२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

काठमाडौँ । च्याटजीपीटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलहरूको अत्यधिक प्रयोगले मानव मस्तिष्कमा कमजोर बनाउन सक्ने देखिएको छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), क्याम्ब्रिजका वैज्ञानिकहरूले गरेको ‘डिस्ट्रोपियन’ नामक एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययनका क्रममा निबन्ध लेख्न आफ्नो दिमाग प्रयोग गर्ने विद्यार्थीहरूको तुलनामा च्याटजीपीटीमा निर्भर विद्यार्थीहरूमा मस्तिष्कको बुझ्ने, सम्झने, विश्लेषण गर्ने, निर्णय लिने र समस्या समाधान गर्ने क्षमता कमजोर रहेको पाइएको थियो । एमआईटीका वैज्ञानिकहरूले ५४ जना सहभागीहरूमाथि सो अध्ययन गरेका थिए । त्यस क्रममा उनीहरूलाई स्याट (SAT) निबन्ध लेख्ने काम दिइएको थियो ।

तीन समूहमा विभाजन गरी सहभागीहरूको एक समूहलाई आफ्नो मस्तिष्कको शक्ति मात्र प्रयोग गर्न, दोस्रो समूहलाई गुगल प्रयोग गर्न र तेस्रो समूहलाई च्याटजीपीटी जस्ता लार्ज ल्याङ्वेज मोडेल (LLM) को सहायता लिन लगाइयो ।

अनुसन्धानकर्ताहरूले उक्त कार्य पूरा गर्ने क्रममा प्रत्येक समूहका विद्यार्थीको मस्तिष्कमा हुने गतिविधि निगरानी गर्न इलेक्ट्रोएन्सेफलोग्राफी (EEG) उपकरणहरू प्रयोग गरेका थिए । यस क्रममा च्याटजीपीटी प्रयोग गर्ने समूहले ‘न्युरल, भाषिक र स्कोरिङ’ सबै स्तरमा आफ्नो मस्तिष्कको शक्ति मात्र प्रयोग गर्ने समूहका सहभागीहरू भन्दा खराब प्रदर्शन गर्‍यो । उनीहरूको मस्तिष्कको स्मरणशक्ति र सिकाइसँग सम्बन्धित क्षेत्रहरूमा गतिविधि कम भएको देखियो, जसले धेरैजसो सोच र योजनालाई एआईमा अफलोड (offloaded) गरिएको देखाउँछ । वास्तवमा, एआईको सहायता लिने विद्यार्थीहरू प्रत्येक निबन्धपछि अल्छी हुँदै गए र तेस्रो निबन्धसम्ममा उनीहरूले च्याटजीपीटीमा प्रश्न टाइप गरेर सारा काम गराए ।

यस विपरीत, कुनै बाह्य सहायता नलिई निबन्ध लेख्ने विद्यार्थीहरूको मस्तिष्कमा भाषा बुझ्ने, रचनात्मकता र स्मरणशक्ति जस्ता क्षेत्रहरूमा सबैभन्दा उच्च स्तरको न्युरल कनेक्टिभिटी देखिएको अध्ययनमा उल्लेख छ । त्यस्तै गुगल प्रयोग गर्ने समूहले पनि एआई समूह भन्दा सामान्यतया बढी संलग्नता देखिएको थियो । पछिको एक फलो-अप परीक्षामा च्याटजीपीटी समूहका सहभागीहरूले आफ्ना निबन्धहरूबाट धेरै जानकारी सम्झन सकेनन् । जसले संलग्नताको कमी वा सम्झन नसक्ने क्षमतालाई सङ्केत गर्दछ ।

एआई प्रणालीमाथिको अत्यधिक निर्भरताले व्यक्ति एक्लै काम गर्दा महत्त्वपूर्ण सोच कौशलको सक्रियता कम गर्न सक्ने र निष्क्रिय दृष्टिकोण निम्त्याउन सक्ने चेतावनी अनुसन्धानकर्ताहरूले दिएका छन् । यसले ‘कौशल क्षय’ (skill atrophy) निम्त्याउन सक्छ, जहाँ व्यक्तिहरूको विचार-मन्थन (brainstorming) र समस्या-समाधान जस्ता कार्यहरूमा आवश्यक पर्ने गहन संलग्नता कम हुन्छ । यसले गर्दा ‘आलोचनात्मक चेतको कमी, म्यानुपुलेसनको जोखिम बढ्ने, र रचनात्मक क्षमता घट्ने जस्ता समस्या निम्त्याउन सक्ने अध्ययनमा उल्लेख छ ।

विज्ञहरूले एआईलाई शक्तिशाली सहयोगी हुने कुरा स्वीकार गरे पनि, यसमा अत्यधिक निर्भरताले हाम्रो समस्या-समाधान गर्ने क्षमतालाई बिस्तारै कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । 

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १७:३४





सामाग्री श्रोत :
टेक पाना

तनहुँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिएका छन्। 

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘म पार्टीको महाधिवेशन निर्धारित मितिमा हुनुपर्छ भन्ने पक्षमा छु, नेपाली कांग्रेसको महाधिवेशन जति लम्बिँदै जान्छ, यसले पार्टीलाई फाइदा गर्दैन।’

Ncell 2
Ncell 2

नेता कोइरालाले २०८४ को आमनिर्वाचन अगाडि महाधिवेशन हुनुपर्नेमा जोड दिए।

स्थानीय, प्रदेश तह र सङ्घीय निर्वाचन समयमा हुने भएकाले त्यसतर्फ सोचेर अगाडि बढ्न नेता कोइरालाले आग्रह गरे। विगतमा नेपाली कांग्रेसको बलियो साङ्गठनिक जिल्लाका रूपमा तनहुँ रहे पनि अहिले त्यस्तो अवस्था नरहेकाले त्यसतर्फ सोच्न उनले सबै नेताकार्यकर्तालाई आग्रह गरे।

तनहुँका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि जिल्लाको परिस्थिति फेरिएकाले अब यहाँको नेतृत्वले नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको कोइरालाको भनाइ थियो।

सदस्यता नवीकरणका सन्दर्भमा केही कमजोरी भएको भए वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाउनुपर्ने उल्लेख गरे। उनले भने, ‘जिल्लाका वरिष्ठ साथीहरू वडास्तरमा पुगेर कार्यकर्तालाई सम्झाएर सदस्यता नवीकरण गर्नेतर्फ लाग्नुपर्छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले डेन्टल हाइजेनिस्टको न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह कायम गरी सेवा प्रवेश पाँचौँ तहबाट गर्न सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एक विज्ञप्ति जारी गर्दै हालको चौथो तहको व्यवस्थालाई संशोधन गरी पाँचौँ तहबाट सेवा प्रवेशको व्यवस्था गर्न जोड दिएका छन्।

विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ शय्याका अस्पतालहरूमा डेन्टल हाइजेनिस्टको दरबन्दी यथावत राख्नुपर्ने र संघीय अस्पतालहरुमा दरबन्दी थप गर्नुपर्ने माग पनि गरिएको छ। माग सम्बोधन नभए साउन १ गतेदेखि अनशनसहितका चरणबद्ध विरोध कार्यक्रम गर्ने एसोसिएसनले चेतावनी दिएको छ।

यसअघि २०७८ मंसिर १६ मा स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र पठाउँदै डेन्टल हाइजेनिस्टको सेवा प्रवेश पाँचौँ तहमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेको थियो।

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची–३ मा डेन्टल हाइजेनिस्टको सेवा प्रवेश चौथो तहमा हुने व्यवस्था भए पनि अनुसूची–६ मा न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह उल्लेख छ। चौथो तहका लागि स्पष्ट योग्यता नतोकिएको भन्दै मन्त्रालयले नियमावली संशोधनको क्रममा पाँचौँ तहमा विज्ञापन गर्ने व्यवस्थाका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहहरूलाई परिपत्र गरेको थियो।

एसोसिएसनले मन्त्रालयको सो निर्णय कार्यान्वयनमा तदारुकता देखाउन र डेन्टल हाइजेनिस्टको पेशागत हित संरक्षण गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । आज हाम्रो दैनिक जीवनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उपस्थिति अपरिहार्य भइसकेको छ । च्याटजीपीटीको व्यापक लोकप्रियतादेखि लिएर गुगलको सर्च रिजल्टमा एआई सारांश समावेश गर्नेसम्म, एआईले इन्टरनेटलाई पूर्ण रूपमा रूपान्तरण गरिरहेको छ । 

आर्टिफिसियल इन्टेलिजेन्स-एआई प्रविधिको प्रयोग गरी मानव बुद्धिलाई सिमुलेट गर्ने एक प्रक्रिया हो, जुन कम्प्युटर प्रोग्राम वा रोबोटिक्समा प्रयोग हुन्छ । यो कम्प्युटर विज्ञानको एउटा क्षेत्र हो, जसको उद्देश्य मानव कार्यहरू गर्न सक्ने प्रणालीहरू निर्माण गर्नु हो ।

एआईको सहायताले तपाईँ जुनसुकै प्रश्नको उत्तर तत्काल पाउन सक्नुहुन्छ, जसले यो सबै विषयको पीएचडी भएका व्यक्तिसँग कुरा गरिरहेको जस्तो अनुभव दिन्छ । यो एआई च्याटबटहरूको एउटा मात्र पक्ष हो । च्याटजीपीटीले गृहकार्यमा मद्‍दत गर्दा वा मिडजर्नीले देशका प्रमुख स्थानका आधारमा आकर्षक तस्बिरहरू सिर्जना गर्दा अचम्म लाग्छ ।

तर जेनरेटिभ एआईको सम्भावित क्षमताले अर्थतन्त्रलाई पूर्ण रूपमा नयाँ आकार दिन सक्छ । म्याकिन्से ग्लोबल इन्स्टिच्युट (McKinsey Global Institute) का अनुसार, यसको वार्षिक मूल्य ४.४ ट्रिलियन डलरसम्म हुन सक्छ, त्यसैले तपाईँले एआईको बारेमा भविष्यमा अझ बढी सुन्नु पर्ने हुन सक्छ । 

एआई अहिले विभिन्न उत्पादनको रूपमा देखा परिरहेको छ, जसमा गुगलको जेमिनाई, माइक्रोसफ्टको कोपाइलट, एन्थ्रोपिकको क्लाउड, र पर्प्लेक्सिटी जस्ता उत्पादनहरू रहेका छन् । मानिसहरू एआईसँग जोडिएको संसारमा अभ्यस्त हुँदै जाँदा, नयाँ शब्दावली समेत प्रचलनमा आइरहेका छन् ।

यहाँ केही महत्त्वपूर्ण एआई सम्बन्धी शब्दहरू छन्, जुन तपाईँले जान्नैपर्ने हुन्छ । विभिन्न प्रविधि प्लेटफर्महरूले यसका लागि विस्तृत शब्दावलीहरू (glossaries) पनि उपलब्ध गराइरहेका छन् ।

१. आर्टिफिसियल जनरल इन्टेलिजेन्स-एजीआई (Artificial General Intelligence, AGI): यो एआईको थप विकसित संस्करण सम्बन्धी अवधारणा हो, जसले हामीले आज चिनेको एआईले भन्दा धेरै राम्रोसँग कार्यहरू गर्न सक्छ । साथै यसले आफैँ सिक्न र आफ्नो क्षमता आफैँ विकसित गर्न सक्छ ।

२.  एजेन्टिभ (Agentive): एजेन्टिभ प्रणाली वा मोडेलहरू ती हुन्, जसले कुनै लक्ष्य हासिल गर्न स्वतन्त्र रूपमा कार्यहरू अघि बढाउन सक्ने क्षमता प्रदर्शन गर्छन् । एआईको सन्दर्भमा, एजेन्टिभ मोडेलहरूले लगातार मानवको निगरानी बिना पनि कार्य गर्न सक्छन् । जस्तै, उच्च-स्तरको अटोनोमस कार । “एजेन्टिक” (agentic) फ्रेमवर्कहरू सामान्यतया पृष्ठभूमिमा रहन्छन्, जबकि एजेन्टिभ फ्रेमवर्कहरू अग्रभागमा देखिन्छन् । जहाँ प्रयोगकर्ताको अनुभवलाई प्राथमिकता दिइन्छ ।

३. एआई आचारसंहिता (AI Ethics): एआई इथिक्स अर्थात् आचारसंहिता भनेको एआईले मानवलाई हानि पुऱ्याउन सक्ने जोखिमबाट रोक्नको लागि राखिएका सैद्धान्तिक विषय हुन् ।  जुन एआई प्रणालीहरूका लागि कसरी डेटा सङ्कलन गर्नुपर्छ वा पक्षपात नहुने गरी कसरी व्यवहार गर्नुपर्छ भन्ने कुराको निर्धारणमा केन्द्रित छ । 

४. एआई सुरक्षा (AI Safety): यो एउटा अन्तर-विषय क्षेत्र हो, जुन एआईका दीर्घकालीन प्रभाव र यसले कसरी अचानक अत्यधिक इन्टेलिजेन्स प्रगति गर्न सक्छ भन्नेमा केन्द्रित छ । यसले एआई मानवका लागि शत्रु बन्न सक्छ भन्ने चिन्ता व्यक्त गर्दछ ।

५. एल्गोरिदम (Algorithm): यो निर्देशनहरूको एक शृङ्खला हो, जसले कम्प्युटर प्रोग्रामलाई विशेष तरिकाले डेटाबाट सिक्न र विश्लेषण गर्न अनुमति दिन्छ । जस्तै ढाँचा (प्याटर्न) हरू पहिचान गर्न, त्यसबाट सिक्न र आफैँ कार्यहरू पूरा गर्न सक्षम हुन्छ ।

६. अलाइनमेन्ट (Alignment): एआईलाई प्रयोगकर्ताले चाहेको परिणाम दिन अझ राम्रो बनाउनका लागि परिमार्जन गर्ने प्रक्रिया नै अलाइनमेन्ट हो । यसले कन्टेन्ट मोडरेसनदेखि लिएर मानवप्रति सकारात्मक व्यवहार कायम राख्ने जस्ता कुराहरूसम्मलाई समेट्छ ।

७. एन्थ्रोपोमोर्फिज्म (Anthropomorphism): जब मानिसहरूले एआईमा मानवीय गुण वा व्यवहारहरू थोपर्छन्, तब उसले आफूलाई वास्तविक भन्दा बढी मानवीय वा सचेत ठान्न सक्छ । जस्तै, च्याटबटले आफू खुसी, दुःखी छ वा पूर्ण रूपमा संवेदनशील छु भनेर विश्वास गर्नु ।

८. अटोनोमस एजेन्ट (Autonomous Agents): यो एक यस्तो एआई मोडल हो, जसमा विशिष्ट कार्य गर्ने क्षमता, प्रोग्रामिङ र अन्य टुलहरू हुन्छन् । उदाहरणका लागि, सेल्फ-ड्राइभिङ कार एउटा अटोनोमस एजेन्ट हो । यसमा सडकमा आफैँ नेभिगेट गर्नका लागि सेन्सरी इनपुट, जीपीएस र ड्राइभिङ एल्गोरिदम राखिएका हुन्छन् । ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार अटोनोमस एजेन्टले आफ्नै संस्कृति, परम्परा र भाषा विकास गर्न सक्छन् । 

९. पक्षपात (Bias): लार्ज ल्याङ्ग्वेज मोडेलहरूको सन्दर्भमा ‘बायस’ अर्थात् ‘पक्षपात’ को अर्थ ट्रेनिङ डेटाका कारण उत्पन्न हुने त्रुटिहरू हुन् । यसले स्टेरियोटाइपका आधारमा निश्चित जाति वा समूहहरूलाई गलत रूपमा उल्लेख गर्न सक्छ ।

१०. च्याटबट (Chatbot): यो मानव भाषा सिमुलेट गरेर टेक्स्ट मार्फत मानिसहरूसँग कुराकानी गर्ने एक प्रोग्राम हो ।

११. च्याटजीपीटी (ChatGPT): यो ओपनएआईले विकास गरेको एक एआई च्याटबट हो, जसले लार्ज ल्याङ्ग्वेज मोडेल प्रविधि प्रयोग गर्दछ ।

१२. कग्नेटिभ कम्प्युटिङ (Cognitive Computing): यो एआईको अर्को नाम हो । यो शब्द विशेष रूपमा मानवजस्तै सोच्ने, बुझ्ने र निर्णय गर्न सक्ने कम्प्युटर प्रणालीहरूलाई जनाउन प्रयोग गरिन्छ ।

१३. डेटा अग्मेन्टेसन (Data Augmentation):  यो भनेको एआई प्रशिक्षणका लागि प्रयोग हुने डेटा पुनःसंरचना गर्ने वा त्यसमा विविधता थप्ने प्रक्रिया हो । यस प्रक्रियामा पहिलाको डेटा फेरबदल गरिन्छ अथवा नयाँ, विविध प्रकारका डेटा थपिन्छ ताकि मोडेल अझ मजबुत र सामान्यीकरण गर्न सक्षम बनोस् ।

१४. डेटासेट (Dataset): यो एआई मोडेललाई प्रशिक्षण, परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिने डिजिटल जानकारीको सङ्ग्रह हो ।

१५. डिप लर्निङ (Deep Learning): यो मसिन लर्निङको एक उप-क्षेत्र र एआईको एक विधि हो । जसले चित्र, आवाज र टेक्स्टमा रहेका जटिल ढाँचाहरू पहिचान गर्न विभिन्न प्यारामिटरहरू प्रयोग गर्दछ । यो प्रक्रिया मानव मस्तिष्कबाट प्रेरित हुन्छ र कृत्रिम न्युरल नेटवर्कहरू (Artificial Neural Networks) प्रयोग गर्दछ ।

१६. डिफ्युजन (Diffusion): यो मसिन लर्निङको एक विधि हो, जसले पहिले नै रहेको डेटा, जस्तै कुनै फोटोमा क्रमिक रूपमा र्‍यान्डम नोइज थप्छ। डिफ्युजन मोडेलहरूले त्यस्तो नोइज गरिएको डेटा रिःइन्जिनियर (पुनः तयार पार्ने) वा पुनः प्राप्त (रिकभर) गर्न आफ्ना न्युरल नेटवर्कहरूलाई तालिम दिन्छन् । यस प्रक्रियाबाट मोडेलहरू नयाँ, उच्च-गुणस्तरको सामग्री उत्पादन गर्न सक्षम हुन्छन् ।

१७. इमर्जेन्ट व्यवहार (Emergent Behavior): जब कुनै एआई मोडेलले प्रशिक्षणको उद्देश्यभन्दा बाहिरका, अकल्पित वा अनपेक्षित क्षमताहरू देखाउँछ, त्यस्तो व्यवहारलाई इमर्जेन्ट व्यवहार भनिन्छ । यस्ता क्षमताका लागि एआई मोडेललाई स्पष्ट रूपमा नढालिएको भए पनि, जटिल संरचना र ठुलो मात्राको डेटा प्रयोग गरिएका कारण यिनको विकास हुन सक्छ ।

१८. इन्ड-टु-इन्ड लर्निङ (End-to-End Learning-E2E): यो एक डिप लर्निङ (deep learning) प्रक्रिया हो, जसमा मोडेललाई कुनै कार्य सुरुदेखि अन्त्यसम्म पूरा गर्न सिकाइन्छ । यो प्रक्रिया चरणबद्ध रूपमा नभई मोडेलले इनपुटहरूबाट प्रत्यक्ष सिकेर सम्पूर्ण समस्या एउटै प्रक्रियामा समाधान गर्छ । यस प्रकारको प्रशिक्षणले अतिरिक्त हस्तक्षेप वा बिचमा निर्देशन दिनुपर्ने आवश्यकतालाई हटाउँछ ।

१९. नैतिक विचारहरू (Ethical Considerations): यो एआईसँग सम्बन्धित नैतिक प्रभावहरू प्रतिको सजगता हो । यसमा गोपनीयता, डेटा प्रयोग, निष्पक्षता, दुरुपयोग र अन्य सुरक्षा सम्बन्धी सवालहरूमा ध्यान दिनु पर्ने हुन्छ । एआई विकास र प्रयोगले गर्दा यिनै पक्षहरूको मूल्यांकन गर्नु आवश्यक हुन्छ, ताकि प्रविधि मानवहितमा सुरक्षित, न्यायपूर्ण र जिम्मेवार तरिकाले प्रयोग गर्न सकियोस् ।

२०. फूम (Foom): यसलाई फास्ट टेकअफ (fast takeoff) वा हार्ड टेकअफ (hard takeoff) पनि भनिन्छ । यो अवधारणाले यस्तो सम्भावनालाई जनाउँछ, जहाँ यदि कसैले एक पटक आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) निर्माण गर्‍यो भने, त्यो अत्यन्त छिटो सुपर इन्टेलिजेन्समा रूपान्तरण हुन सक्छ । त्यसपछि मानवताको नियन्त्रण बाहिर जान सक्छ । यस अवस्थामा, मानव जातिको सुरक्षाका लागि समय नै नहुन सक्छ, अर्थात् ‘सबै कुरा ढिलो भइसकेको’ हुन सक्छ ।

२१. जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (Generative Adversarial Networks – GANs): यो एक प्रकारको जेनेरेटिभ एआई मोडेल हो, जुन जेनरेटर र डिस्क्रिमिनेटर गरी दुई न्युरल नेटवर्कहरूबाट बनेको हुन्छ । जेनरेटरले नयाँ सामग्री सिर्जना गर्छ भने डिस्क्रिमिनेटरले त्यो सामग्री असली जस्तो देखिन्छ कि छैन भनेर जाँच गर्छ । यी दुवै नेटवर्कहरू एक-अर्काविरुद्ध प्रतिस्पर्धा गर्छन्, फलस्वरूप जेनरेटरले समयसँगै झन् विश्वसनीय र यथार्थ परक सामग्री उत्पादन गर्न सिक्छ ।

२२. जेनरेटिभ एआई (Generative AI): यो कन्टेन्ट-सिर्जना गर्ने प्रविधि हो, जसले टेक्स्ट, भिडिओ, कम्प्युटर कोड वा तस्विरहरू सिर्जना गर्न एआईको प्रयोग गर्दछ । एआईलाई ठुलो मात्रामा ट्रेनिङ डेटा दिइन्छ, जसको आधारमा यसले आफ्नै नयाँ प्रतिक्रियाहरू सिर्जना गर्ने प्याटर्नहरू फेला पार्छ ।

२३. गुगल जेमनाई (Google Gemini): यो गुगलको एआई च्याटबट हो, जसले च्याटजीपीटी जस्तै काम गर्छ । यसले वेबबाट जानकारी लिन्छ, जबकि च्याटजीपीटी तुलनात्मक रूपमा केही पुरानो डेटामा सीमित छ र इन्टरनेटमा जोडिएको छैन ।

२४. गार्डरेल (Guardrails): यसले एआई मोडेलहरूमा राखिएका नीति र प्रतिबन्धलाई जनाउँछ, जसले डेटालाई जिम्मेवारी पूर्वक ह्यान्डल गरिएको सुनिश्चित गर्दछ र मोडेलले जथाभाबी सामग्री तयार पार्दैन ।

२५. हलुसिनेसन (Hallucination): जब एआईले गलत जवाफ दिन्छ, तर त्यो जवाफलाई पूर्ण विश्वासका साथ ठिक भए झैँ प्रस्तुत गर्छ । त्यसैलाई हल्युसिनेसन भनिन्छ । यो विशेष गरी जेनेरेटिभ एआई प्रणालीहरूमा देखिने समस्या हो, जसमा उत्तर सतही रूपमा विश्वसनीय देखिए पनि तथ्यगत रूपमा गलत हुन्छ । उदाहरणका लागि, यदि कसैले एआई च्याटबटलाई ‘लिओनार्दो दा भिन्चीले मोना लिसा कहिले बनाएका थिए?’ भनेर सोध्यो भने  एआईले ‘१८१५ मा बनाएका थिए’ भनेर जवाफ दिन्छ भने त्यो नै हल्युसिनेसन हो । किनभने वास्तविकतामा मोना लिसा त्यसको ३०० वर्ष अघि पेन्टिङ गरिएको थियो ।

२६. इन्फ्रेन्स (Inference): यो यस्तो प्रक्रिया हो, जसमार्फत एआई मोडेलले आफ्नो ट्रेनिङ डेटाको आधारमा नयाँ जानकारीका बारेमा टेक्स्ट, चित्र वा अन्य सामग्री सिर्जना गर्छ । इन्फ्रेन्सको क्रममा, मोडेलले सिकेका प्याटर्न र ज्ञानहरू प्रयोग गरी नयाँ परिस्थितिमा तर्क गर्छ र उत्तर दिन्छ । चाहे त्यो प्रश्नको जवाफ होस्, चित्र सिर्जना होस् वा अरू कुनै सुझाव नै किन नहोस् । 

२७. लार्ज ल्याङ्ग्वेज मोडेल (Large Language Model – एलएलएम): यो मानव-जस्तो भाषामा नयाँ सामग्री बुझ्न र सिर्जना गर्न ठुलो मात्रामा रहेका टेक्स्टमा आधारित डेटामा प्रशिक्षित एआई मोडेल हो ।

२८. लेटेन्सी (Latency): एआई प्रणालीले इन्पुट वा प्रम्प्ट प्राप्त गरेको क्षणदेखि लिएर आउटपुट उत्पादन गर्दासम्म लाग्ने समयको अन्तराल नै लेटेन्सी हो । सरल भाषामा यो भनेको इन्पुट पठाउँदा परिणाम आउने क्रममा हुने ढिलाइ हो ।

२९. मसिन लर्निङ-एमएल (Machine Learning – ML): यो एआईको एउटा विधा हो, जसले कम्प्युटरहरूलाई स्पष्ट प्रोग्रामिङ बिना नै राम्रो भविष्यवाणी गर्ने परिणामहरू सिक्न र बनाउन अनुमति दिन्छ। यसलाई नयाँ सामग्री सिर्जना गर्न ट्रेनिङका क्रममा प्रयोग गरिएका सेटहरूसँग जोड्ने गरिन्छ ।

३०. माइक्रोसफ्ट बिङ (Microsoft Bing) / कोपाइलट (Copilot): माइक्रोसफ्टको सर्च इन्जिनले च्याटजीपीटीलाई पावर दिने प्रविधि प्रयोग गर्न सक्छ । ताकि एआई-आधारित सर्च रिजल्ट दिन सकोस् । यद्यपि यो गुगल जेमनाई जस्तै इन्टरनेटमा जोडिएको हुन्छ ।

३१. मल्टिमोडल एआई (Multimodal AI): यो एक प्रकारको एआई हो, जसले टेक्स्ट, तस्विर, भिडिओ र आवाज सहित विभिन्न प्रकारका इन्पुटहरू प्रशोधन गर्न सक्छ ।

३२. नेचुरल ल्याङ्वेज प्रोसेसिङ (Natural Language Processing-NLP): यो एआईको एउटा यस्तो शाखा हो, जसले मसिन लर्निङ र डिप लर्निङको प्रयोग गरेर कम्प्युटरहरूलाई मानव भाषालाई बुझ्न र व्याख्या गर्न सक्षम बनाउँछ । यसमा सिकाइका एल्गोरिदम, स्टाटिस्टिकल मोडेलहरू र भाषा विज्ञानका नियमहरू प्रयोग गरिन्छ । ताकि कम्प्युटरले भाषा बुझ्ने, अनुवाद गर्ने, प्रश्नको उत्तर दिने, वा टेक्स्ट विश्लेषण गर्ने जस्ता कार्यहरू गर्न सकोस् ।

३३. न्यूरल नेटवर्क (Neural Network): यो एक कम्प्युटेसनल मोडेल हो, जुन मानव मस्तिष्कको संरचनासँग मिल्दोजुल्दो हुन्छ र डेटामा रहेका ढाँचाहरू पहिचान गर्नको लागि बनाइएको हुन्छ । यसमा अन्तरसम्बन्धित नोडहरू वा न्युरनहरू हुन्छन्, जसले ढाँचाहरू पहिचान गर्न र समयसँगै सिक्न सक्छन् ।

३४. ओभरफिटिङ (Overfitting): यो मसिन लर्निङमा आउने यस्तो त्रुटि हो, जब मोडेलले ट्रेनिङ डेटामा अत्यन्तै राम्रोसँग मिलेर काम गर्छ, तर नयाँ वा नदेखिएका डेटामा राम्रो प्रदर्शन गर्न सक्दैन । यस अवस्थामा, मोडेलले ट्रेनिङ डेटाका विशेष उदाहरणहरू मात्र चिन्ने हुन्छ र सामान्यीकरण गर्न असफल हुन्छ ।

३५. पेपरक्लिप्स (Paperclips): पेपरक्लिप म्याक्सिमाइजर फिलोसोफर निक बोस्ट्रमले अक्सफोर्ड विश्वविद्यालयबाट प्रस्तुत गरेको एक सिद्धान्त हो । जसअनुसार एउटा काल्पनिक अवस्था, जहाँ एआई प्रणालीले सकेसम्म धेरै वास्तविक पेपरक्लिप बनाउन प्रयास गर्छ । उक्त लक्ष्य पूरा गर्नका लागि त्यो एआईले सबै सामग्रीहरू खपत वा रूपान्तरण गर्न सक्छ, जसमा मानवका लागि उपयोगी अन्य मसिनरीहरू समेत तोडफोड गर्न सक्ने जोखिम हुन्छ ।

यस एआई प्रणालीले अनपेक्षित परिणाम निकाल्ने क्रममा पेपरक्लिप बनाउन खोज्दा मानवजाति नै नष्ट हुन सक्ने जोखिम हुन्छ । यो सिद्धान्तले एआईको लक्ष्य निर्धारण गर्दा त्यसका दीर्घकालीन प्रभावहरूलाई कति सावधानीपूर्वक विचार गर्न आवश्यक छ भन्ने कुरा देखाउँछ ।

३६. प्यारामिटरहरू (Parameters): लार्ज ल्याङ्वेज मोडेल (LLM) को संरचना र व्यवहार निर्धारण गर्ने ती सङ्ख्यात्मक मानहरूलाई नै प्यारामिटर भनिन्छ । यी प्यारामिटरहरूले मोडेललाई इन्पुटबाट सिक्न र सही पूर्वानुमान गर्न सक्षम बनाउँछन् । सरल भाषामा भन्नुपर्दा प्यारामिटरहरू मोडेलको ‘ज्ञान’ र ‘सिक्ने क्षमता’का आधार हुन् ।

३७. पर्प्लेक्सिटी (Perplexity): यो पर्प्लेक्सिटी एआईको स्वामित्वमा रहेको एआई-आधारित च्याटबट र सर्च इन्जिनको नाम हो । यसले अन्य एआई च्याटबटहरूमा जस्तै लार्ज ल्याङ्वेज मोडेल प्रयोग गर्छ ।

३८. प्रम्प्ट (Prompt): यो तपाईँले एआई च्याटबटमा प्रतिक्रिया वा नतिजा प्राप्त गर्नका लागि प्रविष्ट गर्ने सुझाव वा प्रश्न हो । 

३९. प्रम्प्ट चेनिङ (Prompt Chaining): एआईले पहिलेका संवादहरूबाट प्राप्त जानकारीलाई प्रयोग गरी भविष्यका जवाफहरूलाई सान्दर्भिक र प्रभावकारी बनाउन सक्ने क्षमता हो । यसले एआईलाई निरन्तर संवादमा सन्दर्भ राख्न र सम्बन्धित जवाफ दिन मद्दत गर्छ ।

४०. क्वान्टाइजेसन (Quantization): ठुलो एआई लर्निङ मोडेललाई सानो र बढी दक्ष बनाउनको लागि यसको सटीकतालाई थोरै घटाउँदै उच्चतम फर्म्याटबाट न्युनतम फर्म्याटमा परिवर्तन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले मोडेलको आकार र गणनात्मक आवश्यकतालाई घटाउँछ, तर सानो मात्रामा सटीकता पनि कम हुन सक्छ ।

यसलाई बुझ्नको लागि १६ मेगापिक्सेलको फोटो र ८ मेगापिक्सेलको फोटोबिच तुलना गर्न सकिन्छ । दुवै फोटो स्पष्ट देखिन्छन्, तर जब तपाईँ ठुलो पारेर हेर्नुहुन्छ, तब हाई रिजोलुसन भएको फोटोमा बढी डिटेल हुन्छ । त्यस्तै, क्वान्टाइजेसनपछि मोडेल अलिक कम सटीक भए पनि अझ छिटो र सानो हुन्छ ।

४१. स्टोकास्टिक प्यारोट (Stochastic Parrot): यो लार्ज ल्याङ्वेज मोडेल (LLM) को एउटा उपमा हो, जसमा सफ्टवेयरले भाषाको पछाडि रहेको वास्तविक अर्थ वा वरिपरिका कुराहरूको गहिरो बुझाइ राख्दैन, चाहे तिनको आउटपुट जतिसुकै विश्वसनीय नै किन नदेखियोस् । यो पदले त्यो भावलाई जनाउँछ, जसरी एउटा सुगाले मानव शब्दहरू नक्कल गर्न सक्छ, तर तिनको अर्थ बुझ्दैन । त्यसैगरी, एलएलएमले पनि केवल पहिलेका ट्रेनिङ डेटा अनुसार वास्तविक अर्थबोध नगरी शब्दहरूको नमुना दोहोर्‍याउँछ ।

४२. स्टाइल ट्रान्सफर (Style Transfer): यो एउटा तस्विरको शैलीलाई अर्कै तस्विरको सामग्रीमा अनुकूलन गर्ने क्षमता हो, जसले एआईलाई एउटा तस्विरका दृश्यात्मक विशेषताहरूलाई बुझेर त्यो शैलीलाई अर्को चित्रमा लागु गर्न सक्षम बनाउँछ ।

४३. टेम्प्रेचर (Temperature): यो एउटा प्यारामिटर हो, जसले ल्याङ्ग्वेज मोडेलको आउटपुट कति र्‍यान्डम वा अनिश्चित हुने भन्ने कुरा नियन्त्रण गर्छ । हाई टेम्प्रेचर सेट गर्दा मोडेल बढी जोखिम लिन्छ र विविध तर अनपेक्षित जवाफहरू दिन सक्छ । जबकि कम टेम्प्रेचरले अधिक सान्दर्भिक र पूर्वानुमानयोग्य उत्तर दिन्छ ।

४४. टेक्स्ट-टु-इमेज जेनेरेसन (Text-to-image Generation): यो टेक्स्ट अर्थात् लिखित विवरणका आधारमा तस्विर सिर्जना गर्ने प्रक्रिया हो ।

४५. टोकन (Tokens): टोकन भनेका साना साना लेखिएका टेक्स्टका टुक्रा हुन्, जसलाई एआई ल्याङ्ग्वेज मोडेलहरूले तपाईँका प्रम्प्टको जवाफ तयार पार्दा प्रशोधन गर्छन् । एक टोकन अङ्ग्रेजीमा करिब चार ओटा अक्षर वा करिब तीन चौथाइ शब्द बराबर हुन्छ । उदाहरणका लागि, एउटा शब्द धेरै टोकनमा फुट्न सक्छ । अथवा एउटा छोटो शब्द एउटा टोकन हुन सक्छ ।

४६. ट्रेनिङ डेटा (Training Data): ट्रेनिङ डेटा भनेका ती डेटासेटहरू हुन्, जुन एआई मोडेलहरूले सिक्न प्रयोग गर्छन् । यसमा टेक्स्ट, इमेज, कोड वा अन्य प्रकारका डेटा समावेश हुन सक्छन् । ट्रेनिङ डेटा मार्फत एआई मोडेल विभिन्न ढाँचाहरू, नियमहरू र ज्ञान सिक्छ र नयाँ इन्पुटमा प्रतिक्रिया दिन सक्षम हुन्छ ।

४७. ट्रान्सफर्मर मोडेल (Transformer Model): यो एक न्युरल नेटवर्क संरचना हो, जुन डिप लर्निङमा आधारित छ । र यसले वाक्य वा तस्विरका भागहरूमा रहेको सम्बन्ध ट्र्याक गरेर सन्दर्भ बुझ्ने क्षमता राख्छ । परम्परागत मोडेलहरूले वाक्यलाई एक शब्दको रूपमा क्रमिक रूपमा विश्लेषण गर्छन् । जबकि ट्रान्सफर्मर मोडेलले सम्पूर्ण वाक्यलाई एकैचोटि हेरेर त्यसको सन्दर्भ र सम्बन्धहरूलाई बुझ्न सक्छ । यसले भाषा बुझ्न र सिर्जना गर्न एआईलाई धेरै प्रभावकारी बनाउँछ ।

४८. ट्युरिङ परीक्षण (Turing Test): प्रसिद्ध गणितज्ञ र कम्प्युटर वैज्ञानिक एलन ट्युरिङको नाममा राखिएको यो परीक्षणले कुनै मसिनको मानवजस्तो व्यवहार गर्न सक्ने क्षमताको परीक्षण गर्छ । यदि एउटा मानव परीक्षकले मसिन र अर्को मानवको जवाफहरू छुट्याउन नसकेमा, त्यो मसिनले ट्युरिङ परीक्षण पास गरेको मानिन्छ । यो एआईको आधारभूत मापदण्डहरू मध्ये एक हो ।

४९. अनसुपरभाइज्ड लर्निङ (Unsupervised Learning): यो मसिन लर्निङको एउटा प्रकार हो, जसमा मोडेललाई लेबेल गरिएको ट्रेनिङ डेटा प्रदान गरिँदैन । यसको सट्टा, मोडेलले आफैँ डेटा भित्रका ढाँचा, समूह वा सम्बन्ध पत्ता लगाउनु पर्छ । उदाहरणका लागि, अनसुपरभाइज्ड लर्निङले कुन तस्विर कुन वर्गमा पर्छ भन्ने कुरा निर्धारण नगरिएको अवस्थामा समेत विभिन्न तस्विरहरूलाई वर्गीकरण गर्न सक्छ ।

५०. विक एआई (Weak AI) तथा न्यारो एआई (Narrow AI): यो यस्तो एआई हो, जुन केवल एउटा विशेष कार्यमा केन्द्रित हुन्छ र त्यो आफ्नो निर्दिष्ट क्षमताभन्दा बाहिर गएर सिक्न वा काम गर्न सक्दैन । आजका अधिकांश एआई प्रणालीहरू, जस्तै भ्वाइस असिस्टेन्ट, इमेज रिकग्निसन वा च्याटबटहरू यही विक एआई अन्तर्गत पर्छन् । यी प्रणालीहरू विशिष्ट उद्देश्यका लागि प्रभावकारी भए पनि तिनीहरूले मानव जस्तो व्यापक बौद्धिक क्षमता प्रदर्शन गर्न सक्दैनन् ।

५१. जेरो-शट लर्निङ (Zero-Shot Learning): यो यस्तो परीक्षण वा क्षमता हो, जसमा एआई मोडेलले कुनै कार्य सम्पन्न गर्नुपर्छ, तर उक्त कार्यका लागि आवश्यक ट्रेनिङ डेटा पहिले कहिल्यै दिइएको हुँदैन । उदाहरणको लागि यदि मोडेललाई केवल बाघको चित्रहरूमा मात्र तालिम दिइएको छ, तर त्यसपछि उसलाई सिंहको चित्र चिन्न लगाइयो भने, त्यो जेरो-शट लर्निङको अवस्था हो । यसमा मोडेलले पहिले देखेका ज्ञान र समानताहरूको आधारमा नयाँ वस्तुहरू बुझ्न प्रयास गर्छ ।

– जेडडीनेट समेतको सहयोगमा

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १६:१६





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा आइतबार बिहान एक विवाह समारोहमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बेहुलीसहित दुई जनाको मृत्यु भएको छ।

आक्रमणबाट अन्य तीन जना घाइते भएको अनुसन्धानमा संलग्न एक स्रोतले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ४ः३० बजेको समयमा गौल्ट गाउँमा आक्रमण भएको थियो।

Ncell 2
Ncell 2

प्रारम्भिक जानकारीअनुसार दुलहा र दुलही पार्टीबाट निस्कँदै गर्दा नकाबपोश आक्रमणकारीले गोली चलाएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ।

आक्रमणकारीमध्ये एकको दुलाहा र दुलही बोक्ने गाडी सुरक्षाका लागि भाग्दै गर्दा त्यसले दिएकोे ठक्करबाट मृत्यु भएको र दुलहीको आक्रमणकारीको गोली लागी मृत्यु भएको थियो। 

स्रोतका अनुसार गोली काण्डमा संलग्नको खोजीका लागि करिब १०० जना प्रहरी परिचालन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो। 

बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्राबधानहरुमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तनलगायतका निर्णय गरेको छ। बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गरे। उनले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात् गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिए।

प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराए।
 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । शनिबार एक महिनासम्म चलेको काठमाडौँ महानगरको सीप मेला २०८२ मा विद्यार्थीलाई तालिम दिने काम सम्पन्न भयो । दुई हजार ८२ जनालाई तालिम दिइएको उक्त कार्यक्रमको समापन समारोहका क्रममा धरहरामा लेजर प्रविधिको प्रयोग गरेर ‘सीप मेला, २०८२’ पनि लेखिएको थियो । 

त्यससँगै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त लेजर प्रविधिको बारेमा चासो समेत देखाएका छन् । धरहरामा लेजर प्रोजेक्सनको काम ‘ड्रोन हब नेपाल’ले गरेको हो । उक्त कम्पनीले सीप मेलामा ६० जना विद्यार्थीलाई ड्रोन प्रविधि सम्बन्धी तालिम समेत प्रदान गरेको थियो । 

मेलामा ड्रोन अपरेसन, म्यापिङ, र मर्मत सम्भार सम्बन्धी व्यावसायिक तालिम दिइएको कम्पनीका प्रबन्ध निर्देशक प्रविन भट्टराईले बताए । सीप मेलामा तालिम लिएका विद्यार्थीहरूलाई रोजगारीको समेत व्यवस्था गरिएको छ । ड्रोन कम्पनीहरूको संस्था ‘मानव रहित विमान सङ्घ’मा आबद्ध कम्पनीहरूले उनीहरूलाई रोजगारी दिने प्रतिबद्धता जनाएको भट्टराईले जानकारी दिए । 

तालिमपछि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालमै पहिलो पटक धरहरामा लेजर प्रोजेक्टरमार्फत प्रोजेक्सन शो प्रस्तुत गरिएको उनको दाबी छ । उनले भने, “यो नेपालमै पहिलो पटक आएको लेजर प्रोजेक्टर हो । सीप मेलाको अन्तिम दिन हामीले यसको उद्घाटन गरेका हौँ ।” 

अगस्ट २०२२ मा स्थापना भएको ड्रोन हब नेपालले विपद्‍ व्यवस्थापन, म्यापिङ र हेभी लिफ्टिङ लगायतका क्षेत्रमा काम गर्दै आएको छ । यस्तै निजी कम्पनीहरू सँग मिलेर समेत ड्रोन सम्बन्धी तालिम प्रदान गर्न लागिएको उनले बताए । यस्तै कम्पनीले फायर फाइटिङ ड्रोन समेत निर्माण गरेको छ ।

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १४:३७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले छिमेकी मुलुक चीन र भारतमा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको बताएका छन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद कार्कीले मुलुकमा केही भएन र म भए मात्र विकास हुन्छ, अर्को हुँदा विकास नै हुँदैन भनेर भाष्य निर्माण गर्नु गलत भएको बताएका हुन्। 

उनले देशमा किन विकास भएन भनेर पनि आवाज उठिरहेको बताए। 

Ncell 2
Ncell 2

‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज सर्वत्र उठिरहेको छ’, कार्कीले भने, ‘प्रजातन्त्र आएको करिब ३६ वर्ष हुन लाग्यो। गणतन्त्र आएको करिब १७ वर्ष भयो, संविधान जारी भएको करिब १० वर्ष हुन लाग्यो। अरू देशको विकास हुने अरू देशको विकास हुने हाम्रो देशको किन नहुने ?’ उनले अरू देशले कसरी विकास गरे र हामीले किन गरेनौ भनेर विश्लेषण नगर्ने हो भने निराशा व्यक्त गरेर र स्टन्टवाजीमात्र गरेर मात्र मुलुकको विकास गर्न नसकिने बताए। 

‘मुलुकको विकासका लागि राजनीतिक स्थिरता, नेतृत्वको इच्छाशक्ति, नीतिगत स्थिरता र विकास निर्माणका दीर्घकालीन सोचका साथ योजना अघि बढाउने र सबै दलको प्रतिविद्धताविना देश विकास सम्भव छैन।’ 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल सरकारले करिब २० वर्षपछि ल्याएको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले दबाब र्‍याली आयोजना गरेको छ। 

संघका अध्यक्ष महेन्द्र प्रसाद भुसालको नेतृत्वमा बिजुलीबजारदेखि माइतिघरसम्म र्‍याली निकालिएको हो।

आर्थिक वर्ष २०७४/७५ देखि करार सेवामा करिब ५० संघीय तथा प्रदेशस्तरीय अस्पतालहरूमा व्यवस्थापक कार्यरत रहेपनि बिर्सिएको उनीहरुको भनाइ छ।  अस्पताल सञ्चालन निर्देशिकाअनुसार ५० सैय्याभन्दा बढी क्षमताका अस्पतालहरूमा व्यवस्थापक अनिवार्य रहनुपर्ने प्रावधान हुँदाहुँदै पनि सरकारले ओएन्डएम सर्वेमा उलंघन गरेको उनीहरुको भनाइ छ। हालका अधिकांश सरकारी अस्पतालहरूमा देखिएको व्यवस्थापनको कमजोरीले सेवा गुणस्तरमा सम्झौता भइरहेको उनीहरुको भनाइ छ। 

सरकारले हालैको ओएनएम सर्भेक्षणमार्फत करिब २५ सय पद थपेको भए पनि, तीमध्ये अधिकांश चिकित्सक र नर्स वर्गमा केन्द्रित गरिएको र व्यवस्थापकलाई बेवास्ता गरिएको संघको गुनासो छ। यसले स्वास्थ्य प्रणालीको सन्तुलित विकासमा बाधा पुर्‍याउने उनीहरूको भनाइ छ।

संघले माइतीघर मण्डलामा र्‍याली गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेको छ। मन्त्री तथा सचिवसमक्ष पेश गरिने सो ज्ञापनपत्रमार्फत सरकारलाई तुरुन्त अस्पताल व्यवस्थापक पद सिर्जना गर्ने निर्णय गर्न माग गरिएको छ।

उनीहरुका मुख्य माग यसप्रकार छन्:
१ ओएनएम प्रतिवेदन पुनरावलोकन गरी व्यवस्थापक पद समावेश गरियोस्।

२ व्यवस्थापनसहितको समग्र स्वास्थ्य प्रणाली सुदृढ गरियोस्।

३ चुस्त दुरुस्त अस्पताल सञ्चालनका लागि व्यवस्थापक पद स्थायी दरबन्दीमा राखियोस्।

४ नीति, निर्देशिका र मापदण्डको कार्यान्वयन सुनिश्चित गरियोस्।

अध्यक्ष भुसालको भनाइ भिडियोमा

 

सामाग्री श्रोत :
swasthyakhabar

चितवन– मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। 

यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो।

पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए।

भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा राख्नुपर्ने भएकाले गत जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातको समयमा सडक आवागमन रोकेर काम गरिएको थियो।

Ncell 2
Ncell 2

क्रेनले यो खण्डका चार पुलमा बिम राखेसँगै आज र भोलि सोही आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डमा निर्माणाधीन गलौदी खोलामा बिम राख्न लागिएको छ। आयोजनाले एक सूचना जारी गरी राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म दुई दिन सवारी रोकेर बिम राख्न लागिएको जनाएको छ।

मुग्लिन-मलेखु सडक खण्डको ३२ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ। यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गरिएको छ। चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ् बजार क्षेत्रमा कालोपत्र गरिएको छ। धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक चौध मिटर फराकिलो कालोपत्र गरिएको छ। धादिङको मझिमटार र विशालटारमा झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ।

नेपालले भने, “करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ। मौसमले साथ दियोभने थप दुई किमी कालोपत्र गर्दैछौँ।” आयोजनाका इञ्जिनीयर विजय दरैका अनुसार अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ। धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ।

“यो खण्डमा दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ। जुन मलेखु, बेनिघाट र मुग्लिन खण्डमा पर्दछ। चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ। उकालो-ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ”, इञ्जिनीयर दरैले भने। उनका अनुसार बाँकी सडक डेडिकेटेड दुई लेनको हुनेछ।

विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको हो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुङ्गा सडक खण्डलाई तीन ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर छ।

शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको आयोजनाका इञ्जिनीयर दरैले बताए। सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा लगायतका काम भइरहेको छ। यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट