नेपालको सन्दर्भमा वृद्धावस्थामा यौनिकता केवल व्यक्तिगत चाहना वा शारीरिक सम्बन्धको विषय होइन, आत्म-सम्मान, सामाजिक स्वीकृति, मानसिक स्वास्थ्य र जीवन सन्तुष्टिसँग गहिरो रूपमा जोडिएको जटिल सामाजिक–मानसिक पक्ष हो। परम्परागत समाजमा उमेरसँगै यौनिकता निष्क्रिय हुन्छ भन्ने गलत मान्यता बलियो छ, जसले वृद्ध व्यक्तिको यौन अधिकार, स्वास्थ्य र समग्र जीवनमा नकारात्मक असर पार्छ। नेपाल लागायत दक्षिण एसियामा वृद्ध व्यक्तिको यौनिकता सार्वजनिक रूपमा छलफल गर्न असहज मानिन्छ, जसको कारण सामाजिक संरचना, धार्मिक मान्यता, लाज–शर्म र सांस्कृतिक मूल्यहरू हुन्।
पछिल्लो अनुसन्धानले देखाएको छ कि यौन जीवनको गुणस्तर वृद्ध व्यक्तिको आत्म-सम्मान, मानसिक स्वास्थ्य, सम्बन्ध सन्तुष्टि र जीवनको समग्र खुसीसँग प्रत्यक्ष सम्बन्धित छ । यद्यपि, नेपालमा वृद्ध व्यक्तिको स्वास्थ्य अधिकारको चर्चा भए पनि यौन स्वास्थ्य र जीवन गुणस्तरबारे स्पष्ट नीति र कार्यक्रमको अभाव छ। यसले वृद्धहरूलाई आत्म-अस्वीकृति, मानसिक तनाव, सामाजिक बहिष्करण र सम्बन्ध विघटन जस्ता समस्यामा पार्दछ। हाम्रो समाजमा वृद्धहरूमा यौनिकता र स्वास्थ्यबारे जानकारीको कमी, सेवामा पहुँचको अभाव, पारिवारिक दबाब र पूर्वाग्रही व्यवहार अझ बढी देखिन्छ भने त्यसमा पनि अझधेरै रुपमा वृद्ध महिलाको यौनिकता झन् बढी दिविएको छ, जहाँ एक महिलाले यौन इच्छाबारे कुरा गर्नु नै निषेधित मानिन्छ।
यद्यपि, पछिल्लो समय शहर केन्द्रित वृद्ध सञ्जाल, स्वास्थ्य क्याम्प र केही गैरसरकारी संस्थाको पहलले वृद्धको यौनिकता र स्वास्थ्यबारे छलफल सुरु गरेका छन्। तर, यी प्रयास अझै प्रारम्भिक चरणमा छन् र व्यापक नीति, सामाजिक चेतना र संरचनागत परिवर्तन आवश्यक छ। नेपालमा वृद्धावस्थामा यौनिकता बुझ्न बहुस्तरीय संयन्त्रहरूको भूमिका अवलोकन गर्नु आवश्यक छ
आन्तरिक संयन्त्रहरू:
वृद्धावस्थामा यौनिकता केवल जैविक परिवर्तनले निर्देशित हुँदैन; व्यक्ति भित्रको धारणा, दृष्टिकोण, इच्छा, कल्पना र व्यक्तिगत क्षमताजस्ता पक्षहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । नेपालमा उमेरप्रतिको नकारात्मक सोच, आन्तरिकीकृत उमेरवाद र यौनिक कलंकले वृद्ध व्यक्तिमा आत्म–मूल्यांकन र यौन जीवन सन्तुष्टिमा गिरावट ल्याउँछ । विशेष गरी महिलामा वैवाहिक सम्बन्ध टुट्नु, पति वा पत्नीको मृत्यु वा सामाजिक भूमिकामा परिवर्तन आउनुले यौनिकता निषेधित हुन्छ। ‘विधवा महिलाले यौन इच्छा राख्न हुँदैन भन्ने सांस्कृतिक धारणा व्यापक छ, जसले आत्म-सम्मानमा चोट पुर्याउँछ। पुरुषमा पनि उमेरसँगै यौन इच्छा घट्नुपर्ने सोच हावी छ, जसले समस्या भए पनि छलफल गर्न नचाहने प्रवृत्ति बढाउँछ ।
पारस्परिक संयन्त्रहरू:
सम्बन्धको उपस्थिति वृद्धको सामाजिक स्थिति, मानसिक स्वास्थ्य र यौनिकता बुझाइसँग गहिरो रूपमा जोडिएको हुन्छ। पार्टनरको साथ उपलब्ध हुनु वृद्ध पुरुष र महिलामा यौन इच्छा र व्यवहारको सबल भविष्यवक्ता हो। नेपालमा विवाहपछिको सम्बन्धलाई मात्र यौनिकताको आधार ठानिन्छ, विवाहबाहेक यौन गतिविधि वा चर्चा सामाजिक रूपमा अस्वीकार्य मानिन्छ।
सम्बन्धमा असन्तुष्टि, घरेलु हिंसा वा यौन दुर्व्यवहारले वृद्धको आत्मसम्मान, मानसिक स्वास्थ्य र जीवन सन्तुष्टिमा दीर्घकालीन असर पार्छ। नेपालमा वृद्ध व्यक्तिमा यौन दुर्व्यवहारबारे ठोस तथ्यांक सीमित छ, तर केही अनुसन्धान र मिडिया रिपोर्टले वृद्ध महिलामा यौन हिंसा, विशेषतः पारिवारिक वा संस्थागत सेटिङमा हुने शोषण उजागर गरेका छन् । मानसिक स्वास्थ्य समस्या, शारीरिक अशक्तता वा आर्थिक निर्भरता भएका वृद्धहरू उच्च जोखिममा छन्।
सामाजिक-सांस्कृतिक संयन्त्रहरू:
वृद्धावस्थालाई केवल रोग, निर्बलता र आध्यात्मिक जीवनको तयारीको चरणका रूपमा चित्रण गरिन्छ। मिडियामा वृद्धलाई यौनहीन वा हास्यास्पद रूपमा देखाइन्छ ।
तर, सामाजिक संरचनाले परिवर्तनको अवसर पनि दिन सक्छ। परिवार, समुदाय र संस्थाहरूले नयाँ मान्यता निर्माण गर्न सके वृद्धमा आत्म-स्वीकृति, जुझारुपन र सामाजिक समावेशिता बढ्छ
NHAS अनुसन्धानले देखाएको छ कि सामाजिक बहिष्करण, पूर्वाग्रह र मिथकले वृद्धको यौन व्यवहार, पहिचान र जीवनको गुणस्तरमा प्रत्यक्ष असर पार्छ डिजिटल युगले नयाँ सम्भावना ल्याएको भए पनि सामाजिक पूर्वाग्रह अझै बलियो छ।
यौन स्वास्थ्य जोखिम वृद्धमा पनि उत्तिकै महत्त्वपूर्ण छ, तर स्वास्थ्य शिक्षा, रोकथाम कार्यक्रम, परामर्श सेवा र परीक्षणमा पहुँच न्यून छ । यस्ता मिथक तोड्न समुदायस्तरमा सचेतना, समावेशी कार्यक्रम र खुला संवाद आवश्यक छ।
संरचनात्मक संयन्त्रहरू:
नेपालमा धेरै हेरचाह केन्द्र, वृद्ध सेवा संस्थान वा आश्रमहरूले वृद्धको यौन आवश्यकता र चाहनालाई बेवास्ता गर्छन्। अधिकांश संरचना आधारभूत सेवा र संरक्षणमा केन्द्रित छन्, यौनिकता, आत्म-स्वीकृति र सम्बन्ध विकासजस्ता पक्ष उपेक्षित छन् ।
स्वास्थ्यकर्मीहरूमा वृद्धावस्थाको यौनिकता सम्बन्धी तालिमको कमी छ। नियमित स्वास्थ्य जाँचमा यौन स्वास्थ्यको पाटो बेवास्ता हुन्छ, जसको असर वृद्धको समग्र स्वास्थ्य र जीवन सन्तुष्टिमा पर्छ
अन्तर्राष्ट्रिय अभ्यासले देखाएको छ कि समावेशी र स्पष्ट नीति बनाएर वृद्धको यौन आवश्यकता सम्बोधन गर्न सकिन्छ । नेपाल सरकारको राष्ट्रिय वृद्धव्यक्तिहरूका लागि यौनिकता र यौन स्वास्थ्य सम्बन्धी स्पष्ट नीति छैन, संरचनागत रूपमा यौन अधिकार, सेवा पहुँच, गोपनीयता प्रवर्द्धन र संवेदनशील वातावरण निर्माणमा सुधार आवश्यक छ।
नीति तथा अभ्यास सुधारका सिफारिसहरू:
कतिपय वृद्धले वृद्धावस्थालाई नयाँ तरिकाले यौनिकता अभिव्यक्त गर्ने अवसरको रूपमा लिन्छन्। यौन पहिचानको पुष्टि र आत्म–नियन्त्रणको भावना बलियो भएमा यौन जीवनको गुणस्तर उच्च पाइन्छ । ज्येष्ठ नागरिक राष्ट्रिय कार्ययोजना, २०६२, नस्वास्थ्य ऐन, २०७५,ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा संचालन मार्गदर्शन आ.व २०८०/८१ तथा बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८० र नेपाल सरकारले तयार पारेको राष्ट्रिय वृद्ध नीति, २०८० मा वृद्धको समग्र स्वास्थ्य अधिकारको चर्चा भए पनि यौन स्वास्थ्यलाई प्राथमिकतामा नराखिएको देखिन्छ।
• वृद्ध सेवा संस्थामा यौन अधिकार र गोपनीयता संरक्षण गर्ने स्पष्ट नीति लागू गर्नुपर्छ।
• स्वास्थ्यकर्मी र सेवा प्रदायकलाई वृद्धावस्थाको यौनिकता, समावेशीता र सहमतिको विषयमा तालिम दिनुपर्छ।
• समुदायस्तरमा यौन स्वास्थ्य जोखिम, मिथक तोड्ने, र वृद्धको यौन सक्रियतालाई स्वीकार गर्ने कार्यक्रम आवश्यक छ।
• परिवार, प्रहरी र सेवा प्रदायकलाई यौन दुर्व्यवहार चिन्न, रोक्न र रिपोर्ट गर्न तालिम दिनुपर्छ।
• संज्ञानात्मक समस्या भएका वृद्धमा सहमतिको स्पष्ट परिभाषा र कानुनी मापदण्ड आवश्यक छ।
• भवन डिजाइन, हेरचाह प्रणाली र सामाजिक कार्यक्रमले वृद्धको स्वतन्त्रता, गोपनीयता र यौनिकताको सम्मान गर्नुपर्छ।
वृद्धावस्थामा यौनिकता बुझ्न बहुस्तरीय संयन्त्रहरूको जटिल अन्तरक्रिया अवलोकन आवश्यक छ। आन्तरिक विश्वास, पारस्परिक सम्बन्ध, सामाजिक-सांस्कृतिक मान्यता र संरचनात्मक वातावरण सबैले वृद्धको यौन जीवनको गुणस्तर निर्धारण गर्छ। पूर्वाग्रह र मिथक तोड्दै, समावेशी नीति, संवेदनशील सेवा र सकारात्मक सामाजिक दृष्टिकोण विकास गर्न सके मात्र वृद्ध व्यक्तिको यौनिकता सुरक्षित, सम्मानित र समृद्ध बन्न सक्छ। यसले वृद्धको समग्र जीवन सन्तुष्टि, मानसिक स्वास्थ्य र मानव अधिकार प्रवर्द्धनमा योगदान पुर्यासउँछ
अध्ययन अनुशन्धानमा संलग्न लेखक अधिकारी नेसनल इन्स्टिच्युट अन एजिङ एण्ड हेल्थका सहसंस्थापक समेत हुन् भने सुरुवातमा अध्ययन संयोजक छन्
स्रोत सामाग्रीहरू
• DeLamater, J. (2012). Sexual expression in later life: A review and synthesis. Journal of Sex Research, 49(2–3), 125–141. doi:10.1080/00224499.2011.603168
• Kasif, T., & Band-Winterstein, T. (2017). Older widows’ perspectives on sexuality: A life course perspective. Journal of Aging Studies, 41, 1–9. doi:10.1016/j.jaging.2017.01.002
• Estill, A., Mock, S. E., Schryer, E., & Eibach, R. P. (2018). The effects of subjective age and aging attitudes on mid-to late-life sexuality. Journal of Sex Research, 55(2), 146–151. doi:10.1080/00224499. 2017.1293603
• Myhre, J., Saga, S., Malmedal, W., Ostaszkiewicz, J., & Nakrem, S. (2020). Elder abuse and neglect: An overlooked patient safety issue. A focus group study of nursing home leaders’ perceptions of elder abuse and neglect. BMC Health Services Research, 20, 199. doi:10.1186/s12913-020-5047-4
• A qualitative analysis of homepage advertisements of dating sites for older adults. Computers in Human Behavior, 75, 876–882. doi:10.1016/j.chb.2017.06.033
• Fredriksen-Goldsen, K. I., Jen, S., Clark, T., Kim, H.-J., Jung, H., & Goldsen, J. (2020). Historical and generational forces in the Iridescent Life Course of bisexual women, men, and gender diverse older adults. Sexualities, 25(1–2), 132–156. doi:10.1177/1363460720947313
• Gewirtz-Meydan A., Hafford-Letchfield T., Benyamini Y., Phelan A., Jackson J., & Ayalon L. (2018). Ageism and sexuality. In L. Ayalon & C. Tesch-Römer (Eds.), Contemporary perspectives on ageism. International perspectives on aging (Vol. 19). Springer. doi:10.1007/978-3-319-73820-8_10
• Gott, M., Hinchliff, S., & Galena, E. (2004). General practitioner attitudes to discussing sexual health issues with older people. Social Science and Medicine, 58(11), 2093–2103. doi:10.1016/j. socscimed.2003.08.025
सामाग्री श्रोत :
swasthyakhabar

