युग (५औं – १५औं शताब्दी) युरोपमा अरबहरूले ल्याएको ‘उद’ नामक वाद्ययन्त्रले गिटारको विकासमा ठूलो भूमिका खेलेको मानिन्छ। स्पेनमा ‘विहुएला’ नामक वाद्ययन्त्र लोकप्रिय बन्यो, जुन आधुनिक गिटारको प्रारम्भिक रूप थियो।
१७औं – १९औं शताब्दी स्पेनमा आधुनिक शास्त्रीय गिटारको विकास सुरु भयो। १८औं शताब्दीमा गिटारमा ६ तारहरू प्रचलनमा आए। प्रसिद्ध स्पेनिश गिटार निर्माता एंटोनियो टोरेसले १९औं शताब्दीमा आधुनिक शास्त्रीय गिटारको आकार र ध्वनि प्रणाली विकास गरे। २०औं शताब्दीमा आधुनिक गिटारको युगको सुरुवात भयो जहाँ इलेक्ट्रिक गिटार सन् १९३० को दशकमा आविष्कार गरियो।
गिटारको इतिहास हजारौं वर्ष पुरानो छ र यसले धेरै सभ्यताहरूको संगीत यात्रा समेटेको छ। आज गिटार केवल एउटा वाद्ययन्त्र नभई सांगीतिक अभिव्यक्तिको शक्तिशाली माध्यम बनिसकेको छ । नेपाली आधुनिक गीत, लोकपप र रकलगायत सम्पूर्ण गीतहरुमा गिटारले महत्त्वपूर्ण स्थान ओगटेको छ।
गिटार बजाउनुका फाइदाहरू
गिटार केवल मनोरञ्जनको साधन मात्र नभई, मानिसको मानसिक- शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उपचारको साधन पनि हो। यो विधि विशेष गरी मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, र आत्म-विकासका लागि निकै प्रभावकारी देखिएको छ।
गिटार मात्र होइन जुन सुकै वाध्य बाधक यन्त्र बजाउनुका फाइदाहरू प्रसस्त रहेका हुन्छन । यहाँ म गिटार बजाउनु बाट हुने फाइदाहरुको बारेमा विश्लेषण गर्दैछु । गिटार बजाउनुबाट शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा फाइदाहरु हुने गर्दछन्।
संगीत वाद्ययन्त्र बजाउनु केही मानसिक तथा शारीरिक समस्याहरूको उपचार प्रक्रियामा उपयोगी हुन सक्छ। यसलाई सङ्गीत-चिकित्सा (म्युजिक थेरापी) भनिन्छ।
म्युजिक थेरापी अन्तर्गत कुनै पनि बाध्ययन्त्र बजाउने, संगीत सुन्ने वा संगीतसँग सम्बन्धित गतिविधिहरू प्रयोग गरिन्छ। यसैक्रममा यहाँ गिटार बजाउदा मानसिक तथा शरीरिक समस्याहरुमा सुधार हुने कुराहरुको बारेमा उल्लेख गरेको छु ।
१. मानसिक स्वास्थ्यमा गिटारको लाभ
• गिटार बजाउँदा तनाव, चिन्ता र डिप्रेशन कम गर्न मद्दत गर्छ।
• गिटारले ध्यान केन्द्रित गराउने क्षमता बढाउँछ, जुन ध्यान केन्द्रित गर्न नसक्ने र अत्यधिक चञ्चल हुने मानसिक समस्या (एडीएचडी) भएका व्यक्तिका लागि फाइदाजनक हुन सक्छ।
• भावनात्मक अभिव्यक्ति सहज बनाउने भएकाले आन्तरिक पीडा कम गर्न सहयोग गर्छ।
२. भावनात्मक उपचारमा सहयोग
• संगीतमार्फत् आफूभित्रको भावना व्यक्त गर्न सकिने हुँदा, गिटारले मानिसलाई भावनात्मक रूपले सन्तुलनमा ल्याउँछ।
• आत्मसम्मान र आत्म–विश्वास बढाउँछ।
• एकान्तता र उदासी कम गर्न उपयोगी
३. ध्यान र मानसिक एकाग्रता
• गिटार बजाउँदा दिमाग, हात र कानको समन्वय आवश्यक पर्छ, जसले ध्यान केन्द्रित गर्न सहयोग गर्छ।
• यो माइन्डफुलनेस जस्तै काम गर्छ, जसले मानसिक शान्ति दिन्छ।
४. बृद्धावस्थामा मानसिक सक्रियता
• वृद्ध व्यक्तिहरूले गिटार बजाउँदा उनीहरूको मस्तिष्क सक्रिय रहन्छ र स्मृतिभ्रंश (डिमेन्सिया) जस्ता रोगको जोखिम कम हुन्छ।
५. बालबालिकामा विकासात्मक समस्या सुधार
• अटिज्म भएका बालबालिकामा गिटार संगीतमार्फत सञ्चार कौशल र सामाजिक व्यवहार सुधार गर्न सकिन्छ।
६. शारीरिक पुनर्स्थापनामा सहयोग
• हातको गति र समन्वय सुधार्ने भएकाले, केही शारीरिक पुनर्स्थापना (फिजियोथेरापी तथा रिहाबिलिटेसन) प्रक्रियामा पनि गिटार उपयोगी हुन्छ।
• स्ट्रोक, ट्रॉमाटिक ब्रेन इन्जुरी (टिबीआइ), वा हात–खुट्टाको चलायमानता गुमाएका व्यक्तिहरूका लागि उपयोगी।
विश्वका विभिन्न अस्पताल, पुनर्स्थापना केन्द्रहरू र मानसिक स्वास्थ्य संस्थाहरूले संगीत–चिकित्सा विधि अपनाएका छन्। प्रशिक्षित म्युजिक थेरापिस्टहरूले गिटार प्रयोग गरेर व्यक्तिको अवस्था अनुसार उपचार प्रक्रिया अपनाउँछन्।
मस्तिष्कको विकासमा सहयोग
गिटार बजाउँदा दुवै हात, कान, र दिमाग सक्रिय हुन्छन् जसले मस्तिष्कको समन्वय क्षमता बढाउँछ। एकाग्रता र सृजनशीलतामा सुधार हुनुको साथै बितेको पलहरुको याद लाई ताजा बनाउन सहयोग गर्दछ।
तनाव र चिन्ता कम गर्न सहयोग
अहिलेको व्यस्त जीवनशैलीले मानिसहरूमा बिभिन्न तनाव, चिन्ता र प्रेसरहरु उत्पन्न गराएको छ। संगीत बजाउँदा मन शान्त हुन्छ। गिटार एक किसिमको ध्यान जस्तै बन्न सक्छ। मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
आत्मविश्वास र अनुशासन विकास
गीतार बजाउन सिक्न धेर्यता र नियमित अभ्यासको जरुरत पर्दछ । लगातारको अभ्यासले धैर्य र अनुशासन सिकाउँछ। गीत बजाउदा आफूलाई आनन्द प्राप्त हुन्छ भने बजाएर अरुलाई सुनाउदा खुसी र आत्मविश्वास बढ्छ।
सामाजिक सम्बन्ध सुदृढ पार्छ
गिटार बजाउनेले साथीभाइ, समूह, ब्यान्ड वा सांगीतिक कार्यक्रममार्फत् समाजसँग जोडिन सक्छ। नयाँ मित्रता र सहकार्यको अवसर दिन्छ।
भावनात्मक अभिव्यक्ति सहज हुन्छ
गिटारमार्फत मानिसले आफ्नो भावना र अनुभवहरू अभिव्यक्त गर्न सक्छ – दु:ख, खुशी, प्रेम आदिका भावहरू।
व्यावसायिक सम्भावना
राम्रो बजाउन सक्नेले ब्यान्ड, रेकर्डिङ, कार्यक्रम वा शिक्षण मार्फत् आम्दानी गर्न सक्छ। संगीत शिक्षक वा कलाकार बन्ने सम्भावना रहन्छ ।
हातको गति र समन्वय सुधार हुन्छ
गिटारले हात, औंला र कलाईको लचकता तथा समन्वयमा सुधार ल्याउँछ।
ध्वनिमा संवेदनशीलता बढ्छ
सुर, ताल, र रागको राम्रो ज्ञान हुन्छ जसले संगीतप्रतिको बुझाइ गहिरो बनाउँछ।
गिटार वा संगीत वाद्ययन्त्र बजाउनु (विशेषगरी गिटार) ले विभिन्न रोगहरूको उपचार प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका केही यथार्थ घटनाहरू छन्। यस्ता घटनाहरूले प्रमाणित गर्छन् कि गिटार न केवल संगीतको साधन हो, यो एक प्रभावकारी थेरेपी पनि बन्न सक्छ।
अमेरिकामा युद्धबाट फर्किएका धेरै पूर्वसैनिकहरू (भेटरान्स) पोस्ट ट्रउमाटिक डिसअर्डर नामक मानसिक रोगबाट पीडित हुने गर्छन्। उनीहरूमा डर, तनाव, अवसाद, निद्रा नआउने जस्ता समस्या देखिन्छन्। गीतार फर भेट्स नामक एक संस्थाले युद्धबाट फर्केका पूर्वसैनिकहरूलाई गिटार सिकाउने काम गर्छ। गिटार बजाउन थालेर धेरै सैनिकहरूको मानसिक अवस्था सुध्रिएको पाइएको थियो । उनीहरूले गिटारलाई एक प्रकारको मानसिक औषधिको रूपमा लिएका थिए।
त्यसैगरी जापानमा गरिएको एक अध्ययनमा अटिज्म भएका बालबालिकालाई गिटार संगीतमा सहभागी गराइयो।
उनीहरूलाई गिटारको धुनमा सामेल गराएर ताली बजाउने, गाउने र विस्तारै तार छुन सिकाउने गरियो। बच्चाहरूको बोल्ने क्षमता, सामाजिक व्यवहार र प्रतिक्रिया दिने सीपमा उल्लेखनीय सुधार देखियो।
नर्थ डकोटा बिश्वबिद्यालय द्वारा गरिएको अनुसन्धान अनुसार एक ८५ वर्षीया महिलाको १३ हप्ते थेरापीमा रिदेमिक अडियोटरी स्टीमुलेसन गीतार पेसिङ पद्दतीको प्रयोग गरेपछि चल्ने क्षमता, सन्तुलन, स्थानान्तरणका मापदण्डहरूमा सुधार आएको थियो । त्यसैगरी पार्ककिन्सन रोग भएको अर्को केसमा पनि गिटार–संगीत–फिजियो थेरापीले ब्यालेन्स, चाल र आत्मबिश्वासमा सुधार आएको थियो ।
डिप्रेशन भएका व्यक्तिमा आत्म–उपचार (सेल्फ हिलिङ)का रूपमा गिटारको प्रयोग गरिएको थियो । कतिपय व्यक्तिहरूले डिप्रेशनको समय गिटार बजाउन थालेका थिए। उनीहरूले आफ्नो भावना व्यक्त गर्न, एक्लोपन हटाउन र मानसिक रूपमा व्यस्त रहन गिटारलाई माध्यम बनाएका थिए।
उदाहरणको रूपमा, एक अमान्दा नामको अमेरिकन युवतीले गहिरो डिप्रेशनको समयमा आत्महत्या गर्न खोजेकी थिइन्, गिटार सिक्न थालेपछि उनको मानसिक स्वास्थ्यमा सुधार आयो। उनले पछि संगीतकारको रूपमा नयाँ जीवन सुरु गरिन्।
बेलायतमा एक १६ वर्षको किशोर ट्राफिक दुर्घटनामा परेपछि ट्रमाटिक ब्रेन इन्जुरी (टिबीआई) भयो। उसले कुरा गर्न र ध्यान केन्द्रित गर्न सक्दैनथ्यो। चिकित्सकले औषधिको साथमा संगीत–थेरापीमा गिटार सिकाउने सल्लाह दिए। उक्त किशोरले गिटार सिक्न थालेपछि उसका शारीरिक र मानसिक प्रतिक्रिया द्रूत रूपमा सुधार हुन थाले।
सन् २००७ मा आर्थर ब्लुमद्वारा स्थापना गरिएको म्युजिक्रप एक उच्चस्तरीय संगीत पुनर्स्थापना कार्यक्रम हो, जुन वाल्टर रीड राष्ट्रिय सैनिक अस्पतालमा सञ्चालित छ। यस कार्यक्रमले गम्भीर रूपमा घाइते भएका पूर्वसैनिकहरूलाई गिटारजस्ता संगीत वाद्ययन्त्रहरू नयाँ रूपमा सिक्न वा पुनः सिक्न मद्दत गर्छ, जसले उनीहरूको शारीरिक र मानसिक पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुर्याउँछ।
अमेरिकाको म्युजिक्रप भन्ने कार्यक्रमले शारीरिक र मानसिक रूपले घाइते भएका सैनिकहरूलाई गिटार, ड्रम, पियानो जस्ता वाद्ययन्त्र सिकाएर पिटीएसडी बाट निको पार्न सफल भएको छ। धेरै सैनिकहरूले आत्महत्या गर्न खोजेका थिए, तर गिटारमार्फत आत्म–अभिव्यक्ति र आत्म–स्वीकारको माध्यम पाए भन्ने कुरा उल्लेख गरिएको छ।
यी सबै केस अध्ययनहरुले देखाउँछन् कि गिटार केवल मनोरञ्जनको साधन मात्र होइन, थेराप्युटिक टुल पनि हो। संगीत थेरापी (विशेषगरी गिटार) ले मानसिक स्वास्थ्य, न्यूरोलोजिकल डिसअर्डर, डिप्रेशन, पिटीएसडी, अटिज्म, र शारीरिक पुनःस्थापनामा अद्भुत सहयोग पुर्याउन सक्छ।
अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया लगायत बिश्वका केही अस्पताल र पुनःस्थापना केन्द्रहरूमा गिटार थेरापी सेवा उपलब्ध रहेको छ।
नेपालमा संगीत थेरापी सेवा सुविधा सन्चालन भइरहेका स्थानहरु
अटिस्म केयर नेपाल सोसाइेटीले अटिज्म भएका बालबालिकामा गिटार र अन्य वाद्ययन्त्रमार्फत सामाजिक, भाषिक र मोटर क्षमता विकास गर्न थेरापी प्रयोग गर्छ। गिटार बजाउने र गीत गाउने अभ्यासले धेरै सकारात्मक परिवर्तन देखाएको रिपोर्ट गरिएको छ।
इन्स्पाएर नेपालद्वारा संचालित संगीत थेरेपी प्रोजेक्टले विशेष आवश्यकता भएका बालबालिकालाई संगीत थेरापी सेवा दिन्छ, जसले सामाजिक–भावनात्मक विकासमा सहयोग पुर्याउँछ।
द म्युजिक थेरापी ट्रस्ट (नेपाल) काठमाडौंमा अवस्थित छ, जसले मानसिक र शारीरिक चुनौती सामना गरिरहेका व्यक्तिहरूलाई संगीत थेरापी प्रदान गर्छ।
त्यसैले म भन्छु गिटार बजाउन सिकौं, संगीत सृजना गरौं, शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपले स्वस्थ्य बनौं।
सामाग्री श्रोत :
swasthyakhabar
Kathmandu: Before the internet, students relied entirely on teachers and books to learn. Libraries were the only source of knowledge outside the classroom. Today, however, students turn to AI tools like ChatGPT and other sources like Google, YouTube for answers often more than they do to teachers.
Rudra Pandey, founder of the Deerwalk Group, calls ChatGPT “a library of thousands of PhDs.” He acknowledges the skepticism that surrounds new technologies, comparing it to when libra…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । विश्वभरका सरकारी कार्यालय र व्यावसायिक संस्थाहरूले प्रयोग गर्ने सर्भर सफ्टवेयरमाथि साइबर आक्रमण भइरहेको भन्दै माइक्रोसफ्टले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै माइक्रोसफ्टले सर्भर सुरक्षाका लागि तुरुन्तै सेक्युरिटी अपडेट गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यस घटनाबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जानकारी पाइसकेको छ । र, अनुसन्धानका लागि सरकारी तथा निजी निकायसँग समन्वय गरिरहेको छ ।
माइक्रोसफ्टले सर्भर सफ्टवेयरको शेयरप्वाइन्ट सर्भरमा मात्र यो समस्या देखिएको उल्लेख गरेको छ । क्लाउडमा सञ्चालित माइक्रोसफ्ट ३६५ मा रहेको शेयरप्वाइन्ट अनलाइन भने सुरक्षित रहेको बताइएको छ ।
‘द वाशिङ्टन पोस्ट’ का अनुसार पछिल्लो केही दिनयता अज्ञात ह्याकरहरूले नयाँ पत्ता लागेको कमजोरीमार्फत अमेरिकी र अन्तर्राष्ट्रिय सरकारी तथा व्यवसायिक संस्थाहरूलाई निशाना बनाउँदै आएका छन् ।
विशेषज्ञहरूले ‘जिरो डे’ आक्रमणको रूपमा चिनिने यस हमलाले अघिल्लो कुनैपनि समयमा पत्ता नलागेको कमजोरीमार्फत आक्रमण गरिएको बताएका छन् । जसका कारण विश्वभरका दशौं हजार सर्भरहरू जोखिममा परेको उनीहरूको भनाइ छ ।
माइक्रोसफ्टका अनुसार सर्भर सफ्टवेयरमा कमजोरीका कारण आधिकारिक पहुँच भएका व्यक्तिले समेत नेटवर्कमार्फत ‘स्पुफिङ आक्रमण’ गर्न सक्ने सम्भावना देखिएको छ । यस्तो आक्रमणमार्फत ह्याकरहरूले आफ्नो पहिचान लुकाएर विश्वासिलो व्यक्ति वा निकायको रुपमा ठगी गर्न सक्ने सम्भावना रहन्छ ।
कम्पनीले शेयरप्वाइन्ट सब्सक्रिप्सन एडिसनका लागि नयाँ सुरक्षा अपडेट सार्वजनिक गरिसकेको र यो तुरुन्तै अपडेट गर्न आग्रह गरेको छ । सन् २०१६ र २०१९ संस्करणका लागि समेत अपडेटको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
यदि सिफारिस गरिएको सुरक्षा अपडेट लागु गर्न नसकेको खण्डमा सुरक्षाका लागि इन्टरनेटबाट सर्भर नै डिस्कनेक्ट गर्न समेत माइक्रोसफ्टले सुझाव दिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १६:४७
सामाग्री श्रोत :
टेक पाना